अमेरिका डायरी–२
कतार एयरवेजको विमानमा काठमाडौंदेखि दोहासम्मको यात्रा तय भयो। जहाजमा चढेका धेरैजसो पैसा कमाउन 'विदेश' जानेवाला थिए। कोही कतार त कोही साउदी अरेबिया।
मेरो छेउको सिटमा बस्नेले आफू रियाद जाने बताएका थिए। केही यात्री त्यही बाटो भएर अन्य देश जाने पनि थिए होलान्। तर सबैसँग मेरो चिनजान हुने कुरा पनि त भएन।
'अरब' मुलुकमा काम गर्न जाने सबै नेपाली जीविकोपार्जनका लागि गएका हुन् भन्ने बुझ्न त्यतिखेर मैले कुनै शास्त्र पढिरहनु परेन। तर खाडीबाटै तिनले पठाएको पैसाको भरमा देश चलाउँछु भन्ने नामुद नेताहरूसँग भने मनमनै गुनासो गरेँ।
केहीसँगको कुराकानीकै क्रममा थाहा लाग्थ्यो कि– उनीहरूसँग कुनै ठूलो सपना थिएन। तर कसैका ठूल्ठूला सपना पूरा गर्न उनीहरू त्यहाँ पुगेका थिए। पसिना बगाएका थिए। जवानी खर्चेका थिए।
लाग्यो– देशनिर्माणमा हाम्रा नेताले देखेका सपना पूरा गर्न पनि यी सबैले साथ दिन्थे होला सायद! तर बिडम्बना हाम्रोतिर सपना देखाइन्छ मात्रै। देखाउने सपनाको कुनै दिशा नै हुँदैन।
यदि सपना देखिन्थ्यो भने त्यो पूरा गर्न लागिपरिन्थ्यो। नत्र कसरी सम्भव हुन्थ्यो– 'समुद्र पुरेर' विशाल विमानस्थल। नेपालबाट पश्चिमै पश्चिम चार घन्टा हुइँकिएपछि हामी त्यही विमानस्थलमा ओर्लियौं। हमाद अन्तर्राष्ट्रिय विमानस्थल। दोहा, कतार।
जसै दोहा ओर्लियो। त्यहाँको १२ बजेको थियो। धेरै नेपाली कामदारहरूलाई यहाँ सधैं 'बाह्र बज्दो' हो।
कल्पिएँ– पढ्ने बेला 'गुच्चा मात्रै खेलेको' भए वा नेपालमै कुनै जागीर नभेटेको भए मेरो पनि त यतैतिर १२ बज्दो हो!
एयरपोर्ट झर्नासाथ मोबाइलले वाइफाइको संकेत देखाइसकेको थियो। जहाजसम्मै आइपुग्ने वातानुकूलित ढोका हुँदै म भित्र लागेँ। अनि ट्रान्फरवाला बाटो समातेँ।
मलाई फटाफट हिँड्नु पनि त थिएन। किनकी अमेरिका उड्न अझै १३ घन्टा कुर्नु थियो। न्युयोर्क जाने जहाज 'रातीको १३' बजे मात्रै छुट्नेवाला थियो। सबै जना यताउता लागे। म फेरि एक्लै भएँ।
फुर्सदै फुर्सद भएकाले मैले सबै काम विस्तारै गर्दा पनि हुन्थ्यो। वासरूम गएँ। हात मुख धोएँ। जोडिएर बस्न निषेध गरिएका कुर्चीका लहरमा पटक-पटक बस्दै उठ्दै गरेँ।
केहीबेर भए पनि कतारी भिसा लाएर छोटो सहरी भ्रमण गर्ने प्राबधान कोरोना महामारीका कारण स्थगित गरिएको थियो। विमानस्थलभित्रै यताउता गर्नुको विकल्प थिएन।
कतारमा काम गर्न जानुभएका भिनाजुलाई म्यासेन्जरमा कल गरेँ। 'ड्युटीमै छु' भन्नुभयो। उहाँले काम गर्ने 'रिग' मा हो। रिग अर्थात् पेट्रलियम पदार्थ उत्खनन् गर्न समुद्र बीचमा कतै बनाइएको उत्खनन् अड्डा, खानी।
मभन्दा पहिल्यै मायामी पुगिसकेका समृद्धि फाउन्डेसनका दीपेन्द्र चौलागाईंसँग कुरा गरेँ। म्यासेन्जरमा हरियो संकेत दिने अरूसँग पनि कुरा गरेँ। जसमा मेरा घरपरिवारका सदस्य, साथीसंगी एवं सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र ऋति फाउन्डेसनका सहकर्मीहरू थिए।
