अफिसको काम, घरको काम, पढाई अनि कहिलेकाहिँ सामाजिक काम, भेटघाट, गोष्ठी, तालिम, सेमिनार यस्तै यस्तै। सधैंभरि व्यस्तको व्यस्त राखिराख्ने चिज हुन् यी। मान्छेको जीवन अन्त्य नहुँदासम्म यो व्यस्तता सधैं छँदैछ कि, त सन्यासै लिनुपर्यो। तर यी सबै व्यस्ततालाई आँखा चिम्लेर हरेक वर्ष कम्तिमा एक पटक विशेष गरि दशैंको समयमा कुनै न कुनै नयाँ ठाउँ घुम्ने योजना बनेकै हुन्छ।
पहिलो दिन : पोखरादेखि काँडे, पोथानाहुँदै फरेस्ट क्याम्प
प्रकृतिको सान्निध्यतामा रम्ने मौकाको रूपमा यो वर्ष मर्दी हिमाल बेसक्याम्प पैदल यात्रा तय भयो। दशैं लगत्तै संक्रान्तिको दिन ४ जनाको टिम (संकेत, क्षितिज, प्रदिप र म सूर्य) जाने निधो गरियो।
हिँड्ने अघिल्लो दिन मौसम विज्ञान विभागले देशभर निरन्तर वर्षा हुने भनेर पूर्वानुमान घोषणा गरेको थियो। वेदर फोरकाष्टमा पनि त्यस्तै देखियो। हामी जाने/नजाने दोधार हुँदाहुँदै पानी नै परे पनि तयारीका साथ जानेगरि प्लाष्टिक, छातासहित पोको पन्तुरो कसियो। जसमा कपडासँगै केही औषधि, खाजा, लाइट, पावरबैंकलगायत सामग्री थिए।
बिहान ठूलो पानी परे चैं यात्रा तय नगर्ने निधो भएको थियो। तर बिहान करिब ७-८ बजेतिरको समयमा पानी नपरेको हुँदा हामी बिन्ध्यबासिनीबाट सार्वजनिक बसमा काँडे तिरको यात्रा सुरू गर्यौं।
गाडी जाने बाग्लुङ, हामी लाग्ने उकाली, त्यो गाडीबाट काँडेमा झरि खाजा खाएर हाम्रो पैदल यात्राको पहिलो खुड्किलो सुरु भएको थियो।
काँडेबाट अष्ट्रेलियन क्याम्पको उकालो लाग्दै गर्दा बाटोमा एक जना भाइले लठ्ठी बेचेर बसेका रहेछन्। उनि भन्दै थिए, ‘दाइ, दाइ एउटा लठ्ठी लिनुस् न, ३ वटा खुट्टाले टेकेर हिड्यो भने उकालो काटेको पत्तै हुँदैन क्या’, भाइको भनाई ठिकै लग्यो अनि एउटा लठ्ठी भाइसँग किनियो ५० रुपैयाँमा। अनि बाँकी चै जंगलमा भाँचिएको हाँगाबाट बनाइयो।
केही मिनेटकै यात्रामा पानी पर्न सुरू भयो। धन्न हामीले योजना अनुसार नै छाता र प्लाष्टिक हालेकाले निथ्रुक्कचै भिजिएन। अष्ट्रेलियन क्याम्पमा अर्को एउटा प्लाष्टिक समेत थपेर (हामीसँग छाता ३ वटा मात्र थियो) अघि बढ्दै थियौं।
पानी परेकाले बाटो चिप्लो थियो, जुता पनि सकेसम्म हिलोमा नपारौं भनेर जोगाएकै थियौं।
यत्तिकैमा हामी पोथाना पुग्यौं। पोथानामा संकेतको साथीको होटल थियो। जहाँ मैले पनि यसअघि क्याम्प फायर हानेर एक रात बिताएको थिएँ। त्यहाँ कफी खाइसकेर प्रितम देउरालीमा खानाको अर्डरसमेत गरेर हामी फेरि यात्रा सुरू गर्यौं। निरन्तर झरी, हिलो बाटो छिचोल्दै करिब १:३० बजे तिर प्रितम देउराली पुगियो।
