बेलुका नौ बजेतिर प्रिन्सिपल उत्तम भाइको फोन आयो, ‘दाइ, भोलि र पर्सि फुर्सद निकालौं न।’
‘भोलि त युद्धप्रसाद मिश्रको साधारण सभा छ, किन र?’ सोधेँ।
‘भोलि लमजुङको घलेगाउँमा विद्यार्थी लिएर जान लागेको।’
म दोधारमा परेँ। साधारणसभामा जाने मन र इच्छा हुँदाहुँदै पनि घलेगाउँ नै जाउँ जस्तो लाग्यो। किनभने म त्यहाँ एक्लै जान सक्दिनँ थिएँ। घुम्न जाने कुरामा साथीभाइ मिलिहाल्नु नै ठूलो कुरा थियो। त्यसैले ‘एक्मी कलेज’ले आयोजना गरेको शैक्षिक भ्रमण कार्यक्रममा जाने आग्रह काट्न सकिनँ ।
कुरा अलि पहिल्यैकै हो। आधा भदौ महिना बिते पनि झरी रोकिएको थिएन। झरीले पहाड गलाइरहेको थियो, सडकलाई चुनौती दिइरहेको थियो। खोल्सा खोल्सी खहरे जवानीको मातमा उन्मुक्त भएर, यत्रतत्र हिँडिरहेका थिए। वन पाखाबाट कुलकुलाउँदै निस्किएका निर्वस्त्र छाँगोका सुन्दरता हेर्दै करिब साढे १२ बजे पृथ्वी राजमार्ग हुँदै डुम्रे पुग्यौं।
मूल सडक छोडी उत्तरतर्फको डुम्रे चन्द्रावती चोक हुँदै अगाडि हान्नियौं। सडकको दाहिनेतिर मर्स्याङ्दी नदी सेतै पछ्यौरीमा हस्याङफस्याङ गर्दै कसैसँग भेट्न दौडिरहेकी थिइन्।
मर्स्याङ्दीका दायाँबायाँ किनारका धानका गाँजो हावासँग पैंठोजोरी खेलिरहेको थियो। बेँसीसहरसम्मको ४२ किलोमिटर नागबेली पटुकीले सडक नाप्दै अगाडि बढ्यौं। विकास भित्र्याउन बस्तीहरूमा कंक्रिटको थुप्रो थुपारिएका थियो।
बाटामा पर्ने स्याम्वास, खहरे, भानु, तुरतुरे हुँदै फलामे पुल तर्दै पारी पुयौं। काठमाडौं-बेँसीसहर चल्ने यात्रुवाहक गाडी निजिक बाटोमा मानिसहरू ओहोरदोहोर गरिरहेका थिए। मनाङ जाने मुख्य प्रवेशद्वार र अन्नपूर्ण पैदलयात्राको प्रवेशद्वार लमजुङको बेँसीसहर सडकबारे सोच्न अबेला भइसक्यो जस्तो अनुभूति भयो।
डाँडाकाँडाको धनी हाम्रो देशमा बस्तीहरू पनि एकिकृत नभई छरीएर कोही बेँसीमा, कोही लेकमा, कोही भीर-पहरामा त कोही डाँडाका टुप्पामा बसेको देख्दा सबैले समानुपातिक ढंगले विकास निर्माणको फल चाख्न पाएको देखिँएन। छरिएर बसेका बस्तीलाई ठाउँ-ठाउँमा एकिकृत गरी आवास बसाल्न सके सबैले सबै कुराको बराबरी सुविधा लिन पाउने थिए। काठमाडौंको खाल्डो बाहिर निस्कँदा मेरो मनमा यी नै कुराले घोचिरहन्छ।
एकीकृत बस्ती हुँदा राज्यलाई शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, बिजुली, टेलिफोन, सञ्चारका आधुनिक सुविधा आदि पुर्याउन सजिलो हुने थियो। वर्षेनी हुने प्राकृतिक प्रकोप र आपत-विपतबाट बच्न र बचाउन पनि सजिलो हुन्थ्यो। एकिकृत बस्ती भए विकासका फल सबैले चाख्न पाउँथे।
