आँखै अगाडि देखिने सेता पहाडले जो कोहीलाई भुलाउँछ। घन्टौं हिँड्दाको दुखाइ माछापुच्छ्रे, अन्नपूर्ण साउथ, मर्दी देखेपछि त्यसै हराउँछ। हिमाल हेर्न पाएपछि मर्दी पदयात्रा गएकाहरू सायदै निराश भएर फर्किन्छन्। हिँडिरहँदा अघिल्लो डाँडामा के होला भन्ने उत्सुकताले पदयात्रीलाई तानिरहन्छ।
कोरोना महामारीबाट आक्रान्त हामी घरमै बस्दा बस्दा निसास्सिएका थियौं। ट्रेकिङ र घुमफिरका सौखिन भए पनि पछिल्लो १ वर्षदेखि घरमै बस्नुपरेको थियो।
पदयात्राको रहर, नवीन ठाउँको अनुभव र स्थानीयसँग भलाकुसारीसँगै प्रकृतिमा हराउन यात्राको चाहना नभएको त होइन। तर सबै कोरोनाले विथोलेको थियो।
लकडाउन केही खुकुलो भएसँगै हामी पदयात्रामा जाने विचार गर्यौं।
प्रकृतिको सान्निध्यतामा रम्ने मौकाको रूपमा यो पटक मर्दी हिमाल बेसक्याम्प चयन गर्यौं।
तर यो यात्राका बारेमा हाम्रो चार जनाको टिम (दुई दिदीहरू, दाजु र म) कसैलाई पनि जानकारी थिएन।
पछिल्लो समय चर्चामा आएको मर्दी ट्रेकबारे अध्ययन गर्यौं। अनलाइनमा पाएसम्मका जानकारी संकलन गर्यौं। कहाँबाट कसरी जानेदेखि यो रूटका बारेमा पाएसम्मका जानकारी संकलन गर्यौं। स्थानीय होटलमा फोन गरेर आवश्यक थप जानकारी लियौं।
यसअघि पनि ट्रेकिङ गरिसकेका हाम्रो लागि हिड्न नसक्ने कुरै थिएन। तर ४५ सय मिटर उचाईमा नपुगेकाले लेक लाग्ला कि भन्ने कताकता डर थियो।
दसैंको घटस्थापनाका दिन हामी नयाँ बसपार्कबाट पोखरा जाने माइक्रो चढ्यौं। बेलुकी करिब ६ बजेतिर पोखरा पुग्यौं। हामीले त्यहाँ यात्राका लागि छुटपुट सामान किन्यौं।
भोलिपल्ट बिहान ६ बजेनै हामी पोखराबाट काढेँ जाने बस चढ्यौं। मिलनचोकदेखि काढेँसम्मको यात्रा निकै मनमोहक थियो।
मनसुन चलिरहेकोले हुस्सु र कुहिरोको लुकामारीले वातावरणलाई घमाइलो बनाएको थियो। हरिया डाँडा र बादलको लुकामारी भित्र कतै हिमाल देखिन्थे त कतै लहलह झुलेका धान खेतहरू।
जतिजति माथि पहाडका घुम्ती कट्दै अगाडि गइरहेका थियौं त्यतिनै मनमोहक बेगनास ताल हामीबाट टाढा हुँदै थियो। करिब दुई घण्टाको बस यात्रापश्चात हामी काँढे पुग्यौं। त्यहीँ खाजा नास्ता गर्यौं। त्यहाँको विशेष टिमुरको छोप आहा! साह्रै मिठो, अझै मुख रसाउँछ।
त्यसपछि हाम्रो पैदल यात्राको पहिलो खुड्किलो सुरू भयो। काँडेबाट अष्ट्रेलियन क्याम्पको उकालो लाग्दै गर्दा हल्का पानी पर्न थाल्यो। धन्न हामीले योजना अनुसार नै छाता र प्लाष्टिक हालेकाले निथ्रुक्कचै भिजिएन।
हामी सिमसिमे पानीमा हल्का रूझ्दै रमाउँदै गइरहेका थियौं। पानी परेकाले बाटो चिप्लो थियो। तर ढुङ्गा छापेर बनाएको ट्रेकिङ ट्रेलले हामीलाई धेरै हसज भयो। ठाउँ ठाउँमा सूचकहरू राखिएकाले हामीलाई बाटो पहिल्याउन गाह्रो भएन।
प्रकृतिसँगै रमाउँदै, सम्झनालाई फोटोमा कैद गर्दै हामी अगाडि हिँडिरहेका थियौं।
पाँच घण्टाको लगातार हिँडाइपछि हामी पोथाना पुग्यौं। हामीले त्यहीँ खाना खाने निधो गर्यौं।
