सधैंको भागदौडबाट आफूलाई केहि दिनको लागि अभ्यस्त शहर, परिवार, समाज र व्यस्तताबाट टाढा पुर्याउने मनसायसहित केही मिलेका साथीसँग नदीको किनारै किनार स्व-आत्म र शारीरिक शक्तिको परीक्षणको लागि पनि ठाँट थलो छाड्ने जमर्को गरियो।
पहिलो दिन
- निरन्तर सय घन्टे नदीको कर्कश ध्वनी सहितको यात्रा
गुरुत्वाकर्षण सिद्धान्तलाई अनुसरण गर्दै तल उर्लेको भेरी नदीलाई हाँक दिँदै उत्तरतिर बढेको यात्रामा हामी यात्रीहरू केही दिनका लागि सामाजिक जीवनबाट टाढा जङ्गल प्रवेश गर्न रोमाञ्चित देखिन्थ्यौं। रूकुम पश्चिमको मुसिकोट खलङ्गाबाट शुरू भएको यात्राको करिब आधा घन्टा मोटरसाइकल सवारी अनि पछि दाँयातर्फ पश्चिम बग्दै गरेको सानी भेरीसँगको सहयात्रा सँगै केहीक्षणमा नै वारिपट्टि चाईना बगर र झोलुङ्गे, पारि जाजरकोटको रिम्ना पुगियो।
उत्तरबाट बग्दै आएकी ठूली भेरी र पूर्वबाट आएकी सानी भेरी मिसिएर रिम्नाबाटै भेरी नदीको रूपमा बग्दीरहिछिन्। त्यसपछि ठूली भेरी र सहायक नदीसँगको निरन्तर करिव सय घन्टे कर्कश ध्वनीसहितको हाम्रो यात्राको शुरूआत भइसकेको थियो। एकोहोरो नदीबाट आईरहेको कर्कश ध्वनीको कारक स्थिर बसेका ढुङ्गा हुन्? वा चञ्चले निलो जलको टकराव? ठम्याउन सजिलो थिएन।
- झोलुङ्गेसँगको माया पिरेमहरू
चाईना बगर दोभानबाटै झोलुङ्गे पुलसँग माया पिरेम् गास्न थाल्नु हाम्रो यात्राको रहर र बाध्यता भइसकेको थियो। हामीले लगेका मोटरसाईकल भेरी नदी पार गरिसकेपछि जाजरकोटको सानो व्यापारिक क्षेत्र रिम्नामा तल्लु बगरसम्म पुग्ने कच्ची मोटरबाटो भेटियो।
रिम्नाबाट पक्की पुल तरेर रूकुम पश्चिमको आठविसकोट प्रवेश गर्दै ठूलो भेरीलाई देव्रे पार्दै प्राचिन तथा ऐतिहासिक राडीज्यूला पुगियो। विकास र परिवर्तन महशुस गर्न सकिने त्यहाँ भिन्न स्थानीय भाषा, भेष र रहनसहन महशुस गर्दै राडी बजारबाट पुनः झोलुङ्गे पुलमार्फत ठूली भेरी तर्दै जाजरकोट भएर नदीलाई दाहिने पार्दै, कच्चीबाटोमा यात्रा अघि बढ्न थाल्यो।
- नेपालगञ्जबाट गुड्ने गाडीको अन्तिम विन्दु- जाजरकोटको तल्लुबगर
कुनै समयमा नदी बगेर बगर बनेको स्थानमा केही बाटाको भाग छाडी बनेका स-साना कच्ची घर/टहरा र केही पक्की घरहरू देखिने तल्लु बगरमा घुँईचै देखिन्थ्यो।
नदीछेउमा रोकिराखेका बसबाट यात्रीहरू आवतजावत गरिरहेका थिए। ट्रकबाट निर्माण सामग्री, खाधान्न झोलुङ्गेबाट नदी पारि ओसार्नेको भीड देखिन्थ्यो। रूकुम, जाजरकोट तथा डोल्पा जाने ठूला बस, ट्रकलगाएतका यातायातका साधनको अन्तिम बिन्दु त्यही तल्लुबगर रहेछ।
त्यसपछि थप यात्राको लागि झोलुङ्गे पुल तर्नु र खाद्यान्न, निर्माण सामाग्री तथा लत्ताकपडा बोकेर लानुको विकल्प थिएन।
