स्थानीय तहको निर्वाचनको माहोलले सिङ्गै देश रंगिएको थियो, चुनावी बिदालाई सदुपयोग गर्दै हामी पनि पूर्वी नेपालको भूगोलको भट्भटे यात्रामा निस्किएका थियौँ वैसाख २४ गते शनिबार।
अन्य कार्य व्यस्तताले गर्दा बिहानै काठमाडौंबाट निस्कन पाइएन। दिउँसो करिब एक बजे काठमाडौंलाई एक हप्ताका लागि बिदाइका हात हल्लाउँदै यात्रा सुरू गरियो। जीवन एउटा अविराम यात्रा हो। यो यात्रामा विभिन्न किसिमका उतारचढावहरू आइरहन्छन्।
जीवनमा आइपर्ने अपेक्षित र अनपेक्षित घटनाहरूलाई स्वीकार गरेरै अघि बढ्नै पर्दछ भन्ने कुरालाई आत्मसात गरेरै हामी यात्रामा निस्किएका थियौँ। हामी काभ्रेको बनेपा, धुलीखेल र भकुन्डेबेँसी हुँदै अगाडि बढ्यौँ। त्यसपछि हामीलाई सिन्धुलीको खुर्कोटसम्म सुनकोशीले पछ्याई रह्यो।
हामीले नदीसँगै जीवनलाई हेर्न थाल्यौँ, नदी अविश्रान्त बगिरहेको छ, कहिले सङ्लिएर बगेको छ, कहिले धमिलिएर बगेको छ तर ऊ बग्न छोडेको छैन। पुग्ला, नपुग्ला सागर उसको लक्ष्य हो, मुहानमा ऊ रोकिँदैन। जीवनलाई पनि नदीसँग तुलना गर्यौँ। मान्छेको मन पनि त कहिले धमिलिन्छ, कहिले सङ्लिएर पानी परेपछिको चकमन्न र सफा आकाश जस्तै हुन्छ, तर यसपालि आकाश बोकेको सुनकोशी देख्न पाइएन। यिनै कुराहरू मनमा खेलाउँदै हामी खुर्कोटबाट उदयपुरको घुर्मीतर्फ मोडियौं, आजको हाम्रो लक्ष्य खोटाङको हलेसीसम्म थियो।
खुर्कोट, घुर्मी र घुर्मी हलेसी गरी हामीले आज करिब १२० किमी बाटो पार गर्नु थियो, खुर्कोटमा पुग्दा अपरान्ह चार बजिसकेको हुँदा हामीले केही रफ्तार बढाएका थियौँ, बेलाबेलामा आकाशले हामीलाई जलसिञ्चन गरिरहेको थियो। वर्षाकै कारणले घुर्मीसम्मको सडक हिलाम्य र चिप्लो थियो। ठाउँ ठाउँमा झरेको पहिरोले बाटोलाई अस्तव्यस्त र बेहाल बनाएको थियो।
हामी पनि अप्ठ्यारो बाटोका कारण थकाइले अस्तव्यस्त बनेका थियौँ। आकाशले हामीलाई बेलाबेलामा थर्काउँदै र तर्साउँदै थियो। हामी गन्तव्यमा पुग्न हतारिएका थियौँ। जाँदै गर्दा बाटोमा एउटा खोला आयो। पुल निर्माण भैसकेको रहेनछ। खोला तरेर जानुबाहेक अर्को कुनै विकल्प थिएन। स्थानीयको सल्लाहलाई शिरोपर गर्दै खोलामा छिर्यौँ, खोलाका बीचमा बाइक लर्खराए पनि उच्च साहसका साथ पारि पुग्यौँ, घुर्मीसम्म कहीँ कतै पनि बाटोको मिठो स्वाद चाख्न पाइएन।
बेला बेलामा आकाशबाट पानी परिरहेको थियो। हामीले लगाएका जुत्ताहरू रोपाइँका बेला हिलोआली गरेर आएका किसानका जस्ता भएका थिए। लक्ष्यमा पुग्नका निम्ति हामीलाई बाटोमा आराम गर्ने छुट थिएन, त्यसैले हामी निरन्तर बगिरहेकै थियौँ। त्यहीँ क्रममा सिन्धुलीको फिक्कल गाउँपालिकाले हामीलाई स्वागत गर्दै थियो तर यो फिक्कल इलामको जस्तो सुरम्य थिएन।
