ल्यापटपमा औँलाहरू खियाउँदै गर्दा साथी अनिल ढकालको फोन आयो।
जाने हो त विदेश घुम्न? उनले सोधे।
म अकमकाएँ। बिनाप्रसंग अकस्मात उनले प्रस्ताव राखेका थिए।
मैले खेलाँची तरिकाले भनिदिएँ, भैहाल्छ नि!
उनले साँच्चै सोधेका रहेछन्। एक हप्तामा दुई देश घुमेर फर्कने कुरा गरे। दुबई त सुनिरहेकै हो, संयुक्त अरब इमिरेट्स (युएई) को ठूलो सहर। अर्को ठाउँको नाम के भने, बुझिनँ। त्यसअघि त्यो नाम सुनेकै थिइनँ।
मैले परिवारमा सल्लाह गर्छु भनेर थोरै समय मागेँ। घुम्न जाने ठाउँको नाम लेखेर पठाउन भनेँ, बाकु रहेछ।
तुरुन्तै गुगल गरेँ। सुन्दर र अग्ला घरका फोटाहरू देखिए। क्यास्पियन सागर छेउमा मान्छेहरू रमाएका र ऐतिहासिक स्थलमा घुमेका फोटाहरू भेटिए।
युरोप र एसियासँग जोडिएको अजरबैजानको राजधानी रहेछ बाकु। पछिल्ला केही वर्ष यहाँ विदेशी पर्यटकहरू जानेक्रम बढेको रहेछ।
घरमा जानकारी गराएपछि मैले जाने निधो गरेँ। पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, सल्लाहकार तिलकराम रिमाल, पत्रकारहरू सुवास पण्डित, अनिल ढकाल र प्रकाश सिग्देलले मैलेभन्दा अघि नै भ्रमण निश्चित गरिसकेका रहेछन्।
गत साउन १२ गते राति पौने ११ बजे हामी एयर अरेबियाको जहाज चढ्यौँ। सहर–बस्तीमा बलेका बत्ती मध्यरातमा आकाशका ताराझैँ चम्किएका थिए।
नेपाली समयअनुसार पूर्वाह्न तीन बजे, स्थानीय समय पूर्वाह्न साढे एक बजे युएईको सारजाह विमानस्थलमा जहाज अवतरण भयो।
बाकुका लागि बिहान ७ः५५ बजेको जहाज चढ्नु थियो। हामीसँग साढे छ घण्टा समय थियो। विमानस्थलभित्रका ड्युटी फ्री पसल चहार्दै गर्दा उज्यालो भयो।
बिहानै फेरि एयर अरेबियाको जहाज चढेर बाकुतर्फको यात्रा सुरु भयो। युएई, इरान र क्यास्पियन समुद्र छिचोल्दै बाकु पुग्न हामीलाई करिब तीन घण्टा लाग्यो।
समुद्र नजिकै रहेको निकै सुन्दर, शान्त र भव्य हेदर अलियेभ अन्तर्राष्ट्रिय विमानस्थल हामीलाई कुरिरहेको थियो। अजरबैजानी पर्यटक गाइड रोशन (नेपाली नाम) हामीलाई पर्खिरहेका थिए।
नीलो आकासमुनि ठूला र अग्ला भवनहरू रहेको सफा र सुन्दर सहर, रहरलाग्दो कालोपत्रे सडक र दायाँ–बायाँ सुन्दर पार्कहरू देख्दा आँखाले निकै आनन्द माने। ठाउँ–ठाउँमा हेदर अलियेभ लेखिएका मूर्ति र पार्कहरू देखिए।
हामीले यो नामको विषयमा जिज्ञासा राख्दा रोशनले भने, ‘हेदर अलियेभ इज फादर अफ मोर्डन अजरबैजान।’
उनले सडकबाट देखिएका ठाउँहरू चिनाउँदै र अजरबैजानको इतिहास सुनाउँदै हामीलाई होटल एमराल्ड पुर्याए। साउन १४ गते अर्थात जुलाई ३० मा घुम्ने ठाउँको विषयमा सामान्य जानकारी गराएर बिहान नौ बजे भेट्ने वाचा गर्दै रोशन बिदा भए।
मध्याह्न १२ बजेतिर हामी होटल पुग्यौँ। केही बेर आराम गरेपछि मलाई यो देशको इतिहास जान्ने इच्छा भयो। इन्टरनेटमा सर्च गर्दै नोटप्याडमा नोट गर्न थालेँ।
तेल र ग्यास पर्याप्त रहेका कारण अजरबैजानमा विश्वका शक्तिशाली शासक सबैको नजर थियो। इरान, टर्की, रुस, ब्रिटिस, युरोप, जर्मनी सबैले आँखा लगाएका थिए। युरोप, रुस, इरान र टर्कीले त विभिन्न कालखण्डमा अजरबैजानलाई कब्जामै लिएर शासन गरे।
सन् १९१८ देखि १९२० सम्म अजरबैजान स्वतन्त्र लोकतान्त्रिक गणराज्य थियो जो इस्लामहरूको पहिलो लोकतान्त्रिक गणराज्य मानिँदो रहेछ।
अजरबैजान लोकतान्त्रिक गणतन्त्र र तुर्की साम्राज्यको संयुक्त सेना सन् १९१८ को सेप्टेम्बरमा बाकु प्रवेश गरी अजरबैजानको राजधानी घोषणा गरेको थियो।
सोही महिना अजरबैजान धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो। त्यतिखेर यहाँ ब्रिटिस साम्राज्यको प्रभाव बढ्दो क्रममा थियो।
दुई वर्षपछि सन् १९२० मा सोभियत सेनाले अजरबैजानमाथि आक्रमण गर्यो, करिब २० हजार नागरिक मारिए। अजरबैजान सोभियत संघमा गाभिन पुग्यो, आफ्नो राष्ट्रिय पहिचान गुमायो।
गुमेको राज्य फिर्ता ल्याउन अजरबैजानीलाई ७० वर्षभन्दा बढी लाग्यो।
बाकुमा विश्वमै पहिलो पटक तेल उत्खनन् गरिएको थियो। सन् १९०० तिर विश्वभर उत्पादन हुने तेलको आधा हिस्सा अजरबैजानको थियो।
तेल र ग्यास पर्याप्त भएकाले सोभियत संघ अजरबैजानलाई महत्वपूर्ण रणनीतिक क्षेत्र मान्थ्यो। दोस्रो विश्वयुद्धमा अजरबैजानले सोभियत संघका लागि आवश्यक पर्ने अधिकांश ग्यास र तेल आपूर्ति गरेको थियो।
जर्मनीलाई पराजित गरेर रुसलाई शक्तिशाली राष्ट्र बनाउन अजेरीहरू (अजरबैजान नागरिक) ले ठूलो योगदान गरेका थिए। उक्त युद्धमा कति अजेरीले ज्यान गुमाए भन्ने यकिन तथ्यांक नै छैन।
जितको प्रतीकस्वरुप देशका विभिन्न ठाउँमा ठड्याइएका विजय स्मारकहरू देख्न पाइन्छ।
