सुनेको थिएँ समय गतिशील हुन्छ भनेर। समयसँगै सोच, व्यवहार, सम्बन्धको अर्थ अनि वस्तु र परिस्थितिलाई हेर्ने र बुझ्ने नजर पनि गतिशील हुन्छ। सायद यसैको उदाहारण हुनुपर्छ मेरो अधुरो मकालु आधार शिविर यात्रा।
तपस्वी व्याण्डमा बास गितारिष्ट भएर दस वर्ष काम गर्दाको सांगीतिक यात्रामा मनको सन्तुष्टि त मजाले पाइयो। तर यसबाहेक अन्य खासै प्रगति थिएन। मनमा केही नयाँ गरौं गरौं भन्ने रहर जागिरहेको बेला एकोहोरोपनलाई कुनै ब्रेक दिने सोचाइ आउँदै थियो।
सहरमै जन्मी हुर्की जीवनको लामो समय बिताएको मलाई पहाड, डाँडाकाँडा, खोलानाला घुम्ने, हेर्ने रहर पलाएर आयो। यो रहर पूरा गर्ने एक बहानाको रूपमा कास्कीको खुमाइ डाँडा मेरो रोजाइमा पऱ्यो।
यो यात्राबारे भर्खरै यात्रा सकेकी एक जना साथीसँग बुझ्न गएको थिएँ। अर्को एक जना मित्र भेटिए र नयाँ प्रस्ताव राखे मकालु हिमालको आधार शिविरसम्म जाने। यसरी अकस्मात् योजना बद्लियो।
मकालु बेस क्याम्पको यात्राका लागि प्रायः विदेशी पर्यटकहरू यात्राको सुरुवात गर्न काठमाडौंबाट तुम्लिङटार विमानस्थलमा झर्दा रहेछन्। अनि नुम (१५६०मिटर) पुगेर बास बस्छन्। अनि सेदुवा (१५००मिटर) यसपछि टासीगाउँ (२१००मिटर) अनि खेङ्मा डाँडा पुगिन्छ। यसपछि दोबाटे अनि याङ्गीखर्क लाङमाले खर्क अनि पुगिन्छ ४८७० मिटरको उचाइमा रहेको मकालु आधार शिविर।
यात्राको अघिल्लो रातभरि मिश्रित भावहरू मनमा आए । अलि ढिलो निदाएँ । बिहान हामी दुई यात्राका लागि निस्कियौं। यात्राको तयारी कतिसम्म कमजोर भने बिहान धरानको भानुचोक पुगेर बल्ल पदयात्राको लागि चाहिने जुत्ता किनियो। जे होस् ऊर्जा थियो मनमा।
संखुवासभाको खाँदवारीसम्मको लागि १२०० रूपैयाँ तिरेर करिब ८ बजेतिर जीपमा पसियो। गाडीमा रमाइला मान्छेहरू भेटिए । तिनीहरूमध्ये एक थिए शेर्पा दाइ। विदेशी पर्यटकको पथप्रदर्शक अथवा गाइड। कुरैकुरामा थाहा भयो कि उहाँ त सगरमाथा नै ५ पटक अनि दुई चोटि के-टू र अन्नपूर्णको चुचुरो पनि पुगिसकेको रे। रमाइलो लाग्यो।
अनि अर्को एक जना हुनुहुन्थ्यो भारतीय फौजको पूर्व सैनिक। भूपू गोर्खाका अनुभवहरू झन् रमाइला। उहाँले पनि हिमालमै समय बिताउनुभएको रहेछ।
गफमै भन्नुभयो, ‘अरू मान्छे जीवनमा एक पटक पुग्दा जीवन सार्थक भएको मानेर खुसी हुने ठाउँमा हामीलाई तीन महिना खटाउँथ्यो।’
चिसोमा तड्पिँदै बसेका विभिन्न अनुभवले गाडीको यात्रा रोमाञ्चक भइहाल्यो। हिले पुगेर खाना खाने बेलामा साँढे दस भएको थियो। यहाँ सबै जना सँगै खाना खाइयो। शेर्पा दाइले हिमालकै गफ झिक्दै प्रत्येकपल्ट हिमाल आरोहण गर्दा आफैँले आफैँलाई भन्ने गरेको कुरा सुनाउनुभयो, ‘हउ साथी यस्तो मूर्ख जागीर त नागार् हउ……….. बरू गाउँमा कुटो कोदालो बोकेर बस्……।’
हामी मरीमरी हाँस्यौँ ।