पट्टयारलाग्दा दृश्य, खाल्डाखुल्डी परेर पानी जमेका सडक र हतारको हाम्रो यात्राले दुर्घटना निम्त्यायो। हामी दुवैजना नमज्जासँग बाइकबाट पछारियौँ। हातगोडा रक्ताम्य भए, जिउ हिलाम्य भयो। हामी बिच सडकमा लडिरहेका थियौँ। नजिकैको चिया पसलमा मानिसहरू हामी लडेको रमिता हेरिरहेका थिए।
हामीले उनीहरूबाट मानवीय सहयोगको अपेक्षा गर्नु पनि बेक्कार थियो। सकी नसकी त्यहाँबाट उठ्यौँ। बाइकको लेगाड पनि बांगिएछ। यस्तो प्रतिकूल परिस्थितिमा पनि हाम्रो आत्मबल उच्च थियो। हामी खुसीले गद्गद थियौँ किनकि यत्रो दुर्घटनाबाट हामी बचेका थियौँ। लडेकामा दुःख होइन, लडेर पनि सकुशल थियौँ त्यसैले खुसी थियौँ।
जीवन यात्राको क्रममा पनि यस्ता दुर्घटनाहरू आइरहन्छन्। भैइसकेका घटनामा दुःखी नभई बाँच्न पाएकामा हामी खुसी हुनुपर्छ भन्ने कुरा यस घटनाले हामीलाई सिकायो।
यो घटनाबाट पाठ सिकेर बाटामा सम्भावित दुर्घटनाबाट जोगिन हामी सचेत भयौँ। लक्ष्य टाढा थियो। साँझ पर्दै थियो। उदयपुरको घुर्मीमा पुगेर उभिएरै खाजा खाई ओखलढुंगा खोटाङको बाटो समात्यौँ र सुनकोसी तरेर अगाडि बढ्यौँ। ओखलढुंगा प्रवेश भएसँगै सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ कविता गुनगुन्याउँदै अगाडि हुइँकियौं।
ओखलढुंगा टेक्ने बित्तिकै राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको गाउँमा टेक्यौँ। व्यक्तिले गर्ने उज्याला कर्मले ठाउँ पनि उज्यालिँदो रहेछ भन्ने कुराको हामीलाई बोध भयो। झमक्क साँझ परेकाले त्यहाँ अलमलिनु हामीलाई फुर्सद थिएन। त्यसैले ओखलढुंगालाई बाइबाइ गर्दै खोटाङको बाटोतर्फ जोडियौँ।
अँध्यारो परिवेश, साँघुरो र घुमाउरो सडक, बिरानो परिवेशमा मनभरि डर, अँध्यारो बोक्दै अप्ठ्यारा घुम्ती र खाल्टाहरूमा होसियारीपूर्वक हिँडि रातिको ८ बजेतिर हलेसी पुग्यौँ र त्यहीँ एउटा होटेलमा बास बस्यौँ।
भोलिपल्ट बिहानै पूर्वी नेपालको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको दर्शन गर्यौंँ। अनौठो प्राकृतिक भूसंरचनामा ओढारभित्रको मन्दिर देख्दा अचम्ममा पर्यौ। हलेसी महादेवसँग घर परिवार सबैको मंगलको कामना गर्दै करिब आठ बजे हलेसीबाट दिक्तेल बजारतर्फ सोझियौँ।
बिहानको शान्त, सफा र हराभरा पहाडी परिवेशमा हाम्रो शरीर र मन रमाइरहेको थियो। उर्वर माटो र मान्छेका उर्वर सपना पनि त्यहाँ फलिरहेका थिए। जताततै हरियो मात्र देखिन्थ्यो। बाटोमा रोकिएर हामी स्थानीयसँग केही बेर गफियौँ पनि। अहिले पहाडी जीवनको समस्या भनेको बसाइसराइ रहेछ। त्यहाँका अधिकांश मान्छे राजधानी र मधेशतिर लागेका रहेछन्।