त्यति बेलासम्म तय गरेको यात्राले जीउ अलिअलि थाकेकै थियो। त्योभन्दा बढी बाँकी यात्राले मानसिक दबाव दिएको थियो। 'कति बेला ठाउँमा पुगिएला' जस्तो मात्रै हुन्थ्यो। गन्तव्यले मान्छेको 'निद हराम' गर्दो रहेछ।
यसो 'ड्युटी फ्री' सपतिर डुल्दा 'ड्युटीफूल' नेपाली अनुहारहरू मैले सजिलै चिनेँ। उनीहरूसँग सञ्चो–बिसञ्चो, घर–काम दुबैतिरका कुरा गरेँ।
विमानस्थलभित्र जता हिँडे पनि जति हिँडे पनि उस्तै लाग्ने। चारैतिर पसलै पसल। छिटो हिँड्नका लागि ठाउँठाउँमा वाकर। बीचबीचमा बस्ने ठाउँ। शौचालय। हात खुट्टा धुने ठाउँ। नुहाउने ठाउँ। नमाज पढ्ने ठाउँ। स्मोकिङ जोन। सबै उस्तै व्यवस्थित।
ट्रान्जिट टाइम अझै धेरै बाँकी भएकाले आराम गर्न 'क्वाइट रूम' तिर गएँ। त्यहाँ सुत्न मिल्नेगरी राखिएका लामा लामा कुर्ची थिए। मैले पुरुष लेखिएको ढोका धकेलेँ। अनि एउटा कुर्चीमा लमतन्न परेँ।
तर क्वाइट रुममा भएको कोलाहलले केहीबेरमै ब्युँझिएँ। कसैले चर्को स्वरमा हिन्दीमा टेलिफोन गर्दै थियो। अरूलाई सुन्नु र बुझ्नु भनेको आफूलाई अप्ठ्यारोमा पार्नु हो सायद। भाषा बुझेकै कारण मेरो ध्यान उसको कुराकानीमा केन्द्रित भयो। जति बल गरे पनि त्यसपछि निदाउनै सकिनँ। त्यस क्षण लागेको थियो कि भाषा जान्नुका बेफाइदाबारे पनि अब एउटा निबन्ध लेख्न सक्छु।
ब्युँझँदा मलाई भोक र तिर्खा दुबै लागेको थियो। केही खान भनी फुडकोर्टतिर गएँ। राइस अर्डर गरेँ। सेतो चामलको भातमाथि सेतै कुखुराको मासुको थुप्रो लगाएर दिए। खाने बेलामा दाल, तरकारी, अचारको याद आयो। चम्चालाई दुई तीन पटक मात्रै मुखमा पुर्याएँ।
वरपर पानी खाने ठाउँ कहीँकतै थिएन। निर्माणाधीन भएर हो वा कोरोना महामारीको कारण हो विमानस्थलभित्र रहेका खानेपानीका टुटी सबै प्लाष्टिकले बेरिएका थिए।
अमेरिकी डलर सबै कार्डमा कोचेर आएकाले मसँग नगद थिएन। तिर्खाले भाउन्न भएपछि कार्डको पहिलो पटक परीक्षण पनि गर्ने र पानी पनि किन्ने निधो गरेँ। नजिकैको पसलमा पुगेर तीन सय रूपैयाँको 'एक पाउ' पानी किनेँ। त्यतिले मेरो आधा तिर्खा मात्रै मेटियो।
रातीको एक बज्नुभन्दा दुई घन्टाअघि न्युयोर्क जाने जहाज चढ्न गेट नम्बर सी १२ तिर गएँ।
'कडा सुरक्षा जाँच' पछि भित्र छिरेर लबीमा कुरिरहँदा नेपाली जस्तै लाग्ने केहीलाई न मैले बोलाएँ, न तिनले बोलाए। हातमा अमेरिकी पासपोर्ट बोकेका उनीहरू यसै गमक्क देखिन्थे।
एक बजे जसै जहाज नीलो समुद्रमाथिको नीलो आकाशमा पखेटा फिँजाएर उड्यो मैले एक गिलास पानी घुड्क्याएँ। तब मात्रै मेरो खरो मेटियो।