ठूलो भेरीको झोलुङ्गे पारी रूकुमकै छोटी बगरमा यात्रुको पर्खाईमा जिपहरू बसेका थिए। सामान ओसारपसारका लागि खच्चड-घोडा पनि देखिन थालियो। कच्चीबाटोमा संघर्षसहितको यात्रामा रूकुम, जाजरकोट र डोल्पाको सिमाना नजिक त्रिवेणी पुग्दा ठूलो भेरी देव्रेतर्फ उर्लँदो थियो। त्यो रातको बास नदीको एकोहोरो ध्वनीका साथ त्यहीकै एउटा होटलमा दुःखसुख गरियो।
दोस्रो दिन
बिहान पाँचै बजे अँध्यारोमा मोटरसाईकलबाट दुईतिर ठाडो भिरहरू चिर्दै बगेको ठूली भेरी छेउछेउ चिसो सिरेटोसँगै पुन: हाम्रो यात्रा अघि बढ्यो।
नदी एकसुरमा, कर्कशिलो आवाजमा, दक्षिणतर्फ उर्लँदा हामी उत्तरपूर्व हुँईकिरहेका थियौं। करबगर खोलामा बन्दै गरेको पक्की पुल तर्दै डोल्पा प्रवेश गरेको केही क्षणपछि खदाङ पुगेर फेरि झोलुङ्गेकै माध्यमबाट पारि पुगि प्रहरी चेक पश्चात यात्रा अघि बढ्यो।
डोल्पा जाने यात्रीले फेरि त्यहीबाट भिन्न जिपमा यात्रा गर्नुपर्ने बाध्यता पनि मनन् गरियो। पहरा फोडी बनाउँदै गरेको ढुङ्गे कच्ची मोटरबाटोमा मोटरसाईकलका पाङ्ग्राहरू जबरजस्ती घुम्ने प्रयाशमा थिए ।पालाङ्ग बस्ती र पूर्वबाट ठूली भेरीमा मिसिन आतुर खाती खोला देख्दा मन आनन्दित थियो।
त्रिपुरा सुन्दरी र त्रिपुराकोटको मनमोहक दर्शन
नयाँ वर्षको नौलो सूर्य किरणमा अगाडि देखिएको डाँडोको टुप्पोमा फहराईरहेका केही सुनौला झण्डासहितको मन्दिर त्रिपुरा सुन्दरी र अलि खुल्ला जस्तो देखिने मिलेको वस्ती त्रिपुराकोट मनमोहक देखियो।
त्यो बेलासम्मको यात्रा जति कष्टकर, अप्ठ्यारो भए पनि मुक्तेश्वर हिमालको काखमा रहेको त्रिपुरासुन्दरी माईको दर्शन नयाँ वर्षकै दिन गर्न पाउँदा एकातर्फ आध्यात्मिक आनन्द र अर्कोतर्फ प्रकृतिको सुन्दर रसास्वादनको बारेमा कसरी बयान गर्न सकिएला र?
फेरि एकपटक ठूली भेरी नदी तर्न, नदीमाथि बनेको पुरानो झोलुङ्गे माथि मोटरसाईकल हुँईकाउँदा झोलुङ्गे पुलसँगै मन पनि हल्लिएको थियो। केही समयको यात्रापछि डोल्पाको सुन्दर जुफाल हेर्दै सुलिगाड सुरक्षा चेकपोष्ट पुगियो। डोल्पा सदरमुकाम दुनै त्यहाँबाट पन्ध्र कि.मी. अगाडि पूर्वमा पर्नेरहेछ।
- सुलिगाडबाट लेफ्ट-राईट शुरू
नदीको तिरैतिर हिँड्दै ताल पुग्ने हाम्रो गन्तव्यको मुख्य यात्रा सुलिगाडबाट शुरू हुन्छ। चेकपोष्टमा आफ्नो विवरण ईन्ट्री गराएर मोटरसाईकल त्यही पार्किङ गरेर पैदल यात्रा सुरू भयो। फेरि एकपटक ठूली भेरीलाई झोलुङ्गेबाट तरेर काठेपुलबाट पहिलो पटक निलो, चञ्चल पानी बग्ने फोक्सुण्डो खोला पारीबाट लेफ्ट राईट गर्दै तालको यात्रा शुरू भयो।
- हरियो/निलो पानी, सम्भावनाको खानी