जतिबेला पहाडमा दुःख थियो। बाटो, पानी, बिजुली थिएन, विकासका अन्य भौतिक पूर्वाधारहरू थिएन, त्यतिबेला दुःखमा पनि पहाड भरिभराउ थियो तर आज सबै चिज छन्, पहाड निर्जन बन्दै गइरहेको रहेछ। बाली लगाउन र उठाउनका लागि मात्र सहरबाट मान्छेहरू फर्किँदा रहेछन्। वैदेशिक रोजगारीको प्रभावले पनि गाउँमा युवा, तन्नेरीहरूको संख्या न्यून रहेछ।
बाटो, धारा, सञ्चार र विकासका भौतिक पूर्वाधारले कृषि उत्पादनभन्दा पनि जग्गाको मूल्य बढाउने प्रविधि आज देशैभरिको रोग बनेको छ। यही रोगबाट खोटाङ पनि अछुतो थिएन। पाखाभरी मकैबारी, हरिया बुट्यान, झाडीहरू, डिलडिलमा फुलेका वनलसुनको सौन्दर्यले सिङ्गो प्रकृति लठ्ठिएको थियो।
त्यहाँ कति गीत जन्मन सक्थे, कति कथा र कविताहरू कोरिन सक्थे, त्यहाँको सुन्दर परिवेशले सिर्जना गर्ने मान्छेको खोजी गरिरहेको होला जस्तो लाग्यो। हाम्रो बारेमा केही त लेखिदेऊ न, बोलिदेऊ न भनेजस्तो महसुस भयो। यही मनोरम प्रकृतिको काखमा खेल्दै, रमाउँदै र बग्दै करिब ११ बजेतिर हामी दिक्तेल पुग्यौँ।
हामीलाई लिन हाम्रा पूर्व विद्यार्थी शैलेन्द्र कटुवाल आइपुगेका थिए। हामीले त उनको घर नजिकै होला भन्ने सोचेका थियौँ तर दिक्तेलबाट पनि हामीलाई उनको घर पुग्न करिब एक घण्टा लाग्यो। कठिन र ढुंगे कच्ची बाटोमा बाइक हुइँकाउँदै हामी उनको घर पुग्यौँ। स्थानीय चुनावको चटारो चलिरहेको थियो। उनका बुबा उम्मेदवार भएकाले त्यस्तो व्यस्थताका बीचमा पनि हामीलाई अगाध स्नेहका साथ स्वागत गरेकामा हामी कृत-कृत थियौँ।
त्यो घरमा स्थानीय निर्वाचनमा उठेका सबै उम्मेदवारका प्रचारात्मक सामग्रीहरू टाँसेको देख्दा राजनीतिक सहिष्णुताको संस्कृति देखेर हामी खुसी भयौँ। देशैभरि यस्तै संस्कारको विकास भइदिए राजनीति कति सङ्लो हुन्थ्यो जस्तो लाग्यो। मीठो भोजन र परिवारका सबै सदस्यको हार्दिकतापूर्ण व्यवहारप्रति आभार प्रकट गरी त्यहाँबाट करिब १ बजेतिर भोजपुरको बाटो समात्यौँ।
करिब ८५ किमी भोजपुर सदरमुकाम भोजपुरसम्मको बाटो आज हामीलाई नाप्नैपर्ने थियो। बाटो देख्दा सुरूमा त आहा! लाग्यो तर केही किलोमिटर पार गरेपछि त हाम्रा दुःख सुरू भए। मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर-चखेवा-दिक्तेलसम्मको त्यो बाटो निर्माणाधीन रहेछ। पानी परेर माथिबाट खसेको पानीले बाटो क्षतविक्षत थियो कुनै बेला त लाग्थ्यो हामी अब बीचमा अलपत्र नै पर्ने भयौँ।
बाइक भासिएर तलको ठूला-ठूला ढुंगा छुँदा अघि बढ्नै गाह्रो भयो। हामी हिलाम्मै भयौँ। दुई जनामध्ये एक जना ओर्लिएर हिँड्नुपर्ने अवस्था आयो। हाम्रो बाटोमा गाडीहरू अलपत्र अवस्थामा फसेका थिए। हाम्रो एकोहोरो जिद्दी र आत्मबलले यात्राको चुनौतीलाई जितेको थियो। जीवनमा पनि यस्ता अनेकौं चुनौती र अप्ठ्यारासँग पौठेजोरी खेल्दै उच्च मनोबलका साथ अघि बढ्न सके लक्ष्य प्राप्तिको यात्रा सहज र सफलोन्मुख हुन्छ भन्ने लाग्यो।
