यसपालि एक पर्यटकका रुपमा पोखरादेखि ताप्लेजुङको पाथीभरासम्म घुमें तर म पर्यटक हुँ वा तिर्थालु अन्यौलमा परेको छु।
मैले बुझेसम्म एक ठाउँबाट अर्को ठाउँ भ्रमण गर्नु पर्यटन हो तर त्यस घुमाइलाई हाम्रो संस्कार, संस्कृति र नयाँ मान्यताअनुसार ३ भागमा बर्गिकरण गरिन्छ।
१.धार्मिक(भक्तजन) पर्यटक वा तोकिएको कुनै कार्य सम्पन्न गर्ने आस्था वा उदेश्यका पर्यटक।
२.शारीरिक एवं मानसिक क्रियाकलापमा रमाउने पर्यटक वा प्रकृतिवादी।
३.शैक्षिक पर्यटक अर्थात् पर्यावरण, समाज र संस्कृतीबारे बुझन चाहने पर्यटक।
मोटामोटी भाषामा भन्दा पर्यटक भन्नाले धर्म वा आस्थाका आधारमा घुम्ने, प्रकृति र शरीरको सन्तुलन मिलाउन घुम्ने र आफ्नो चेतना एवं ज्ञानका लागि घुम्ने मानिस हुँदा रहेछन्।
पाथीभरा देवी अर्थात स्थानीय लिम्बु भाषामा ‘मुक्कुमलुङ’ को यात्रा धार्मिक पर्यटन अन्तर्गत पर्ने हो तर यहाँको मनोरम प्राकृतिक दृष्य र अग्लो ठाउँको हिँडाइका कारण एडभेन्चर टुरिजम भित्र पनि पर्न आउँछ। अझ हिन्दू संस्कृति र लिम्बुवान संस्कृति समेतको समिश्रण भएकाले तेश्रो बुँदा पनि यसले छुन्छ।
फेरि मानिस अनुसार के उद्धेश्य वा सोचले त्यहाँ जादैछ भन्ने कुराले पनि फरक पार्छ। मेरा लागि यो धार्मिक पर्यटन भन्दा पनि प्राकृतिक अवलोकन र एडभेन्चर टुरिजम नै थियो। त्यसैले वर्षाको याम भए पनि म एक्लै रात्री बस चढेर पोखराबाट पूर्व ५८५ किलोमिटर दूरी यात्रा गर्दै झापाको बिर्तामोड पुगेँ।
बिहान बिर्तामोडबाट पाथीभरा, ताप्लेजङ जाने जिप पाइँदो रहेछ। झण्डै १३ सय देखि १५ सय रुपयाँ भाडा पर्ने जिप यात्रामा झापा बुधबारे हुँदै कन्यामदेखि फिक्कल हुँदै पाँचथरको फिदिमबजार काटेर पहाडी बाटोमा ताप्लेजुङ बजारसम्म पुग्दा ८ घण्टा भन्दा बढी समय लाग्दो रहेछ।
डाँडा (१,८५० मिटर) को भिरालो भागमा रहेको फुङलिङ बजार ताप्लेजुङको सदरमुकाम पनि हो। त्यहाँबाट करिब ७ किलोमिटर दूरीमा सुकेटार विमानस्थल छ। त्यहाँसम्म बाटो पिच छ। अर्थात झापाको बिर्तामोडबाट ताप्लेजुङको सुकेटार एयरपोर्टसम्मको २४५ कि.मि. पक्की बाटो सवारी पछि फेरि अर्को जिपमा करिब १० कि.मि. मोटरेवल कच्ची बाटो १ घन्टामा काटेपछि पाथीभराको तल्लो फेदी काफ्लेपाटी पुगिँदो रहेछ।
त्यहाँसम्म मात्र जिप चल्छन्।
काफ्लेपाटीमा होटल र रेष्टुराँको दुःख छैन। यहाँ बास बसेर बिहान पाथीभरा उकालिने चलन छ। हामी भने फुङलिङमा बास बसेर बिहान ६ बजे त्यहाँ पुगेका थियौं।
वास्तविक पाथीभरा यात्राको रमाइलो त उकालो हिँडाइबाटै शुरु हुने रहेछ। काफ्लेपाटीबाट उकालो करिब ५ कि.मि. हिँड्न सक्नेलाई ३ घण्टा र सामान्यतयाः ४ घण्टा लाग्छ। बिचमा पर्ने बेलुडाँडा, ठूलो फेदी हुँदै पाथीभरा पुग्न गुरासे जंगलको उकालो काट्दा सैयौं पर्यटकका साथ उक्लिँदा रोमाञ्चक अनुभूति हुन्छ।