धेरै हरियो, थोरै निलो र सेतो परावर्तित पानीको वेजोड छालहरु एकोहोरो स्वर गर्दै दुई घोप्टे पहाड बिचमा भिन्नभिन्न आकारका ढुङ्गा जिस्क्याउँदै दक्षिणतर्फ ओर्लिरहँदा अलि टाढा क्षितिजमा देखिएका हिउँ सहितका हिमाल र नाङ्गा पहाडले हाम्रो यात्रालाई टुलुटुलु हेरिरहेका थिए। हिँउ पग्लिएर आएका तेज रफ्तारका पानी मिनरल वाटर, विद्युत उत्पादनको लागि सम्भावनाको खानीको रूपमा देखिन्थ्यो।
सुलिगाडको आरक्षण प्रस्थानद्वार सँगैको होटलमा खाना खाएर केही गर्मी, केही घामसहितको उकालो चिर्दै खोलाको तिरैतिर अघि बढ्दा पसिना र थकान महशुस हुन थाले पनि ज्यान रोकिन तयार थिएन। के ले हो? उत्तर उकालोमा तानिरहेको थियो।
- जङ्गल भित्रको एक्लो प्राकृतिक यात्रा
बाटामा पर्ने स-साना वस्ती, थोर-थोरै पसल, होटल, घरहरू, त्यहाँको आदिकालझैं झलक दिने रहन-सहन, भेषभूषाले कतै न कतै शहरीया भनौदालाई गिज्याईरहेको थियो।
शरीरको दुई तर्फ सन्तुलित सामान बोकेर घन्टीको आवाजसँगै, कुनै कुनै विछट्टै सिंगारिएका खच्चड-घोडाको लस्करले आधुनिक विकास र सभ्यतालाई कतै न कतै हाँक दिइरहेको थियो। तर, शुरू शुरुमा त्यस्ता दृष्य देख्दा भने आफ्नो थकान मेटिएर मन हलुका भएको झैं लाग्थ्यो।
कहिले झोलुङ्गे त कहिले कलात्मक काठे पुलबाट अदभूत खोला तर्दै कहिले नाङ्गो भिरमा एकसुरे ढुङ्गे अप्ठ्यारो गोरेटो त कहिले पुराना अग्ला सल्लाका वन चिर्दै उकालो चढ्दा बाटामा कागेन, कनिङ, रक्तान, स्याङ्ताङ सहितका बस्ती पनि छिचोलियो।
लामो सल्लाका रूख, ओखर, देवदार पाईने वनको बिचमा एक तमासमा हिँड्दा कहिले काँही आफैंले आफैलाई भेटे झैं, आफैसँग बोलेझैं लाग्थ्यो। प्रकृतिसँगको सँसर्गमा आफ्नो शारीरिक र मानसिक क्षमता पहिचान भएझैं लाग्थ्यो।
- ज्यानले सुविधा खोज्छ, भन्थे
उकाली हिँड्दै गर्दा सहयात्री राजेन्द्रजीले नेपालगञ्ज बस्दा सुनेको रे, 'ज्यानले सुविधा खोज्छ।' भन्दै ठाउँ ठाउँमा, शितलमा आराम गराउने माहोल पनि गज्जवकै थियो।
ज्यानले आवश्यक भएर हो कि? अनावश्यकै सुविधा खोजिरहने रहेछ। तर के ले हो? त्यो उकालोमा थकित ज्यानलाई एकोहोरो तानीनै रहेको हुन्थ्यो।
त्यो साँझ छेप्का भन्ने स्थानमा बस्ने सामूहिक निधो पछि साँझ नाचगान सहितको कलाकारिताले थकान पन्छाउने प्रयास भए।
तेस्रो दिन
बिहानी अँध्यारोमा छेप्काबाट थोरै मात्र देखिएको आकाशमा तारा तिलपिल गर्दै गर्दा छेवैको खोलाको सुसाई अलि कम हुँदै थियो।
पुन: त्यही खोलालाई बायाँ पारेर दुई पहाडको खोँच हुँदै एकोहोरो खोलाको वहाव विरूद्धको उकालोमा टोली अघि बढ्यो। केही बाहिरी चिसो, केहि भित्री तातोसँगै टाढाको ढुङ्गे लेक र लेकको हिँउमा सूर्यको गुलावी किरण स्वर्णिम हुने क्रम बढिरहेको थियो।
- विकासमा चुनौती- भूगोल कि मानसिकता?