विश्वयुद्व सकियो तर नोगर्नो–काराबाखको विषयमा अर्मेनियाली र अजेरीको युद्ध चल्दै थियो। यो युद्ध भूमि र जातीयताको विषयमा थियो। यसले अजरबैजानलाई ठूलो क्षति गरेको थियो।
अर्थतन्त्र तहसनहस बनेको थियो। यसलाई हल गर्न सोभियत संघले हेदर अलियेवलाई अजरबैजान कम्युनिस्ट पार्टीको पहिलो महासचिव बनायो।
अलियेवको नेतृत्व (सन् १९६९–१९८२) मा अजरबैजानको आर्थिक अवस्थामा धेरै सुधार भयो। तेल उत्पादनको बढ्दो गिरावट नियन्त्रणमा लिन विभिन्न उद्योगहरू चलाइए।
सामान ओसारपसार गर्न र यातायात सहज बनाउन सोभियत संघले बाकुमा भूमिगत रेल चलायो। यसले त्यस क्षेत्रको आर्थिक स्थितिमा सुधार ल्यायो।
यसबाट प्रभावित भएको मस्कोले हेदर अलियेवलाई कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्यमा नियुक्त गर्यो। उनी सन् १९८२ देखि १९८७ सम्म सोभियत संघको उपप्रमुख बने।
सन् १९९१ मा सोभियत संघको पतनसँगै अजरबैजान स्वतन्त्र गणराज्य बन्यो तर आर्कोनियासँगको युद्ध थप चर्कियो।
स्वतन्त्र गणराज्यको पहिलो राष्ट्रपति अयाज मुतालिबोव चुनिए। युद्धको चपेटामा परेको अजरबैजानमा उनको शासन करिब एक वर्षमै समाप्त भयो। अबुलफाज एल्चिबे थोरै समय राष्ट्रपति बने।
सन् १९९३ मा भएको राष्ट्रपति निर्वाचनमा हेदर अलियेव निर्वाचित भए। उनी राष्ट्रपति भएकै समयमा अर्मेनिया–अजरबैजान युद्ध सकियो।
सोभियत शासनमै सुरु भएर छ वर्ष चलेको युद्धमा अजरबैजानतर्फ मात्रै तीस हजारभन्दा बढी मानिस मारिए। सीमा क्षेत्रको भूभाग नागार्नो–काराबाख माथि अर्मेनियाले अतिक्रमण गरेको आरोप अजरबैजानको छ।
नागार्नो–काराबाखमा केही अर्मेनियालीको पनि बसोबास थियो। पछि उनीहरूले अजेरीलाई विस्थापित गरेर त्यो ठाउँ आफ्नो देशमा गाभेको इतिहास रहेछ।
युद्धका क्रममा लाखौँ अजेरीहरू त्यहाँबाट विस्थापित भए। अर्मेनियाले पुरै देश निल्ने र देशको अस्तित्व नै समाप्त हुने खतरा देखेपछि हेदर अलियेवले अजरबैजानले करिब २० प्रतिशत भूमि गुमाउने गरी सम्झौता गरेका थिए।
सन् १९९८ मा भएको अर्को निर्वाचनबाट उनी फेरि राष्ट्रपति बने। आफ्नो कार्यकालमा उनले द्वन्द्व समाधान गरे, तेल र ग्यास उत्पादन बढाएर निर्यातको सम्झौता गरे। उनको कार्यकालमा तेल र ग्यासका पाइपलाइनहरू बन्न थाले।
सन् २००३ मा राष्ट्रपति रहेकै समयमा स्वास्थ्यमा समस्या आएर हेदर थला परे। अस्वस्थ भएर काम गर्न नसकेपछि हेदरको पार्टीले उनका छोरा इल्हाम अलियेवलाई राष्ट्रपतिको निर्विरोध उम्मेदवार बनायो। उनले चुनाव जिते। हेदर सोही सालको अन्त्यमा बिते।
इल्हाम सन् २००३ यता लगातार अजरबैजानको राष्ट्रपति छन्। पछिल्लो पटक सन् २०१८ मा भएको निर्वाचनमा उनी ८६.०२ प्रतिशत मत प्राप्त गरेर चौथौ पटक अजरबैजानको राष्ट्रपति भएका थिए।
धाँधली हुने आशंकामा मुख्य विपक्षी दलहरूले उक्त निर्वाचन बहिष्कार गरेका थिए।
अजेरीहरू हेदरलाई असाध्यै श्रद्धा गर्दा रहेछन्। देशका महत्वपूर्ण संरचना उनकै नाममा रहेछन्। उनकै नामको हेदर अलियेभ सेन्टरको भवन बाकुको सान हो।
मध्य सहरमा रहेको यो भवन बाकुको आधुनिक वास्तुकलाको उत्कृष्ट नमूना हो। इराकी–ब्रिटिस आर्किटेक्टले डिजाइन गरेको यो भवन ५७ हजार ५०० वर्गमिटर क्षेत्रमा फैलिएको छ।
यहाँ ठूला कार्यक्रम, सभा, प्रदर्शनी हुने रहेछन्। यहाँ संग्रहालय पनि रहेछ। यो बाकुको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो।
बाकु पुग्ने जोकोही यो भवनको अघिल्तिर ‘आई लभ बाकु’ लेखिएको ठाउँमा फोटो खिचाउन मोहित हुँदा रहेछन्।
हामी पुग्दा यहाँ कुनै सांगीतिक कार्यक्रमको तयारी हुँदै थियो। केही युवायुवती नाचको तयारीमा थिए। यो भव्य भवन अगाडिको पार्कमा हामी पनि एकछिन उनीहरूसँगै उफ्रियौँ।
हेदरको नाममा बनेको बाकुको अन्तर्राष्ट्रिय विमानस्थल पनि उत्तिकै सुन्दर छ। पहिले ‘बिना एयरपोर्ट’ भनिने यो विमानस्थलको नाम सन् २००४ मा परिवर्तन गरिएको रहेछ।
विमानस्थल र बाकु सहरलाई आधुनिक राजमार्गले जोडेको छ। यहाँबाट करिब २० किलोमिटर पर बाकुको मुख्य सहर छ।
यहाँका कतिपय बासिन्दा बाकुको अर्थ ‘भगवानको सहर’ हो भन्छन्। कोही चाहिँ ‘हावा चलिरहने सहर’ भन्दा रहेछन्।
वातानुकूलित विमानस्थलबाट बाहिर निस्कँदा हामीलाई पनि यहाँको मिठो हावाले स्पर्श गरेको थियो। सहरभित्र पसेपछि त्यहाँका पाँचौँ शताब्दीका संरचना, दरबार र मस्जिदहरू हेर्दा बाकु ‘भगवानको सहर’ जस्तो पनि लाग्थ्यो।
दसौँ शताब्दीसम्म बाकुको विषयमा निकै कम तथ्यहरू पत्ता लागे पनि त्यसयताका धेरै प्रमाणहरू सहरमा सुरक्षित छन्। आठौँ शताब्दीसम्म बाकु पहिले अरबको र पछि शिरवंशको अधिनमा रहेको तथ्यहरूले देखाउने रहेछन्।