केहीलाई हाइअल्टिच्युडको समस्या हुने पनि देखियो। खासगरी उच्च पहाडी भुभागमा हिँड्न बानी नपरेका वा केही शारीरिक कमजोरी भएकाहरूका लागि लेक लाग्न सक्छ। त्यसैले बिस्तारै हिँड्ने, पानी प्रशस्त पिउने र औषधी तथा घरेलु खानेकुरा लसुन, अदुवा वा यस्तै चकलेट र झोलिलो कुरा खादै आराम गर्दै जानु पर्छ।
लेक लाग्दा टाउको दुख्ने, शरीर कमजोर महशुस हुने, बान्ता लाग्ला जस्तो हुने र मनमा डर हुन्छ। लामो समय यस्तै भइरह्यो र माथि उक्लन साह्रै मुस्किल भएमा भने तल झर्नु नै सही उपचार हो।
हुन त यहाँ बोकेर लैजाने भरिया पनि पाइने रहेछन्। यसरी बोकेर लैजाँदा सामान्यतयाः १० हजार रूपैयाँदेखि मानिसको तौलअनुसारको पैसा लिँदा रहेछन। फेरि यिनै यात्रु बोक्ने भरियाले बोकेर नै तल झार्नु पर्दा उकालेको भन्दा डवल पैसा लिँदा रहेछन्। कारण उकालो भन्दा उरालोमा बोक्न निकै गाह्रो हुन्छ रे!
प्रायः तिर्थालुलाई धार्मिक शक्तिले तानिरहेको हुन्छ भने प्रकृति र सुन्दरता खोज्नेलाई त्यहाँको दृष्य र शारीरिक व्यायामले रोमाञ्चित बनाइरहन्छ। हिँड्नका लागि ब्यवस्थित बाटो, वरपर फोहर राख्ने कन्टेनर, ठाउँठाउँमा बिश्राम गर्ने पाटी तथा चिया पसल छन्। वटुवाको आवश्यकताअनुसार होटल थपिँदा रहेछन्।
उकालोले शरीर गलेर पसिना आए पनि रोमाञ्चक यात्रा र बिभिन्न स्थानबाट आएका यात्रुसँगको भलाकुसारीले समय सँगै बाटो काटेको पत्तै हुँदोरहेनछ। झण्डै ११ हजार ५ सय फिट उचाइमा पुगेपछि मन्दिरसम्म पुग्न बनाइएका रेलिङ बनाइएको छ।
मन्दिर मुनितर यात्रुका लागि बस्ने पाटीपौवा तथा धर्मशाला रहेछन। मन्दिर परिसर भित्र एक भाग तिर घण्ट झुण्डाउने तथा बलि दिने ठाउँ रहेछ। केही पर धुप बाल्ने तथा अग्नीकुण्ड स्थापना गर्ने भवन रहेछ। पाथीभरा माताको मन्दिर वा मूर्ति भने खुला आकास मुनि देख्न छ।
यस पवित्र स्थलबारे विभिन्न किंवदन्ती छन्। मन्दिरका मुल पूजारी डिल्ली आचार्यकाअनुसार यो स्थान माता पावर्तीले शिवजीका लागि तपस्या गरेको स्थान हो। पार्वती शिवजीको ध्यानमा बसेको समय उनको ध्यान भंग गर्न ताराकासुर दैत्य आइपुग्यो। उसको आवाजले पार्वती झसंग हुँदा ५ कन्या उत्पन्न भए। सत्य युगमा यिनै पार्वतीको पार्थिव शरीरबाट उत्पन्न भएका कारण पाथीभरा भनिएको हो।
अर्को कुरा झलक्क हेर्दा धान भरिएको पाथी जस्तो डाँडामा बसेकी हुनाले पाथीभरा भनिएको हो।
धेरै समयसम्म यहाँ पूजा भएन। पछि कलियुगमा यहाँ गोठालाहरूको भेडा हराउँदा र खोजी गर्दा यहाँका स्थानीयलाई ‘म यहाँ छु र यसरी पूजा गर’ भन्ने बिधिसहित सिकाए पछि पूजा सूरु भएको जनश्रूति पाइन्छ। त्यसैले यहाँ विभिन्न मान्यताले पूजा गरिन्छ।
आशा गरेको फल प्राप्त हुन्छ भन्ने विश्वास छ। त्यसैले उच्च डाँडाको टाकुरामा हिँडेर यात्रा गर्नुपर्ने भए पनि नेपालका विभिन्न भुगोलसहित भारतको पश्चिम बंगाल दार्जलिङतिरबाट पनि उल्लेख्य संख्यामा तिर्थालु आइपुग्छन्।