आज कृष्ण अष्टमी रहेछ। बाटामा महिलाहरूको धार्मिक चहलपहल ठाउँठाउँमा देखिन्थ्यो । धर्म संस्कृतिको धरोहर नेपालमा समय जता पुगे पनि उनीहरूको अथाह विश्वासले नै त अस्तित्वमा रहेकाछन् मठ मन्दिर परम्परा र रीतिरिवाजहरू।
कालीमाटी हुँदै हाम्रा कुशल चालकले तनहुँ र लमजुङ सीमाको पाउँदीको फलामे पुल तार्छन्। भोटे ओडारको सानो बजार हुँदै सिउँडी चोक आसपास आधुनिक रंगरोगनले पोतिएका घरहरू हाम्रा आँखा अगाडि नाच्छन्। झरीले रूझेर खुलेका हरिया डाँडाहरू मस्किरहेका थिए। हामी उदिपुरको लमतन्न सडकहुँदै मध्य-मर्स्याङदी जलविद्युत आयोजनालाई दाहिने पार्दै कतै नअलमल्ली अगाडि बढ्यौं, किनकि हामीलाई घलेगाउँ पुग्नु थियो।
घलेगाउँ (२१०० मिटर) पुग्न सजिलो होस् भनेर काठमाडौं छोडेदेखि नै प्रेम घलेजीलाई सम्पर्क गर्न छाडेका थिएनौं तर सम्भव भइरहेको थिएन। लमजुङ बेँसीसहरको चौबाटामा गाडी रोकेर उनैलाई धुँइधुइती खोज्दै जाँदा मात्र घलेगाउँको रिसोर्टमा भेटृायौं। भलाकुसारी पछि थाहा भयो घले गाउँ गाविसका दुई कार्यकालका पूर्व गाविस अध्यक्ष, अहिले ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष रहेछन्।
समुद्र सतहबाट आठ सय मिटर उचाइमा रहेको लमजुङको सदरमुकाम बेँसीसहर ओर्लदा पौने तीन भइसकेको थियो। घलेगाउँ जानुपर्ने थियो, त्यसैले सबैले आफ्ना खुट्टाहरूलाई ६ घण्टा हिँड्नपर्छ भनेर तन्काइरहेका थियौं। तर समय अलि बितिसकेको थियो, हिँडेर जाने कुरामा उनहरूको सहमती रहेन।
भोलि र पर्सि काम भ्याउनै पर्ने योजना सुनाएपछि उनले जिपको व्यवस्था मिलाइदिए। सफा मन र रमाइलो स्वभावका प्रेम घलेले मन र मुटु तान्ने चुम्बकै बोकेका रहेछन्। हामी उनैतिर तानियौं।
घलेगाउँकाले पाहुनाहरूलाई पुर्याउन उनी बेसीसहरमा बसेर चाँजोपाँजो मिलाउने गर्दा रहेछन्। आफू भने महिनाको दुई पटक बैठक र छलफलका लागि घलेगाउँ पुग्ने बताए।
करिब साढे ४ बजे बेँसीसहरबाट गाडी हिँड्यो। सिमसिम पानी परिरहेको थियो। साउन-भदौ दिदीबहिनी दिदीसँग छुट्टिन पर्दा बहिनी भदौ धेरै रोएको कुरा गुरूजीले सुनाए। उकालो लाग्ने बित्तिकैको बाटो देख्दा सबैका मुटुले ठाउँ छोड्यो। गाडी ठेल्दै, छाँगाको पानीले रूझ्दै, के होला, कसो होला भन्ने त्रास मनभरी बोकी अगाडि बढ्नु बाहेक अर्को उपाए थिएन।
रात झमक्क परिसकेको थियो, फेरि गाडि हिलोमा फस्यो। भुइँसँग रमाउँदै हिँड्यौं।
घलेगाउँ नजिक गाइ गोरू हिँड्ने ढुंगे सिँढीको उकालो चढ्दा झमक्कै रात भइसकेको थियो। सिमसिम पानी परिरहेको थियो। एउटा हातले छाता अर्को हातमा ब्याग समाउँदै उकालो लाग्यौं।
एकजना छात्रा बिहानैदेखि कृष्णअष्टमीको व्रत भन्दै केही नखाई यात्रा गरेकी थिइन्। तीनलाई झलझली सम्झेँ, अघाएको म लड्दैँ, सुस्ताउँदै हिँडिरहेको थिएँ तीनले कसरी पार लाउँलिन्?