खाना पाक्दै गर्दा हामी त्यहाँ यताउती घुम्न लाग्यौ। दशैं लागिसकेको थियो। ठूलो चौरमा लिङ्गे पिङ हालिएको रहेछ। त्यतै रमियौं।
स्थानीय अर्ग्यानिक खाना एकदमै मिठो भयो। सफा सादा र स्वादिष्ट थियो। भोकाएकाले होला हामीले थपिथपि खाना खायौं।
बाटोमा अधिकांश नेपाली युवापुस्ता थिए। विदेशीहरू फाट्ट फुट्ट देखिन्थे। कोरोना महामारीले पाहुना आउन पाइरहेका थिएनन्।
बाटामा नयाँ होटलहरू धमाधम बनिरहेका थिए। कसैलाई श्वासप्रश्वासको समस्या भइरहेको थियो। कोही धेरै सामान बोकेकाले हिँड्न सकिरहेका थिएनन्। सबैको आ-आफ्नै समस्या थिए। हामी कोहीलाई उछिन्दै थियौं त कोही हामीलाई।
त्यस दिनको हाम्रो गन्तव्य फरेस्ट क्याम्प थियो। यात्रीहरू बाटो अलमलिन्छन् भनेर ठाउँ ठाउँमा संकेत चिन्ह राखिएको थियो।
देउराली कटेर फरेस्ट क्याम्पतर्फ अगाडि बढ्दै गर्दा झमक्क साझ पर्यो। त्यो घना जंगलको बाटोमा हामीले कसैलाई पनि भेटेनौं। चराको चिरबिर र झ्याउँकिरीको आवाज र मन्द बतासको सुस्केरालाई पछ्याउँदै हामी अघि बढ्यौं।
जंगलको बाटो नामै फरेस्ट क्याम्प, रात परिसकेको, बीचमा घरको उज्यालो केही थिएन रूखको हाँगा हाँगामा जुका झुण्डिएर कतिखेर अट्याक हानम् भन्दै बसेका (नेचुरल लिच थेरापी) भुईँमा उस्तै अनि चिप्लो बाटो सिमसिम पानी कम्ता अत्यासलाग्दो थिएन।
सन्नाटा छाएको थियो। कतै पनि बत्ती बलेको देखिएन। एकछिन त दोधारमा पुग्यौं, कतै गलत बाटो त हिँडिएन। रात छिप्पिदै थियो। अर्को कुनै उपाय पनि थिएन। त्यहीँ बाटो चिप्लदै, लड्दै र उठ्दै हिँड्यौं।
तर दुई जनाको आवाज सुनेसँगै हाम्रो अत्यास मेटिसकेको थियो। मन प्रफुल्ल भयो। उनीहरू त्यहीँका स्थानीय रहेछन्।
कुनै एउटा टोलीले होटल बुकिङ गरे पनि अझसम्म नआइपुगेको र फोन पनि सम्पर्क हुन नसकेकाले उनीहरू खोज्न हिँडेका रहेछन्। यो देख्दा मलाई अतिथिलाई गर्ने ब्यवहार झनै मन पर्यो।
उनीहरूसँग कुरा गरेपछि थाहा भयो- हामी फरेस्ट क्याम्प नजिकै रहेछौं। ५-१० मिनेटमै पुगिने भनेपछि हामीमा जोस आयो। छिटो छिटो हिँडेर होटल खोज्न लाग्यौं।
हामी मिठ्ठु आमाको होटलमा बस्यौं। आमाको त्यो हँसिलो मुहार र ठट्टा गर्ने बानीले हाम्रो थकित अनुहारमा प्रकाश ल्याइरहेको थियो।
हामी रूझेकाले रूम हिट गर्न आगो बालिदिनु भयो। हामी वरिपरि बसेर जुत्ता सुकाउन थाल्यौं।
केही बेरपछि म आमाले खाना बनाइरहेको ठाउँमा गएर उहाँसँग कुरा गर्न थालेँ। आमाले आफ्ना जीवनका तितामिठा अनुभव सुनाउनुभयो। आमाको रमाइलो गफ सुन्दै हामीले खाना खायौं। भोलि बिहानै हिड्नुपर्ने भएकाले आमासँग बिदा मागेर हामी सुत्न गयौं।
भोलिपल्ट बिहानै मिठ्ठु आमाले हाम्रा लागि चिया र खाजाको व्यवस्था गर्नुभएको रहेछ।
घाम लागिसकेको थियो। बाहिरको तस्बिर साच्चीकै मनमोहक थियो। केहीबेर मिठ्ठू आमाको होटल वरपर रमाएर हामी अघि बढ्यौं।