त्यहाँ पुग्दा खाना तयार भइसकेको थियो। खाना खाइसकेर फेरि हामी अघि बढ्यौं। अगाडि जाँदै गर्दा दुई जना फरेस्ट क्याम्पबाट फर्किदै रहेछन्। उनीहरूले सोधे, ‘आज कहाँ पुग्ने?’ हामीले आजको गन्तब्य फरेस्ट क्याम्पसम्मको भएको बतायौं। अझै ५ घण्टा लाग्छ त भन्दै गर्दा घडीको सुईले तीन बजाइसकेको थियो।
यसअघि अन्नपूर्ण बेस क्याम्प, पुनहिल, अन्नपूर्ण सर्किट, तिलिचो, मुस्ताङ (सरकारी सेवाको दौरानमा २ वर्ष बसेको) लगायतको ठाउँ घुमेकाले हिँड्न सकिन्छ भनेर म निश्चिन्त थिएँ। तर अन्य ३ जना साथी के गर्लान् भन्ने पिर थियो। हिड्दै जाँदा साथीहरू झन् कडा पो निस्किए। उकालो बाटो, हिलो बाटो अनि अझ त्यत्रो समय, त्यसपछि हामी हिलोसमेत खासै प्रवाह नगरी आफ्नो रफ्तार बढायौं।
यत्तिकैमा तोल्कामाथिको नाक ठोकिने उकालो सकिएपछि एउटा पौवामा ओत लाग्न पस्यौं, विश्राम गर्दै कफी बनाएर खायौं (बाटोमा आवश्यक पर्छ भनेर थर्मस, तातोपानी, कफी, चिनी र ग्लास हालेका थियौं)।
त्यसपछि फरेस्ट क्याम्पको एउटा होटलमा हामी आउँदै छौं, भनेर पहिलै जानकारी गरायौं र फेरि अघि बढ्यौं। तेर्सो बाटो र हिलोको प्रवाह गर्न छाडिसकेको अनि रात समेत पर्न आँटेकाले बीच बाटोमा ७-८ वटा ग्रुपलाई पछि पार्दै हामी अघि बढ्यौं। जंगलको बाटो धेरै (नामै फरेस्ट क्याम्प), रात परिसकेको, बीचमा घरको उज्यालो केही थिएन रूखको हाँगा हाँगामा जुका झुण्डिएर कतिखेर अट्याक हानम् भन्दै बसेका (नेचुरल लिच थेरापी) भुईँमा उस्तै अनि मुसलधारे पानी कम्ता अत्यासलाग्दो थिएन।
तर उज्यालोको झुल्कोसँगै हाम्रो अत्यास मेटिसकेको थियो, निरन्तर हिँड्दा हिँड्दै फरेस्ट क्याम्प आइपुगिएछ। पोखराबाट आएको अर्को टोलीसमेत हामी बसेकै होटलमा थियो, खाना खानुअघि हामी अन्ताक्षरी र दोहोरीमा रमायौं, हाम्रो टिममा क्षितिज यस्तो कडा छ, जो कोहिले दोहोरीमा उसलाई हराउन गाह्रैपर्छ। दिनभरको थकानले यतिकैमा खाना खाएर हामी करिब ९ :३० बजे तिर सुत्यौं।
दोस्रो दिन : फरेस्टक्याम्प-लो क्याम्प ,बादलडाँडाहुँदै हाइक्याम्प
रातभर झरी। बिहानसमेत झरीकै कारण त्यो होटलमा बसेको अर्को टिम पोखरा फर्किने निधो गरिसकेको थियो, मौसम खराब भए पनि हामीले भने तय भएको यात्राबाट नफर्किने अठोट गरि जुत्ताको तुना कसिसकेका थियौं।
