कक्षा ६ मा पढ्दै गर्दा वुवाले मलाई खप्तड बाबाको विचार विज्ञान पुस्तक पढ्न लगाउनुभएको थियो। त्यहीँ बेलादेखि खप्तड बाबाले ज्ञान प्राप्त गरेको खप्तड क्षेत्रमा एक पटक जसरी पनि पुग्ने निधो गरेको थिए।
खप्तडको सुन्दरता, रमणीय भुगोल अनि खप्तड बाबाको विचारले मेरो मनमा खप्तड जाने हुटहुटी जागिरहेको थियो। मनमा भोग भएर मात्र भएन उचित समयको पर्खाइमा खप्तड जाने मनको रहर मनमै थियो।
साउनको दोस्रो साता मुलुक छिचोलेका फोटोग्राफर तथा लेखक भरतबन्धु थापासँग कफी गफ गरिरहँदा खप्तडको विषय उठ्यो। उनले, यो समयमा जाँदा निकै मनमोहक दृष्य हेर्न पाइने कुरा बताइदिए। जाने भए आफूले पनि साथ दिने भने। त्यसपछि त मलाई के चाहियो र? त्यसको दुई दिनपछि खप्तड जाने तयारी गर्न थालेँ। साउन १३ गते काठमाडौंबाट निस्कने निधो भयो।
साउन १२ गते साँझसम्म स्वास्थ्य स्थिति राम्रै थियो। खप्तड जाने अधिक रहर हो वा केले हो राति राम्ररी निन्द्रा परेन। भोलिपल्ट बिहानै साढे ५ बजे एयरर्पोट पुगेँ, बन्धु अघिनै पुगेका रहेछन्। आफूलाई निद्रा नपुगेर हो कि, ज्यानलाई अलि आराम नभएको जस्तो भईरहेको थियो।
एयरपोर्ट पुगिसकेपछि एक मनले यात्रा रद्द गरी फर्केर घर आउ कि, जस्तो भयो। अचानक खप्तड बाबाको विचारको शक्ति सम्झिएँ। अनि फेरि खप्तड जाने मौका मिल्ने हो कि, होईन भनेर मनमा आयो र सिधै चेकइन गरी हवाई जहाज तर्फ लाग्यौं।
अनिदो र ज्यानलाई सन्चो नभएर होला म त हवाईजहाजमा मस्तले निदाएछु। धनगढी पुगेको पत्तै भएन। भरतबन्धुले उठाए पछि म त झसंग भएँ।
धनगढी पुग्दा पानी अलीअली परिरहेको थियो। हवाईजहाजमा निदाएर हो कि ज्यान फुर्तिलो थियो। धनगढी विमानस्थलमा हामीलाई लिन खप्तड होमस्टेका सञ्चालक दीपक बहादुर खड्काले गाडी पठाएका रहेछन्।
बिहान चाडै घरबाट हिँडेकाले होला हल्का भोक लागिरहेको थियो। त्यसैले धनगढीमा धेरै मलमल नगरि यात्राको गन्तव्यतर्फ अगाडि बढ्यौं।
आजको हाम्रो बास खप्तड खप्तड राष्टिय निकुन्जसँगै जोडिएको झिंग्रानास्थित खप्तड होमस्टेमा थियो।
धनगढीदेखि केही अगाडि बढेपछि गोदावरी नगरपालिकाको बुढीतोला बजारको लोकल केरा खाएर यात्रा अघि बढ्यो। हाम्रो बिहानको खाना डोटीको जोराएलस्थित गतानीडुब्का होटलमा भयो।
वरिपरि घना जंगल हल्का चिसो मौसम भएकाले खाना निकै मिठो लाग्यो। खाना खाएर झिंग्रनातर्फ अघि बढ्यौं। मैले पहिले देखिनै डडेलधुरा जाने बाटोमा ‘बाजेको खीर पसल’ छ भनेर सुनेको थिएँ।
डडेलधुरा आउने धेरैजसो बाजेको खीर पसलमा खीर खाएर जाने गर्दारहेछन्। खीर खान सहज होस भनेर मैले खाना अलि कम गरेँ। खाना खाएको स्थानदेखि खीर खाने पसल खासै टाढा थिएन। खाना खाएर केही समय गफ गरेर यात्रा गरेका मात्र के थियौं गन्यापधुरा १, साहुखर्कस्थित बाजेको खीर पसल आइपुग्यो।
