‘ढोरपाटनबाट पैदलै हिँडे एक महिना लाग्छ रोल्पाको लिबाङ झर्न।’
मनमनै हिसाब लगाएँ। एक महिनासम्म पदयात्राका लागि चाहिने सामानहरू तयारै थिए।
पोखराबाट जुत्ताको तुना कसेर हिड्नु अघिल्लो रात आफैंसँग गरेको बातचित थियो यो।
छापामार हिँडेको बाटो। अर्थात् गुरिल्ला ट्रेक। अब म एक महिना यहीँ बाटो पछ्याउने सुरसारमा थिएँ।
म्याग्दीको बेनी-दर्बाङ हुँदै बागलुङको ढोरपाटन। ढोरपाटनबाट पूर्वी र पश्चिमी रुकुम हुँदै रोल्पासम्म गरिने पदयात्रा हो यो। नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष र जिल्ला विकास समिति रुकुमको संयुक्त पहलमा वि.सं २०७२ देखि यो पदमार्ग सुरुआतमा ल्याइएको थियो।
१४, १९ र २७ दिन गरी तीन छुट्टाछुट्टै तरिकाले यहाँको पदयात्रा तय गर्न सकिन्छ। पदयात्रामा निस्किनु अघि मैले यी सब जानकारीहरू पुस्तक र गुगलमार्फत लिइसकेको थिएँ। मैले सबैभन्दा लामो समयको पदयात्रा रोजेँ। अर्थात् करिव एक महिना।
...
अघिल्लो एक महिना म त्यही बाटोमा थिएँ।
पदमार्ग घोषणा गरेर सञ्चालनमा आएको यतिका वर्ष भइसक्दा पनि पदमार्गको गुमनाम अवस्था, पर्यटकको आगमनको ग्राफ र यस पदमार्गको फरक विशेषताहरूको स्वाद चाख्न गुरिल्ला ट्रेक हानिएको थिएँ।
माओवादी जनयुद्धको पर्याय जस्तै बनेका रुकुम र रोल्पा छिचोलेर पदयात्रा टुंग्याउन मलाई एक महिनै लाग्यो। म्याग्दी, बागलुङ र सल्यान पनि जनयुद्ध ताका प्रभावित जिल्लाहरू हुन्। यहीँ भूगोलबाट सुरू भएको क्रान्ति अन्ततः २४० वर्ष लामो राजतन्त्र अन्त्य गरेर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने धारिलो तरबारै बन्यो।
रोल्पाको होलेरी, डोल्पाको दुनै, म्याग्दीको बेनी, तानसेनको पाल्पा आक्रमण लगायत देशका विभिन्न ठुल्ठुला माओवादी आक्रमणमा सफलता मिल्नुमा यी ठाउँहरूका ठूलो योगदान रह्यो। तिनै माओवादी छापामारहरू हिँडेको बाटोलाई पछि नामाकरण गरिएको हो, गुरिल्ला पदमार्ग।
ढोरपाटनको फाँटमा फूलहरूसँगै मन फुल्दाः
नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र हो ढोरपाटन। वर्षेनी नाउर र झारल शिकार गर्नकै लागि दर्जनौ विदेशीहरू यहाँसम्म आइपुग्छन्। विदेशीसँगै नेपाल भित्रिन्छ करोडौं रकम। यहीँ ढोरपाटनमा दर्जनौं सुन्दर फाँटहरू छन्। भन्छन्, यही फाँटहरूमा जनयुद्धकालमा माओवादीका क्याम्पहरू खडा थिए रे!
२०६० चैत ७ गते माओवादीले बेनी आक्रमण गर्दा करिब ६ हजार माओवादी जनमुक्ति सेनाहरू यही फाँट हुँदै रातारात बेनी आक्रमणमा लागेका थिए रे!