बिहान ७:३० बजे तिरको झरीसँगै पिठ्यूमा झोला र ओड्ने प्लाष्टिक, एउटा हातमा लठ्ठी अनि अर्को हातमा छातासँगै दोस्रो दिनको यात्रा सुरू भईसकेको थियो ।
दुरीको हिसाबले भने दोस्रो दिनको यात्रा अलि सहज थियो। त्यसैले हामी प्रकृतिसँग थोरै भए पनि सानिध्य हुँदै अघि बढ्यौं। शहरको कोलाहलभन्दा टाढा, प्रकृतिसँग नजिक, त्यो माहोल नै बेग्लै हुँदै थियो।
चराहरुको चिरबिर, बाटोको दुवैतिर गुँरासका बोट, अझ गुँरास फुल्ने सिजनमा कति आकर्षक देखिएला है। जो प्रकृतिप्रेमी छ, प्रकृतिका कथा बुझ्छन्, प्रकृतिलाई नजिकबाट चिन्छन् उनीहरु यहाँबाट मुक्त हुनै चाहँदैनन्। कैयौं विदेशी छन् जो आफ्नो जन्मभूमि बिर्सेर यहिँ रमाएका छन्। यस्तै कतिपय कुरा हामीले नघुमी गुमाईरहेका हुन्छौं। खै किन किन प्रकृति मात्र हैन पदयात्रामा पहिलो चोटि भेटिएका पदयात्री समेत वर्षौं देखिको चिनजान जस्तो हेल्लो नमस्ते, कहाँदेखि आउनु भा’को, अब माथि जान कति समय लाग्छ भनेर सोध्दै अघि बढ्दा आफ्नै महसुस हुँदोरहेछ। सायद बेमतलबी, स्वार्थी अनि चिनेको मान्छे देख्दा नि मुख बंग्याउँदै अर्को तिर फर्केर हिँड्ने शहरीया जीवनभन्दा बिल्कुलै फरक भएर होला ।
लो क्याम्पदेखि माथिको अप्ठेरो बाटोमा २-३ दिन कुर्दा पनि हिमाल हेर्न नपाएर निरास मुद्रामा फर्किंदै गरेका जमात देखिन्थे। उनीहरूको निराश मुद्राले हामीमा पनि मौसम नखुल्ने हो कि भन्ने हुतहुतीले छाडेको थिएन। त्यहाँ माथि हाम्रो चिनेकै २-३ वटा ग्रुपका साथीसमेत ‘फर्के हुन्छ’ भन्दा हामीलाई केही नैराश्यता त छाउने नै भयो।
करिब ११:३० बजे तिर हामी बादलडाँडा पुग्यौं, त्यहाँ पुग्दा मौसम केहि खुलेको थियो, त्यसैले हामीले ३६० डिग्रीमा भ्यू हेर्ने अवसर पायौं। त्यहीँ खाना खाएर करिब २ बजे तिर फेरि उकालो लाग्यौं। जति उकालो लाग्यो त्यति भ्यू राम्रो, एउटा चौरमा प्रदिप आफूले ओढेको प्लाष्टिक भुईमा बिछ्याएर थकान मार्न बसेको मात्र के थिए, उसको प्लाष्टिकमा ४०-५० वटा जुका टाँसीएका रैछन्, यत्तिकैमा संकेतले भन्दै थियो- ‘४९ वटा फालेनी ५० औं चैं राख् है।’
यत्तिकैमा हाँसोको फोहोरा निस्कियो। बाटोमा जुका व्यहोर्दै आएको भए पनि एति साह्रो चै कतै पनि थिएनन्, त्यसैले त्यो डाँडाँको नाम ‘जुके डाँडा’ भनेर न्वारन समेत गरियो।