नब्बे डिग्रीको पहरा बिचमा भेटिएका सानो झुपुक्क बस्ती, र्याँचीमा केही होटल भेटिएकाले बिहानको खाना अर्डर गरि स्थानीयसँग गफ गरियो।
स्थानीयले थप सडक निर्माण र विकास भन्दा यथास्थिति मै पर्यायवरणीय संरक्षण र पर्यटनबाट फाईदा पुग्ने बताए। स्थानीयको कुरा सुनेपछि डोल्पाको पूर्वाधार विकासमा भूगोल मात्रै तगारो होईन रहेछ भन्ने लाग्यो।
केही अगाडि हिँडेपछि कान्जिरोवाको फेद चारतालबाट बग्दै आएको खोला मिसिने दोभान र सन्दुवा छिचोल्दै जिल्लाकै उत्कृष्ट तापरिजा सामुदायिक विद्यालय पुग्यौं।
केही बेर यो सुन्दर उपत्यकामा सुस्ताएपछि पुनः झोलुङ्गेबाट फोक्सुण्डो खोला तरेर देव्रे उकालो उक्लन सुरू गर्यौं।
बल्ल ताल पुग्ने उकालो शुरू हुने संकेत देखियो। बाटामा भेटिएका यात्री र स्थानीयका अनुसार ताल पुग्नका लागि सबैभन्दा अप्ठ्यारो अनि अजङ्गको उकालो यही हो।
चट्टान र धुलो माटोमा नाक ठोक्किने ठाडो उकालो हाम्रो अन्तिम चुनौती थियो। हिँडाईका सहयात्रीहरु छिन्नभिन्न भइसकेका थिए। बढ्दो बतासले धुलोको छर्रा हान्न शुरू गर्यो।
पहाडको बिचमा पुगेपछि केही बेर आराम गर्यौं। मौसम केही बिग्रिएझैं भयो। आकाश कालो भएर हल्का हिमपात हुन थाल्यो। हुरि बढ्न थाल्यो।
अब चुनौती थपियो। ३५ सय मिटर उचाई, भिरालो पहाडमा कोरिएको धर्के बाटो, झन सोझै आकाशतर्फ तेर्सिंदा, पारीतिरका भिर र भित्ताले झन डर थप्ने काम गरे।
जसोतसो सम्हालिएर अघि बढ्यौं। हाम्रो जाँगरलाई तल बगिरहेका फोक्सुन्डो खोलाले सन्तुलित बनाएको थियो। त्यसमाथि पारी भित्तामा कोरिएको भिराला बाटा र ठूलो घोप्टे महादेव गुफाले हामीलाई अगाडि बढ्न प्रेरणा दिइरहे।
जसोतसो ठाडो आकाशे उकालो पार गर्दै गएका आँखा र कानले तल खोँचमा सुन्दर ठूलो र अग्लो झरना भएको महशुस गर्यो।
दुई ठूला पहाडको खोँचमा रहेको झण्डै १६७ मिटरको फोक्सुण्डो खोलाको पानीले तलको ढुङ्गा, पहरालाई बजार्दै खस्दा उडेका पानीको बाछिटा र वाफ हेरिरहन लायकको थियो।
जुन दृष्य हामीभन्दा धेरै तल देखिएका थिए। झरना हेर्दै दङ्ग पर्दै अगाडिको भिरमा कोपेर बनाईएको डरलाग्दो मसिनो बाटोले मनलाई चिसो थप्न भने छोडेको थिएन।
गन्तव्यको आशमा हरेक अप्ठ्यारा पाईलालाई स्वीकार गर्दै सामुन्ने आईपरेको बनको बाटोसमेत छिचोलेर रिङ्गमो पुगेपछि धेरै राहत भयो।
हाम्रो गन्तव्य, त्यो विशाल फोक्सुण्डो तालमा पुग्नु थियो। विशाल तालको दक्षिणमा प्रवेश द्वारको रुपमा रहेको रिङ्गमो गाँउमा केही वाक्लो बस्ती देखियो।
बोन धर्मप्रति आस्था राख्ने लामा, गुरूङलगायतका समुदायहरुको बस्ती रिङ्गमो गाँउमा प्राय ढुङ्गाबाट बनेका होचा होचा कलात्मक घरलाई होटलको रुपमा व्यवस्थापन गरिएको थियो।