युद्ध समयमा बारुद र तोपको गन्ध छरिएको यस विशाल फाँटमा अहिले मगमग रंगीचंगी फूलहरूले बास्ना छरिरहेको छ। म मन्त्रमुग्ध भइजान्छु। मान्छेले भन्ने गरेको र मैले आफैंले देखेको स्वर्गमा आकाश जमिनको भिन्नता भेटेँ।
योभन्दा पनि सुन्दर मान्छेले भन्ने गरेको स्वर्ग होला र? म सोच्न बाध्य बन्छु।
कुनै समय माओवादीका सेनाहरू परेड खेल्ने अखडा बनाए ढोर फाँट। कमाण्डरको कडा शासनले फाँट वरपरका गाउँहरूमा त्राहीत्राही थियो होला त्यो बेला! छापामारहरू फुल्न आँटेका कोपिलामाथि गोडाफाँट-सर्तक गरेका होलान्। म अनुमान लगाउँछु। तर, मेरो सामुन्ने फाँट एकतमासले शालिन मुद्रामा छ। घोडाका बथान मस्त 'ब्रेकफास्ट' गर्दै छन्।
मरेपछिको स्वर्ग कस्तो हुन्छ? पत्तो भएन। तर, मैले जिउँदै भू-स्वर्गको अतृप्त स्वाद लिएँ। उस्तै, भूगोल रहेका बडिमालिका र खप्तड पछिल्लो समय पर्यटकहरूको रोजाइँमा पर्दा ढोरपाटन भने अझै गुमनाम नै छ। कसैले महत्व नदिँदैमा फेरि हिराले कहाँ आफ्नो चमक छाड्छ र? ढोरपाटन त्यही हिरा हो।
बुकीका गोठालाहरूः
ढोरपाटनको फाँट छाडेर म माथि लेकतिर लागेँ।
मनसुनमा माथि लेक उक्लनुको आफ्नै स्वाद छ। यताको भाषामा बुकी उक्लनु भन्दा रहेछन्। ढोरबासीहरू वैशाख लागेसँगै गाई-भैँसी, भेडा-बाख्रा सबै बुकीतिरै लिएर जान्छन्। असोज लागेसँगै दसैं मनाउने बेला बल्ल ढोर फर्कन्छन्। करिब पाँच छ महिना उनीहरूका लागि लेकै घर बन्छ। उनीहरू गाईवस्तुसँग बुकीमै रमाउँछन्।
करिब ४ हजार मिटरको उचाईंमा पर्ने लामेलामा भैँसी गोठमा भेटिए भीम बहादुर भण्डारी। ढोरपाटन छ्यान्टुङ र औलो कुदुममा गरी उनका दुई घर छन्। उमेरले ६५ लागेका उनी एक्लै आठ दश वटा भैँसी, केही गाई अनि बाखासँग गोठ एक्लै धानिरहेका छन्। खर्चपर्च सँकिदा उनकी श्रीमती तल औलोबाट खर्च बोकेर आउँदी रहिछन्।
तीन भाइ छोरा र एक छोरी उमेर बढेसँगै सबै आ-आफ्ना बाटो ततेरे। गोठ धान्ने जिम्मा भने अझै उनकै भागमा छ। १६ वर्षको कलिलो उमेरबाट गोठाला बनेका भीमलाई अहिले त यिनै गाईबाख्रा प्यारो लाग्छ।
‘मलाई त कहिलेकाहीँ बुर्तिबाङसम्म पुग्दा पनि के छुटे छुटेझैं लाग्छ। जता पुग्दा पनि मन त यतै लेकतिरै फर्किन्छ,’ ती बुढा मान्छेले त्यो पाखा पखेरो र गाई-भैँसीप्रतिको स्नेह सुनाए, ‘सानैदेखि गाई-भैँसीसँग खेले हुर्केको मान्छे म। गाई-भैँसी नै आफन्त, गोठै घर लाग्छ। भैँसी दुहुने, दुध तताउने, दही मोत्ने, घाँस काट्ने, गाईभैँसी बटुल्ने अनि आँटोसँग दुध खाने। यहीँ नै हो मेरो दैनिकी। यसरी दिन, हप्ता अनि महिना बितेको पत्तै हुँदैन।’
चार पुस्ताले धानिरहेको गोठ परम्परा अब पुस्तान्तरण नहुनेमा भने उनलाई ठूलो पीर छ। शहरको सुखसयलमा रमाइरहेका सन्तानहरू कहाँ दुःख गर्न लेक उक्लन्छन् होला र खै?
