‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ जन्मथलो दैलेख करिब पाँच वर्षपछि जाने मौका मिल्यो। जन्मथलोको यो मेरो यात्राकी सहयात्री थिइन् आफ्नै जीवनसाथी-हेमा सिजापति।
त्रिभुवन विमानस्थलबाट बिहान सात बजेको उडानमार्फत हामी खुर्खेततर्फ लाग्यौं। मौसमका कारण केही समय उडान ढिलो भए पनि काठमाडौंदेखि सुर्खेत नपुगेसम्म विमानबाट देखिएका सुन्दर दृश्यले मनमोहक बनाइदियो।
सुर्खेत विमानस्थलबाट गाडी चढेर हामी देउती बज्यैको दर्शन गर्न गयौं। देउती बज्यैको दर्शन पछि हामी काँक्रेविहारतिर अगाडि बढ्यौं।
जंगलको बीचमा रहेको क्राँक्रेविहार मन्दिर पूर्णरूपमा निमार्ण भईसकेको रहेछ। मन्दिरको पूर्ण आकार देख्दा निकै रमाईलो भयो। विगतमा मन्दिरका भग्नावशेष छरिएको देख्दा मन निकै खीन्न हुन्थ्यो । यो पटक मन्दिरको पुर्ण आकार देख्दा निकै रमाईलो भयो। मन्दिरमा केही समय विताएर हामी दैलेखतर्फ अगाडि बढ्यौं।
सुर्खेत सदरमुकाम विरेन्द्रनगरदेखि करिब सवा एक घण्टाको यात्रा पश्चात हामी गुराँसे पुग्यौं। अलीक उचाईमा रहेको गुराँसेमा हिउँदमा हिउँ पर्नेगर्छ।
गुँरास गाँउपालिकाले बनाएको गुँरास पार्कमा केही समय बिताएर हामी अगाडि बढ्यौं। गुँरासेदेखि करिब दुई घण्टाको यात्रा पश्चात हामी दैलेख सदरमुकाम पुग्यौं।
भान्जीको वैवाहिक कार्यक्रममा सहभागी हुने निहुँमा हामी दैलेख पुगेका थियौं।
दैलेख आएपछि छुटाउनै नहुने स्थान हो बेलासपुर मन्दिर। धार्मीक तथा ऐतिहासीक महत्व बोकेको यो मन्दिरको दर्शन गर्न हामी दैलेख पुगेको दोस्रो दिन पुग्यौं।
सोही दिन साँझ बजार नजिकै रहेको बाईसदेवल हेर्न गयौं। भूर्तिका बाईस देवल दैलेख जिल्लामा भएका देवलमध्ये एकै स्थानमा धेरै देवल भएको स्थान हो।
विश्व सम्पदामा सूचिकृत गर्न ‘क’ वर्गमा परेको देवलको अवलोकन पछि हामी घरायसी काममा व्यस्त भयौं।
कर्मथलो काठमाडौंतर्फ लाग्दै गर्दा मनमा लाग्यो विगतमा क्याम्पस जीवन अध्यन गर्न राजधानी आउँदा दैलेखदेखि चार दिनको समय लाग्ने यो बाटो अहिले केही छिनमै पुगिन्छ।
दैलेख बजारदेखि सुर्खेतसम्म तीन घण्टाको यात्रा तय गरेर सुर्खेतदेखि काडमाडौंसम्म हवाईजहाजमा यात्रा गरि विहानको अफिस आईपुग्दा लाग्यो केन्द्रिय राजधानीदेखि दैलेख सदरमुकामा अब त्यती टाढा रहेन। मनमनै सोचेँ- समयले साथ दियो कि म जन्मथलो सकेसम्म वर्षको एकपटक पुग्नेछु।
सडक यातायात विस्तारसँगै पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ। आजभोलि केही आन्तरिक पर्यटक नेपालको बिभिन्न जिल्लाको भ्रमण गर्न रूचाउँछन्। भ्रमणमा शैक्षिक, आर्थिक, सामाजिक, धार्मिक, पर्यावरणीय, ऐतिहासिक, कृषि, स्वास्थ्य, वन र प्राकृतिक सम्पदाको अध्यनअवलोकन गर्न सकिन्छ । पर्यटनमा पढेर भन्दा पनि आँफैले देखेर बुझेर धेरै ज्ञान लिन सकिन्छ । त्यसै कारण पर्यटनलाई खुल्ला विश्वविद्यालय पनि भन्ने गरिन्छ।
कर्णाली प्रदेशको दैलेख प्राकृतिक सौन्दर्यका हिसाबले जति धनी छ । दैलेख घुमफिर गर्ने पर्यटकहरुले धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले धेरैअध्यन गर्न सक्दछन्। दैलेख धर्म, इतिहास र संस्कृतिको त्रिवेणी हो । भौगोलिक रुपमा विकट भएपनि दैलेख धार्मिक र सांस्कृति सम्पदाको खानी हो । नेपालमा सबैभन्दा बढी कलात्मक देवल पनि दैलेखमै रहेको छ । दैलेखलाई देवलहरुको जिल्लाका रुपमा पनि चिनिन्छ । देवलहरुमा बौद्ध र हिन्दू धर्मलाई समान रुपमा लिइएको छ । जसले हामी बीचकै धार्मीक सहिष्णुता पनि झल्काएको छ ।
दैलेख जिल्ला कर्णाली प्रदेशका दश जिल्लामध्ये एक पहाडी जिल्ला हो। पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेतको बीचमा रहेको दैलेखको सदरमुकाम दैलेख बजार हो।
केन्द्रिय राजधानी काठमाडौंदेखि ६ सय ५० किलोमिटर पश्चिम र प्रदेशको राजधानी सुर्खेतबाट ६५ किलोमिटर उत्तरमा पर्छ।
भैगोलिक रूपमा विकट रहे पनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ।
प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि छ। विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीका साथमा प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्।
दैलेखमा प्राचीन समयमा युद्व जितिसकेपछि स्थापित स्तम्भ तथा वीरखम्बाहरु पनि रहेका छन् । यहाँ पृथ्वी मल्लको कीर्तिस्तम्भ, दामुपालको स्तम्भ, सउना कार्कीको कीर्तिस्तम्भ, दुल्लु गढीको स्तम्भ र दैलेख बजारका चारखम्ब जस्ता स्तम्भहरु आजभोली पर्यटकहरुको लागि अध्यन अवलोकन स्थ लबनेका छन । दैलेखको छामगाड खोला र लोहोरे खोलाको सगमस्थल चुप्रा सबैभन्दा आकर्षक भौगोलिक स्थल रहेको छ । खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेखको दुल्लुक्षेत्रमा रहेको पञ्चकोशी तीर्थस्थलको श्रीस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला हेर्नको लागि पर्यटकहरु पुग्नै पर्ने स्थान मानिन्छ ।
१ हजार ५ सय २ वर्ग कि मि क्षेत्रफल ओगटेको दैलेख जिल्लाको सबैभन्दा होचो भाग समुद्र सतहबाट ५ सय ४४ मिटर तल्लो डुङ्गेश्वर रहेको छ भने सबैभन्दा उचाई ४ हजार १ सय ६८ मिटर महाबुलेक छ।
जिल्लाका विभिन्न ठाँउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन् सदरमुकामस्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्वकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ।
बि सं २००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए। राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरिएको थियो ।
दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणाकालका पहिलो प्रधानमन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउँ भनेर पनि चिनिन्छ।
हेर्नुहोस् केही तस्बिरहरू