जहाजमा पनि मसँग समय पर्याप्त थियो। एकछिन हवाइजहाजको उद्विकासको क्रम सम्झिएँ। अनि आफू चढेको कतार एयरवेजको भव्यता नियालेँ। नेपालभन्दा 'सानो' देशको ध्वजावाहक विमान कम्पनीको प्रगति र वायुसेवा निगमको दुर्गति तौलिएँ। आखिर ३५ वर्ष कान्छो भए पनि ऊ नै धेरै उम्दा थियो।
हामीजस्ता इकोनोमी क्लासलाई आकाशमै एक घन्टाको निःशुल्क इन्टरनेट सुविधा थियो। आवश्यक परे पैसा तिरेर समय थप्न मिल्थ्यो। इन्टरनेट नभए पनि समय कटाउन सिटको सामुन्ने भएको स्क्रिनमा धेरै कुरा हेर्न सकिन्थ्यो। फिल्म, म्युजिक भिडियो, टिभी कार्यक्रम, डकुमेन्ट्री आदि।
यसका अलावा कुरान पढ्न र सुन्न सकिन्थ्यो। मलाई भने यतिखेर कहाँ पुगियो होला भन्ने दिलचस्पी मात्रै हुन्थ्यो। त्यसैले धेरैजसो फ्लाइट म्याप हेर्थेँ।
जहाज उडेको केही घन्टामा डिनर आयो। आकाशमा उड्दै बिहानको तीन बजेतिर डिनर खाएको सायद यो पहिलो घटना हो। डिनरसँगै ड्रिंक्सको सोधनी भयो। मैले भनेँ– बडवाइजर।
तापक्रम के भन्नु, ४० हजार फिटको उचाइमा उड्दा बाहिरको चिसो माइनस ५० डिग्री सेल्सियस थियो। चिसो भित्र आउने त होइन होला, तै पनि जहाजभित्र मलाई जाडै थियो। त्यसमाथि एयर हेस्टेसले चिसो बियरमा आइस क्युब हालेर दिइन्। अनि भित्रैसम्म चिसो भयो। त्यसपछि त झनै निदाउने कुरै भएन। निद्रा लाग्न न्यानो हुनुपर्छ।
हुन त अलिकति ह्विस्की खाएको भए तातो महसुस हुन्थ्यो होला। तर एक पेग त थपौं न भन्न त्यहाँ मेरो कोही थिएन।
मैले फेरि स्क्रिनमा हेरेँ। १२ घन्टा कटाउनु सामान्य कुरा थिएन। त्यो पनि अनकन्टार आकाशमा। तल लमतन्न समुद्र छ। निदाएको भए हाइसञ्चो हुन्थ्यो। तर 'चेतना' मै छँदा 'केही तलमाथि भयो भने?' जस्तो मात्रै लाग्ने।
साउदी अरब र इजरायलको आकाश हुँदै अफ्रिका र युरोपको बीचबाट अघि बढेको जहाज नर्थ एटलान्टिक ओसनमाथि पुग्यो। अमेरिका पुग्न समुद्रमाथि मात्रै अझै आठ घन्टा उड्नु थियो।
केहीबेरमा जहाज बेस्सरी हल्लियो। अगाडि 'टर्बुलेन्स' छ भन्ने सूचना आयो। मैले बर्मुडा ट्रायङ्गलबारे यसअघि कतै सुनेको थिएँ। केहीबेर आफ्नै मृत्यु सम्झिएँ। अनि आफैलाई सम्झाएँ– हवाइ यात्रा ९९ प्रतिशत सुरक्षित हो रे! त्यति बेलासम्म म मनमनै डराउन छोडिसकेको थिएँ।
हामी अँध्यारोसँगै यात्रा गर्दै थियौं। हामीभन्दा छिटो घामले पृथ्वीको फन्को मार्यो सायद– क्षितिजमा लाली आयो। ओर्लनुभन्दा एक घन्टाअघि हामीले लन्च खायौं। अब भने अगाडिको स्क्रिनमा अमेरिका नजिक र मक्का टाढा हुँदै गएको देखायो।
दोहाबाट १२ घन्टाभन्दा बढी 'ननस्टप' उडेर न्यूयोर्कस्थित जोन एफ केनडी विमानस्थलमा अवतरण गर्दा डिसेम्बर १२ को पहिलो प्रहर पार भएको थियो।
मैले मनमनै चालकदलका सबैलाई धन्यवाद भनेँ।
जहाजबाट निस्कने बेला उनीहरूमध्ये कसैले कानैमा भन्यो– ह्याभ अ गुड डे।
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush