दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर जान मलाई चौथो पटक मौका जुर्यो। प्रायः यात्रा गर्न मलाई निकै रमाईलो लाग्छ। कामको थकान तथा ब्यवसायको अलमल विसाउन पनि मलाई यात्रा र घुमफिर गर्नुपर्छ। अझ धार्मिकस्थलको यात्राले त मनमा निकै आन्नदायी हुन्छ।
गएको साता मेरो यात्रा आन्तरिक पर्यटकको प्रमुख रोजाईमा रहेको कालिञ्चोक भयो। प्राकृतिक रूपमा मात्र नभई धार्मिक रूपलेसमेत चर्चित रहेको कालिञ्चोक मन्दिर जिल्ला सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दुरीमा पर्छ।
कोभिडभन्दा अघि आन्तरिक पर्यटकले खचाखच हुने कुरी बजार, अझ विशेष गरी शुक्रबार त बास बस्ने स्थान पाउनै गाह्रो हुन्थ्यो। तर अहिले त्यति साह्रो छैन।
कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न पैदल जाने हो भने करिब एक घन्टा उकालो चढ्नुपर्छ। तर पछिल्लो समय केवलकार सुविधाले ८ मिनेटमै पुगिन्छ। केवलकार चढ्न प्रतिब्यक्ति ५ सय रूपैया तिर्नुपर्छ।
तीन हजार आठ सय ५० मिटरको यो उचाइबाट आसपासको सौन्दर्य नियाल्नुको बिछट्टै आनन्द रहेछ ।
भगवती मन्दिर परिसरबाट आँखै अगाडि दर्जनौं हिमश्रृखला हेर्न सकिन्छ। विशेष गरी गौरीशंकर, दोर्जेलाक्पा हिमाल नजिकबाट देखिन्छ।
चुचुरोको साँघुरो तर लाम्चो परेको थोरै समतल भागमा खुला आकाशमुनि सजिएकी देवी भगवतीको मुर्ति छ।
पूजारीका अनुसार यो पवित्रस्थलमा मन्दिरको संरचना बनाउन नहुने किम्बदन्ती छ। पूर्वपट्टी गणेशको मूर्ति। छ्याङ्ङ खुलेर स्निग्ध, सुन्दर देखिएको निलो आकाश नै छुन सकिएला कि झैं गरेर बौद्धमार्गीले चढाउने लुङ्दा हावाको वेगसँगै फर्फराइरहन्थ्यो।
दोलखा सदरमुकामदेखि कुरी बजारसम्म कच्ची बाटो जानुपर्छ। यद्यपि पहिलेको तुलनामा धेरै सुधार भएको छ। म पहिलो पटक आउँदा भन्दा चौथो पटक आउँदा सडकमा निकै प्रगति भएको पाएँ।
जेठ असारमा हरियालीले मन्त्रमुग्ध बनाउँछ भने हिउँदमा हिउँले ढपक्क ढाकेको हुन्छ कालिञ्चोक। अधिकांश युवा हिउ खेल्नका लागि कालिञ्चोक आउने गरेको स्थानीय होटल व्यवसायी बताउँछन्।
चरिकोटबाट देउरालीसम्म सडक पक्की छ। हिउँ पर्दा त्यहाँभन्दा मास्तिर गाडी लैजान कठिन हुन्छ। त्यतिबेला चक्कामा फलामे साङ्ला (चेन) लगाएर स्थानीय बोलेरो गुडाइन्छ।
कसरी पुग्ने : काठमाडौं–चरिकोट १३३ किमि, गाडीमा ५ घन्टा। चरिकोट–कुरी बजार १७ किमि, जिपमा डेढ घन्टा। कुरी–कालिञ्चोक केवलकारमा ५ मिनेट। केवलकार स्टेशन–कालिञ्चोक मन्दिर ७ मिनेट पदयात्रा। चरिकोटबाट हिँडेर जाँदा ६ घन्टामा कुरी बजार। कुरीबाट हिँडेरै मन्दिर पुग्न अर्को १ घन्टा।