भीमबहादुर आफ्ना छोराछोरीलाई गोठ फर्क भन्न सक्दैनन्। ‘हामी बुढाबुढीको ज्यानले थेकुन्जेल त गोठ राख्ने नै हो। कहाँ यहाँ लेकको चिसो हावापानी र कहाँ बजारको त्यो हपहपी गर्मी र धुलोमैलो। गाई-भैँसीको गोरास र लेकको चिसो हावापानी खाएपछि त अझै ढुक्कले दश वर्ष गोठ राख्न सकिएला भन्ने आँट छ मनमा।’ यो दुखको विराट पहाड बोक्नुपर्दा पनि उनको मनको अचेत कुनामा छ त गोठ मासिने चिन्ता।
त्यो रात उनीसँग लामो बात भयो।
मलाई यात्रा अघि बढाउनु थियो। उनीसँग छुट्टिएँ। पिठ्युँमा बोकेका भारी झन झन गह्रौ लागि रहेको थियो।
...
भीमबहादुर जस्तै ढोरपाटन स्यालपाखेका धन बहादुर र मनिमा वि.कको जोडी रुकुमको चेमाली खर्कबाट ठाकुरमा भैँसी गोठ सार्दै थिए। एक लेकमा चरण सकिएपछि महिना दिनमा गोठ अर्को लेकमा सारिरहनु पर्ने झन्झट उनीहरूलाई सामान्य लाग्छ। पुरै गोठ सार्दाको सास्ती भोग्नेलाई मात्र थाहा हुन्छ। यसमा मात्र खटिएका थिए श्रीमान-श्रीमती।
परिवारमा अरु सन्तानहरू नभएका हैनन्। पाँच भाइ छोराहरू कोही विदेशिएका छन् त कोही पढ्न र जागिरमा लागेका बजारतिर छन्। अनि आलोपालो गरेर गोठ बुढाबुढीले हेर्नुपर्छ।
उपल्लो ढोरपाटनका लामेला, लसुने, ढुक, खोलाथरीदेखि रुकुम पुर्वका चेमाली खर्क, ठाकुर लगायतका भेगमा रहेका गाई-भैँसी, भेडी गोठहरूको जिम्मा बुढा पाकाकै भरमा छन्। उनीहरूको एउटै समान चिन्ता छ- अब उनीहरूको पुस्ता नै लेकमा गोठ राख्ने अन्तिम पुस्ता बन्नेछ।
गोठालाहरू भन्थे, एक्लै नहिँड्नु! लुटिन्छौं।
ढोरपाटन आरक्षको बागलुङ अंश सकियो।
म लागेँ पुर्वी रुकुम। ठाकुर हुँदै ठाकुर खोला तरेर भेटिने पहिलो गाउँ थियो पेल्मा। घना जंगल, दिउँसै अध्यारो छाउने। त्यहीँ जंगलमा एक महिना अघि दुई जना यार्सागुम्बा व्यापारीहरू लुटिएका रहेछन्!
पोहोर साल त्यही ठाउँमा एक जना शिक्षकलाई लुटेका खबर सुनेको थिएँ। ‘हामी त त्यो बाटो एक्लै हिँड्न डराउछौं, झन् तपाईंको त ब्याग प्याक र क्यामेरा देखेरै लुट्न बेर लाग्दैनन्,’ बाटाभर भेटिने गोठालाले डरको बेलुन फुकिदिए। यतिको हिम्मत गरेर सुरू गरेको यात्रा बीच बाटामै बिट मार्नु लाजै मर्नु काम हो, मनमनै सोचेँ।
खुबै लुटे, साथमा भएको एउटा क्यामेरा, दुई सेट मोबाइल र केही हजार पैसा त लुट्लान्। यतिका दिन घुमेका किस्साहरू त पक्कै नलुट्लान् लुटेराले!
