घरमा एक सुरले काम गर्दै थिएँ, फोनको घण्टी बज्यो । काम गरिरहेकाले पहिलो पटकमै फोन उठाउन सकिनँ। फेरि फोन बज्यो। काम रोकेर हेरेँ, मोबाइलको स्क्रिनमा अमृत शर्मा कलिङ देखिइरहेको थियो। फोन उठाएँ।
‘हजुर नमस्कार! आरामै हुनुहुन्छ शिवजी? साह्रै व्यस्त हुनुहुन्छ कि क्या हो? फोन उठाउन गाह्रो भो त!’, अमृतजी सुनिनु भो।
‘अलिअलि घरको काममा व्यस्त सर। अरू त के हुन्थ्यो र बाख्राको गोठतिर पाठापाठीसँग खेल्दैछु’, उहासँग संवाद सुरू गरेँ।
पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू स्थलगत अध्ययनका लागि गोरखाको बारपाक, लाप्राक जान लागेको सुनाउदै उहाँले भन्नुभो, ‘समय मिलाउनुस् है। के छ समय? कतै कार्यक्रम त छैन नि?’
नयाँ गन्तव्य, साथीभाइसँगको साक्षत्कार एकातिर थियो नै। अर्कोतर्फ किसान मान्छे बाख्राको हेरचाहमा खटिनुपर्ने कारण दोधार हुँदै ‘ठिक छ म समय मिलाउँछु सर, सम्झनुभएकोमा धन्यवाद’ फ्याट्ट भनिहालेँ।
भूकम्पपछि वौरिएको बस्तीमा जाने रहर पहिल्यैबाट थियो। तर के मिलिरहेको थिएन के। २०७२ सालमा गएको विनाशकारी भूम्पको इपिसेन्टर थियो बारपाक।
विनाशकारी भुकम्पपछि टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालमा छाएको थियो बारपाक र लाप्राकका बस्ती। युवट्युवको ट्रेन्डिङमा रहेको भिडियो, भ्लग हेर्दा निकै आकर्षक देखिन्थ्यो। केही साथीहरू लाप्राक गएर फर्केपछि सुनाएका अनुभूतिले म कहिले पुग्ने हुन्थ्यो । ग्रामिण पर्यटनको क्षेत्रमा काम गरिरहेका साथीहरूबाट पनि लाप्राक नमुना बस्तीको बारेमा सुनेका कारण त्यहाँ पुग्ने लोभ थियो।
भूकम्पपछिको लाप्राक बस्ती र जनजीवनका बारेमा धेरै जान्न मन थियो। सुनेको कुराहरू देखेरै अनुभव गर्नु थियो, त्यसैले त दोधारमै पनि हवस् जान्छु भनेर फ्याट्ट निर्णय गरेको।
खबर पाएकै भोलिपल्टनै बारपाक जानुपर्ने र पर्सीपल्ट लाप्राक उक्लिनुपर्ने तालिका थियो। यात्राको दिन एकाबिहानै मोटरसाइकल स्टार्ट गरेर घर (तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी) बाट भिमाद हुँदै दुलेगौडा बजारसम्म हुँइकिएँ। दुलेगौँडामा साथीहरूसँग भेटर दमौली, डुम्रे, गोरखा हुँदै बारपाक पुग्यो हाम्रो टोली।
साँझपख बारपाक चम्किएको थियो। आकाशमा नौ लाख तारा चम्किए झैं बस्तीमा बलेका बिजुली बत्ती चम्किएको देखिन्थ्यो। स्पिकरमा बजेका हिन्दी र नेपाली गीतले बस्ती थर्काएको थियो।
कहीँकतै घन्किएको थियो छाडा र्याप गीतहरू। बारपाक घुम्न आएका हुलका हुल युवायुवतीहरू उफ्रदै नाच्दै थिए। त्यो रात बारपाकमै बितायौं ।
