लक्ष्मीपूजाको अघिल्लो दिन। हामी तीन साइकलयात्री मुग्लिनबाट निस्कँदा दुई बजिसकेको थियो। राजमार्गको ट्राफिक छिचोलेर डुम्रे पुग्दा सवा चार भयो। खाजा खाएर उकालो लाग्दा पौने पाँच।
आठ किलोमिटर ठाडो उकालोमध्ये आधा पार गर्दा झिसमिसे भयो। दुई किलोमिटर बाँकी हुँदा अँध्यारोले ढपक्कै छोप्यो। तर हामीले टर्च बालेरै पसिना चुहाउँदै पेडल दबाइरह्यौं।
आखिर साढे सात बजे बन्दीपुर आइपुग्यो।
बन्दीपुरमा हेर्ने कुरा धेरै छन्। तर मेरा लागि त्यहाँको मुख्य आकर्षण टुँडिखेल छेउको भीमकाय पीपलको रुख रह्यो, जुन सयौं वर्ष पुरानो हुनुपर्छ।
ठूल्ठूला होटलका लागि ठाउँ खाली गर्न पीपलका विशाल हाँगाहरू काटिएको थियो। त्यसरी काटिएका डोब हेर्दा दुर्घटनापछि काटिएका मानिसका हातखुट्टाको याद आउँथ्यो।
साँझ ढल्किसकेपछि वरपीपलको अर्कोपट्टिका झिलीमिली होटलले राणाकालीन दरबारहरूको याद दिलाउँथे।
रूख जीर्ण हुँदै थियो। तर पनि त्यसका शरीरभरि लाखौं ससाना काइ प्रजातिका वनस्पतिहरू मस्तसँग हुर्किरहेका थिए। मानिसका लागि अक्सिजन र पानी वायुमण्डलमा छाड्न पीपलका पात र ती साना वनस्पतिबीच होड थियो। तर मानिसको ध्यान रूखबिरुवा पन्छाएर कंक्रिटका भवनहरू ठड्याउनुमा थियो।
बन्दीपुरमा मानिसले गरेको विकास र विनाश दुवैको साक्षी त्यो पीपल एक्लै भने रहेनछ। बन्दीपुरवासीहरूले बजारभर र वरपरका डाँडाहरूमा पीपल, वर र समीका रुखहरू संरक्षण गरेर राखेका रहेछन्।
बन्दीपुरको चिसो रातको 'तातो' बसाइपछि बिहान उठ्दा बजार हुस्सुमा लटुपुटु भएको थियो।
एकैछिनमा घाम लाग्यो र हामी बजारमा टहलिन निस्क्यौं।
भुइँमा ढुंगा छापेको धुलोरहित पुरानो बन्दीपुर बजारले बितेको समयप्रति नोस्टाल्जिक बनायो हामीलाई। बिहानको कलिलो घाम ओछिएको बजारमा केही सुन्दर तस्वीर खिचेँ मैले।
खाजा खाएपछि हामी बजारभन्दा उत्तरपट्टिको डाँडातिर उकालो लाग्यौं। डाँडामा घाम लागिसकेका थिए तर तलपट्टिको सारा भुभागलाई बाक्लो हुस्सुले छोपेको थियो। त्यो हेर्दा लाग्थ्यो विशाल तालमा सेतो पानी भरिएको छ।
डाँडामाथिबाट पूर्वतिर चीनको ग्रेट वालको सिको गर्दै ढुंगा र सिमेन्टको भद्दा गारो लगाइएको रहेछ। त्यही गारोलाई पछ्याउँदै हामी तल भञ्ज्याङको समीको रूखसम्म पुग्यौं।
अनि एकछिन त्यहाँ सुस्ताएर फर्कियौं।
बन्दीपुरमा भरपेट खाना खाएपछि हामी निस्कियौं। त्यस दिनको योजना धरमपानी र सराङघाट हुँदै घुमाउने पुग्ने अनि पुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्केर भरतपुर पुग्ने थियो।
तर बाटोमा भेटिएका एक युवाको सल्लाहअनुसार हामी धरमपानीको बाटो छाडेर बन्दीपुर दक्षिणको अग्लो डाँडाको टुप्पातिर लाग्यौं। राजकुमार दिकपालको लोककथामा झैं यो बाटो उकालो र कठिन तर छोटो रहेछ।
ठाडो उकालोमा दुई किलोमिटरसम्म साइकल डोर्याउनुपर्दा भने हामी लखतरान भयौं। झोलामा बचेका केही सुनजस्ता मुस्ताङे स्याउ खाएर हामीले भोक र प्यास कम गर्ने कोशिस गर्यौं।
उकालो सकेपछि भने सुन्दर पाटनसहितको डाँडो आयो। हामी सुस्तायौं, हिउँदको मुलायम घाम ताप्दै चौरमा पल्ट्यौं। फोटो, भिडियोहरू खिच्यौं।
डाँडामाथि यात्राकै सुन्दर क्षणहरु बिताए पनि दिन भने घर्किसकेको थियो। अनि बन्दीपुरमा पेटमा हालेको चारो पचिसकेको थियो। एकसाथ भोक र तिर्खाले हामीलाई व्याकुल बनाए। तर त्यहाँबाट बीस मिनेट जति ओर्लेपछि भने हिलेखर्कको सुन्दर गाउँ आइपुग्यो। हामी सुस्ताएर खाजा खाँदै युवाहरू भलिबल खेलेको हेर्यौं।
साँझ पर्ने बेला हामी ठाडो ओरालोमा मुस्किलले साइकल धानेर हुत्तिँदै सेती किनारको सराङघाटमा पुग्यौं। त्यहाँ पुग्नासाथ साथी खगेन्द्र चढेको साइकलको गियरको एउटा पुर्जा भाँचियो। ओरालोमा गुडाउँदै अनि तेर्सो र उकालोमा साइकल डोर्याउँदै हामी झमक्क साँझ परिसकेपछि घुमाउने पुग्यौं।
अनि पुल तरेर सानो गाडीमा साइकलसहित चढेपछि यात्रा सम्पन्न भयो। भन्नेलाई फूलको माला, सुन्नेलाई सुनको माला....।
थप तस्बिरहरू