शिरवंशले बाकुमा नौसेना निर्माण गरेको थियो। शिरवंशको राजधानी पहिले शामाखी भन्ने ठाउँमा थियो। सन् ११९१ मा आएको विनाशकारी भूकम्पपछि शिरवंशको दरबार बाकुमा सारियो। सन् ११७० मा रुसले हमला गर्दा शिरवंश सेनाले भगाएका रहेछन्।
बाह्रौँ–चौधौँ शताब्दीमा बाकुको वरपर विशाल किल्ला बनाइएको थियो। यो समयमा बाकुमा ठूल्ठूला महल र दरबारहरू बनाइएका थिए। सहरका पर्खालहरू पनि पुनर्निर्माण गरेर बलियो बनाइएका थिए।
त्यतिखेर बनेका किल्ला, दरबार, मस्जिदहरूको अस्तित्व अझै सुरक्षित छ।
सोभियत शासनकालमा बाकुमा ठूला संरचनाहरू बनेका रहेछन्। करिब ७० वर्षमा सोभियत संघले बाकुमा ठूला महल, अपार्टमेन्ट, फराकिला सडक बनाएको थियो। रेल चलाएको थियो।
सोभियतकालीन ती संरचनाहरू अझै प्रयोगमा छन्। महत्वपूर्ण सरकारी कार्यालय, कूटनीतिक नियोग, होटलहरू अहिले पनि सोभियतकालीन भवनमा रहेछन्।
पछिल्लो तीन दशकमा बाकुमा ठूल्ठूला भवनहरू बनेका छन्। क्यास्पियन सागरको किनारमा रहेको उच्च भागमा तीन वटा अग्ला भवन खडा छन् जसलाई ‘फ्लेम टावर’ भन्दा रहेछन्।
आगोको ज्वालाजस्ता देखिने यी टावर हेर्न पर्यटकहरू खचाखच हुने रहेछन्। रोशनले जानकारी गराए, ‘तेल र ग्यास उत्पादनले चिनिएको अजरबैजान द ल्यान्ड अफ फायर भन्ने गरिन्छ। फ्लेम टावर यसैका प्रतीक हुन्।’
बाकु सहरको जुनसुकै कुनाबाट पनि यी टावर देखिन्छन्। रातको समयमा भवन बाहिर रहेका स्क्रिनहरू आगोको लप्काझैँ देखिन्छन्। त्यसमा सूचना र विज्ञापनहरू प्रशारण भइरहेका हुन्छन्।
तीमध्ये सबैभन्दा अग्लो टावरको उचाइ १८२ मिटर छ। यी गगनचुम्बी भवनका ३३ तल्लामा १३० अपार्टमेन्टहरू छन्। यहाँ २५० कोठाको फायरमन्ट होटल छ।
सरकारी कार्यालयहरू छन् ६१ अपार्टमेन्टमा। अमेरिकी आर्किटेक्टले डिजाइन गरेको यो टवार बन्न करिब पाँच वर्ष लागेको थियो।
फ्लेम टावरको नजिकै अजरबैजानको संसद भवन छ। अघिल्तिर एउटा मस्जिद छ। छेवैमा ढकमक्क फूल, धुपी र सल्लाका बोटहरूले भरिएको पार्कमा एउटा शालिक देखियो। यो ‘बाकु तुर्किस मार्टस मेमोरियल पार्क’ रहेछ।
पहिलो विश्वयुद्धमा अजरबैजानका पक्षमा लड्दा ज्यान गुमाएका टर्कीका ११३० जना सैनिकको सम्झनामा यहाँ संग्रहालय बनेको रहेछ।
थोरै अघि बढेपछि एकातर्फ क्यास्पियन सागर र बाकु सहर सर्लक्क देखिने रहेछ, अर्कोतर्फ फ्लेम टावरहरू।
जुलाई ३० को बिहान ९ बजे हामी ब्रेकफास्ट गरेर होटलको लबीमा बसेका थियौँ। रोशन टुप्लुक्क आइपुगे। उनले हामीलाई सुरुमा हेदर अलियेभ भवन देखाउन लगे। त्यसपछि यहाँको सबैभन्दा पुरानो सहर पुर्याउ।
इचरी भनिने यो पुरानो सहरलाई अजरबैजानले निकै महत्व दिएको रहेछ। यो सहर पर्खालले घेरिएको छ। यो सहरको जनसंख्या अहिले करिब तीन हजार छ।
यसको इतिहास खोज्दै जाँदा पाचौँ शताब्दीसम्म पुगिँदो रहेछ। यो सहर विश्व सम्पदामा सूचीकृत छ। यहाँ शिरवंशको दरबार, मेडन टावर र धेरै पुराना मस्जिदहरू छन्।
मूल गेटबाट पस्ने बित्तिकै सडकको बीचमा एक व्यक्ति फलफूल बेच्न बसेका भेटिए। उनले कार्टनमा राता र हरिया आरुबखडा, स्ट्रबेरी र काफल राखेका थिए।
हामीले ब्रेकफास्टमै यी सबै खाएका थियौँ, किन्नु थिएन। उनले स्थानीय अर्गानिक उत्पादन चख्न आग्रह गरे। हामीले उनको आग्रह स्वीकार गर्यौँ।
थोरै अघि बढेपछि ढुंगै ढुंगाले बनेको अग्लो गोलाकार टावर देखियो। यो मेडन टावर बाह्रौँ शताब्दीमा बनेको मानिँदो रहेछ। केही अध्ययनले यो टावर सातौँ शताब्दीमै बनेको पनि भनेका रहेछन् तर त्यसको विश्वसनीय आधार छैन भनिँदो रहेछ।
समुद्र नजिकैको यो टावर सहरको सुरक्षाका लागि बनाइएको थियो। एक जना राजाकी छोरी यो टावरबाट हामफालेर मरेका कारण उनको नामबाट ‘माइडेन टावर’ भनिएको रहेछ।
यो टावरबाट शासकहरू दुस्मनको गतिविधि नियाल्थे। कुनै पनि साम्राज्यवादीले यो टावरमा बल प्रयोग गरेनन्, आक्रमण गरेनन्। यसै कारण अजेरीहरू यसलाई ‘भर्जिन टावर’ पनि भन्दा रहेछन्।
सदियौँ पुरानो यो संरचना अहिले पनि पुरानो सहरको बीचमा सतिसालझैँ खडा छ।
शुल्क बुझाएर टावरमा चढ्ने पाइने व्यवस्था रहेछ। यसको टुप्पोबाट पुरै बाकु सहर देखिने कुरा गाइडले सुनाए।
यो गोलाकार स्तम्भको तस्बिर अजरी नोटमा पनि छापिँदो रहेछ। यहाँ पुगेका पर्यटकहरूले किन्ने प्रायः उपहारमा पनि टावरको तस्बिर हुने रहेछ।
यो टावर पनि युनेस्कोको विश्वसम्पदा सूचीमा छ।
टावर आसपास अजरबैजानको संस्कृति झल्कने मायाको चिनो बेच्ने पसलहरू छन्। सडक किनारमै पनि सामान बेच्नेहरू भेटिन्छन्।