कुनै समय राजधानी काठमाडौंपछि धेरै जनघनत्व भएको बस्ती बारपाक भूकम्पले तहसनहस गराएको छ। त्यसपछि त बारपाकको रूपरंग नै फेरिएको छ। प्राचीन शैलीका घरहरू रहेनन्, आधुनिक डिजाइनका घरहरूले वर्चश्व जमाएका रहेछन्। घरमा मात्रै आधुनिकता छैन, जीवनशैलीलाई पनि आधुनिकताले छपक्कै पारेछ। बारपाकको मौलिकता त इतिहासमा मात्रै सीमित देखिन्छ।
धेरैको बुझाई लाप्राक र बारपाक एउटै बस्ती हो भन्ने होला, मेरो पनि बुझाइ त्यहीँ थियो। तर बारपाक र लाप्राक त छुट्टाछुट्टै बस्ती पो रहेछन्। बास बारपाक बसेका हामी भोलिपल्ट भालेको डाकसँगै लाप्राकको नमुना बस्ती पुग्नु थियौ नै।
भोलिपल्ट बिहानै घामको झुल्कोसँगै तयार भएर लाप्राकको लागि बारपाकबाट उकालो चढ्यौं । बारपाकबाट लाप्राकसम्मको यात्रा विशेष रह्यो। बारपाकबाट उकालो चढ्दै गर्दा भौगोलिक दुर्गमता महशुस हुन्थ्यो। दाउराका भारी बोकेर ओरालो झर्दै गरेका पाइलाले दुर्गमता स्पष्ट हुन्थ्यो।
‘दाउराको भारी बेचेर साँझ सामान लिएर फर्कनुपर्छ’ भन्दै हतारिएको पाइलाले यातायातको पहुँचको नजरअन्दाज गर्न सकिन्थ्यो। यहीँ एक दृष्यले नै ढुवानी कति महँगो छ प्रस्ट भयो।
बाटोमा पाइला अगाडि बढ्दै गर्दा यहाँका आम्दानीका स्रोतहरू के होला? जिविकोपार्जनका मुख्य आधारहरू के छन् ? यस्तै प्रश्न मेरा मनमा खेल्न थाले।
साँघुरो मोटरको बाटो भिरमा आँखाले हेर्न नसकिने पहिरो। त्यहाँ पुगेपछि लाग्यो, ‘सहरिया जीवनशैलीमा हर पूर्वाधारको पहुँचमा भएर पनि अभाव महसुश गर्नेहरू त एक पटक यहाँ आउनैपर्छ।’
बिरामी परेर अस्पताल जानुपर्यो भने कसरि जाने? सुत्केरी महिलाले प्रसवको पीडा कति खेप्नुपरेको होला? कतिले समयमै अस्पताल जान नपाएर बाटोमै मृत्युवरण गर्नुपर्यो होला? यस्तै अनेकन प्रश्नहरूले प्यास जगायो।
बाटोमा कतैं पिउने पानी भेटिएन। पानीको जोहो नगरेकाले तिर्खाउँदै बस्तीतर्फ पाइला लम्किरह्यो। समुन्द्रि सतहदेखि २८०० मिटरको उचाइमा रहेको माम्चे डाँडामा पुगेपछि तिर्खा मेटाउने दृश्यपान गरियो। हिमालको लस्कर, पहाडका टाकुरा, टाढा टाढाका बस्ती देख्दा उकालो चढ्दा लागेको तिर्खा एकछिनलाई गायब भयो। एकछिनपछि ७० रूपैयाँ तिरेर मिनरल वाटर किनेर तिर्खा मेटाएँ।
माम्चे डाँडाहुँदै नमुना बस्तीतर्फ पाइला लम्कदै गर्दा मुसुक्क मुस्कुराएका हिमाल हेरेर नलोभिने सायदै होलान्। हिमालसँगै एक लहरमा मिलेर बनेका घरहरुले जो कोहीलाई लोभ्याउँछ। हिमाललाई स्पर्श गर्दै आएका चिसो हावाको झोकाले मुटु नै कमाउने।
नमुना बस्ती लम्कदै गर्दा बाटोमा सूचना पाटीहरू भेटिए। केही स्तम्भहरू थिए, झट्ट हेर्दा केही नबुझिने तर नजिकबाट चिहाउँदा भूकम्पले ज्यान गुमाएकाको स्मृतिमा निर्माण गरिएको पार्क स्तम्भ रहेछन्।