३६६० मिटर उचाईमा रहेको गाँउको पूरवतर्फबाट तालको पानी बहँदै फोक्सुण्डो झरना भएर ठूली भेरीमा पुग्ने रहेछ।
केहि हिमपात र चिसो हावाको कारण त्यो साँझ हामी होटल भित्रै बसेर आवश्यक गाँस-वासकै तयारीमा लाग्यौं। त्यो साँझ सँगै होटलमा भेटिएका अन्य यात्रीसँग नजिकका विभिन्न स्थान, त्यहाँबाट पुगिने शे-गुम्बा, चार ताल, जुम्ला, चीनको नाकाका बारेमा जानकारी लियौं।
चौथो दिन
यात्राको महत्वपूर्ण दिन, त्यो रिड्गमो गाँउ र सँगै जोडिएको विशाल निलो फोक्सुण्डो ताल आफ्नै आँखाले प्रत्यक्ष हेर्न पाउने भएपछि लक्ष्य हासिल भएकोमा खुशी भयौं।
तीन दिनको अथक प्रयासपछि आईपुगेको त्यो ताल घुम्न झिसमिसेमै हामी पश्चिमतिरको बाटो लाग्यौं। पूर्वतिर सुन्दर गुम्बा देखिए। तालको छेउछेउ केही उचाईमा कोरिएका साँघुरो बाटोमा परसम्म पानीको भिन्न रङ्गहरुरू महशुस गर्दै भ्यु-प्वाईन्ट तर्फ अघि बढ्यौं।
पश्चिम तर्फको काञ्जिरोवाबाट पग्लने हिँउ खोला तरेर, केही जंगल काटेर फेरि ठाडो उकालो चढेर हामी भ्यु-प्वाईन्टमा पुग्यौं।
बिहानी सूर्य उषामा दक्षिणको रिङ्गमो वस्ती, पूर्वतर्फको गुम्बा, दक्षिण र पूर्वतर्फको हिमालहरु साह्रै उत्कृष्ट देखिन्थे। सो भन्दा पनि तल देखिने फोक्सुण्डोको पानीले भावुक बनाउँथ्यो।
डोल्पा जिल्लाको मात्रै होइन, नेपालकै अझै विश्वकै सुन्दर ताल मध्येको फोक्सुण्डो ताल अंग्रेजी अक्षर वाई (Y) आकारमा देखिन्छ।
दक्षिणको रिङ्गमो बाहेक तिनैतिर हिमाली लेकले घेरेको तालको गहिराई १३६ मिटर मापन गरिएको छ। हरेक घन्टामा रङ फेरिनु नै यस तालको मूख्य विशेषता रहेछ। पुरै ताल घुम्न थप दुई दिन लाग्ने अनुमान रहेछ।५.६ कि.मि. लम्बाई रहेको तालको क्षेत्रफल ४.८ वर्ग कि.मी. रहेछ।
धेरै पहिले प्रशिद्ध लामाको गुम्बामा वास माग्न आएका राक्षसको कुकर्मपछि उक्त राक्षसको मरण पश्चात रगतले ताल बनेको भन्ने किम्बदन्ती पनि सुन्नमा आयो।
यात्राले सिकाएको पाठ र उब्जेका प्रश्नहरु
सुन्दर ताल, प्राचिन बस्ती, त्यहाँको रहनसहन अनुभव गर्दै पुनः हाम्रो यात्राको टोली विस्तारै ओरालो झर्न सुरू गरयो। साथमा विभिन्न मनोभावना केलाउँदै आत्मछलफल गर्दै त्यो ताललाई त्यहिँ छाडेर फर्कियौं।
- स्थीरता, उग्रता अनि फेरि स्थीरता
नदीको वहावसँगै गरिएको यात्राले अन्तत: एउटा विशाल र सुन्दर तालमा पुर्याएपछि लाग्यो, संघर्ष र साहसले नै सुन्दर विन्दुमा पुरयाउनेरहेछ।
अझ नदीको सहयात्रामा भेटिएका नदीका विभिन्न उग्ररुपले जोश र शिथिल वहावसँगै जीवनलाई प्रतिविम्बीत गराउने प्रयास गरिरहेको थियो।