खीर खाँदै बाजेसँग गफ गर्दा करिब ४५ मिनेट बितायौं। त्यसपछि लाग्यौं डोटीतर्फ। झिंग्रान पुग्नु अघि हामी डोटी सिलगढीस्थित सुदूरपश्चिमकै प्रख्यात शैलेश्वरी मन्दिर पुग्यौं। यतिबेला दिनको दुई बजिसकेको थियो।
शैलेश्वरी माताको मन्दिर यो क्षेत्रकै प्रमुख धार्मिकस्थलका रूपमा चर्चित छ। देवीको नित्यपूजा सिलगाउ निवासी भट्ट ब्राह्मणद्वारा गरिनेरहेछ।
मन्दिरमा हरेक वर्ष जेठ र कार्तिक पूर्णिमामा लक्ष्यबहन महायज्ञ परम्परागत रूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ। यो मन्दिरलाई सुदूर पश्चिमका नौ भगवतीका मन्दिरमध्ये एक मानिन्छ।
भगवान शिव र माता पार्वती आफ्नो विवाहपश्चात मधुचन्द्रिकाका निम्ति डोटीस्थित रमणिय चन्द्रागिरि पर्वतलाई रोजेका थिए। ब्रह्मा, विष्णुलगायत विभिन्न देवताहरू भगवान शिवको खोजी गर्दै यहाँ आईपुग्दा माता पार्वतीले देवतालाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसैबेलादेखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो।
मन्दिरमा दर्शन गरी फोटो खिचिरहँदा खप्तड होमस्टेका सञ्चालक दिपक पनि आइपुगे। दिपक सँग केही बेर भलाकुसारि गरेर हामी झिग्रनातर्फ लाग्यौं। सिलगढीदेखि झिंग्राना पुग्न करिब एक घण्टा लाग्नेरहेछ।
केहीबेरमा बादलले ढपक्क सिलगढी बजार ढाक्यो, केहीबेरमै ठूलो पानी पर्यो। सिलगढीबाट करीब २० मिनेपछि बगलेक पुग्यौं। बगलेकमा चिया खाएर हामी निरन्तर लाग्यौं झिग्रनातर्फ। दिनभरीको गाडीको यात्राले ज्यान थाकेको थियो। कतिखेर गन्तब्यमा पुगौं भएको थियो। साँझको साढे ६ बजे हामी खप्तड होमस्टे पुग्यौ।
पहिलो रात खप्तड होमस्टेमा बिताएपछि हाम्रो दोस्रो दिनको गन्तव्य थियो-खप्तड।
खप्तड राष्टिय निकुन्जको प्रवेशसँगै हाम्रो पैदल यात्रा सुरू भयो। एकाबिहानै नास्ता खाएर उकालो लाग्यौं। झिंग्रना सँगै रहेको राष्ट्रिय निकुन्ज प्रवेश टिकटको ब्यवस्थापन दिपकले मिलाइसकेकाले हामी सरासर अगाडि बढ्यौं।
चेकपोष्ट पार गरेपछि बिचपानी नपुग्दासम्म करीब ५ घण्टाको उकालो यात्रा तय गर्नुपर्ने रहेछ। शरीरमा थकान र केही अस्वस्थ्य भएकाले उकालोमा गाह्रो होला कि भन्ने लागेको थियो। झमझम पानी परिरहेको थियो। घना जंगलमा हाम्रो यात्रा निरन्तर जारी रह्यो। करिब एक बजेतिरै हामी बिचपानी पुग्यौं। झिग्रानादेखि बिचपानीसम्म खानपिनको लागि कुनै पनि ब्यवस्थापन छैनरहेछ।
दिपकले फोनमार्फत खानपिनको ब्यवस्थापन गरिसकेकाले हामी पुग्नासाथ खाना खान पायौं।
खाना खाएर केही समय आराम गरेपछि हामी खप्तडतर्फ अगाडि बढ्यौं। बिचपानीदेखि करिब चार घन्टाको यात्रापछि खप्तडका पाटनहरू देखिए। टेबुलमा कचौरा घोप्ट्याए जस्तो आकृतिमा रहेको खप्तड सुदूरपश्चिमको चेरापुञ्ज नै मानिन्छ।