पिठ्यूमा झोला र ओड्ने प्लाष्टिक, एउटा हातमा लठ्ठीसँगै दोस्रो दिनको यात्रा सुरू भईसकेको थियो।
दुरीको हिसाबले भने दोस्रो दिनको यात्रा अलि सहज थियो। त्यसैले हामी प्रकृतिसँग थोरै भए पनि सानिध्य हुँदै अघि बढ्यौं। शहरको कोलाहलभन्दा टाढा, प्रकृतिसँग नजिक, त्यो माहोल नै बेग्लै हुँदै थियो।
चराहरुको चिरबिर, बाटोको दुवैतिर गुँरासका बोट, अझ गुँरास फुल्ने सिजनमा कति आकर्षक देखिएला है। जो प्रकृतिप्रेमी छ, प्रकृतिका कथा बुझ्छन्, प्रकृतिलाई नजिकबाट चिन्छन् उनीहरु यहाँबाट मुक्त हुनै चाहँदैनन्। कैयौं विदेशी छन् जो आफ्नो जन्मभूमि बिर्सेर यहिँ रमाएका छन्।
यस्तै कतिपय कुरा हामीले नघुमी गुमाईरहेका हुन्छौं। खै किन किन प्रकृति मात्र हैन पदयात्रामा पहिलो चोटि भेटिएका पदयात्री समेत वर्षौं देखिको चिनजान जस्तो हेल्लो नमस्ते, कहाँदेखि आउनु भा’को, अब माथि जान कति समय लाग्छ भनेर सोध्दै अघि बढ्दा आफ्नै महसुस हुँदोरहेछ।
करिब ६ घण्टाको लगातार हिँडाईपछि हामी लो क्याम्प पुग्यौं।
लो क्याम्प मर्दी ट्रेकिङ रूटमा पर्ने एउटा चर्चित विश्रामस्थल रहेछ। यहाँ रात बिताउने पदयात्रीको संख्या पनि उल्लेख्य हुन्छ। बस्ने-खाने राम्रो व्यवस्था छ। हामीले त्यहीँ खाजा खायौं र गुँरासैगुँरासको जंगलको बाटो उकालो लाग्यौं- बादल डाँडातर्फ।
नामजस्तै बादल डाँडालाई बादलैबादलले ढाकेको थियो। हेर्दा आफू नै कतै बादलमाथि छु जस्तो महशुस हुने।
दृश्यावलोकनका लागि बादल डाँडा मर्दी ट्रेकमध्येनै उत्कृष्ट ठाउँ थियो। त्यहाँबाट मर्दी हाइ-क्याम्पसँगै माछापुच्छ्रे हिमचुली अन्नपूर्ण साउथ राम्ररी देखिन्छन्।
बादलले लुकामारी गरिरहेको रमणीय दृश्य देखेर हतारहतार फोटो खिच्यौं र हाइ-क्याम्पपतिर सोझियौं।
बादल डाँडाबाट हाइ-क्यापको बाटो हिँड्दा थकाइ लाग्दैन। बरू त्यहाँ दृश्यले रोमाञ्चित बनाउँछ। बुट्यानहरू नभएका नांगा डाँडा अनि आँखै अगाडि हिमाल हेर्दै यात्रा गर्न कम्ता रमाइलो थिएन। करिब चार बजेतिर हामी हाई क्याम्प (डबल भ्यू पोइन्ट) पुग्यौं।
यसअघिनै होटल बुक गरिसकेकाले सोझै होटल गएर बस्यौं। बेलुका खाना खाएर एकछिन रमाइलो गरी सुत्ने तरखर गर्यौं।
भोलिपल्ट बिहान चार बजेनै हामी मोबाइलको बत्ती बालेर हिमालसँगको दुरीलाई अझै कम गर्दै थियौं। हामीसँगै अन्य धेरै मानिसहरू बाटोमा लस्करै बत्ती बाल्दै हिँडिरहेका थिए।
स्मृतिमा सजिएको मर्दी, अन्नपूर्ण अनि माछापुच्छ्रेको सुन्दरताले हामीलाई हौसला दिइरह्यो।
हामीले सहजताको लागि हामीभन्दा पछि आइरहेको ट्रेकिङ गाइड र विदेशीलाई अघि लगायौं। हामी करिब ६ बजेको झिसमिसेमै भ्यु पोइन्ट पुग्यौं।
धेरै मानिसहरू लेक लाग्ने डरले त्यहीँ बसे। तर हाम्रो योजना माथि नै पुग्ने थियो।
करिब सवा छ बजेतिर एक्कासी मौसम खुल्यो। मर्दी, अन्नपूर्ण अनि माछापुच्छ्रेले पालैपालो घुम्टो उघार्दै, छोप्दै गरेर हामीलाई जिस्काउँदै थिए।
