प्रकृतिको अभिन्न अंग हो मानव प्राणी। प्रकृतिको निश्चलता र विशालतामा रमाउन कसलाई पो रहर हुँदैन र! यस्तै मनोरम प्रकृतिको काखमा रमाउने चाहनामा हामी पनि मकालु राष्ट्रिय निकुञ्जभित्र पर्ने शिवधाराको दर्शन गर्न चाहन्थ्यौं। त्यसैले मकालु बेस क्याम्प पुग्ने दुस्साहसका साथ यही साउन २२ गते जीवनकै लामो पदयात्रा सुरू गर्यौं।
हामी तीन जना तुलसी, दिपेश र म खाँदवारीमा बस्ने सुरजलाई भेट गरी पदयात्राका लागि आवश्यक सामग्री जुटायौं।
भोलिको यात्राको लागि बिहानै निस्कने पर्ने थियो। त्यसैले समयमै सबै सुत्न गयौं।
मलाई यात्रा गर्ने अघिल्लो दिनदेखि नै निद्रा नलाग्ने बानी छ।
ढिलो गरी निदाएकाले बिहान उठ्नलाई गाह्रो भयो। साथीहरू भने उठेर फ्रेस भइसकेका थिए। सुरजले मकालु गाउँपालिकाको केन्द्र नुम बजारसम्मका लागि गाडीको व्यवस्था गरेको थियो।
बिहानै हामी बसेको ठाउँ अगाडि आएर गाडीले हर्न मार्न लाग्यो। हामी हतार गरी गाडी चढ्यौं। मानेभञ्ज्याङ्ग, चिचिला हुँदै करिब पाँच घण्टाको कच्ची बाटोको यात्रापछि नुम बजार पुग्यौं।
त्यहाँ खाना खायौं र आधा घण्टा गाडीमा यात्रा गरेपछि चाम्लेखर्क पुग्यौं।
त्यहाँबाट हाम्रो पैदल यात्रा सुरू भयो। फूर्तीफार्तीका साथ सुरू भएको हाम्रो यात्रा अरूण नदी तरेर उकालो चढ्दा धरमराउन थाल्यो। दस-बाह्र किलोको ब्याग बोकी उकालो चढ्दा खुट्टा साह्रै दुखेको थियो।
पहिलो दिन र हिँड्ने बानी नपरेकाले पनि होला खुट्टा काप्न लागेको थियो। गन्तव्यमा पुग्न सकिँदैन कि भनेर डर लागेको थियो। तर बिस्तारै बिस्तारै यात्रालाई अगाडि बढाउँदै गयौं।
यात्रामा हिँड्दा पछाडिको बाटो सम्झ्यो भने मन अगाडि बढ्न प्रेरित हुने रहेछ। त्यो दिन सकि-नसकी उकालो बाटो पार गरेर मकालु बरूण राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्यौं। त्यहाँ नजिकै रहेको सेढुवा गाँउ रहेछ। शेर्पा होटलमा बास बस्ने निधो गर्यौं र साँझमा याकको सुकुटीसँग उवाको छ्याङ खाएर थकित शरीरलाई विश्राम दियौं।
यात्राको दोस्रो दिन बिहानै उठ्यौं। चियासँग सातु घोलेर खाएर करिब दुई घण्टाको यात्रापछि च्याक्सेडाँडा पुग्यौं। त्यहाँ खान खायौं।
खाना खाएर हिँडेको करिब तीन घण्टापछि टासीगाँउ पुग्यौं। बाटो तेर्सो भएकाले हिँड्नलाई समस्या भएन। त्यो दिन दश/बाह्र वटा घर रहेको त्यस गाउँले सञ्चालन गरेको मकालु मध्यवर्ती सामुदायिक होमस्टेमा बास बस्न पुग्यौं।
त्यहाँबाट तेस्रो दिनको यात्रा सुरू गर्न हामी छ बजे नै होटलबाट निस्कियौं। होटलका दाइले अबको यात्रा कठिन भएको बताउनुभयो। उकालै उकालोबीच जंगलको बाटो करिब तीन घण्टा हिँडेपछि बिहानको खाना खान डाँडाखर्क पुग्यौं।
खासमा पदयात्रा सिजन सुरू नभएकाले मान्छे होटलमा नबस्ने रहेछन्। हामीलाई खाना खुवाउनका लागि भनेर मात्र टासीगाँउदेखि भाइ आएका थिए।
उकालो बाटोमा हिँडिरहेका थियौं, त्यसमाथि ठूलो पानी परेपछि झनै कठिन भयो। तै पनि बास बस्न अर्को क्याम्प नपुगी सुख थिएन। डाँडैडाँडा चिमालको जंगल हुँदै निस्कियौं।