खाँदबारी पुग्दा एक बजेको थियो होला सायद। अर्को सानो जीप खोजेर त्यहाँआट आठ सय भाडा तिरेर नुमसम्मको यात्रा गरियो। बाटो एकदम अफ्ठ्यारो थियो। मेरो जीवनकै पहिलो यात्रा यस्तो खतरनाक बाटोमा। साँझको साँढे ६ बजे पुगियो। हामीले शेर्पा दाइकै सिफारिसमा एउटा होटल पुगेर बास बस्यौं। यहाँ मीठो खाना खाइयो। बँदेलको मासु र भात ।
सबैथोक ठीकठाक भए पनि निद्रा परेन। रात कटेर करिब २ बजेसम्म त निद्रै परेन। अक्सर मलाई आफ्नो घरबाहिर सुत्नुपर्दा यो समस्या हुने गरेको छ।
भोलिपल्ट जोशका साथ यात्रा सुरू भयो। अब भने पैदल यात्रा। हामीले शेर्पा दाइको साथ छोडेकै थिएनौं। उहाँको चौध वर्षको छोरो पनि साथमै थियो। उहाँहरू आफ्नो घर सेदुवासम्म जाँदै हुनुहुन्थ्यो। गफ गर्दै ओरालो झरियो। क्रमशः मेरो खुट्टामा समस्या आउन थाल्यो। हुनलाई त दूरी लामो होइन। उस्तै हिँड्ने मान्छेलाई डेढ घण्टा लाग्ने होला। तर सिँढी नै सिँढीको बाटो। यसले घुँडामा दुःखाइ दिन थाल्यो। तै पनि मनमा हुटहुटी थियो र सक्छु भन्ने आत्मविश्वास। बाटोमा मेरो गति देखेर एकजना घाँसको भारी बोक्दै हिँडेका व्यक्तिले सोधे, ‘कहाँसम्म जाने हउ भाइ?’
मैले शिवधारा भनेँ । यही मार्गमा डेढ घण्टाको लागि अर्कोतिर लम्केर भेटिने गन्तव्य शिवधारा हो।
‘हन यस्तै गरि त तिमीलाई ४ - ५ दिन नै लाग्ला है,’ उनले मलाई दया देखाएर भने र यसो मदिरा खानको लागि पैसा मागे।
मेरो हालत खराब भइसकेको थियो। जसोतसो ओरालो सकियो। अब फेरि सुरु भयो उकालो बाटो साँढे दुई घण्टा जतिको। यहाँबाट अगाडि सेदुवा आउँथ्यो। शेर्पा भाइको साथ लागेर हिँड्दै गएँ।
मकालु बरूण राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा स्वागतद्वार देखियो। यो देख्दै मन हर्षित भइहाल्यो। सेदुवा पुगियो। शेर्पादाइको घरमा गइयो। उहाँका परिवारहरूसँगै बसेर खाना खाइयो। अबको यात्रा कठिन हुने निश्चित थियो। खुट्टाले साथ नदिएपछि जबर्जस्ती हिँड्नु झनै घातक हुन सक्थ्यो। मैले दुःखका साथ फर्कने निर्णय गरेँ। म पनि त्यस्तै जिद्दी मान्छे। यहीँ बसेको भए पनि हुने। तर मलाई एक खालको रिसै उठेको थियो।
त्यसैले शरीरले साथ नदिए पनि फर्कने जिद्दी गर्न थालेँ। म निकै घाइते र भावुक भइसकेको थिएँ। त्यसैले पनि त्यहाँ बस्न मन लागेन। अगाडि गएको भए टासीगाउँ पुगिन्थ्यो। आखिर जान नसके बरू फर्कन्छु भन्ने लाग्यो। आँखाहरू सजल भएका थिए। सँगै गएको साथीलाई ज्याकेट; मफ्लर र पैसाहरू दिएँ र म फर्कन्छु भनेँ। मेरो अवस्था देखेर शेर्पा दाइले उहाँको चौध वर्षे छोरोलाई मेरो साथ पठाउने निर्णय गर्नुभयो। मोटरबाटोसम्म पुऱ्याउन अह्राउनुभयो र भन्नुभयो, ‘सहयोग हो है भाइ। तिमीले कुनै पैसाहरू दिनुपर्दैन।’
मेरो गला अवरुद्ध भयो ।
दिउँसो करिब दुई बजे त्यो सानो शेर्पा केटोको साथ लागेर म हिँड्न थालेँ। यात्रा सोचेजति सहज कहाँ हुनेरहेछ र बल्ल मलाई महसुस हुन थाल्यो। यसै नि जाँदै थाकेको खुट्टा त्यसमाथि यात्रा बीचमै छोड्नुको पीरले झन् दुखाइ बढेजस्तो लाग्न थाल्यो। फेरि बाटोमा औषधि कतै नपाइने। साथमा आफूले नबोकेको।