मुख्यतः चैत, वैशाख, असोज र कात्तिकमा भिडभाड लाग्दो रहेछ। मंसिर देखि फागुनसम्म त हिउँ पर्ने हुँदा मन्दिर नजिकैको झण्डै एक कि.मी. बाटोमा प्लास्टिक छतसहितको रेलिड. राखिएको छ। प्रायः कुहिरोले ढाकिरहने पाथीभरा मन्दिर क्षेत्रबाट खुला आकास भएको दिनमा उत्तर तर्फ नजिकै कन्चनजंघा हिमाल मुस्कुराउँछ।
दक्षिण तर्फ तेह्रथुम, ताप्लेजुङ, पाँचथर लगायत तराईको समथल फाँट देख्न सकिन्छ। मन्दिरको शक्ति र आस्थाका कारणले नै आकास मुनिको खुल्ला मन्दिर र वरपरका अन्य शक्ति पिठमा समेत भक्तजनले चढाएका पैसा सिक्का वा नोट यत्रतत्र देखिन्छ। मन्दिर व्यवस्थापन समिति तथा स्थानीयको सक्रियतामा बनेको बाटोघाटो, सुबिधा तथा सरसफाई प्रशंसायोग्य नै छ।
अत्यधिक तिर्थयात्रु जाने हुँदा र उनीहरूलाई सामान्य सरसफाई तथा व्यवस्थापन बारे ज्ञान नहुँदा प्लास्टिकजन्य फोहर भने देखिन्छ।
मैले बुटवल, काठमाडौं, धरान र झापाका यात्रुसँगै उकालो काटेँ। केही सिलगुढीबाट पनि आएका थिए, केही स्थानीय तर बसाइँसराइले तराई बसेका बृद्ध भक्तजन पनि पाथीभरा दर्शन गर्न बिस्तारै उकालो लाग्दै थिए।
पाथीभरा देवीकै कारण म पोखराबाट ताप्लेजुङ पुगें। म जस्ता लाखौं यात्रु धर्मका नाममा होस वा पर्यटन, प्रकृतिको नाममा, त्यहाँ पुगेका छन्। स्थानीयले चलाएका होटलमा बसेका छन्। खाना खाएका छन्। स्थानीय वस्तु उपभोग र खरिद गरेका छन्।
समग्रमा भन्नुपर्दा त्यही क्षेत्रको आयआर्जनमा बृद्धि भएको छ। पाथीभरा मन्दिर नहुँदो हो त म जीवनमै ताप्लेजुङ कहिल्यै जाने थिइनँ होला, अन्य कुराको पायक वा आवश्यकता पायक पर्ने थिएन होला। हामीलाई तिनै पाथीभराले तानेकी हुन्।
नेपालको विकास गर्न यस्ता धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार र सहि ब्यवस्थापन हुनु आवश्यक छ। हाम्रो भौगोलिक विषमता र दूरतालाई यस्तै धार्मिक पर्यटन तथा एडभेन्चर पर्यटनका हिसाववाट बिकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटक आगमनले सबैलाई फाइदा पुग्छ।
पाथिभरा, पलाञ्चोक भगवती, गोसाईंकुण्ड, मुक्तिनाथ, दामोदरकुण्ड, कैलाश मानोसरोवर जस्ता विकट ठाउँमा रहेका धार्मिक स्थलहरूले धार्मिक, सांस्कृतिक, प्राकृतिक र शैक्षिक पर्यटनमा ठोस योगदान पुग्नेछ।
वास्तवमा ब्यवस्थित गरेर बेच्न सकेमा हाम्रा अथाह सम्पदाले समृद्धि ल्याउन सक्छन्। आन्तरिक पर्यटन तथा धार्मिक पर्यटन पनि नेपालको महत्वपूर्ण पाटो हो भन्ने कुरा पाथीभरा, मुक्तिनाथ, लुम्बिनी, गोसाइकुण्ड जस्ता स्थानले देखाइसकेका छन्।
पर्वतारोहण र पदयात्रा पर्यटन मात्र होइन, आज पर्यटनको आयाम व्यापक भैसकेको छ। मक्का मदिना, जेरूसेलम, बद्री, केदार, ताजमहल, पशुपतिनाथ र लुम्बिनी जस्ता धार्मिक तथा एतिहासिक केन्द्रले पनि करोडौ पर्यटक तानिरहेका छन् भन्ने नबिर्सौं।