त्यो दिनको यात्रा निकै उकालो र लामो भएर होला शरीर गलेर लुत्रुक्क भएको थियो। साँझ ढल्किँदै गइरहेको थियो। त्यसमाथि मुसलधारे पानी परिरहेको थियो। बाटोबाहेक वरिपरि केही देखिएको थिएन। जति हिँडेपनि त्यस दिनको गन्तव्य आइपुगेको थिएन। साथीहरू अत्यास मानेर बेलाबखत अल्टिच्युड हेर्न लगाउँथे। हामी पुग्ने स्थानको उचाइ ४२ सय थियो तर हामी ४ हजारमा मात्र गुगेका थियौं।
त्यहीँ बाटोको छेउमा एउटा सानो पोखरी भेट्यौं। त्यहाँ अद्भुत मौसम देख्यौं। छिनभरमै घाम लाग्ने र छिनभरमै कुहिरोले पोखरी नै नदेखिने गरेर ढाक्ने हुँदो रहेछ।
प्रकृतिको अचम्मको लिला हेर्दै त्यहाँबाट उकालो लाग्यौं।
थकाइले सीमा पार गरिसकेको थियो। तर पनि आशा र आत्मबलले मात्र हिँड्न सकिरहेका थियौं। घाम डुब्न आँटेको थियो। ठूलाडाँडा पुग्न करिब २ सय मिटर तल आइपुग्दा भेँडालाई लेकको पाटनमा छोडेर घर झर्दै गरेका एकजना शेर्पा भाइसँग भेट भयो। उनले हामी जाने ठाँउ आइपुग्नै आटेको भनेपछि मनै फुरूंग भयो। जीवन भनेकै आशामा तानिने लहरो न हो न त त्यसको अन्त्य नै हुन्छ।
आशाको अन्तिम किरण बाँकी हुँदामात्र हामी बस्ने क्याम्पमा आइपुग्यौं। शरीर भिजेको थियो। त्यसैले मज्जासँग आगो ताप्यौं।
एकैदिनमा धेरै उचाइ आएकाले हामी सबैलाई हाई अल्टिच्युडले समायो। दिपेशले त खाना खाँदा बान्ता नै गर्यो। त्यसदिन कोही पनि सुत्न सकेनौं।
त्यतिबेला मैले कसैले भनेको कुरा सम्झे कि अक्सिजनको कमी हुँदा सुत्न हुँदैन भनेर। सास फेर्न गाह्रो भएकाले त्यस रात जाग्राम नै बितायौं।
पदयात्राको चौथो दिन बिहानीपखै उठ्यौं। मौसम उघ्रेको थियो। ठूलाडाँडाबाट मकालु हिमालको दृश्य प्रष्टसँग देख्न सकिन्थ्यो। प्रकृतिमा रमाउन हिँडेको यात्रीलाई त्यो भन्दा बढी के चाहियो।
अक्सर बेसक्याम्प जाँदा भेटिने होटलमा खाजा सातु नै हुँदो रहेछ। सातुले लेक लाग्नबाट पनि बचाउँछ भन्ने विश्वास रहेछ। त्यस दिन पनि सातु चिया खाई बाटो लाग्यौं। ठूला पोखरीको मनोरम दृश्य आँखामा कैद गरी मोबाइलमा पनि गर्यौं।
डेढ घण्टापछि दोबाटे भन्ने ठाँउमा पुग्यौं। त्यहाँ पनि पदयात्रीको लागि भनेर होटल खोलिएको रहेछ। तर त्यो दिन होटल बन्द थियो। हामी खाना खानका लागि अझ तीन घण्टा हिँड्नुपर्थ्यो। त्यहाँबाट ठाडो ओरालो बाटो हुँदै बरूण नदीको किनारमा झर्यौं। त्यसपछि बरूणको तिरैतिर पहिरोको बाटो दुई घण्टा हिँडेर फेमाताङ पुग्यौं।
नेटवर्क समस्याले गर्दा फोन लाग्दैन थियो। त्यसैले फोनबाट खाना अर्डर गर्न पाएनौं। खाना नपाकुन्जेल चिया-बिस्कुट खायौं। हुन त झोलाभरि स्याउ, चकलेट, काजु, भुटेको मकै, सातु लगायत खानेकुराको थुप्रो थियो। ती खाना भएर पनि यात्रामा सहज भएको थियो।
जगंलको बाटोमा जताततै होटलको व्यवस्था थिएन। पदयात्रा सिजन सुरू नभएकाले कुनैकुनै होटल त खुलेको समेत थिएन।