सडक किनारमा हँसियाहथौडा अंकित टोपी बेच्नेहरू देखिए। उनीहरूले निश्चित शुल्कमा त्यो टोपी लगाएर फोटो खिच्न पनि दिने रहेछन्।
टावर नजिकै एउटा संग्रहालय छ। यहाँ विभिन्न कालखण्डमा अजरबैजानमा रहेका साम्राज्यवादी शासनका अवषेशहरू संगृहीत रहेछन्।
रोशनले हामीलाई एउटा घरभित्र लगे। त्यो बाली बुटिक थियो। मिठाई, मह र चिया पाइने उक्त पसलमा दुई युवायुवती थिए। रोशनले हाम्रो परिचय गराए।
मेरो नाम सुनेर युवती मुसुक्क हाँसिन्। उनको नाम राजिया रहेछ। उनका बाबु उनलाई ‘राजेश’ नामले बोलाउँदा रहेछन्।
बाली बुटिक राजियाको परिवारको कृषि उपजको ‘आउटलेट’ रहेछ। उनीहरूले अजरबैजानका आठवटा क्षेत्रमा अर्गानिक चिया खेती र मौरीपालन गरेका रहेछन्। आफ्नो उत्पादन ब्रान्डिङ गरेर विभिन्न देशमा निर्यात गर्दा रहेछन्। राजियाले हामीलाई चिया र मिठाई खुवाइन्। हामीले केही मिठाई किन्यौँ।
बिदा हुनलाग्दा उनले आफूले विभिन्न देशका मुद्रा संकलन गर्ने गरेको बताइन्। हामीले नेपाली नोट देखायौँ। बीस रुपैयाँको नोटमा रहेको जरायोको तस्वीर हेर्दै उनले सोधिन्– पैसाको नोटमा जनावरको चित्र किन राखेको?
हामीले वन्यजन्तुहरू नेपालको पहिचान हुन् भनेर बतायौँ। नेपालमा विश्वका अन्य ठाउँमा नपाइने धेरै वन्यजन्तु रहेको, ती वन्यजन्तु देशको पहिचान बनेको र सबै नोटमा वन्यजन्तुको तस्वीर रहेको कुरा उनलाई सुनायौँ।
राजियालाई नेपालको विषयमा केही कुरा थाहा रहेछ। नेपाली महिलाहरूले लगाउने पोशाक मन पर्दो रहेछ। उनले नेपालको बारेमा थप कुरा बुझ्न चाहिन्। हामीले मोबाइल फोनमा रहेका चितवनका बाघ, गैँडा र हात्तीका फोटा देखायौँ।
यो सबै तपाईंहरू आफैँले खिच्नुभएको? दंग पर्दै उनले सोधिन्।
हामीले नै ती फोटो खिचेको थाहा पाएर झन् दंग परिन्।
हामीले दिनहुँजसो देखिरहने वन्यजन्तुको फोटोसमेत उनका लागि असाध्यै ठूलो विषय भयो।
त्यहाँबाट हामी पुग्यौँ नजिकै रहेको निजामी स्ट्रीट। कुल तीन हजार ५३८ मिटर लामो यो सडकको नाम अजरबैजानका प्रख्यात कवि तथा गीतकार निजामी गन्जाबीको नामबाट राखिएको रहेछ।
निजामी बाह्रौँ शताब्दीका ठूला कवि थिए। उनलाई अजेरीहरू आफ्ना आदिकवि मान्दा रहेछन्।
निजामी स्ट्रीट निकै आकर्षक छ। आकर्षक सडकको दायाँ–बायाँ ठूल्ठूला भवनहरू छन्। ती भवनमा विभिन्न पसल र रेस्टुरेन्ट छन्। डिभाइडरसहितको यो सडकमा दुईतर्फ बस्ने बेञ्च राखिएका छन्।
मान्छेहरू कोही हिँडिरहेका छन्। कोही फोटो खिच्दैछन्। कोही बेञ्चमा बसेका देखिन्छन्।
साढे तीन किलोमिटर लामो सडकमा मान्छे नै मान्छे छन्। उनीहरू सबै बाकुको यो बजार र सडक हेरेर आनन्द लिइरहेका छन्। यहाँ कुनै पनि सवारीसाधन चल्न पाउँदैन।
निजामी सडकको पल्लो छेउमा एउटा भव्य भवनको दोस्रो तलामा पूर्णकदका केही मूर्ति लस्करै देखिए। केही पर एउटा अग्लो छुट्टै मूर्ति देखियो। त्यो भवन संग्रहालय रहेछ। ती मूर्ति उनै कवि निजामीका रहेछन्। बलिउडको प्रसिद्ध चलचित्र ‘लैलामजनु’ उनकै कहानीमा आधारित छ।
कविको सम्मानमा देशले यति महत्वपूर्ण संरचना बनाएको देखेर म दंग परेँ। हाम्रो देशमा साहित्य क्षेत्रप्रति राज्यको रुचि त्यति नभएको देखेका कारण पनि मलाई अचम्म लागेको हुन सक्छ।
तेस्रो दिन हामी अजरबैजानमा रहेको एक मात्र हिन्दु मन्दिर पुग्नेवाला थियौँ। इस्लाम समुदायका गाइड रोशनले हामीलाई बिहान नौ बजे मन्दिरका लागि तयार रहन सूचित गरेका थिए।
हामीलाई भने इस्लामिक देशमा कसरी हिन्दु मन्दिर बन्यो होला, मन्दिर कस्तो होला भन्ने जान्न कौतुहल थियो।
बिहान पौने १० बजेतिर रोशनले हामीलाई मन्दिर परिसर पुर्याए। मन्दिर फराकिलो र अग्लो पर्खालले घरिएको थियो। भित्र छिर्नेबित्तिकै मेरा आँखाले गजुर खोजे तर भेटेनन्।
बीच भागमा अलिक अग्लो संरचना थियो। मन्दिर नै त्यही रहेछ। मन्दिरको ढोका बन्द थियो। नजिकै एकजना सुरक्षाकर्मी थिए।
उनले मन्दिर खुल्न केही समय लाग्ने बताए। रोशनले हाम्रो लागि मन्दिर प्रवेशको टिकट किनेर ल्याए।
केही बेरमा एक महिलाले मन्दिरको गेट खोलिन्। उनी मन्दिरकी कर्मचारी रहिछन्। आँगनमा अखण्ड दीप बलेको थियो। भित्र धेरै कोठा थिए।
ससाना कोठामा हिन्दु धर्मावलम्बीका शिव र गणेश भगवानका मूर्तिहरू थिए। कुनै कोठामा जटाधारी सन्त, कतै गँजडी बाबाका मूर्ति, कतै गाईगोरु र गोठालाका मूर्ति थिए।
एउटा कोठाको ढोकाको शिरमा ‘श्री गणेशाय नमः’ लेखेको देखियो। रोशनले यो बुझ्छौ भनेर सोधे। म मुस्कुराएको देखेर उनी पनि खुसी भए।
इस्लामिक देशमा यो मन्दिर कहिले र कसरी बन्यो? संरक्षण कसरी गरिँदैछ?