त्यहाँ बाटोमा भेटिएका स्थानीयलाई अब राम्रो बाटो आउन कति छ भनेर सोध्दा आइहाल्यो, अब त अलिकति मात्र छ जस्ता उत्तर पाउँदा खुसी लाग्थ्यो तर घण्टौँ हिँड्दा पनि राम्रो बाटो नआउँदा उनीहरूले हामीलाई किन ढाँटेका होलान् भन्ने भान हुन्थ्यो। उनीहरूले राम्रो भनेको कच्ची बाटो रहेछ। राजधानीका जस्ता काला सडक खोज्दा खोज्दै थियौ, जुन पाउन सम्भव थिएन।
अभाव र अप्ठ्याराका बीचमा रहेर पनि गनगन र गुनासो नगरी आफूसँग भएका कुरासँग सन्तुष्ट हुनु पहाडी ग्रामीण जन-जीवनको विशेषता रहेछ। हामी सहरमा गनगन र गुनासो बोकेर सधैं असन्तुष्टि भाव मात्र व्यक्त गर्ने मान्छेहरूले यस कुराबाट त केही पाठ सिक्नैपर्छ।
अहँ ,त्यहाँ त सरकार र राज्य व्यवस्थाप्रतिको असन्तुष्टि भाव कहीँ देखिएन। उनीहरू त गाउँमा बाटो आउँदैछ, मोटर चल्दै छ, बिजुली आउँदै छ भन्ने कुरामा दंग देखिन्थे र अप्ठ्यारोमा पनि सजिलो भेट्थे।
हामी त सजिलोमा पनि अप्ठ्यारो देख्दा रहेछौँ। छैन, छैन भन्दै सधैँभरि असन्तोषको सारङ्गी रेटेर आफैंलाई दुःखी बनाउँदा रहेछौँ। त्यो बाटो हिँड्दाहिँड्दै संसारी डाँडा, भुलभुले, दारूला चोक, लामाखु, छाप टोल हुँदै हामी खोटाङ भोजपुरको सीमाना चखेवा आइपुग्यौँ।
आहा! कति राम्रो, कति सुन्दर डाँडा। शब्दमा बयान गर्ने नसकिने। कुनैबेला चखेवाको आकृतिका पहाडी थुम्काहरूलाई चखेवा नामकरण गरिएको जस्तो लाग्यो। चखेवा आफैंमा प्रेमिल चरा हो, साँच्चै यो ठाउँ पनि प्रेमिल लाग्यो। एकछिन बाइक रोकेर त्यहाँको दृश्यावलोकन गर्यौँ।
त्यहाँको सौन्दर्यले असाध्यै लोभ्यायो। त्यहाँका थुम्का थुम्कामा चढेर केटाकेटीमा जस्तै चकचक र उट्पट्याङ गर्न मन लाग्यो। हामी केहीबेर तिब्र गतिमा बहेको हावासँगै उफ्रियौँ, करायौँ, नाच्यौँ। प्रकृतिसामू हामीले बालापन प्रस्तुत गर्दै थियौँ। भुइँफूलको सौन्दर्य महकिएको थियो त्यहाँ उत्तरतर्फको सल्लाघारी र वरिपरिका पाटनहरू जहाँ घोडा, भेंडा र गाईवस्तुहरू चरिरहेका थिए। जहाँ प्रकृतिको अद्भूत सौन्दर्य पोखिएको थियो।
यहीँ अल्मलिएर बस्ने फुर्सद थिएन। हामीलाई त समुन्द्री सतहबाट ३ हजार दुई सयको उचाइमा रहेको ट्याम्के डाँडा पनि चढ्नु थियो। हामीले त्यहाँबाट ट्याम्के डाँडाँको यात्रा सुरू गर्यौं। सुरूमा हेर्दा त त्यो ठाउँ नजिकै जस्तो लाग्यो। बाटो असाध्यै कच्ची थियो। अगाडि बढ्दै जाँदा पुग्न पो नसकिने हो कि भन्ने त्रास बढ्यो। हामी ट्रेकिङ रूट छोडेर घुमाउरो र ढुंगै-ढुंगाको उकालो बाटो लाग्यौँ। ट्याम्केको चुली चढ्ने हाम्रो आश र बाटो देख्दा मनभरि त्रासैत्रासको बीच एक घण्टा उकालियौँ। कति कति बेला त बाइकबाट चिप्लिएर यतै सकिन्छौँ कि भन्ने लाग्थ्यो। बाटोमा भेटिएका मान्छेबाट पनि भरपर्दो सूचना पाइएन।