भुजुङ गाउँ जाने बाटो छोडेर उकालो सकिनेबित्तिकै घलेगाउँ नाकै अगाडि उभियो। अघिदेखि समितिका सचिव दिर्घभाइ र केही महिला हामीलाई कुरिरहेका रहेछन्। त्यतिबेला रातको करिब नौ बजिसकेको थियो। ‘घलेगाउँमा तपाईहरूलाई स्वागत’ भन्दै हातमा फूलका गुच्छा थमाइदिनुभयो। फूलका गुच्छा जसै हातममा परेका थिए, लखतरान परेका शरीरमा आत्मीयताको रक्तसञ्चार भरीयो।
स्वागतपछि दुईचार पाइला के हिँडेका थियौं, उकालोको मुखैको घरमा यति महिला जानुस्, अनि पल्लो घरमा यति महिला जानुहोस्, दीर्घभाइको खटन चालिहाल्नुभो। हामीसँग भएका नौ जना छात्रालाई २ वटा घरमा जिम्मा लगाएँ। घरका गौँडामा उभिइरहेका आमाहरूले परदेशबाट बल्लबल्ल घर आएका आफ्ना छोराछोरीलाई झैं माया गर्दै घर भित्र्याउनुभयो। म भने आफ्ना मान्छेलाई यसरी छाड्दै हिँड्न पर्दा एकछिन अलमल्लमा परेँ।
अघि लागेका दिर्घभाइ फेरि भन्न थाले ‘यो घरमा चार जनाको लागि ठाउँ छ, तयार हुनुस्।’ उनले त्यसो भन्न नपाउँदै चारजना त्यता लागे। बाँकी रहेका हामीहरू अलि माथि पुगेर फेरि तीन घरमा बाँडियौं। बाँडिदै जाँदा म लगायत चार जना कमला घले बहिनीको पोल्टामा पर्यौँ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने घलेगाउँ उत्तरकन्या गाविसभित्रका (त्यतिबेला) १, २ र ३ नम्बर वडा रहेछ। गाविसको जम्मा घरधुरी संख्या २ सय ७४ थियो। त्यसमध्ये १ सय १८ धुरी घलेगाउँमा मात्र रहेछ। यहाँ घले, गुरूङ र केही दलित अर्थात् कामी जातिहरूको बसोबास समेत रहेछ। २०५६ सालमा १३ घरबाट सुरू भएको होमस्टे हाल ३५ घर परिवारले सञ्चालन गर्दै आएका रहेछन्।
दक्षिणपूर्व फर्केको घमाइलो र रमाइलो गाउँमा ग्रामीण पर्यटन व्यवस्थापन समिति गठन गरिएको रहेछ। जसमा आफ्नो पूरै समय २७ वर्षका दिर्घ घले भाइले दिएका रहेछन्। उनले नै आउने पाहुनालाई रोलैसँग घरघरमा राख्ने, घरघरमा पुगेर पाहुनाले खाएको हिसाब किताब तयार गरिदिने काम गर्दा रहेछन्। समितिको आर्थिक कोषको लागि अतिथिले खर्च गरेको रकमको पन्ध्र प्रतिशत अतिरिक्त कर लिइँदो रहेछ। होमस्टे सञ्चालन गर्ने घरवालासँग उनीहरूले पाएको रकमबाट पाँच प्रतिशत कटृा हुँदो रहेछ। यही रकमले समिति चल्ने रहेछ।
लमजुङको ग्रामीण पर्यटकिय घलेगाउँ दक्षिण एसियाकै नमुना गाउँको रूपमा रहेको छ। खर, ढुंगाको छानो भएको घर भने अहिले एकाध मात्र पाइन्छ। प्रायः सबै घरहरूले रंगिन जस्तापाताले छाइएको छ। यहाँ पुराना किसिमका गोलघरहरू पनि भेटिन्छन्। यहाँको प्रमुख पेसा कृषि हो।