केही समय अगाडि बढेपछि त्रिवेणी मन्दिर पुग्यौं। बाटोमै रहेको मन्दिर दर्शन गरेर अघि बढ्यौ। खप्तड घुम्न आउने पर्यटकका लागि बास बस्ने र खाने एक मात्र होटल अलिक माथि रहेछ।
हामी आउने पहिले नै जानकारी भएकाले खान बस्नको राम्रो तयारी भएको रहेछ। खाना खाएर आराम गर्यौं।
खप्तड पुगेको भोलिपल्ट अर्थात यात्राको तेस्रो दिन बिहानै खप्तड बाबाको आश्रम गयौं। आश्रममा पूजा गर्न सहज होस् भनेर खप्तड राष्ट्रिय निकुन्ज सुराक्षार्थ खटिएको नेपाली सेनाले खप्तड आउने पर्यटकलाई आश्रम जाँदा आफ्नै पूजारीको व्यवस्था गराइदिनेरहेछ।
खप्तड बाबाको विविध विषय बारेमा पूजारीले जानकारी गराउनुका साथै उहाँले बाबाले आश्रममा बसोबास गर्दा प्रयोग गरेका सरसमानको समेत जानकारी दिनुभयो। केही समय बाबाको आश्रममा बिताएर हामी पुनः खाना खान होटल फर्कियौं। होटलदेखि बाबाको आश्रम ३५ मिनेटको दुरीमा रहेछ। खाना खाएपछि हामी पुनः खप्तड क्षेत्रका फाँटहरू मध्ये ठूलो पाटन अर्थात घोडादाउन फाँट हेर्न गयौं।
त्यहाँबाट करिब ३० मिनेट पछि घोडादाउने पुग्यौं। फाँटमा फुलेका रंगीचंगी फूलले हामीलाई न्यानो स्वागत गरिरहेका थिए। फाँटको छेउको अग्लो ठाउँमामा फाँट हेर्न टावर समेत बनाइएको रहेछ। हामी पनि त्यतै लाग्यौं।
भरतबन्धु खप्तडमा यो सहित गरेर बिभिन्न मौसममा ५ पटक यात्रा गरिसकेका रहेछन्। उनी भन्दै थिए, ‘यदी मौसम सफा भएमा आखै अगाडि सैपाल हिमश्रृंखला देख्न सकिन्छ।’
भरतबन्धुले पछिल्लो दश वर्षमा विभिन्न मौसममा खप्तड ५ पटक पुगेको अनुभव सुन्दै गर्दा कति चाँडै टावर पुगिएछ पत्तै भएन। घोडादाउने फाँट प्रवेश गर्दा घाम लागेको थियो भने टावर पुग्दा फाँटलाई बादलले छोप्दै थियो।
केही समय बादलले छोप्ने र केही समयमै बादल फाटेर आँखाले नभ्याउनेसम्म फाँटहरू मात्र देखिने । यो दृश्य हेर्दा लाग्यो म धर्तीको स्वर्गमा पो छु कि।
भुईँमा फूलेका विभिन्न रंगका फूलले मनमा एक किसिमको शान्त भाव पैदा भयो। मनमोहक, रमणीय, शान्त र आनन्दित भएरै होला मलाई खप्तड स्वर्गझैं लाग्यो।
खप्तडमा मैले म भित्रको ‘म’ भेटेको थिएँ। र त मलाई स्वर्गीय आनन्दको अनुभूति भइरहेको थियो। जुन विषयको आनन्द अनुभूतिबाट प्राप्त हुन्छ त्यसको व्याख्या शब्दले गर्न नसकिने रहेछ।
म यात्रा गर्ने मान्छे। जीवनमा यति धेरै स्थान पुगेँ। तर खप्तड पुग्दा लाग्यो यहाँसम्म आउन निकै ढिला गरेछु। मनमनै भनेँ, ‘यहाँसम्म आउने चाँजोपाँजो मिलाइदिने भरतबन्धुलाई धन्यवाद। घोडादाउने फाँटमा केही समय बिताएर हामी पुनः बास बस्नका लागि होटल आयौं।