यात्राका अनेकन प्रतिकूलतालाई परास्त गर्दै हामीले ट्याम्केको शिर छोयौँ। आकाश हातैले भेटिएजस्तो लाग्यो। बादल हाम्रै वरिपरि नाचिरहेको जस्तो लाग्यो। हावा वेगसँग बहेको थियो। त्यहाँ घाम, पानी र कुहिरोको लुकामारी थियो। मान्छे कोही थिएनन्। जाडो पनि असाध्यै थियो। कुन बेला पानी चुहिन्थ्यो थाहा थिएन। घाम लागेको बेला देखिएको सौन्दर्य निकै लोभलाग्दो थियो। जता हेरे पनि मनोरम दृश्य मात्रै।
प्राकृतिक सुन्दरताले धपक्कै बलेको ट्याम्के डाँडाको शिरबाट माटो र प्रेमका गीत गायौँ। अब हामीलाई यहाँ बसिरहने छुट थिएन। त्यहाँबाट ओर्लनुको चुनौति पनि हामीलाई उत्तिकै थियो। चुली चढेर मात्रै मान्छे सफल हुँदैन, त्यहाँबाट सकुशल ओर्लन पनि सक्नुपर्दछ। आधा यात्रा चढ्नु हो भने आधा यात्रा ओर्लनु पनि हो। चुली सबैका लागि हो तर सधैंका लागि होइन भन्ने कुरालाई मनन गर्दै हामी ओरालो झर्यौँ।
आकाश चुहिनै लागेजस्तो लाग्थ्यो। बादलले हामीलाई खेदाई रहेजस्तो लाग्थ्यो। चढ्दाका चुनौती ओर्लदा पनि जिउँदै थिए। हामी हतारमा ओर्लियौँ। त्यस्तो बाटोमा हतार गर्नु कहिलेकाहीँ दुर्भाग्यपूर्ण पनि हुन सक्छ। तर पनि हामीले यो कुरा बिर्सिएर झर्यौँ र सकुशल चखेवा आइपुग्यौँ। चखेवाको सुन्दर प्रकृतिलाई बिदाइका हात हल्लाउँदै फराकिलो कालोपत्रे बाटो हुँदै भोजपुरतर्फ लाग्यौँ।
बिपी राजमार्ग छोडेपछि बल्ल हामीले यस्तो बाटोमा गुड्न पाएका थियौँ। प्राकृतिक सुन्दरता पनि त्यस्तिकै राम्रो थियो।
यात्रा गर्दै जाँदा हामीलाई भोकले सतायो। एक ठाउँ रोकिएर छाप्रोमा रहेको पसलतिर लाग्यौँ। त्यहाँ चाउचाउ र चाउमिन बाहेक खानेकुरा केही थिएन। सहरी खाजाले गाउँलाई पनि नराम्रोसँग अतिक्रमण गरेछ भन्ने लाग्यो। यहीँको स्थानीय खानेकुरा माग्दा दुई दिन अगाडि उसिनेर राखिएको आलु पाइयो। भोकको बेला त्यो बासी आलु पनि मीठो मानेर खायौँ। भोक मिठो कि भोजन मीठो ? तिर्खा मिठो कि पानी मिठो? जे होस् मिठो लाग्यो, नुनमा डोबेर खाएका बासी आलु पनि।
त्यसपछि हामी डेढ घण्टामा भोजपुरको सदरमुकाम पुग्यौं। त्यहाँ हामी धेरैबेर अल्मलिएनौँ। त्यहाँबाट हामी आज प्याउली पुगेर आफन्तकहाँ बास बस्ने कार्यक्रम थियो। त्यसका लागि प्याउलीबाट चार-पाँच किलोमिटर अगाडि बढ्यौँ। सूचना दिनेले अलैंचीबारीबाट जंगलको बाटो तल झर्नु भनेका थिए। त्यसै अनुसार हामी तलतिर लाग्यौं।
जुन बाटो हामीलाई तल झर्न भनिएको थियो ,त्यो बाटो, बाटोजस्तो थिएन, खोल्सोजस्तो थियो। तै पनि सूचनालाई आधार मानेर ओर्लिरह्यौँ, जाँदाजाँदै गम्ल्याङगुम्लुङ खाल्डोमा पर्यौँ। शरीर पुरै थचारियो। जति तल हेर्यो, झन् डरलाग्दो मात्र थियो, झमक्क साँझ पर्दै थियो। झ्याउँकिरीको एकोहोरो आवाज र निर्जनतामा हामी आत्तियौँ। फसेको बाइक बल्लबल्ल चक्का समाती माथि उठायौँ। बाइक उठाएर फेरि अगाडि बढ्यौं तर फेरि फस्यौँ। तावाबाट उफ्रेको माछो भुङ्ग्रोमा भनेजस्तो भयो हाम्रो अवस्था।