काँधमा झोलासँगै मनमा आत्मविश्वास बोकेर म लागे पेल्मातिर।
घना जंगलको बीचबीचमा म रोकेर पछाडि फर्केर हेर्थेँ। कतै लुटेराले मलाई पछ्याइरहेका त छैनन्। बाटामा भेटिएका सुन्दर दृश्यहरूलाई क्यामेरामा कैद गर्ने आँटसम्म गरिनँ। क्यामेरो झिकुँ भन्छु, गोठालाका वाक्य सम्झेर आँटै आएन।
ती तस्बिर मैले आफैँभित्र कैद गरेको छु।
साँझ अबेला पेल्मा पुगेर बल्ल चैनको सास फेरेँ। कति अन्तरः पोखराको सुख, पेल्मा र मैकोटका दुख गाउँहरू सुन्दर हुन्छन्। हरेक गाउँको प्रतिस्पर्धा हुन्छ एकअर्कासँग। पेल्मा र मैकोट पनि प्रतिस्पर्धामा छन्। हरिया मकैका बारी। अनि माझमा लमतन्न सुतेको छ गाउँ। म एकटकले हेरिरहेको छु। धीतमरुन्जेल क्यामेराले फोटो खिच्छु।
मगर जातिको बाहुल्य रहेको यी दुई गाउँको सुन्दरता सबैको हृदयसम्मै पुग्छ। तर, अपशोच दुखले मनै बिझाउँछ। अझैसम्म यी गाउँहरूमा मोटर पुगेका छैन। नुनतेल र चामल बोकेर दिनभर हिँड्नुपर्छ। खच्चरले बोकेर ल्याएको रासनको मूल्य चुकाउन कुनै युद्ध लडे भन्दा कम्ति छैन। दश वर्षे जनयुद्ध पार लाग्यो। तर, यी गाउँलेको दुख उस्तै छ।
‘बजारको मुल्यभन्दा दोब्बर मुल्यमा दैनिक आवश्यक पर्ने सामानहरू किन्नु पर्दा हामी मारमा छौं,’ पेल्माका ५३ वर्षीय काले बुढा मगरले गाउँको व्यथा सुनाउँदा मनै अमिलो भयो, ‘बुर्तिबाङमा सोह्र सय रुपैयाँ पर्ने एक बोरा जिरा चामल यहाँसम्म आइपुग्दा २५ सय ३ हजारसम्म पुग्छ। खाने तेलको मूल्य झन् छोइनसक्नु छ। मोटरबाटोले गाउँ छोए केही राहत मिल्थ्यो कि भनेर कुरेको पनि वर्षौ भयो। स्थानीय सरकार आयो। कैयौं नेताहरू फेरिए तर हाम्रो नियति कहिल्यै फेरिएन।’
मैकोटको दुःख पनि उही हो। बोटमा पाकेका स्याउले बजार नपाएर बोटमै कुहिन्छन्। बिरामी पर्दा डोकोमा घन्टौं बोकेर सहर पुर्याउँदा कतिले बाटामै अन्तिम सास फेरेका छन्। महंगीले जनताको ढाँड सेक्यो। यस्तै गुनासाहरूका चाङ सुनिदिने कोही थिएनन् गाउँमा। यही जुनीमा गाउँबाटै मोटरमा सरर सदरमुकामसम्म पुग्ने राम प्रसाद पुनको धोको पूरा हुने हो, होइन? म यसै भन्न सक्दिनँ।
हेल्लो सरकार, उमेरले डाँडा काटी सकेका ती बुढा मान्छेको त्यो उत्कट चाहना पूरा मात्रै भई दिए, मैले राखेको अपेक्षाबाट एकथोक हटाइ दिने थिएँ।
सहिदको कम मोल तपाईं हामीलाई थाहै छ, रोल्पा जिल्ला माओवादी जनयद्धको उद्गम थलो हो। जनयुद्ध ताका रोल्पाकै अति प्रभावित गाउँमध्ये एक हो जेलबाङ। सिंगो गाउँ माओवादी पक्षबाट ६३ र राज्य तर्फबाट १० गरी ७३ जना सहिद भएको ठाउँ हो जेलबाङ।
जनयुद्ध समयमा माओवादीका हार्डवयर डिपार्टको बटालियन कमान्डर रहेका चन्द्र बहादुर बुढा मगर (कमरेड शेष) विगतमा फर्किए। जनयुद्धका ती कहालिलाग्दा दिन रोल्पालीले के बिर्सिन्थे। चन्द्रले सचित्र बयान गरे। उनी जति जति अघि बढ्थें। म यसै आत्तिन्थे।
‘जनयुद्धलाई सफल पार्न जेलबाङ र जेलबाङबासीको भूमिका अतुलनीय रह्यो। ७३ जना शहिद, ४२ जना अपाङ, २३ जना बन्दी र १६ घर नेपाली सेनाको टोलीले आगलानी परिएको ठाउँ हो जेलबाङ। तर जेलबाङ र जेलबाङबासीको त्याग, समर्पण र योगदानलाई सरकारले सधैं उपेक्षा नै गरिरह्यो। गुरिल्ला पदमार्गलाई विश्व बजारमा ब्रान्डिङ गर्न सकिए, केही राहत पक्कै जेलबाङ र जेलबाङबासीलाई पनि मिल्ने थियो।’
चन्द्रको माग जायज छ।
बिडम्बना! हामी सबैलाई थाहै छ।
...