यी प्रश्नमा रोशनले धेरै प्रसंग सुनाए। उषा हमालले अजरबैजानको विषयमा लेखेको यात्रानिबन्ध पुस्तक ‘सागओल अजरबैजान’ मा भने यो मन्दिरको विषयमा वर्णन गरिएको छ।
उक्त पुस्तकमा उल्लेख भएअनुसार प्राचीन कालमा भारतवर्ष हुँदै केही गँजडी सन्तहरू त्यही बाटो भएर यात्रा गरिरहेका रहेछन्।
उनले लेखेकी छन्–
त्यही बाटोबाट युरोप निस्कने योजना हुँदो हो उनीहरूको, सिल्क रोडको रुटका व्यापारीको जस्तै। के थाहा पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैँ न उनीहरू पनि व्यापार गर्थे कि ?
उनीहरू खाँटी शिवभक्त रहेछन्। हिँड्दाहिँड्दै रात परेछ। बास बस्नुपर्ने भएपछि त्यही जमिनमा लम्पसार परेछन्। रात पर्दै गएपछि त्यहाँ आगोको ज्वाला देखेर त्यसलाई उनीहरूले महादेवले धुनी जगाएको भन्ठानेछन्।
त्यही विश्वासका कारण त्यो ठाउँ उनीहरूका लागि पवित्र तीर्थस्थल भएछ। शिवभक्तहरूले आजीवन महादेवको पूजा अर्चना गर्दै त्यहीँ देहत्याग गरेछन्।
सो समर्पणबाट प्रभावित भएर त्यति बेलाका शासकले उनीहरूको सम्झनामा मन्दिर बनाइदिएका रहेछन्। मान्नुपर्छ ती मुसलमान शासकहरूलाई।
रोशनले मन्दिर भनेर लगे पनि यो मन्दिर भन्दा पनि संग्रहालय जस्तो लाग्यो। आँगनमा बलेको अखण्ड दीप प्राकृतिक होइन रहेछ। हिन्दु पर्यटक तान्न अजेरीले अखण्ड दीपसहितको संग्रहालय प्रबद्र्धन गरेका रहेछन्।
मन्दिरको कृत्रिम अखण्ड दीप देखाउँदै रोशनले हामीलाई अबको गन्तव्यको बारेमा बताए, ‘तिमीहरूलाई अब म जहाँ लैजाँदैछु त्यहाँ प्राकृतिकरूपमै निरन्तर आगो बलिरहेको देखिन्छ।
पेट्रोल र ग्यासको खानी अजरबैजानमा भिरपाखा जताततै आगो बलेको देख्न सकिने कुरा गुगलले मलाई बताइसकेको थियो। अब प्रत्यक्ष देख्न पाइने कुराले म उत्सुक थिएँ।
केही बेरमा रोशनको गाडी रोकियो जहाँ बोर्डमा लेखिएको थियो– यानर दाग। अजेरी भाषामा यानरको अर्थ पहाड, दागको अर्थ आगो रहेछ। अंग्रेजीमा फायर माउन्टेन।
अगाडि एउटा थुम्को देखियो। त्यहाँ जान रोशनले टिकट किने। भित्र पसेर हेर्दा थुम्कोको तल खोल्सोमा आगोको ज्वाला दन्किरहेका थिए।
पर्यटकहरू त्यो आगो हेरेर दंग थिए। यहाँ निरन्तर आगो बलेको चार हजार वर्ष भएको रोशनले सुनाए।
अजरबैजानले जमिनमुनि रहेको ग्यास र पेट्रोल निकालेर बेच्नेमात्रै होइन, जमिनमुनिको ग्यास बलिरहेको देखाएर पर्यटकबाट आम्दानी पनि गर्दो रहेछ।
यहाँबाट फर्कंदै गर्दा सडकको दायाँबायाँ मान्छेहरू हामीले जमिनमुनिबाट पानी निकालेजस्तै गरी चापाकल पेलिरहेका थिए। अजेरीहरू यसरी तेल निकाल्दा रहेछन्।
यहाँबाट हामी होटलमा पुग्यौँ। केही समय आराम गरेर बजार डुल्न निस्कियौँ।
अजरबैजान सोभियत संघको पञ्जाबाट मुक्त हुँदा नेपालले बहुदलीय प्रजातन्त्रको अभ्यास थालेको थियो। रुसी, चिनियाँ र युरोपेली कम्युनिस्टको सिको गर्दै नेपालमा क्रान्तिकारी कम्युनिस्टहरू जन्मने क्रम तीव्रगतिमा चल्दै थियो।
उता साम्यवादको अन्त्य हुँदा यता नेकपा कम्युनिस्ट पार्टी (माओवादी) साम्यवाद ल्याउने भनेर जनयुद्धमा होमिएको थियो।
माओवादीले गरेको जनयुद्ध कसरी सकियो र त्यसपछि के–के भयो सबै हामीले देखेकै छौँ।
बहुदलीय प्रजातन्त्रको तीन दशकभन्दा बढी र यसैभित्र संघीय लोकतान्त्रिक गणतन्त्रको डेढ दशकमा पनि कम्युनिस्ट नेताहरू क्रान्तिकै भाषण गर्दै छन्। तिनै चिनियाँ, रुसी, युरोपेली कम्युनिस्ट शासकको भजन गाउँदै छन्।
सदियौं कम्युनिस्ट शासन चलेको अजरबैजानको बाकुमा हामीले धेरै ठाउँमा हसियाँ–हथौडा अंकित झण्डा देख्यौँ। पसल–पसलमा हँसियाहथौडा अंकित कपडा बेच्न राखेको देख्यौँ।
जनतामा भने पार्टीको सिद्धान्तभन्दा बढी विकासको चेत भेटियो।
सपिङ मल अगाडि टलहिँदै गर्दा एक जना बुजु्रकलाई मैले अजरबैजानका राजनीतिक दलका बारेमा सोधेँ। उनले अजेरीले राजनीति गर्न छाडेको धेरै वर्ष भइसकेको बताए।
उनी बाकुको एक निजी कम्पनीमा काम गर्दा रहेछन्। उनले भने, ‘हाम्रो काम सरकारलाई सहयोग गर्ने हो। अरू काम त सरकारले गरेकै छ।’
अजरबैजान राजनीतिक क्रान्तिको युगभन्दा धेरै अघि बढिसकेको जानकारी गराएर आफ्नो देशबारे चासो राखेकोमा धन्यवाद दिए।
झन्डै ७० घण्टा बिताउँदा त्यो सहरको कुनै पनि सडकमा ट्राफिक जाम देखिएन। भनिन्छ, कुनै ठाउँको विकास र सभ्यताको परिचय त्यहाँको सडकले दिन्छ। बाकुको फराकिलो, चिल्लो र सफा सडकले यहाँको विकास र सभ्यताको झल्को दिएको छ।