अब त्यहाँभन्दा अघि बढ्ने आँट आएन। फोनबाटै आउन नसक्ने सूचना दियौँ। दुःखले बाइक पुनः निकाली अघिकै बाटो फर्कियौँ।
अँध्यारो छाइसकेको थियो। हाम्रो यात्रामा अवरोध आएकाले गर्दा हामी विचलित थियौँ। अब हामीले रात्रि विश्रामको लागि धनकुटाको हिले पुग्नु थियो। त्यहाँबाट भोर्लेटार, बञ्चरेडाँडा हुँदै जरायोटार पुग्यौँ। साँझको रिमरिम उज्यालोमा पनि जरायोटारको सौन्दर्य छचल्किरहेको थियो।
हामी अरूण नदीको लेगुवाघाट (राम बजार) पुग्यौँ। अरूण नदीको लहर हेर्ने रहर अधुरो नै रह्यो। त्यहाँ एकछिन पनि अलमलिने समय थिएन। हामी लेगुवाघाटबाट संखुवासभा जाने बाटो छाडेर हिलेतर्फ जाने बाटो मोडियौँ। हिले जाने निर्माणाधीन बाटो साँच्चै नामजस्तै हिले नै रहेछ।
रातिको यात्रा सहज थिएन तर पनि दियाले, डिकुरे, पाख्रीवास हुँदै अनगिन्ती घुम्ती र हिलाम्मे बाटो पार गर्दै राति करिब साढे नौ बजे हिले पुग्यौँ। मधेशमा गर्मीको आगो बल्दै थियो होला तर यहाँ हामी जाडोले लुगलुग काम्दै थियौँ। जिउ मैलोधैलो र जुत्ता हेरिसक्नु थिएन।
हामी लजको खोजीमा लाग्यौँ। लज खोज्दा जुत्ता बाटैमा राख्ने अवस्था थियो। एउटा लजमा सोधियो। मिठा चिप्ला कुराले कोठा बुक गरियो तर कोठामा पुगेर हेर्दा कोठा पुरै दुर्गन्धित थियो। एकछिन बस्दा कोठाका मुसाको रिले दौडले हामीलाई तर्सायो। त्यहाँ नबस्ने निर्णय गरेर अर्को लजको खोजीमा निस्कियौँ।
रातको १० बजिसकेको थियो। त्यहाँको एउटा भिआइपी कोठा खाली रहेछ। जे पर्ला पर्ला भनेर भिआइपी कोठा बुक गर्यौँ। भिआइपी कोठा भनेर बसेको लजको ट्वाइलेटमा बाल्टीले पानी खन्याउनु पर्दोरहेछ। तातोपानी त निकै परको कुरा। तै पनि ढोकामाथि लेखिएको भिआइपी कक्ष हेरी त्यो रात त्यहीँ बितायौँ।
काठमाडौंमै बस्दा लागेको थियो, गुराँसको राजधानी तेह्रथुमको तीनजुरे जीवनमा कहिले पुगिएला भनेर? तर धनकुटानै पुगेर बास बसिसकेपछि तीनजुरे पुग्ने उत्कट चाहना जागेर आयो। हुन त गुराँस फुल्ने मौसम फागुन चैत्रतिर हो हामी त वैशाखको अन्तिमतिर थियौँ। गुराँसले हामीलाई पर्खेको नहुन सक्छ। जानकार मान्छेहरूलाई सोध्दा गुराँस त सकिनै लाग्यो भनेको सुनियो तर त्यहाँसम्म आइसकेपछि बोट हेरेर भए पनि चित्त बुझाउँला, फूल फुलेको कल्पना गरौँला। आएपछि जानैपर्छ भन्ने दृढ अठोटका साथ हामी बिहानै पाँच बजे नै उठेर तीनजुरेको यात्रामा निस्कियौँ।