जोसिलो नदीको उद्गमतामा भेटिएको ताल र बहँदै अन्त्यमा पुग्ने समुन्द्रमा भेटिने शुन्यता अनि स्थीरता, त्यही बिच खण्डको नदीको उग्रता कतै हाम्रै जीवन चक्र त होईन? यात्रा भर मनन् गरिरहेँ।
- जति उचाईमा पुग्यो, उत्ति ओर्लन सक्ने क्षमता
निरन्तर जोश, जाँगर प्रयासपछि पुगिने उचाई र त्यहाँबाट प्राप्त खुशी अनि आनन्द, जुन तालमा पुग्दा महशुस गरियो।
लक्ष्य प्राप्ति भयो। त्यो मात्र जीवन त होईन रहेछ। त्यसलाई त्यागेर फेरि फर्कनु पर्ने बाध्यता छँदै थियो। फेरि पनि त्यही अभ्यस्त गाँउ, शहर, परिवार, समाज र व्यस्तता अनि नियतिमा फर्कनुपर्ने।
त्यहाँबाट फर्कन पनि उत्तिकै शक्ति, सामर्थ्य र मनोवल बाँकी राख्नैपर्ने रहेछ। यानी जति उचाईमा पुग्यो, उत्तिनै बढि ओर्लनसक्ने क्षमता कायमै रहनुपर्ने भएकोले क्षमता वमोजिमको मात्रै सामाजिक, आर्थिक, व्यवसायिक उडान भर्नुपर्ने हो कि?
सि.नं. | स्थान- क | स्थान- ख | दुरि (कि.मी.) | समय (घन्टा) | उचाई (मि.) |
१ | मुसिकोट | रिम्ना | २७ | १:०० | |
२ | रिम्ना | राडी | २० | १:३० | |
३ | राडी | तल्लु बगर | २१ | १:३० | |
४ | तल्लु बगर | त्रिवेणी | २१ | १:३० | |
५ | त्रिवेणी | खदाङ्ग | ५ | ०:३० | |
६ | खदाङ्ग | त्रिपुराकोट | १२ | १:०० | |
७ | त्रिपुराकोट | सुलिगाड | १४ | १:०० | |
८ | सुलिगाड | छेप्का | १४ | ६:०० | |
९ | छेप्का | रिङ्गमो | १६ | ९:०० | २६७० |
१० | र्याँची | | | | २९४० |
११ | पोलाम् | | | | ३२५९ |
१२ | रिङ्ग्मो | | | | ३६६० |
१३ | भ्यु-प्वाईन्ट | | | | ३८६३ |
शारीरिक तन्दुरूस्ती लागि हप्ता-दश दिन अगाडिदेखि बिहानी हिँडाई र शारीरिक व्यायाम शुरू गर्ने।
उकाली-ओराली र घोडेटो बाटोमा हिँडने क्षमता वृद्धि गर्ने।
मन र समय मिल्ने साथीको समूह तयार पार्ने।
परिस्थिति अनुसारको सार्वजनिक गाडी/जिपको यात्रा, ग्रामीण होटल/ टेन्टमा वासको लागि मानसिकता बनाउने।
आवश्यकता अनुसारको चकलेट/वार, पिनट्स, औषधि बोक्ने।
हाईकिङ जुत्ता, व्याग, स्टिक, सनग्लास, सनक्रिम नछुटाउने।
एक्स्ट्रा ईनरवेयर, टावेल, टुथब्रस पेष्ट, नेलकटर, सानो चक्कु राख्ने।
बाटोमा भेटिने बालबालिका, वृद्धहरुको मुस्कानका लागि चकलेट/टिप्सहरु।
मोबाईल/क्यामेरा र सो को लागि प्रशस्त पावर व्याकअप। (धेरै कम ठाँउमा मात्र मोबाइल नेटवर्क उपलब्ध हुने।)
- खाने, बस्ने व्यवस्था कस्तो छ?
हरेक २-३ घन्टाको दूरीमा उपलब्ध हुने विभिन्न स्तरका होटलमा खाना र बस्नको लागि राम्रै व्यवस्था छ। त्यसैले थप खाने सामाग्री, स्लिङङ्ग व्यागलगायतका सामाग्रीहरु बोक्न आवश्यक देखिन्न। सामान्यतया ३५०देखि ४५० रूपैयाँमा सादा खाना र १००० देखि १५०० सम्ममा होटल बास पाईन्छ।
थप तस्बिरहरू