सामुद्रिक सतहबाट २७०० मिटरको उचाईमा रहेको लाप्राक गुप्सिपाखाको नमुना बस्ती बारपाकबाट करिब १२ किलोमिटर पैदल यात्रा गरेपछि पुगियो। बारपाकबाट सँगै उकालो लागेका साथीहरू कोही थाकेर बीच बाटोमै छुटे। कोही हामी पुगेर फर्कने बेला बल्लतल्ल दुरी छोटाएर नमूना बस्तीमा आउनुभो।
एकैनासका एउटै लहरमा बनेका लाप्राकका घरहरू त मानवविहिन थिए। सामाजिक सञ्जालमा भाइरल बनेको गुप्सीपाखा गाँउको बास्तविक कथा अर्कै लाग्यो। भुकम्पले लाप्राक गाँउका घरहरू मात्र भत्किएनछन्, सपनाहरू पनि ध्वस्त भएका रहेछन्। बास मात्र गुमेका रहेनछन्, आश पनि गुमेका रहेछन्।
खासमा गुप्सिपाखा पहिला भेडा चरन क्षेत्र रहेछ। पहिला यहाँ भेडा पालन हुने भए पनि अहिले उतिसारो देखिएन। ‘हामी भूकम्पका बेला ज्यान जोगाउन यहीँ पाखामा आयौ। पुरानो लाप्राक बस्तीमा भएको घर भत्किएपछि यहीँ जंगलमा आएर बस्यौं’, एक ७५ वर्षीय आमाले सुनाउनुभयो।
उहाँका अनुसार भूकम्पले तहसनहस बनाएको लाप्राकीहरूले समयमै राहत पाउन सकेनछन्। भूगोलका हिसावले निकै अप्ठेरो भएकाले राहात सामाग्री बोकेर आएका हेलिकेप्टर ल्यान्ड हुन नसक्दा खाद्यान्नको अभाव भोगेको पीडा उहाँले सुनाउँदा मनै अमिलो भएर आयो। ‘खेतीपाती भित्र्याउने समय भएको थिएन। अलिअलि भएको अन्नतपात भत्किएको घरमै पुरियो। धेरै पछिमात्र राहत पायौं’, उहाँले त्यो क्षण सम्झदै गर्दा मुटुमा गाँठो पर्यो।
केहीबेर यामकुमारी गुरूङ दिदीसँग गफियौं। भूकम्पले घर र श्रीमान खोसेको उहाँले सुनाउनुभयो।
राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैर आवासीय नेपाली संघले समझदारीमा ५७३, स्व-लगानीमा २९ घर गरेर गुप्सीपाखामा ६०२ घर एउटै डिजाईन, एउटै आकारको बनेको छ। जुन ग्रामिण पर्यटन विकास तथा बस्ती स्थानातरणका लागि उदारणीय छ।
ग्रामिण बस्ती मुकाम सहर भन्दा भुगोलका हिसाबले अप्ठेरो पूर्वाधार विकासका दृष्टिकोणबाट समेत चुनौती रहेको गुप्सीपाखा नयाँ बस्तीमा संसारका मानिहरूको ध्यान केन्द्रित हुनु सामान्य कुरा होइन। परैबाट चिटिक्क देखिने, जाउँ जाँउ, बसिहालौं लाग्ने घरहरू देख्दा नलोभिने सायदै होलान्।
कहिल्यै नदेखिएको हरेक नयाँ अनुहार नेपाली भन्दा फरक वर्ण रंगका मान्छेहरु लामा लामा क्यामेराका लेन्स तेर्साउदै फोटो खिचिरहेको देखिन्थ्यो। जस्ताको छानो, इको ब्लक, इट्टा प्रयोग गरेर सरदर ३ आना जग्गामा निर्माण भएको नमुना बस्तीलाई १६ भागमा बाँडिएको छ। तर जग्गाधनी प्रमाण पूर्जा भने धेरैको हात परेको रहेनछ।
हुन त अहिले लाप्राक बासीलाई भूकम्पले नयाँ घर मात्र दिएन नयाँ परिचय समेत दियो। तै पनि बनेका घरहरूमा स्थानीयको मन अडिन सकेको छैन। प्रायः घरहरू सुनसान थिए। नमुना बस्तीका घरहरूमा मन नअडिनुको कारण विविध हुन सक्छन्। वातावरणमैत्री नहुनु, पुर्वाधारको सहज पहुँच र दिगो आम्दानीको स्रोत नहुनु मुख्य कारणको मेरो बुझाइमा। सबैको बुझाइ आफ्नै होलान्। त्यहीँ बस्नेहरूको बुझाइ पनि फरक होला।