धनकुटाको पुराना बजारहरू सिँधुवा, वसन्तपुर हुँदै अगाडि बढिरयौँ। चित्रेदेखि नै कठ्याङ्ग्रिने चिसोले हामीलाई अत्याइरहेको थियो। अत्यधिक चिसोलाई पनि चुनौती दिँदै तीनजुरे पुगेरै छाड्यौँ। हामी आफैं अचम्मित थियौँ, काठमाडौंदेखि त्यत्रो पहाडी बाटो छिचोल्दै पूर्वी पहाड तेह्रथुमको अग्लो गुराँसे डाँडामा पुगेका थियौँ। त्यो ठाउँ गुराँस संरक्षित क्षेत्र रहेछ, गुराँसै गुराँसको जङ्गल रहेछ। गुराँसका फूलले हामीलाई स्वागत गर्न अझै पर्खिरहेका थिए।
जंगलभित्र छिर्दै गर्दा मन्दमन्द चिसो हावामा माथिबाट पुष्पवृष्टि भइरहेको थियो। चराहरूले माथिबाट फूल खसाएको देख्दा हामीलाई नै स्वागत गरेझैं लाग्यो। चराहरूको चिरबिर आवाजले जंगल पुरै प्राकृतिक संगीतमा लठ्ठिएको थियो। लालीगुराँस निख्रनै लागेको बेलामा त यस्तो सौन्दर्यमय देखिन्छ भने पुरै वन फूलैफूलमा फुलेका बेला आहा! कति सुन्दर हुन्छ होला! कतिको मन लोभ्याउँछ होला, कतिको मन चोर्छ होला, हामी कल्पना गर्दै थियौँ। यही मिठो कल्पनामा गीतकार क्षेत्रप्रताप अधिकारीद्वारा रचित स्वर सम्राट नारायण गोपालले गाएको
म त लालीगुराँस भएछु वनै भरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु फाँटहरूले कसलाई पुग्छ र भिरहरूमा पनि फुलिदिन्छु खुसी मात्र कहाँ हुन्छ पिरमा पनि फुलिदिन्छु।
गीतको याद आयो। वास्तवमा जीवन बाँच्नका लागि शक्तिशाली बिम्ब हो लालीगुराँस, सजिलोमा त सबै फुल्छन्, अप्ठ्यारोमा फुल्ने पो फुल्ने। फुलेपछि लटरम्मै फुल्ने, बेपरवाह फुल्ने लालीगुराँसको सन्देशलाई हामीले मनन गर्यौँ। केहीबेर घुमीघुमी फोटो खिच्यौँ। डाटा खोलेर फेसबुक लाइभ पनि गर्यौँ। त्यहाँ एउटा पिकनिक गर्ने पार्क पनि रहेछ। त्यो क्षेत्र रेड पाण्डा संरक्षित क्षेत्र पनि रहेछ। त्यहाँ बोर्डमा लेखिएको सन्देशले हाम्रो मनै छोयो। उक्त बोर्डमा लेखिएको थियोः
‘बाँच्न देऊ सृष्टि थाम्छु मारे एकै छाक
जीवन रहे पाहुना डाक्छु डलर दिन्छु लाख
लोप हुँदैछु संसारबाट कसले बचाइदेला
पछुताउँछौ मानव तिमी भयो सोच्ने बेला’
साँच्चै नै प्रकृतिको सौन्दर्यले धपक्कै बलेको, जैविक विविधताले भरिपूर्ण तीनजुरेजस्ता ठाउँहरू नेपालमा कति होलान्! तिनीहरूको सौन्दर्यलाई संरक्षण गर्नसके देश माथि उठ्थ्यो होला। तीनजुरेको यात्राले यी र यस्तै पाठ सिकायो।
छोड्नै मन नलाग्ने भारी मन बोकेर हामी त्यहाँबाट धनकुटाको हिले फर्कियौँ र त्यहाँबाट पनि धनकुटा सदरमुकाम धनकुटा बजार हुँदै तमोर नदीको पुल मुलघाट छेउमा आई खाना खायौँ।
मूलघाट साँच्चै नै गर्मी ठाउँ रहेछ। पसिना तरतर चुहिरहे। सुदूर पूर्वको ताप्लेजुङदेखि बग्दै आएको तमोर नदी अरूणलाई भेटेर कोशी हुने हतारमा कुदिरहेको हामी हेर्दै थियौँ। हामी पनि त्यहाँबाट पूर्वको मेचीलाई भेट्न हतार हतार कुदिरहेका थियौँ।
यात्राका तस्बिरहरू