कम्युनिस्ट व्यवस्था स्थापनाका क्रममा, अर्मेनियासँगको लडाइँमा र दोस्रो विश्युद्धमा धेरै परिवारका सदस्यहरूले ज्यान गुमाए। कयौँका परिवार अंगभंग भए।
ती सबै संघर्षका दिनहरू अजेरीको मानसपटलमा ताजै छन्। उनीहरू अब फेरि त्यस्तो क्रान्ति गर्न होइन, विदेशीलाई बोलाएर देशले हासिल गरेका परिवर्तनहरू देखाउन चाहन्छन्।
बाकुमा हाम्रो चार दिनको बसाइ सकियो। अब हामी दुबईका लागि प्रस्थान गर्नुपर्ने छ। चार दिन त्यहाँ घुम्नु छ। साउन १६ गते बिहान ११ः५० बजेको जहाज भेट्न हामी नौ बजे हेदर अलियेभ विमानस्थल पुग्यौँ।
तीन घण्टामा जहाज सारजाह विमानस्थलमा अवतरण भयो।
सबै प्रक्रिया सकेर विमानस्थलबाट बाहिर निस्किएका के थियौँ तातो हावाको स्वागत पाइयो। यही विमानस्थलभित्र छ घण्टा बिताउँदा युएईमा यति तातो हावा चल्छ भन्ने कल्पना पनि गरेको थिइनँ।
यहाँको गर्मीको कुरा सुनेको थिएँ। खाडीको चर्को गर्मीमा काम गर्ने नेपाली दाजुभाइका समाचार पढेको थिएँ। पढेको र सुनेको भन्दा निकै गर्मी रहेछ।
ड्राइभरले हामीलाई १५ मिनेट विमानस्थल बाहिर कुराइदिए, मेरा लागि १५ घण्टा जस्तो भयो। यात्रा टोलीका कमाण्डर तिलक रिमाल दाइ तारन्तार ड्राइभरलाई फोन गरिरहेका थिए।
मिनी बस लिएर हामीलाई लिन आइपुगेका पाकिस्तानी चालकको अनुहारै हेर्न मन लागेन। यतिबिघ्न तातोमा यत्रो समय कुराएकोमा खुब रिस उठ्यो।
एसीले चिसो बनाएको गाडीमा छिर्दा तातो कराईमा पानी हालेजस्तो भयो। गाडी अघि बढ्यो। सुकिलो र फराकिलो बाटो र ठूल्ठूला भवन हेर्दै करिब आधा घण्टामा हामी दुबईको देरास्थित द होटल लिलामा पुग्यौँ। चार दिनको हाम्रो बसाइ यहीँ तय थियो।
दुबईमा बस्ने साथी विकास कार्कीले हामी पुगेको चाल पाएछन्। फेसबुकमा म्यासेज गरिहाले। हामी बसेको होटल नजिकै उनको डेरा रहेछ। उनी तुरुन्तै हामीलाई भेट्न आए।
हामीलाई दुबईमा बस्ने नेपालीहरू भेला हुने ‘बर दुबई पार्क’ घुम्न जान प्रस्ताव गरे। हामी उनको पछि लाग्यौँ। उनले मेट्रो चढाएर हामीलाई बर दुबई पुर्याए।
यो पार्कमा जता फर्के पनि नेपाली नै भेटिने रहेछन्। बर दुबई नजिकै नेपालीले चलाएका पसल, रेस्टुरेन्ट प्रशस्तै रहेछन्। साँझ नेपाली रेस्टुरेन्ट फूलबारीमा नेपाली खाना खाएर होटल फर्कियौँ।
दोस्रो दिनको हाम्रो कार्यक्रम सिटी टुर र क्रुज डिनरको थियो। ब्रेकफास्ट गरिनसक्दै गाइड हामीलाई लिन होटलमा आइपुगे।
उनले हामीलाई पुरानो दुबई ‘अलसिफ दुबई’ देखाउन लगे। यहाँ परम्परागत डिजाइनका घर र रेस्टुरेन्ट रहेछन्। बाहिरबाट हेर्दा पुराना लाग्ने तर भित्र सुविधासम्पन्न ती घर पर्यटककै लागि बनाइएका रहेछन्।
ती घर पुराना होइनन् तर पुरानाको झल्को दिन्छन्। झट्ट हेर्दा नेपालका थारू बस्तीका परम्परागत घर जस्ता पनि लाग्छन्।
दुबईले यसलाई पर्यटक लोभ्याउने गतन्तव्य बनाएको रहेछ। यहाँ सुरक्षा गार्डका रूपमा काम गर्ने पूर्वी नेपालका गुरुङ थरका युवाले हामीलाई अलसिफ दुबईको विषयमा केही जानकारी दिए।
यी घर हेरेर अघि बढ्दै गर्दा गगनचुम्बी भवनहरू देखिन थाले। अघि बढ्दै जाँदा फोटो फ्रेमजस्तै लाग्ने बढेमानको गेट देखियो। त्यसैको अगाडि गाडी रोकियो।
यो ‘दुबई फ्रेम’ रहेछ। गाइडले हामीलाई दुबई फ्रेममा चौबीस क्यारेटको सुनको जलप लगाइएको बताए। हामीले यो फ्रेमको अघिल्तिर उभिएर फोटो खिचायौँ। फ्रेममा चढ्न पनि मिल्ने रहेछ तर हामी चढ्नतिर लागेनौँ।
यहाँबाट हामी लाग्यौँ ‘पाम आइल्यान्ड’ तर्फ। यो समुद्र पुरेर बनाइएको एउटा परियोजना रहेछ। आकाशबाट हेर्दा पामको रूखजस्तै देखिने रहेछ। पाम आइल्यान्ड दुबईको महँगो आवास क्षेत्र मानिन्छ।
विश्वका धनाढ्यहरू र बलिउडका सेलिब्रेटीहरूका घर दुबईमा छन् भन्ने सुनेको थिएँ। उनीहरू प्रायः यही ठाउँमा बस्ने रहेछन्।
यहाँ समुद्रमुनि सुरुङमार्ग पनि बनाइएको छ। हामी यही मार्ग भएर अघि बढ्यौँ। कहिले समुद्रको किनारमा त कहिले आकर्षक तारे होटलहरूका अघि उभिएर फोटो खिचायौँ।
दुबईले विकासमा गरेको चमत्कार देखेर दंग पर्यौँ। समुद्र पुरेर टापु बनाउन दुबईले यहाँ कति ढुंगा, माटो, बालुवा र श्रम खर्च गर्यो होला! मरुभूमिको बालुवामा गगनचुम्बी भवन बनाउने आँट यहाँका मान्छेलाई कसरी आयो होला!
