बिहानको ५ बज्नै लागेको रहेछ ‘नौविसे, आयो नौविसे, ल अगाडि आउनू त,’ भन्ने आवाजले निन्द्रा खुल्यो। निन्द्रा खुल्यो त के भन्नु बिहानपख भएकाले होला निन्द्रा पर्न लागेको थियो, व्यूँझिहालेँ। बसले नौविसे झारिदियो।
अध्यारो चिरेर उज्यालो क्रम जारी थियो, त्यसैले चोकै अगाडिको पसलमा चिया खान छिर्यौं। यात्रा पालुङसम्मको थियो, नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनमा सहभागिताका लागि। नौविसेबाट पालुङ जान गाडी सहज रूपमा नपाईने रहेछ। साथीहरुको पनि गाडी सहज नपाउने सुझाव अनुसार गाडीको व्यवस्था त गरेका थियौं तर ४० किमि बाटोमा भाडा झन्डै ५५ सय भनेपछि मंहगो लाग्यो। रूटको गाडी बिहान ८ बजेपछि मात्र आउने कुरा सुनाए चियापसले दाइले। ८ बजेसम्म बस्नु भन्दा महंगो भए पनि ट्याक्सीमा जाउँ भन्ने योजना बन्यो। चिया पसलले दाइले यात्रा असहज नहुने भए ट्रकमा जान सुझाए, र ट्रक आएपछि रोकिदिने बताए। रातभरीको अनिँदो अनि हिडाइको थकाईले ट्रकमै भए पनि हिँडीहालौं भन्ने लाग्यो।
भदौ १९ गते हामी बेनीबाट पालुङका लागि साँझ ५ बजेमात्र हिँड्यौ। तयारी त बिहानै जाने थियो तर विविध कारणले साँझ पर्यो। कुस्मा पुग्दा झन्डै साढे ६ बजेको थियो। केही दिन अगाडि आएको पानीले बाटो क्षतविक्ष्त थियो। कुस्मा शसस्त्र प्रहरीको चेकीङ पोष्टदेखि हिँड्नुपर्ने रहेछ। चुवाको गाउँ हुँदै अगाडि बढ्नुपर्ने। रात झमक्कै पर्यो, हातमा भएको मोवाईलको उज्यालोको साहारा लिएर अगाडि हिड्यौं।
पंक्तिकार, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, म्याग्दी जेसीजका महासचिव दिनेशकुमार विश्वकर्मा, सहसचिव दिनेश बानियाँ थियौ टोलीमा भने शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठ भोलिपल्ट आउने कुरा भयो। सुजनजीलाई हिँडाइमा निकै मुस्किल भयो, ओराले र हिलोले गर्दा। दोविल्लाको खोला तर्नेबेलामा चकमन्न अध्यारो भइसकेको थियो। कुनै यस्तो एउटा यस्तो ठाउँ भेटिएन जहाँ बाटो अवरुद्ध नभएको होस्, पहिरो नगएको होस्। सडक कहाँ छ, कुनै पत्तो थिएन, गेगर, हिलाम्मे अनि पानीको ताल मात्र। अध्यारो भएकाले माथिबाट कतिबेला पहिरो झर्छ पत्तै थिएन, ढुङ्गा भनेर टेक्यो झ्वाम्म पानीमा खुट्टा, त्रास कै बीच झन्डै ३ घण्टाको हिँडाइपछि पातीचौर आईपुग्यौं। २० गते बिहानमै कार्यक्रम भएकाले जसरी पनि त्यहीँ राती हिँड्नैपर्ने थियो। बेनीबाटै हामी १० जना एउटै जीपबाट गएका थियौं। काठमाडौं जाने एउटा मात्र बस रहेछ, त्यो पनि भोलि बिहानको पालो कुरी बसेको। हामी १० जना, पोखरा जाने अन्य मान्छे भएपछि बस सोही रात नै काठमाडौं जान तयार भयो। त्यसपछि मन अलि शान्ति भयो। जसका कारण नौविसेमा चिया खाँदै थियौं।
