अमेरिका डायरी-१
संयुक्त राज्य अमेरिकाको भ्रमण सकेर आएपछि धेरैले आश्चर्य मान्दै मलाई सोधे– 'किन नेपाल फर्केको?’
कतिपयको जिज्ञासा थियो– 'कस्तो रैछ त अमेरिका?’
केहीले सोधे, 'अमेरिका राम्रो कि नेपाल?’
मेरो मथिंगल खियाउने पछिल्लो प्रश्नको उत्तर दिन त्यति सजिलो थिएन, छैन।
कुल मिलाएर तेह्र दिनको यात्रामा मैले बुझेको अमेरिका 'हात्ती छामेको कथा’ जस्तो पनि त हुनसक्छ।
तैपनि प्रश्नहरू सोधिएपछि मैले उत्तर दिनैपर्छ। उक्त भ्रमणमा देखे-जानेका र सुनेका कुरा समेटेर केही प्रश्नोत्तर गर्नेछु।
यस 'र्यापिड अप्रेइजल’को यथेष्ट प्रमाणिकता भने हुने छैन। धेरै कुरा 'टु बी भेरिफाइड’ पनि हुन सक्छन्। यद्यपि मेरा आँखाले देखेको अमेरिका 'के यो धर्तीकै कुनै भाग थियो त?’ भन्ने भ्रम अद्यापी मसँग छँदैछ।
नयाँ ठाउँ जाने भनेपछि कौतुहलता नहुने कुरै भएन। मेरो मनमा पनि त्यस्तै भयो। तर जहाज चढ्ने अघिल्लो दिनसम्म पनि 'म अमेरिका जाँदैछु’ भन्ने पक्का थिएन। किनकि यो समय नै त्यस्तै थियो।
कोरोना महामारीका कारण यात्रा प्रक्रिया जटिल बनेको थियो।
११ डिसेम्बरको ११ बजे बिहान जमिन छोड्नुअघिसम्म 'कति बेला के हुने हो’ कुनै ठेगान थिएन। कुनै कारणले उड्न नपाए डिसेम्बर १३ देखि सुरू हुने दुई दिने कार्यक्रम छुट्ने निश्चित थियो। कार्यक्रम नै सकिएपछि म जानुको के औचित्य? त्यसैले यात्रामा धेरै अनिश्चितता थिए।
१० तारिख राती दस बजे मात्रै कोभिड नेगेटिभ भएको रिपोर्ट लिएर केहीबेर ढुक्क निदाएको थिएँ।
मेरो यात्रा नहुन सक्ने अन्य थुप्रै कारण पनि थिए।
कोरोना महामारीका बेला थोरै जनशक्तिले चलेको काठमाडौंस्थित अमेरिकी दूतावासले मलाई बल्लबल्ल 'भिसा अपोइन्टमेन्ट’ दिएको थियो।
डिसेम्बर ७ तारिखमा अन्तर्वार्ता दिन लाइनमा बस्दा मेरो अघिपछि उभिएका विद्यार्थीले भनेका थिए– 'हजुरलाई त भिजा दिन्छ होला है!’
उनीहरूको आश्चर्यमिश्रित प्रश्न स्वाभाविक नै थियो। किनकि सामुन्नेको ढोकाबाट धेरैले हातमा पहेँलो स्लिप लिएर निस्किएका थिए। उनीहरूले नै मलाई सुनाएका थिए– पहेँलो पेपर 'रिजेक्ट’ हो।
हातमा पहेँलो कागज हुनेको अनुहार पनि पहेँलै देखिन्थ्यो। मानौं उनीहरूसँग अब जीवनप्रति कुनै आशा नै छैन। अमेरिकामा उच्च शिक्षा अध्ययनको सपना बोकेका उनीहरूलाई मैले भने मनमनै भिसा दिइसकेको थिएँ। तर कन्सुलर अधिकृतको क्षेत्राधिकार मिच्न सक्ने कुरै भएन।
अन्तर्वार्ताको मुख्य 'कन्सर्न’ म अमेरिका पुगेर फर्किन्छु कि नाइँ भन्ने नै थियो। त्यसका लागि तयार पारिएका केही थान प्रश्न थिए। मैले यहाँ के गर्छु? किन जान लागेको? त्यहाँ गएर कति बस्छु? आदि।
मेरा सबै उत्तर स्वाभाविक थिए। र, स्वाभाविक नै थियो–जाँचकीलाई चित्त बुझेपछि परीक्षामा पास हुनु।
उताबाट उत्तर आयो– 'योर भिजा ह्याज बिन इस्युड।’