एक जना भारतीय यात्री भेटिए। अवश्य औषधि बोकेको होला भनेर अनुरोध गरेँ। नभएरै हो कि भएर पनि नदिएको हो तिनले दिएनन्। झोला शेर्पा भाइले बोक्यो। झोलामात्र होइन मलाई पनि काँधमा सहारा दिएर डोऱ्याउन थाल्यो। साधारणतया पाँच मिनेट लाग्ने बाटो मलाई पच्चीस मिनेट लाग्न थालेको थियो। साँझ ५ बजे बेतघारी पुगियो। (सायद ठाउँको नाम यहीँ हुनुपर्छ शेर्पादाइसँग पछि फोनमा सोधेर लेखिएको नाम हो।)
त्यसपछि सुग्देनसम्म मैले चार पाऊले हिँडे। हिँडे भन्नुभन्दा पनि घिस्रिएँ भनौं। सुग्देन पुग्दा सात बजिसकेको थियो। करिब दुई घण्टाको ओरालो बाटो मलाई पाँच घण्टा लाग्यो।
यहाँबाट बरुण खोला आउँछ। बरुण खोला आउनुअगाडि दुई लौरो टेकेर हिँड्न भाइले सुझायो। एउटा घरमा गइयो लौरो माग्न। त्यहाँका दाइले मेरो अवस्थालाई देखेर दया देखाए। अनि मेरो खुट्टाको घरेलु उपचारको प्रबन्ध मिलाइयो।
केराको पात ल्याइयो। खुट्टाको पिँडौलादेखि तिघ्रासम्मै हल्का तातो तेल दलेर अनि त्यसमाथि केराको पात चुह्लोमा एकछिन सेकाएर त्यसलाई खुट्टामाथि थिच्ने काममा भाइले सघायो। त्यो भाइको व्यवहारले म चकित भएको थिएँ। हँसिलो केटो, गोरो अनुहार, मुसुक्क हाँस्ने, कमै बोल्ने। आफ्नै घरको मान्छेजसरी उसले मेरो उपचार गर्दै थियो। यो सेकाइले केही भए पनि राहत दियो।
खोला आइपुग्यो। खोलामा भने भूत आउँछ भनेर शेर्पा भाइ अति डराउने। म हिँड्न नसक्ने। ऊ भने खोलाको पुलमा खुरूरू कुदेर पारी पुगिहाल्ने। रात छिप्पिएको थियो। भोको पेट, घायल खुट्टा, असफलताले निराश मन। साथमा थियो त सहृदयी उही शेर्पा केटो। फेरि आँखामा आँसु आउन थाले।
एक जना तीस-एकतीस वर्षका मान्छे भेटिए। उनले अलिअलि ढाडस दिए। यात्राको बारे सोधीखोजी गरे। बुझ्दा उनी त्यसै वडाका वडाध्यक्ष रहेछन्।
चौँलाखर्कमा पुग्दा रातको साँढे एघार भइसकेको थियो । शेर्पा भाइले पकड्दै, धकेल्दै, घिसार्दै चामलाखर्क (या चौँलाखर्क) ल्याइपुऱ्यायो । बाटोमा मलाई भन्थ्यो, ‘पारी टाडो पुग्नुछ भन्ने नसोच दाज। हिँड्ने मात्रै हो भन्ने सोच।’
ऊ एकदमै कम बोल्थ्यो । जति सोध्यो त्यसकै जवाफ दिन्थ्यो। तर जिम्मेवार र भरपर्दो मान्छे थियो।
त्यहाँको पहिलो घर वा पसलमा मोटर साइकल देखियो। मागेँ। ‘जति पैसा नि दिन्छु नुमसम्म पुऱ्याइदेऊ’ भनेको मानेनन्। अलिक पर अर्को पसलमा ढोका ढकढक्याएँ। खोल्दै खोलेनन्।
यस्तो पीडामा परेको थिएँ। यतिबेला बल्ल पाइएको घरमा सहारा खोज्नु नै थियो। समय ढिलो हो तर मसँग विकल्प पनि त थिएन। मैले जस्ताको ढोकामा ड्याङ ड्याङ मुड्की बर्साउन थालेँ। सायद पहिलो मान्छेले सहयोग नगरेको रिसले अनि दुःख र थकान सबैले गर्दा पागलजस्तो व्यवहार गर्दै थिएँ। रिसाउँदै साहुजी निस्किए र हप्कीदप्की गर्दै भने, ‘को हो? के भयो? पुलिस बोलाउँ?’