त्यहाँ बारीमा मकै लगाइएको थियो। धानखेत भने गाउँबाट परै बेँसीमा रहेछ। यस अतिरिक्त घरघरका पिँढीमा प्रायः बा आमाहरू डोका, डाला, थुन्चे, घुम, राडीपाखी आदि बुनेर बसेका थिए। कोही चर्खाद्वारा भेडाको उनको धागो काटिरहेका देखिन्थे। मेहनती, मिजासिला तथा हँसिला उनीहरू गाउँमा आएका पाहुनाहरूलाई मीठो बोलीमा ‘सर... नमस्कार, कहिले आउनु भएको, कहिले जानुहुन्छ? पानी परेको बेलामा आउनु भएछ’ आफ्नै छोराछोरी झैं माया गरेर सोधिरहनुभएको थियो।
घलेगाउँमा रहेका घलेहरू डाँगी, रिल्ली, ग्यालदोङ र साब्री गरेर चार जातका रहेछन्। गाउँमा युवा पुस्ताको उपस्थिति शून्य नै थियो। आमाबाले छोराछोरी भारत, मलेसिया, इराक, कुवेत पुगेको भन्नुहुन्थ्यो। गाउँ कुर्ने त बुढाबुढी, र भुराभुरी मात्र भएको मन कुँडाई भन्नुहुन्थ्यो।
धान कुट्ने, पिठो पिस्ने सामूहिक ढिँकी जाँतोहरू ठाउँ ठाउँमा थिए। घलेगाउँमा दुईवटा मात्र पसल देख्यौं, एउटा त्यहीका स्थानीयले र अर्को बन्दीपुरबाट आएका नेवारले चलाएको। वडा-२ मा रहेको आमा समूहको लगानी र सक्रियतामा २०५८ सालमा बनेको सामुदायिक भवन नमुना लायक थियो।
घलेगाउँ घुम्दा सिक्नैपर्ने कुरा आफ्ना आमाबाबु ८४ वर्ष पुगेपछि वा मृत्युपछि उनीहरूको सम्झनामा छोराछोरी, परिवारजनले कतै चौतारो, कतै ढुंगा छापेको बाटो, पानीका धारा आदि निर्माण गरिदिएको देख्यौं। त्यस्तै वडा-३ को सामुदायिक भवन जहाँ नाचगान र साँस्कृतिक कार्यक्रम गर्ने थलोका रूपमा रहेको रहेछ। यसै भवनमा बेलुका घाटु नाच हेरियो। त्यस दिन हामी सबै नाचेका थियौं। हामीसँग गएका विद्यार्थी पवन भाइले त झिल्के उपाधि नै पाएका थिए। उनले गीत गाएर, नाचेर औधी रमाइलो गरेका थिए। गुरूङ भाषा कला संस्कृति परम्परा र रहनसहनका हिसाबले घलेगाउँ एउटा खुल्ला पाठशालानै हो।
गुरूङ भाषामा घलेगाउँलाई ‘कोइम्ली’ भनिदो रहेछ। घलेगाउँका पहिलो राजा थोपकुइज्यू र अन्तिम राजा क्याल्पोरूजा क्ले हुन्, सचिव दिर्घभाइले बताए। चौबिसी राज्य हुँदा घले राजाले राज्य गर्दथे रे! यिनको सालिक बन्ने कुरा दिर्घभाइले सुनाउँथे। घले राजाले शासन गरेको र घले जातीको बाहुल्य भएकाले यस गाउँको नाम घलेगाउँ रहेको कुरा बुढापाकाहरुले सुनाउनुहुन्थ्यो।
अन्नपूर्ण कन्जरभेसन एरिया प्रोजेक्टले सरसफाइका काममा धेरै सहयोग गरेको रहेछ। प्रत्येक शनिबार सरसफाइ गर्ने कार्यक्रम गाउँबासीहरूको दिनचर्या नै बनेको समेत रहेछ।
मौसमबाट नठगिएमा, उत्तरकन्या मन्दिरको नजिक रहेको अग्लो डाँडाबाट मनास्लु हिमाल रेन्ज, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल दोस्रो, र घलेगाउँको पश्चिमतर्फको माच्छापुछ्रे हिमाल रेन्ज हेर्न सकिन्छ।