२०७२ सालमा घोषणा भएको गुरिल्ला पदमार्ग यति लामो समय बितिसक्दा पनि त्यति सोचेजति उचाइ लिन सकेन। नजिकैको अन्नपूर्ण र धौलागिरी क्षेत्रले पर्यटनमा फड्को मारिसक्दा पनि यस भेगले गुरिल्ला पदमार्गलाई अवसरका रूपमा लिन नसक्नु आफैंमा दुःखद पक्ष हो। अनि सधैं ओझेलमा परिरहे, यहाँका प्राकृतिक, धार्मिक र जैविक धरोहरहरू।
पदमार्गको स्तरोन्नति, प्रचार-प्रसार र प्रवर्धनमा वार्षिक रूपमा लाखौं बजेट विनियोजित भएको खबर सुन्न र पढ्नमा आएपनि यर्थाथमा भने काम शून्य नै भेटिन्छ। फाट्टफुट्ट एकाध ठाउँमा सिढीँको बाटाहरू, बनेका केही प्रतिक्षालयहरू र बाटामा टाँसिएका सूचना बोर्डहरू मात्र यतिका वर्षका उपलब्धी हुन् झैं लाग्छ। यति राम्रो अवसरलाई चिन्न नसक्नु आफैंमा दुखद पक्ष हो।
कोरोना महामारी अघि यस पदमार्गमा केही विदेशी पर्यटकहरू आक्कलझुक्कल देखिन्थे। गुरिल्ला पदयात्रा नै भनेर पुरै यात्रामा निस्किने नेपालीहरू झन् कमै थिए। यता बिना गाइड आउने विदेशी पर्यटकहरू ठाउँठाउँमा हराउने घटनाहरू दोहोरिरहन्थे। कारण, पर्याप्त जानकारीसहितको सूचना बोर्ड र स्तरिय पदमार्ग नहुनाले। मलाई लागेको, पदमार्गको नियमित मर्मत संभार, पर्याप्त प्रचारप्रसार र पदमार्ग भर सुविधायुक्त होमस्टे र होटलहरू नहुनु नै पर्यटकको आगमनमा कमी हुनुका मुख्य कारणहरू हुन्।
गुरिल्ला पदमार्ग नचिनेको गुमनाम हिरा हो।
प्रशस्त सम्भावनाहरू बोकेको यस क्षेत्रलाई किन नेपाली र विश्व बजारमा ब्रान्डिङ गर्न सकिएन, सम्बन्धित सरोकारवालाहरूलाई गुनासाहरू पोखे। दश वर्षे जनयुद्धलाई नजिकबाट चियाउने र अध्ययन गर्ने पाठशाला, मगर भाषा संस्कृतिको मिहिन खोज र अध्ययन गर्ने थलोः ढोरपाटन, जलजला जस्ता जैविक र प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँहरूलाई ब्रान्डिङ गरेर संयुक्त रूपमा विश्व पर्यटन बजारमा गुरिल्ला पदमार्गलाई पस्कन सक्नुपर्छ।
यसका लागि पदमार्गको स्तरोन्नति, सुविधायुक्त होमस्टे, होटल र टी हाउसको व्यवस्था एवम् पर्याप्त प्रचारप्रसारमा सरोकारवालाहरूले जोड दिन सक्नुपर्छ। अनि, मात्र कुनै गुरिल्ला पदमार्गले सिंगो पश्चिम नेपाललाई विश्व बजारमा चिनाउन सक्छ।