बाटोमा हिड्दै जाँदा अरू ग्रुपका मान्छेसँगसमेत चिनजान भैसकेको थियो। यत्तिकैमा उकाली चड्दै गर्दा हाम्रो दोस्रो दिनको गन्तब्य हाइक्याम्प आइसकेको थियो। हाइक्याम्पमा पुग्दा हामीले सम्पर्क गरेको होटल अघिल्लो दिनकै पाहुनाले भरिएको हुँदा हामी अर्को होटल स्नो ल्याण्डमा बस्ने तय भयो।
अघिल्लो दिनदेखि भ्यू हेर्न कुरेर बसेका पर्यटक, त्यो दिनसमेत उती नै मात्रामा। मान्छेहरू कोठा नपाएर डाइनिङ रूममा सुत्नुपर्ने बाध्यतामा थियो। हामी भने अली समयमै पुगेकोले कोठा पायौं। डाइनिङमै आगो ताप्ने क्रममा धरानबाट आएको डाक्टरको समूहसँग चिनजान भयो। अघिल्लो दिन जस्तै त्यहाँ बस्दा पनि माहोल रोमान्चक र अविष्मरणीय बनेको थियो।
बाहिर मौसम केही खुल्ला जस्तो भएकोले हामी भोलि बिहानै सूर्योदय हेर्न बेस क्याम्प नै पुग्ने तरिकाले छिटै नै सुत्यौं।
तेस्रो दिन: हाइक्याम्पदेखि बेस क्याम्प पुगेर लो क्याम्प-सिधिङहुँदै पोखरा
बिहान करिब ४ बजेको अलामसँगै हामी सबैको निद्रा खुल्छ। यतिकैमा ४:३० बजे तिर हामी लाइटको उज्यालोको सहाराले हिमालसँगको दुरीलाई अझै कम गर्दै उकालो लाग्छौं। स्मृतिमा सजिएको मर्दी, अन्नपूर्ण अनि माछापुच्छ्रेको सुन्दरताले हामीलाई कसै पनि रोक्न दिएन। यतिबेला भने तीनवटै हिमालले पालैपालो घुम्टो उघार्दै, छोप्दै गरेर हामीलाई जिस्काउँदै थिए।
हिमालसँगको लुकामारीले यात्राका सबै दुःख कष्ट कपास सरि हावामा उड्न थालेका थिए। २ दिनको लागातर हिँडाईको थकान पनि आकाशमा उडेको प्रतित हुन थालेको थियो। यत्रो दुःख गरेर आएर पनि हिमालसँग सामिप्यता गाँस्न नपाइने हो कि भन्ने सन्देह बिलिन भैसकेको थियो। मर्दी भ्यू प्वाइन्ट अनि बेस क्याम्पबाट देखिने हिमालको भ्यूले गर्दा सबै जना मन्त्रमुग्ध हुँदै फोटोमा कैद गर्न व्यस्त देखिन्थे।
हिमालसँगको सामिप्यताले हामीमा छुट्टै उर्जा मिलेको थियो। यसै सन्दर्भमा हेनरी फोर्डको अमूल्य वाणीलाई यहाँ राख्न चाहें-‘संसारमा सबैभन्दा ठूलो कुरा हो आफ्नो दिमागलाई युवा बनाएर राख्नु, जसले सिक्न बन्द गर्छ सम्झिनुस् ऊ बुढो भयो, चाहे ऊ बीस वर्षको होस् या असी वर्षको।’
उनले भने झैं खुल्ला प्रकृतिबाट हामीले किताबको ज्ञानभन्दा नि बिल्कुलै बेग्लै र बृहत कुरा सिक्दै जीवनको अमूल्य पाठ पढ्ने अवसर पायौं। जीवनको आयमलाई बुझ्न पायौं र ती अविष्मरणीय क्षण मानसपटलमा कैद गर्दै नयाँ उर्जाका साथ पुन: हाईक्याम्प-बादलडाँडा-लो क्याम्पहुँदै सिधिङ झरेर जीपमार्फत सोही दिन पोखरा फर्कियौं।
(लेखक आइटी इन्जिनियरका रूपमा कार्यरत छन्।)