घलेगाउँ बास बस्ने पाहुनाहरूका लागि अर्को महत्वपूर्ण कोसेली उदाउँदो सूर्यको मनमोहक दृश्य हेर्नु हो। हामी अभागी थियौं। अभागी यस अर्थमा कि बेमौसममा पुगेका थियौं। प्राकृतिक सौन्दर्यपान गर्ने अवसरबाट अलिठगियौं। बादल र हुस्सुको घुम्टोबाट आक्कल झुक्कल चियाउँदै हिमालले फेरि आउनू भने जस्तो लाग्थ्यो। त्यो अग्लो डाँडामा खरको छानोले छाएको घुमाउने मेचमा बसेर पटक पटक आफ्ना आँखालाई घुमायौं। उत्तरतर्फ देखिने डाँडाको थुम्कोमा गुचुमुच्च रहेको घनपोखरा र खुँदिगाउँ देख्यौं। तल मर्स्याङदी झल्याकझुलुक देखिन्थ्यो। ठाडै बगेको खुँदि नदी र पहाडका अन्तरकुन्तर हुँदै हरियो चोलीबाट दूधका धारा बगिरहेको अद्भुत दृश्य हेर्न पाउँदा सबैको मन पुलकित हुन्थ्यो।
घलेगाउँबाट आधा घण्टामै नाय (२१५० मिटर) हुँदै घनपोखरा गाउँ पुग्न सकिने रहेछ। त्यस्तै दुई घण्टा हिँडेरे भुजुङ (१८०० मिटर) पुगी साँझ घलेगाउँको न्यानो ताप्न पनि भ्याइने रहेछ।
हिँडेर आनन्द लिन मन लागे भुजुङबाट चार घण्टा पर रहेको पासगाउँ पुगेर गुरूङ संस्कृतिको आनन्द पनि लिन सकिन्छ।
बस्तीको उत्तरतर्फ कुलदेवताकै रूपमा रहेको उत्तरकन्या मन्दिर छ। मन्दिरको वरिपरी पाँच थुम्का थिए। मन्दिरभित्र देवीदेवताको मूर्ति शिला वा आकृति नभई केवल पानी थियो। पानी देवताको मन्दिर। मन्दिर ध्वजापताका र घण्टीहरूले छोपिएका थिए।
मन्दिर पूर्व-उत्तरतर्फ फर्केका हारमिलेर बनेका सातकन्या कुवा पानीले भरिभराउ थियो। पहिले त गाउँलेहरूले यही पानी प्रयोग गर्थे रे। अहिले गाउँमा धारा सुक्दा मात्र यस कुवाको पानी प्रयोग गर्छन्। कुवाको पानी अति मिठो छ। यो सप्तकुवाको उत्पत्तिसँगै घलेगाउँको बस्तीको कथा जोडिएको हुनु भन्ने लाग्यो। जीवनका लागि नभई नहुने पानीको संरक्षणका लागि मन्दिर बनाइएको हुन सक्छ। यस पानी मन्दिरमा हरेक वर्ष पुस महिनाको अन्तिम दिन रातभर जागराम बसेर माघ १ गते पर्व मनाइने चलन रहेछ। चैते दशैँका दिन घलेहरूको ‘सैंत’ पूजा सेत हँदो रहेछ।
दिर्घ भाइको अगुवाइमा प्राथमिक विद्यालयमा पुग्दा १० बजेको थिएन। ससाना भाइबहिनीहरू झुम्मिएको ठाउँमा पुगेर हामीले एउटा गीत गाउने अनुरोध गर्दा भाइबहिनीहरूले राष्ट्रिय गीत गाएर भावविभोर तुल्याई दिए।
गाउँको पश्चिमतर्फको भिरालो ठूलो पाखोमा २०६५ सालमा नर्सरी स्थापना भएको रहेछ। इलामबाट चियाको बिरूवा ल्याएर करिब १२ रोपनी जग्गामा चिया बगान तयार गरिएको पनि ८ वर्ष बितिसकेछ। यहीको अर्गानिक चिया होमस्टेका पाहुनालाई खुवाउने कमला बहिनी बताइन्।