तर मैले केही भन्नै परेन। मेरो अवस्था देखेर उनमा दया फर्कियो। आफ्नो अवस्था बताएँ। यहाँबाट नुमसम्म जाने कच्ची बाटो थियो त्यहाँ पनि जीप चल्न सक्थ्यो। साहुजीसँग आग्रह गरेर एउटा जीप मिलाइयो। त्यो आउञ्जेलसम्म उनले कफी खुवाए। अनि मैले तीन वटा र भाइले पाँच वटा चाउचाउ खायौँ। अलि ज्यान तङ्ग्रियो। भोक पनि त उग्रै थियो। बाटोभरि केही खाइएको थिएन।
जीप आयो। अर्को दिन खाँदवारी पनि त्यसमै जाने भनेर रू पाँच हजारमा नुमसम्म जान चालक तयार भए। एक घण्टा जति लगाएर नुम पुगियो। नुमको उहीँ होटल पुगियो। अघिल्लो दिन बसेको थियौँ हामी। राति मैले उसले नमाने पनि केही पैसा शेर्पा भाइलाई दिएँ। उसले भनेकै थियो, ‘बिहान सबेरै फर्कन्छु’ भनेर। म उठ्दा ऊ गइसकेको थियो।
म त्यसै जीपमा पैसा बढी तिरीकन अगाडिको सीट पूरै लिएर नुमदेखि खाँदवारी पुगेँ। अनि धरानको लागि अर्को जीप लिएर म धरान पुगेँ।
यसरी म मकालु आधार शिविर पुग्न पाइनँ। मनमा अठोट छ कुनै दिन यो अधूरो यात्रा पूरा गर्ने नै छु। यात्रामा अनेकौं कुरा हुन्छन्। जीवनमा पनि त सँधै सफल भइँदैन। उतारचढावहरू आउँछन्।
मान्छेको जातै असफलताबाट जुरुक्क उठ्नु र अर्को यात्रा गर्नु पनि हो। सबै यात्राहरू सफल नै हुन्छन् वा हुनैपर्छ भन्ने मलाई लाग्दैन। कहिलेकाहीँ असफल भएको यात्राले, असफल भएको साथले, असफल भएको परिस्थितिले, असफल भएको सम्बन्धले झन् महान् पाठहरू सिकाउँछ।
मैले यो अधूरो यात्राबाट धेरै पाठहरू त अवश्य सिकेँ। सबभन्दा महत्वपूर्ण र मानवीयताको गम्भीर पाठ त ती शेर्पादाइ अनि उनको त्यो साहसिक चौध वर्षे हँसिलो भाइको साथले सिकेँ।
सायद त्यस्तो अवस्थामा म वा जो-कोही भएको भए पनि यसरी सहयोग गर्देनथ्यो होला। आजको युगमा मान्छेमा सहयोगी भावना मर्दै गएको छ। उसले त्यसरी सहयोग नगरेको भए म त्यो बिरानो बाटोमा के गर्थेँ होला, कसरी रातभरि छटपटाउँथे होला, के खान्थेँ होला आदि सोचेर पनि मन सिरिङ्गै हुन्छ।
मलाई त्यो शेर्पा केटोलाई जाने बेलामा धन्यवाद भन्न नपाएकोमा खिन्नता लाग्यो। म त उसको पाउ नै छुन चाहन्थेँ। यतिखेर दुरूस्तै अनुभव गरेको छु र सम्झिरहेको छु महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुनामदनका पङ्क्तिहरू।
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।