बिहान सूर्योदयको दृश्य हेर्न पर्यटकहरु हाइक्यापबाट बिहान ३–४ बजे नै हिँडेर भ्यु प्वाइन्ट आइपुग्छन्। ४ हजार १ सय मिटर उचाइको भ्यु प्वाइन्टबाट देखिने दृश्यले जोकोहीलाई लोभ्याउँछ।
हिमालसँगको लुकामारीले यात्राका सबै दुःख कष्ट कपास सरि हावामा उड्न थालेका थिए। २ दिनको लागातर हिँडाईको थकान पनि आकाशमा उडेको प्रतित हुन थालेको थियो। ती दृश्य अङ्गाल्दै हामी अगाडि बढ्यौं।
पहाडको उचाइबाट हिँडिरहँदा दायाँ वा बायाँ खसे भने मर्छु भन्ने जोखिम मोलेर अगाडि बढेको हामी अप्पर भ्यू-पोइन्ट पुग्यौं। मन गद गद भयो। सपनाको संसारमा आएको अनुभूती भयो। सबै जना एकाएक चिच्याउन थाल्यौं।
वरिपरि कोही मानिस थिएनन्। वातावरण उल्लासमय बन्यो। त्यो चिसो वातावणमा न्यानो घाम ,खैरे कुकुर र चिया बेच्न आएको भाइ। मैले दाइ र दिदीलाई कतै देखिनँ अलि तल ठूली दिदी आउँदै हुनुहुन्थो।
त्यहाँ पुगेर घाम ताप्न पाउनुको बेग्लै आनन्द थियो।
त्यो भाइ हाई क्याम्पबाट ४५ मिनेटमा आइपुगेको रहेछ। यो कुरा सुन्दा निकै अनौठो र अचम्म लाग्यो।
कोही पनि नभएकाले भाइले हामीलाई उसको ज्ञानले भ्याएसम्मको जानकारी दियो।
मर्दी भ्यू प्वाइन्ट अनि बेस क्याम्पबाट देखिने हिमालको भ्यूले सबैजना मन्त्रमुग्ध हुँदै फोटोमा कैद गर्न व्यस्त भयौं। हिमालसँगको सामिप्यताले हामीमा छुट्टै उर्जा मिलेको थियो।
अविष्मरणीय क्षण मानसपटलमा कैद गर्दै नयाँ उर्जाका साथ करिब १ घण्टाको बसाइपछि हल्का खाजा खाएर फर्कियौं।
गन्तव्यमा पुगेर फर्केको छुट्टै उल्लास, जाँगर र शक्ति थियो।
बाटोमा उकालो चढेका मानिस कति बेर लाग्छ भन्दै थिएँ। ओरालो लाग्ने यात्रीले थोरै छ भन्दै हौसला दिँदै थिएँ।
मध्यान्न एक बजेतिर होटलमा खाजा खाएर झर्यौं।
बादल डाँडाहुँदै त्यहीँ लो क्याम्प भएर ओरालो लाग्यौं। लोक्याम्पबाट सिधिङ पुगेर जिप चढी हामी पोखरा लाग्यौं।
स्थानीयलाई डेढ घण्टा लाग्ने बाटो हामीलाई ४ घन्टा लाग्यो। बिहान चार बजेदेखि हिँडेर थाकेका हामी करिब साढे ९ बजे पोखरा पुग्यौं।
छोटो समयमा २ दिनमा नै हिमालको फेदीमा पुग्न सकिने मर्दी पदमार्ग हो। हिमाली दृश्यका साथै पदमार्गमा देखिने ठूलाठूला लालीगुराँसलगायत प्रजातिका बोटसहितको दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ। समुद्री सतहबाट ५ हजार ५ सय ८७ मिटर उचाइको मर्दी हिमाललाई सर्वप्रथम सन् १९५६ एक स्विस नागरिकले चर्चामा ल्याएका थिए।
यो पदमार्ग पछिल्ला दिनमा आन्तरिक पर्यटकको आकर्षण बढिरहेको छ । यसलाई दिगोपना दिन कसरी अगाडि बढ्ने भन्नेबारे अब गम्भीर भएर सोच्नुपर्छ ।
यो पदमार्गमा आन्तरिक पर्यटक बढिरहँदा फोहोरमैला व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि बढेको छ । हिउँको मज्जा लिन चाहने पदयात्रीलाई मर्दी असाध्यै राम्रो गन्तव्य हो । यसलाई कसरी संरक्षण गर्ने, दीगोपन दिने, अझै प्रवर्द्धनको क्याम्पिङ चलाउन जरुरी छ ।