काठमाडौंको धूवाँ धुलो र फोहरबाट टाढा हुँदै दुई रात तीन दिन घलेगाउँको बसाई झिमिक्कजस्तो भयो। ढिँडो, लोकल चामलको भात, सेलरोटी, लोकल कुखुराको मासु, नारीपा (कोदोको रक्सी) सिस्नुको सुप, अमलेट, पोलेको मकै, विभिन्न चटनी घरका परिवारसँगै भान्छामै बसेर खायौं। विदेशीहरूले पनि स्वादिलो मान्दै रमाएर खाने कमला बहिनीले सुनाइन्।
घले गाउँको इतिहास झन्डै सात सय वर्ष पुरानो रहेको छ। अक घले गाउँको सिरानमा भ्यू टावर, पार्क बनाउने, पहिलो राजा र अन्तिम राजाका शालिक राख्ने योजना भएको प्रेम भाइले सुनाउनुभयो।
हामीले पर्यटकलाई लोभ्याउँदै जाने हो भने होमस्टे पनि समयअनुसार सुधार्दै लगौं, खाना खुवाउँदा स्थानीय गुरुङ खानालाई नै जोड दिऔं, आफ्नै संस्कृति झल्कने परम्परागत घाटु, सोरठी, सेगार, कृष्णचरित्र लगायतका नृत्य देखाऔं र गुरुङजातिको रहन सहन खानपिन आदि झल्कने गरी संग्रहालय बनाउन सल्लाह दियौं।
फर्कने दिन बिहानैदेखि सिमसिम पानी दर्किरहेको थियो। घरबेटी कमला बहिनी र उनका छोरीहरू आफैंले गाँसेर तयार पारेको फूलमाला लगाई बिदा गर्न पिँढीमा लाम लाएर बस्नुभएको थियो।
होमस्टेमा आउने, जाने पाहुनाहरूलाई दही चामलको सेतो अक्षता र फूलमाला लगाइदिँदै स्वागत तथा बिदा गर्ने चलन रहेछ। पालैपालो दही अक्षताको सेतो टिका अनि माला लगाउँदै ‘फेरि आउनु होला सर’, रसाएका आँखा लिएर कमलाले भन्नुभयो।
यति छोटो बसाइमा पनि आत्मियता घनिष्ट भएछ छुट्टिनै गाह्रो भयो। कमला बहिनीले फेरि एकपटक हात हल्लाउँदै भनिन्-‘फेरि आउनुस् है सर.... ’ हामीलाई जस्तै अरू घर-घरबाट पनि आमाहरूले त्यसरी नै बिदा गर्दै थिए।
जाँदा उकालो चढेर गएका थियौं, फर्कदा घलेगाउँको आत्मीयतालाई मनभरी बोकी कपुर गाउँ, बाग्लुङ पानीबाट देखिने बेँसीसहरको रमाइलो दृश्य हेर्दै आर्लियौं।
बसले हुइक्याउँदै तन काठमाडौं आइपुग्दा पनि मन भने गीत गाऊ न भन्दा राष्ट्रिय गीत गाइदिने साना नानीहरूलाई सम्झिरहेको थियो।
गाउँमै बनेका सामानको पैसा तिर्दा यो त अलि धेरै भयो भनेर पैसा फिर्ता दिने बाआमालाई सम्झेर, साँझ बाटो देखाउन आएका १३-१४ वर्षका भाइहरूलाई चिया खाऊ भनेर पैसा दिँदा लिन नमान्ने भाइहरूलाई सम्झेर, घरबेटी कमलाको पाहुनाप्रतिको आत्मीयता र आतिथ्य सम्झिरहेको थिए।
गाउँमा आएका पाहुनाको के छ कसो छ भनेर सोधखोज गर्ने बाआमा र दिर्घ भाइको व्यवहार देखेर मन धेरै समय घलेगाउँकै सम्झनामा उर्लिरह्यो।