एउटा क्याम्पदेखि अर्को क्याम्प पुग्न चार-पाँच घण्टा हिँड्नुपर्थ्यो। फेमाताङमा खाना खाइसकेपछि बरूण नदी किनार हुँदै डेढ घण्टामा याङ्लेखर्क पुग्यौं।
बरूण नदिले फराकिलो मैदान बनाएको थियो। त्यहाँबाट शिवधाराको पहाड नजिकै देखिने रहेछ। जति माथि गयो त्यति होटलहरू व्यवस्थित रहेको अनुभव गर्यौं। त्यहाँ आगोबाट बल्ने हिटरको व्यवस्था समेत रहेछ। फराकिलो डाइनिङ हल नै न्यानो हुने भएकाले वरिपरि बसेर आगो ताप्यौं। भिजेका कपडाहरू सुकायौं।
यात्राको पाचौँ दिन पाँच बजे नै उठी शिवधारा दर्शनका लागि निस्कियौं। त्यहाँको दावा शेर्पा भाइलाई गाइडको रूपमा लिएर हिँड्यौं। अघिल्लो साँझ होटलवाला दाइले बिहान जति छिटो गयो त्यति नै मौसम राम्रो हुने भन्नुभएको थियो।
बरूण नदीको किनारैकिनार पैतालिस मिनेट जति हिँडेर खोला पारी रहेको भेँडी गोठ पुग्यौं। त्यहाँ ब्याग राख्यौँ र शिवधारा जाने बाटोतर्फ लाग्यौं। त्यो बाटो पहरैपहराको उकालो रहेछ। ठाउँ-ठाउँमा पहरामा किला गाडेर साङ्लो पनि झुण्डाइएको थियो। त्यसमै झुण्डिएर जानुपर्थ्यो। बाटो हेर्दा नै शरीर जिरिङ्ग हुन्थ्यो।
भेँडीगोठबाट लगातार दुईघण्टा हिँडेपछि शिवधारा पुग्यौं। पहाडको टुप्पोमा गोलाकार पहराको बीच भागबाट पानीको धारा चक्राकार बनोटमा झरिरहको थियो। त्यो दृश्य एकदमै अद्भुत लाग्यो। त्यसलाई शिवको जटाबाट झरेको पानी भनेर पौराणिक कहानीसँग जोडिएको पनि किम्बदन्ती रहेछ। त्यसैले त्यँहा विशेष गरी जनैपूर्णिमामा दर्शनार्थीहरू आउने रहेछन्।
त्यहाँबाट केही पर रहेको पार्वती गुफा अवलोकन गर्यौं। प्रकृतिको सुन्दर झरना, नागबेली बरूण नदी, घाम कुहिरोको लुकामारी भेँडीगोठमा चौरीको अद्भुत कला हेर्दै त्यहाँबाट झर्यौं।
गाइड भाइ छिरिङ शेर्पालाई लिई मकालु बेस क्याम्प जान लाङ्मलेतिर लाग्यौं। भेँडीगोठबाट करिब डेढ घण्टा हिँडेपछि तादोसा भन्ने ठाउँमा पुग्यौं।
त्यहाँबाट लाङ्मले पुग्दा साँझको छ बजिसकेको थियो। त्यहाँ आलु, तरकारी खेती, चौरीपालन गरेको थियो। हामीलाई बल्ल गाउँ भेटिएजस्तो रमाइलो लाग्यो। चारैतिर हिमालले घेरिएको सानो उपत्यका रहेछ लाङ्मले। त्यहीँ उब्जाएको हरियो सागसँग खाना खायौं र सुत्नका लागि आ-आफ्नो कोठामा गयौं।
साथीहरू थाकेकाले बेडमा ढल्किने बित्तिकै भुस्स निदाइहाले तर मलाई निद्रा लागेन। सास फेर्न गार्हो भएको जस्तो महसुस भयो। साथीहरूलाई मेरो स्वास्थ्यबारे केही पनि भनिनँ। साथीहरूलाई भन्दा तनाव थपिन सक्थ्यो र यात्रा खल्बलिन पनि सक्थ्यो।
रातभरी गरेर तीनचार पटक बाहिर निस्कें। जूनको उज्यालोमा दिउँसोझैं वारिपारिका हिमाल टलक्क टल्किएका थिए। कतिखेर उज्यालो होला भनी मन अत्तालिरहेको थियो।
छैठौँ दिन हिजो साँझको सल्लाह बमोजिम साथीहरू सबेरै साढे चार बजे नै उठेर फ्रेस भए। मलाई भने निद्रा नपरेकाले शरीरमा फूर्ति थिएन। तै पनि आइसकेको बेस क्याम्प पुग्ने अभिलाषामा भित्रैदेखि जोश निकालेँ।