नमूना बस्तीको घरको आँगनमा रहेको धारामा पानीसँगै सेता आइसका टुक्राहरू झर्दै थिए। नयाँ नमुना बस्तीमा करिब २१ किलोमिटर परबाट खानेपानी ल्याइएको रहेछ। हिउँदयाममा बढी चिसोका कारण पानी जमेर जिआइ पाईप नै फुट्ने रहेछ। बाटोभरी नयाँ विद्युतका पोलहरू थिए। लाग्थ्यो भर्खर भर्खर विद्युत पुगेको होला यहाँ। तर, लघुजलविद्युत आयोजनाबाट बिजुली बलेको रहेछ। राष्ट्रिय प्रसारण लाइन नपुगेकाले पावर नपुग्ने समस्या र सामान्य बल्व भन्दा अरू नचल्ने रहेछ।
ठाँउ धेरै चिसो भएका कारण उत्पादन केही नहुने। हिउँदमा हिउँ परेपछि गुप्सीपाखा गाँउनै ढाकिएर सेताम्मे हुन्छ। हिउँ खेल्न र ढकमक्क लालिगुराँस फुल्ने समयमा घुम्न आउने घुमन्तेको ताँती लाग्छ। सहरको कोलाहल र व्यस्त जीवनशैली भिडभाड अनि तनाबबाट उम्कनलाई गुप्सिपाखा उत्तम रहेछ। ‘पर्यटकको मन रमाउने यो बस्तीमा गाउँलेको मन किन नरमाएको होला?,’ मनमनै प्रश्न गरे। आफैंले आफैंलाई जवाफ दिए, ‘देख्नेलाई पो मस्ती लाग्छ। बाँच्नेलाई त सास्ती नै होला।’
गुप्सीपाखाको नमुनाबस्तीमा खेतियोग्य जमिन धेरै पर भएकाले हिउँदमा प्राय घर सुनसान हुने गाउँलेसँगको गफगफमा थाहा भो। बर्खामा फेरि पहिरोको त्रासमा बाच्नुपर्ने रहेछ। बाहिरबाट हेर्दा घरहरू आकर्षक देखिए पनि भित्र अझै धेरै काम गर्न बाँकी रहेछ। सरसफाई, आँगन ढलान लगायतका कामका लागि लगानीको अभावले पनि देखियो।
खासमा लाप्राकीहरू पथप्रदशक, भारी बोक्ने काम र कुक गरेर ७५ प्रतिशत पर्यटन क्षेत्र र व्यवसायसँग आबद्ध रहेछन्। जुन सिजनल मात्र हुन्छ, दिगो हुँदैन। कामको शिलशिलामा दिगो जिविकापार्जनको विकल्प नभएकाले यहाँ बसोबास कम भएको गुप्सिपाखा नमुना बस्ती होमस्टेका अध्यक्ष दलविर गुरुङले बताउनुभयो।
उहाँका अनुसार १४ घरमा होमस्टे र ४ वटा होटल सञ्चालनमा छन्। नमुना पर्यटकीय गाँउको रुपमा विकास गर्न पहल भए पनि परिणाममुखी काम भएको देखिदैन। हरेक घरमा २ कोठा ब्यबस्थापन गर्दा ६ देखि ८ जना पाहुना एकै घरमा राख्न सकिन्छ। साँस्कृतिक रुपमा धनी भएपनि प्रचारप्रचार भएको पाइदैन्।
भाषा कला, सँस्कृतिमा मौलिकता पाइन्छ। तर अतिथि सत्कारका लागि सामुदायीक भवनको अभाव देखियो। दिगो जीवनयापनका लागि विशेष योजना ल्याउन जरूरी देखिन्छ। नमूना बस्तीलाई ग्रामिण पर्यटनको हबका रुपमा विकास गर्न सुरक्षित आवाससँगै दिगो आयआर्जन भन्ने विषयमा वहस गर्न आवश्यक देखियो।
त्यसैले राष्ट्रिय अखबारहरुमा यहाँको बस्तीको वास्तविक अवस्था, समस्या, चुनौती, सम्भावना र समाधानका लागि गर्नुपर्ने काम, प्रयासहरुको बारेमा बहस सिर्जना हुने गरेर हेडलाइन बन्नुपर्नेछ।