साँझ क्रुजमा डिनर गर्यौँ। दिनभर मस्त तातेको दुबई साँझपछि सेलाउँदै गयो। सेलाएको दुबई पनि नेपालको गर्मीभन्दा कम थिएन। करिब डेढ घण्टा पानीमाथि क्रुजमा घुम्दै डिनर गर्दा नौलो अनुभूति भयो।
केही वर्षअघि चितवनको नारायणी नदीमा पनि यस्तै क्रुज सञ्चालन गर्ने हल्ला थियो। नदी किनारमा एउटा क्रुज बनाइएको पनि थियो तर चल्न सकेन। अब त त्यो क्रुज पनि काम नलाग्ने भइसक्यो रे!
क्रुज मालिकले पैसा नदिएपछि त्यसमा जोडिएका एयर कन्डिसनरहरू व्यापारीले फिर्ता लगेको फोटो केही दिनअघि सामाजिक सञ्जालमा देखेको थिएँ।
तेस्रो दिन हामी ‘बुर्ज खलिफा’ जाँदै थियौँ। संसारको अग्लो यो टावर दुबई प्रवेश गरेलगत्तै सडकबाट देखेका थियौँ। त्यसमा चढेर पुरै दुबई हेर्ने सपना थियो।
हामी ट्याक्सी चढेर दुबई मल पुग्यौँ। दुबई मलसँगै जोडिएको छ ८३० मिटर अग्लो र १६७ तलाको बुर्ज खलिफा।
दुबईका शासक शेख मोहम्मदले सन् २०१० मा यसको निर्माण गराएका हुन्। उनी युएईका उपराष्ट्रपति हुन्। यो टावर बनाउन छ वर्ष लागेको थियो।
शेख महोम्मदले साढे एक अर्ब बिलियन अमेरिकी डलर खर्च गरेर संसारकै अग्लो टावर खडा गराएका थिए। यसको निर्माणमा धेरै नेपाली कामदारहरू पनि खटिएका रहेछन्।
कडा सुरक्षा चेक जाँचपछि हामी बुर्ज खलिफाको लिफ्टमा पुग्यौँ। ढोका बन्द भएर लिफ्ट उक्लन थाल्यो। आँखा झिमिक्क गर्दा लिफ्ट कैयौँ तला उक्लिसकेको हुन्थ्यो।
हाम्रो गन्तव्य १२४ औँ तला थियो। यसअघि दुबईका सडकबाट हामीले देखेका गगनचुमबी भवनहरू यहाँबाट हेर्दा फुच्चे देखिए। सडकमा गुडेका गाडीहरू कमिलाका ताँती जस्ता देखिन्थे। सडकहरू तार जस्ता।
टावरलाई फन्को मारेर हामीले चारैतर्फबाट दुबई हेर्यौँ। फेसबुकमा लाइभ गरेर आफू विश्वको अग्लो टावरमा उभिएको कुरा सबैलाई सुनायौँ।
प्रकृतिले दिएको संसारको अग्लो ठाउँ सगरमाथा हाम्रै देशमा छ। त्यहाँ चढ्ने आँट नआए पनि संसारको अग्लो मानवनिर्मित टावर चढ्ने सपना भने पूरा भयो।
अपराह्न चार बजे ‘डेजर्ड सफारी’ का लागि तयार हुनुपर्ने तालिका थियो। हामी समयमै होटल पुग्यौँ। ठीक चार बजे अरिफ ब्लोच नामका पाकिस्तानी ल्यान्ड क्रुजर गाडी लिएर आइपुगे।
मरुभूमिको यात्रामा हामीसँग दुबईमा रहेका पत्रकार सुजन पण्डित पनि मिसिए। दुबईको सहर छिचोल्दै गाडी बालुवामात्रै देखिने अत्यासलाग्दो ठाउँतिर अघि बढ्यो।
दायाँ–बायाँ जता हेरे पनि बालुवामात्रै देखिन थाल्यो। अहिले अग्ला–अग्ला भवन बनेको दुबई सहर पनि पहिले यस्तै अत्यास लाग्दो हुँदो हो। यस्तो ठाउँमा कताबाट ढुंगामाटो ल्याएर महल ठड्याए होलान!