मेरो अनुहार पूरै सुन्निएको रहेछ, साथीहरूले भनेपछि थाहा भयो। बिहानै चौरीको दूधसँग सातु खाएर त्यहाँबाट निस्कियौं। सबै साथीहरू स्फूर्त थिए तर मेरो खुट्टा चल्न गाह्रो मानिरहेको थियो। साथीहरूले मलाई गाह्रो भएको देखेर त्यहीँ बस्न सल्लाह दिए तर मेरो मनले मानेन।
जसोतसो बेसक्याम्प पुग्नुपर्छ भन्ने अठोट लिएँ। मनले आँटेजस्तो कहाँ हुन्छ र! जब शरीरले नै साथ दिन छोड्छ। बाटो त्यस्तो उकालो त थिएन। बरूण नदीको किनारैकिनार वारिपारि आँखै अगाडि हिमालको दृश्य देखिन्थ्यो।
पर रहेको लामो ताल हेर्दै हिँड्दा हिमालको काखैबाट जाँदा अर्कै संसारमा आएजस्तो अनुभूति भयो। मकालु हिमाल हेर्दा नजिकै जस्तो लागे पनि हिँड्दै जाँदा त्यति नै टाढा थियो। शरीरमा अक्सिजनको कमी भएकाले पाइला सार्न गाह्रो भएको थियो।
बेसक्याम्प आउनै लाग्दा थोरै उकालो रहेछ। त्यहाँबाट दुईसय मिटर तल झरेपछि बेसक्याम्प पुगिन्छ। तीन घण्टाको बाटोलाई हामीले पाँच घण्टा लगाई सकिनसकी बेसक्याम्प पुग्यौं।
मनसुन याम सुरू भएको थियो। तर पनि मौसमले हामीलाई साथ दिएको थियो। बिहानको घाममा मकालु हिमाल टलक्क टल्किएर बैँसालु भएको भान हुन्थ्यो। तिर्सना मेटुन्जेल हिमालको सुन्दरता हेरेर दंग पर्यौं।
हाम्रो यात्रालाई तीन दिनदेखि साथ दिएको बरूण नदीको मुहान पनि मकालु हिमालको फेदीमा रहेछ जसलाई स्थानीयले सेती पोखरी (दुधपोखरी) भन्दा रहेछन्। हाम्रो यात्राको गन्तव्यविन्दु पनि त्यही थियो। जुन सपनाको संसार थियो। त्यहाँ पुगेपछि हावाको वेगमा बगेको कुहिरोजस्तो मनै फुरूरू भयो। त्यस्तो अवर्णित सुन्दर दृश्यलाई मन र क्यामरामा कैद गर्यौं। त्यहाँ पुग्दा जुन आनन्दको अनुभूति भएको थियो, त्यो क्षण अलौकिक थियो।
शरीरमा अक्सिजनको मात्रा कमी भएर हाइ लागेको थियो। टाउको दुखेर शरीर गली थकित भएको थियो। मन रमाएको थियो तर भौतिक शरीर कमजोर भएपछि त्यहाँबाट फर्कियौं।
गाह्रो भएको कारण जबरजस्ती आफ्नो शरीरलाई घिसार्दै साढे तीन घण्टापछि लाङ्मले आइपुग्यौं। टाउको दुखेर फुट्लाजस्तो भएको थियो। रिङ्गटा लागेर बान्ता होलाजस्तो भयो। खाना खान मन नलागे पनि दुई गास जबरजस्ती खाएँ। साथीहरूले टाउको दुखाइको औषधि दिए। यस्तो हाई अल्टिच्युड लागेको हुँदा होटलवाला शेर्पा दाईले तल छिटो झर्न सुझाव दिए। ३८ सय अल्टिच्युडमा झरेपछि शरीर हल्का र स्फूर्त हुँदै गएको जस्तो भयो। टाउको दुख्न पनि कम हुँदै गयो। खुट्टाहरू अलि दह्रो भएको महसुस भयो।
हाम्रो गाइड शेर्पा भाइले ठट्यौली पारामा भने, ‘दाजु, भर्खर त हजुरको अनुहार हिमालजस्तै उज्यालो भएको छ नि।’
मैले पनि अब त बाँचियो भन्ने भावमा भनेँ, ‘ल अब त मेरो ब्याग म आफैं बोक्न सक्छु नि त, भाइ।’
(हामी धेरै उचाइमा यात्रा गर्दा एक्कासि लामो यात्रा गर्न नहुँदो रहेछ भन्ने कुरा महसुस भयो। हामी छिटो पुग्ने अभिलाषामा एकैचोटि जम्प हानेर हाई अल्टिच्युड पुग्यौं। त्यसैले शरीरले त्यहाँको हावापानीमा भिज्न सकेन र हाइ लाग्यो। त्यसैले तपाईं पनि यात्रामा हतार नगरिकन हाई अल्टिच्युडको हावापानीसँग अनुकूल हुँदै पदयात्रा गर्नुहोला।)