मेरो हातमा 'हरियो स्लिप’ आयो। अर्थात् 'अप्रुभ’।
भोलिपल्ट मात्रै भिसा लागेको पासपोर्ट लिन आउनू भन्ने खबर आयो। दूतावास पुगेर पासपोर्ट लिएँ। अब भिसाले मात्रै उड्न पाइने होइन। टिकट काट्नु थियो। पैसाको जोहो गर्नु थियो। आउँदै गरेको क्रिसमस र न्यु इयरले गर्दा टिकट निकै महँगो थियो। महँगो भए पनि टिकट काट्नु त थियो नै। अमेरिका जानु नै थियो।
अमेरिका जाने भए पनि मलाई छोड्न एयरपोर्टसम्म कोही गएन। न त कसैले माला खादाले बिदा गरे। हुन पनि यो एक अपर्झट यात्रा थियो।
एकैदिन उडे पनि अरू दुई जना साथीको जहाज भिन्दाभिन्दै थियो। जहाज उड्नुभन्दा दुई घन्टा अघि मात्रै विमानस्थल छिर्दा मलाई हतार मात्रै थियो।
विमानस्थलमा हुनसक्ने केरकारबारे भने म अनभिज्ञ नै थिएँ। बोर्डिङ पास र सुरक्षा जाँचपछि 'डिपार्टेड’ को छाप लाग्नुअघि एक जना कर्मचारीले धेरैथरी जिज्ञासा राखिन्।
'दुई दिनको कार्यक्रमलाई पनि पाँच वर्षको भिसा?'
भनेँ– भिजिट भिसा यस्तै हुन्छ रे।
अर्को प्रश्न आयो– अफिसको चिठ्ठी खोइ त?
छोटो यात्रा भएकाले मलाई यो जरुरी लागेन। न त मेरो यो भ्रमण 'अफिसियल' नै थियो। मैले अफिसमै घरायसी बिदा लेखेर आएको थिएँ।
मलाई अमेरिका उड्न चाहिने अरू पर्याप्त कागज मसँग थिए। भिसा थियो। टिकट थियो। भेरोसेल डबल डोज खोप लगाएको क्युआर कोडसहितको कार्ड थियो। पछिल्लो २४ घन्टामा कोभिड नेगेटिभ भएको स्टार हस्पिटलको रिपोर्ट थियो। अनि थियो– २०२१ डिसेम्बर १३ र १४ मा फ्लोरिडाको मायामीमा हुने 'लिबर्टी फोरम एन्ड फ्रिडम डिनर’मा सहभागी हुन एटलस नेटवर्कले पठाएको निमन्त्रणा पत्र।
केही बेरपछि 'कस्तो अचम्म!’ भन्दै मेरो पासपोर्टमा तिनले ढ्याप्प पारिन्। हुन त यसअघि पनि मैले यही विमानस्थल भएर विदेश भ्रमण गरेको थिएँ। इन्डोनेसिया। तर त्यहाँ जाँदा यति धेरै केरकार केही थिएन। लाग्यो– हामी सबैजना अमेरिकी सुरक्षाबारे धेरै नै चिन्तित छौं।
भित्र छिरेर लबीमा बस्दै गर्दा एकछिन फुर्सद थियो। केही राम्रा तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्न मन थियो। तर फोटो खिच्ने साथी समेत नहुँदा एक्लो महसुस भयो।
हुन पनि मान्छे फुर्सदमै एक्लो हुँदो रहेछ।
सोचेँ– मेरो यात्राको परीक्षा यहीबाट सुरू भयो।
सम्झिएँ- नवराज पराजुलीको कविता 'एक्लै'।
हो त्यति बेला म नै मेरो साथी थिएँ। अनि एक सेल्फी खिचेँ।
सेल्फी खिचेर फेसबुकमा राख्ने बेला श्रीमती टिकाजीले भनेको याद आयो– 'धेरै सेल्फी पोस्ट नगर्नू है।’
अनि 'अरब’ जान लागेका एक जनालाई 'मेरो पूर्णकदको फोटो खिचिदिनू’ भनेँ।
मैले पनि उसैगरी उनको फोटो खिचिदिएँ।
'ट्राभलिङ टु अमेरिका’ लेखेर फेसबुकको टाइमलाइनमा राखेको त्यही तस्बिरको तलतिर मेरा शुभचिन्तकले लेखे– शुभयात्रा। सेफ ट्राभल्स।
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)