चौथौ दिनको यात्रा सहर्षलिंगको लागि तय भयो। बिहानै उठेर हामी उकालो लाग्यौं। सहर्ष लिंग खप्तड क्षेत्रको सबैभन्दा अग्लो स्थानमा रहेछ। होटलदेखि करिब साढे दुई घण्टाको यात्रा पछि हामी सहर्ष लिंग पुग्यौं। वरीपरी ढुंगाको टापुमा रहेछ सहश्रलिंग।
सफा मौसममा यहाँबाट नेपालको मात्र नभएर भारत सम्मको हिमश्रृंखला देख्न सकिने भरतबन्धु बताए। तर उक्त दिन हामीलाई मौसमले साथ दिएन।
केही समय त्यहाँ पूजा तथा ध्यान गरेर हामीले बोकेर ल्याएको खाजा खायौं। सहर्ष लिंगबाट करीब डेढ घण्टाको यात्रामा छेडापाटन पुग्यौं। त्यहाँ पुगेपछि पाटनमा चरिरहेका घोडार फाँटको किनारमा रहेका गोठहरू र रंगीबिरंगी फूल देखेर लाग्यो- यदि यहाँ नपुगेको भए खप्तड आएको यात्रा पुरा नहुनेरहेछ।
फाँटमा केही समय बिताएर फाँट नजिकै रहेको खापरदह तर्फ लाग्यौं। वरिपरी जंगलको बीचमा रहेछ खापर दह। दह नजिकै खप्तडी मष्टको थान रहेछ। खापर दहमा केही समय बिताएर मष्टथानको दर्शन गरि हामी होटलतर्फ लाग्यौ।
खापर दहदेखि एक घण्टाको यात्रा पछि हामी होटल पुग्यौं। होटल पुगेर खप्तड अवलोकन सकाएर हामी भोलि चौथो दिन फर्कने तयारी गर्यौं।
यस्तो छ खप्तडको विशेषता
खप्तड क्षेत्रमा २२ वटा पाटन र र ५३ वटा थुम्का छन्। थुम्कालाई स्थायीले झोती भन्दा रैछन्। जहाँ २२ वटा ठूला पाटनहरू छन भने अन्य अरु ससाना पाटनहरू छन्।
तालमा पनि खप्तड दह, बुकि दह लगाएत ३/४ वटा मात्रै बाँकी छन् अरु सबैजसो पुरिएर गए। विश्वबजारमा मूल्यवान ठानिएको गुचिच्याउदेखि सुनजाइ, सेतो जाइ, इन्द्रकमल, रातकी रानी लगाएत बिभिन्न प्रकारका फूल र वनस्पतिहरू यहाँ पाइन्छन्।
खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक पर्यटककीय हिसाबले समेत उपर्युक्त गन्तव्यका रुपमा परिचित रहेको छ।
पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ।
यो क्षेत्र धार्मिक, ऐतिहासिक र पुरातात्विक हिसाबले निकै नै महत्व राख्छ। त्रिवेणीधाम, सहस्रलिंग, केदार ढुंगो, खप्तड बाबाको आश्रम, खप्तड दह, नागढंगा, घोडा दाउनी पाटन जस्ता केही आकर्षक ठाउँहरूले झनै लोभ्याउछन्।
करिब ६०० प्रजातिका वनस्पतिको आंकलन गरिएको यो क्षेत्रमा ३४५ प्रजातिको बैज्ञानिकरण भैसकेको छ।
पाँच औले, जटामसी र लोटसल्लो जस्ता दुर्लभ प्रजातिहरू यहाँ पाइन्छन्।
यस क्षेत्रमा सात प्रकारका गुँरासहरू फुल्छन् जसमध्ये बाउन्ने गुरास एक हो। यहाँ २८७ प्रजातिका चराहरू र २३ किसिमका जनावरहर पाइन्छन्। समुद्री सतहबाट ११००० फिट उचाइमा रहेको यसको क्षेत्रफल २२५ वर्ग किमि छ। बिभिन्न किसिमका फूलहरू फुल्दा बुट्टेदार गलैचा जस्तो देखिने सुन्दर पाटनहरू भएको खप्तड एउटै ढुंगामा अवस्थित छ।
सम्पर्कः
खप्तड होमस्टे
दिपकबहादुर खड्का–९८५८४४०१३७
थप तस्बिरहरू
हेर्नुहोस् भिडिओमा