बालुवामात्रै देखिएको मरुभूमिको सडक छेउमा केही टहरा देखिए। त्यहाँ मान्छेको बाक्लै चहलपहल थियो। अरिफले गाडी त्यतैतिर मोडे।
यहाँ मरुभूमिमा उँट, जिप, मोटरसाइकल चढ्न पाउने सुविधा रहेछ। गाडीबाट ओर्लनेबित्तिकै हातमा बाज लिएका एक व्यक्ति अगाडि आइपुगे। त्यसलाई लिएर फोटो खिच्न उनले आग्रह गरे। त्यसका लागि पैसा तिर्नुपर्ने रहेछ। मेरो ध्यान त्यता गएन।
अगाडि बालुवामा हुइँकिरहेका मोटरसाइकलले मेरो ध्यान खिचेका थिए।
मोटरसाइकल भाडामा लिन दुई सय दिराम लाग्ने रहेछ, नेपाली रुपैयाँ सात हजार। साथीहरूले यसमा रुचि देखाएनन्।
मलाई चाहिँ मरुभूमिमा मोटरसाइकल हुइँक्याउँने भुत सवार भयो। सुवास पण्डितले पनि यसमा मन लगाए।
दुई जना चढ्न मिल्ने मोटरसाइकल बुक गरेर मरुभूमिको बालुवामा हुइँकियौँ। हुइँकिएको मोटरसाइकल मरुभूमिको तातो हावा पनि शीतल लाग्यो।
सबैभन्दा ठूलो कुरो त मनको सन्तुष्टि पो रहेछ। मन सन्तुष्ट भयो भने जस्तोसुकै मौसम पनि अनन्ददायी हुँदो रहेछ।
वास्तवमै रमाइलो भयो मरुभूमिको वाइक राइडिङ। दुबई पुगेको वास्तविक अनुभूति भयो।
हामी फेरि उही गाडी चढ्यौँ केहीबेरमा अरिफले गाडी सडक छेउको टहरोतर्फ मोडे। यहाँ गाडीको टायरमा हावा घटाउनुपर्ने रहेछ। अब गाडी कालोपत्रे सडक छाडेर मरुभूमितर्फ लाग्ने वाला थियो।
पर देखिएको बालुवाका टाकुरा र थुम्कामा गाडीहरू हुइँकिँदैका थिए। हाम्रो गाडी पनि त्यतै अघि बढ्यो। बालुवाका ढिस्का, भिरालो जमिन, थुम्का केही पर्वाह नगरी गाडी अघि बढ्यो।
झ्यालबाट हेर्ने हामीलाई भने अरिफले गाडी चलाएको देखेर कहाली लाग्यो। हामीभन्दा अघि लस्कर लागेका गाडीहरू उकालोको बालुवामा बेपर्वाह कुदेका थिए। तिलाई पच्छाउँदै गरेको गाडीमा म छु भन्ने सोच्दा पटक–पटक आंग जिरिङ्ग भयो।
बाटै नभएको ठाडै उकालो चुचुरोमा गाडी चलाउने कस्ता जब्बर चालक रहेछन! यसरी चलाउनुपर्ने रहेछ र पो गाडी पनि उस्तै बलिया र महँगा हुँदा रहेछन्।
केही ठाउँमा त हेर्न नसकेर मैले आँखा बन्द गरेँ। भित्र एसीको चिसो भएर के गर्नु, अरिफको गाडी चलाएको मेरो शरीर पसिनाले भिजेको थियो। साथीहरू कोही रामराम भन्न र कोही गायत्री मन्त्र जप्न थाले।
मलाई पछिमात्रै थाहा भयो मरुभूमिमा चलाउने गाडी पल्टिए पनि यात्रुलाई केही नहुने गरी बनाइएका हुने रहेछन्। यहाँ गाडी चलाउनका लागि चालकले छ महिनाभन्दा लामो तालिमबाट लाइसेन्स लिनुपर्ने रहेछ।
एउटा थुम्कोमा पुगेपछि अरिफले गाडी रोके। केही समय फोटो खिच्नका लागि रहेछ। गाडीबाट ओर्लिएपछि ज्यान जोगिएकोमा ढुक्क भइयो।
जता हेरे पनि रातो बालुवा देखिने मरुभूमिमा फोटो खिचाउनु पनि एउटा सपना थियो। सीमित समय भरपुर उपयोग गरेर फोटो, भिडियो खिचाइयो।
कसैले उफ्रिएर, कसैले सुतेर, दौडिएर, बसेर सबै पोजमा फोटो खिचाए। साथीहरू सबैले मरुभूमिमा पुगेको भरपुर फाइदा उठाए।
अरिफले फेरि उस्तैबाटो गाडी हुइँक्याए। यसपटक डर कम भयो। पहिले टायरको हावा फाल्न रोकिएकै टहरोमै गाडी रोकियो।
मरुभूमिको बालुवाले हाम्रा कपडा, जुत्ता नचिनिने भएका थिए। यहाँ सफाइ गर्ने र टायरमा हावा हाल्ने काम भयो।
अँध्यारो हुन थालिसकेको थियो। यो साँझ मरुभूमिमै बार्बिक्यु डिनर हुनेवाला थियो। अरिफले गाडी अघि बढाए। मरुभूमिको बीचमा फुसका घरहरू भएतिर पुगेर गाडी रोकियो।
साँझमा झिलिमिली गेटको अघिल्तिर तीनवटा उँट थिए। एक अधबैँसे अरेबियन पर्यटक चढेको उँट डोर्याउँदै ओहोरदोहोर गरिरहेका थिए। हामी पनि पालैपालो उँट चढ्यौं।
भित्र बार्बिक्यु पार्टीको तयारी हुँदै थियो। नरिबलका पातले बारेका झुप्रा घरहरूको बीच भागमा मान्छेहरू बस्न मिल्ने गद्दी राखिएका थिए। त्यसको बीचमा स्टेज थियो।
खानपिन सुरु हुन थालेसँगै स्टेजमा एउटी युवती देखा परिन्। गीत बज्न थाल्यो। उनी आफ्नो कला देखाउन थालिन्। उनको बेली डान्समा झुम्न थाले गद्दीमा बसेका सारा मानिस।
दुई युवाको फायर डान्स पनि उस्तै आकर्षक थियो। मुखबाट आगो निकाल्ने, आगोसँग खेल्ने उनीहरूको नाच मैले मोबाइलमा कैद गरेँ।
करिब नौ बजेतिर यहाँको कार्यक्रम सकियो। अरिफको गाडीमा चढेर हामी रातिको झिलिमिली दुबई हेर्दै होटलमा फर्कियौँ।
साउन १९, दुबई घुम्ने अन्तिम दिन। राति साढे तीन बजे काठमाडौंका लागि जहाज चढ्नुपर्ने छ। दिनभर सहर घुम्ने, सपिङ गर्ने समय।
दुबईमा बचेको समयमा हामीले पत्रकार महासंघ युएई शाखाका अध्यक्ष लक्ष्मण खनाल, दुबईमा रहेका चितवनका पत्रकार साथीहरू मोहन बस्याल, शिव सुवेदी, क्षितिज र खड्कालाई भेट्यौँ। दिनभर पसल, मलहरू चहार्यौँ।
मध्यराति दुबईलाई बाईबाई गर्दै सारजाह विमानस्थल प्रवेश गर्यौँ।
बिहान नौ बजेतिर जहाज नेपालको आकाशमा आइपुग्यो। बादल छिचोलेर तल्लो उचाइमा आइपुग्दा काठमाडौं वरपरको पहाड देखिन थाल्यो। मरुभूमिको देश छाडेको चार घण्टामा हामी हरिया डाँडामाथि उड्दै थियौँ।
बिहानी घामको स्पर्शले टल्किएका सुन्दर हिमालले मन लोभ्याए। जम्मा १७८ घण्टापछि हामीले काठमाडौंमा पाइला टेक्यौँ।
प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ। तिनको उपयोग गर्नमा मात्रै हामी पछि परेका छौँ।
मान्छेले पेट्रोल र ग्यासले बिगारेको माटोमा अन्न उब्जाएर देशलाई कृषिमा आत्मनिर्भर बनाएका छन्। मरुभूमिमा अन्न उब्जाएका छन्। समुद्र पुरेर बस्ती बसाएका छन्।
समुद्रभित्रै सुरुङ बनाएर गाडी हुइँक्याएका छन्। बालुवामा गगनचुम्बी भवन ठड्याएर संसारको ध्यान तानेका छन्।
यता प्रकृतिले नै सबै सुविधा दिएको हाम्रो देशमा नहुने के छ र! हामीसँग नभएको त आत्मबल र इच्छाशक्ति मात्रै त हो।
थप तस्बिरहरू