ठ्याक्कै हिजोआजकै जस्तो मौसम। पुसकै महिना। हामी स्वयुंभुनाथमा जम्मा भएका थियौं। काठमाडौंको सेतो गुम्बा अर्थात् ‘ड्रुक अमिताव गुम्बा’का आनीहरू साइकलसहित बिहानै उपश्थित भैसकेका थिए। गुरु ग्याल्वाङ डुक्पाले साइकल चलाएर हाम्रो यात्रा शुभारम्भ गरे।
एक जना होइन, दुई जना होइन, आनीहरू मात्र १३५ जना थिए। त्यसमाथि गाइड टोलीमा रञ्जन राजभण्डारी, सुदिप पौड्याल, मनोज श्रेष्ठ, निकेश खड्का र म थियौं। साथै बन्दोवस्तीका सामान बोकेका केही गाडी पनि थिए। यसरी हाम्रो यात्रामा जम्माजम्मी १५० जना थियौं।
त्यो यात्राको गन्तव्य थियो, भारतको राजधानी दिल्ली। त्यहाँसम्म साइकलमै पुगेर फर्कने योजनासहित हामी निस्केका थियौं। हामीले यस्तै प्रकृतिको तर छोटो यात्रा काठमाडौं–पोखरा–काठमाडौं पनि गरिसकेका थियौं। त्यो यात्रामा भने सेतो गुम्बाकै ६५ जना आनीहरू सहभागि थिए।
त्यसैले साइकले आनीहरूको आत्मविश्वासबाट हामी प्रभावित थियौं। अरु भन्दा सेतो गुम्बा फरक छ। त्यहाँ आनीहरूलाई आत्मरक्षाका लागि कम्फु पनि सिकाइन्छ। साइकल यात्राको उद्देश्य चाहिँ महिला सशक्तिकरण र वातावरणमैत्री यातायातका साधन प्रयोगको सन्देश दिनु थियो।
आनीहरू बौद्धमार्गी भएकाले यात्रामा बुद्ध जन्मेदेखि महापरिनिर्वाण भएका ठाउँसम्म घुम्ने तालिका बनाइएको थियो। त्यसैअनुरुप हामी अघि बढ्यौं। हामीहरू बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, बुद्धले ज्ञानप्राप्त गरेको ठाउँ बोधगया, कुशिनगर, वनारस, नालन्दा विश्वविद्यालय, सेरावस्ती, गुरुपालगायत ठाउँहरू घुम्यौं। ती पवित्र ठाउँमा प्रमुख गुरु ग्याल्वाङ डुक्पाको अगुवाइमा आनीहरूले पूजापाठ र ध्यान पनि गरे। हामीले पनि गर्यौं।
यो सन्दर्भ हो वि.सं. २०७२ पुस–माघको। हामीले ७८ दिनमा यात्रा पुरा गरेका थियौं। हाम्रो यात्रा सहज थिएन, एक त १२ वैशाखको भुइँचालोका कारण जनमानसमा दुःख थियो, अर्को भारतले अघोषित नाकाबन्दी लगाएकाले यात्रामा धेरै खाले अड्चन झेल्नु पर्यो।
अर्को एउटा घटना आँखामै नाचिरहन्छ, हामी बिहारको सीमामा के पुगेका थियौं, मालबाहक ट्रकले एउटा साइकललाई ठक्कर दियो। साइकल कच्याककुचुक्क भयो। धन्न साइकल चलाइरहेकी आनीलाई केही भएन।
भगवानले बचाए!
लामो यात्रामा थकाई लाग्नु स्वाभाविक हो। कतै पंचर हुनु, केही सामान बिग्रनु सामान्य नै हो। अरु ठूलो समस्या चाहिँ झेल्नु परेन।
हामी कतै पनि होटलमा बास बसेनौं। हामीसँग बन्दोवस्तीका सामान थियो। आफैं खाना पकायौं। खायौं। र, टेन्टमा रात वितायौं।
सडकमा साइकल चढेका आनीहरूको लामो लर्को देख्नेहरू अचम्म मानेर हेर्थे। कोहीकोही त सोधखोज पनि गर्थे। हामीलाई त्यतिबेलाका उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले स्वागत तथा विदाई गरेका थिए।
बिहारका विषयमा हामीले नकारात्मक टिकाटिप्पणी सु्न्दै आएका थियौं। त्यहाँ पुगेपछि भने फरक अनुभूति गरें, जब हामी गाडीवालालाई ‘नमस्ते’ गरेर साइकललाई बाटो दिन आग्रह गथ्र्यों। सम्मान प्राप्त गरेपछि उनीहरू खुसी भएर हामीलाई सहयोग गर्थे।
आनीहरू एकदमै अनुशासित थिए। हाम्रो सुझाब र निर्देशन पालना गर्थे। त्यसले गर्दा पनि यात्रा सजिलो बन्यो।
हाम्रो अन्तिम गन्तव्य थियो–दिल्लीको गुडगाउँ। त्यहाँ पुग्दा हमी सबै खुसी भयौं। उत्साही बन्यौं। यात्राका सहभागीलाई त्यहाँ प्रमाणपत्र वितरण गरियो।
हामी ५३ औं दिनमा त्यहाँ पुगेका थियौं। जाँदा सुनौलीबाट भारत पस्यौं भने फर्कंदा कृष्णनगरबाट नेपाल भित्रियौं।
हाम्रो यात्राले आनीहरूको आनीबानी, आत्मविश्वास र लगनलाई नजिकबाट बुझ्ने अबसर दिलायो। व्यक्तिगत रुपमा बुद्धभूमिमा पुग्दा मैले पनि धेरै ज्ञान पाएँ। सबैभन्दा ठूलो कुरा, मनमा शान्ति मिल्यो। त्यसैले त्यो २७ सय किलोमिटर लामो यात्रा जीवनकै एउटा ठूलो उपलब्धि बन्न पुग्यो।
आनीहरूलाई घुमाउनु अघि हामीले बेलाबेलामा स्वदेशी तथा विदेशीका स–साना समूहलाई घुमाउँदै आएका थियौं। अब त ठूलो समूहको पनि नेतृत्व लिन सक्षम बन्यौं। यसले हाम्रो आत्मविश्वास पनि बढाएको छ।
मैले जीवनका ४१ औं वसन्त देखिसकें। साइक्लिङमा लागेको १३ वर्ष भैसक्यो। नमरी बाँचे कालले साँचे यस्ता अविस्मरणीय यात्राहरू फेरिफेरि पनि गरिने नै छ।
(टासी साइक्लिङ मेकानिक तथा गाइड हुन्।)
हेर्नुहोस् तस्बिरहरू