चिया खाँदै थियौं एउटा ट्रक आईपुग्यो, ‘द रियल रोड किङ’ लेखेको। हामीजस्तै अरु पनि ४,५ जना ट्रक कुरेर बसेका रहेछन्। उनीहरु भन्दा पहिला झोलासहित ट्रकमा हामी पुग्यौं, त्यसैले चढ्न पायौं। भाडा कति हो गुरूजी? उनले चलेको रेट दिनुहोस् भने, स्थानीयलाई सोध्दा प्रति व्यक्ति २०० रहेछ। जुत्ता चप्पल ढोका छेउनेर राखेर पलेटी कसेर बस्ने पर्ने रहेछ। ट्रक भित्रको प्रवेश पहिलो पटक भएकाले नौलो लाग्दै थियो। खाना पकाउने, खाने एक सेट भाडाकुँडा, ग्यास चुल्हो सेट, मच्छेडको झुल, ओड्ने कपडा, सानो पंखा टाँसेको एउटा बेडरूम भन्दा कम थिएन। बेग्लै संसार जस्तो लाग्ने यो रुमका मालिक थिए, रोडकिङ उर्फ धुव्र पण्डित। उमेर २८ वर्ष, हँसिलो अनुहार, पातलो शरीर, रातभरीको ड्राईभिङले राताराता आँखा, जिङरिङ्ग भएको कपाल, बाटाको चप्पलमा हाफ पाईन्ट अनि टिसर्ट त्यो पनि कुममाथि तानेका पसिण्डत काठमाडौं सामान लगेर फर्केका रहेछन्।
गाडी स्टार्ट गरे, ट्रिट ट्रिट गरेर हर्न बजाए अनि थोरै पछि ल्याएर स्वाट्ट हुईकाए, हामी पनि हुत्तियौं। सुरूमै घुम्ती रहेछ फनक्क गाडी घुमाए, त्यो पनि फुल स्पिडमा डर लाग्ने गरी। यात्राको केही समय कोही बोलेनौं चुपचाप सवारी चलाईरहे पण्डित। ट्रक यसरी कुदाए कि, हाम्रो सात्तो नै गयो। एक त अत्यन्तै साँघुरो सडक, त्यसमा ध्रुव पण्डितको स्पिड, फनक्न फनक्न स्टेरीङ घुमाउँदा झसंग झसंग बनाउने। साथी सुजनले ‘साथी स्टन्ट नदेखाउनुस् विस्तारै जाउँ’ भनेपछि अलि स्पिड कम गरे।
सानोमा धेरै सुनेको गीत ‘बाईरोडमा गुड्यो मोटरकार’ भन्ने गीतको स्मरण भयो। अनि सुरु भयो ध्रुव पण्डितको कहानी। गाडीको सहचालकहुँदै ट्रक चालकसम्म भएको कहानी सुनाउन भ्याए। सुजन र ध्रुवको कुराकानी चल्दै गयो। हेटौडाका रहेछन् पण्डित, उनलाई अति नै माया गर्ने शिक्षक रहेछन् चितवनका गोकुल सर। सुजनले हामी चिन्छौं नि गोकुल सर के भन्न भ्याएका थिए, आफ्नो गायनमा ठूलो इच्छा रहेको, गोकुल सरको प्यारो विद्यार्थी रहेको, आफूलाई असाध्यै माया गर्ने जिकिर गरे, गोकुल सरको निकै प्रशंसा गरे। झण्डै १२ वर्षको उमेरमा हेटौंडामा जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम भएका रहेछन्, त्यो समेत सुनाए।
केही माथि पुगेपछि उनको चिया खाने स्टेशन आईपुग्यो, ट्रक टक्क रोकियो। हामीलाई पनि चिया खान अनुरोध गरे, नौविसेमा चिया नास्ता गरेकाले नखाने बतायौं। उनी ट्रकबाट ओर्लिए अनि साहुनीलाई नमस्कार दर्साए। मुख धोए, चिया खाए, अनि एक खिल्ली चुरोट ओठमा च्यापेर चियाको चुस्कीसँगै धुवा उडाँए, उनको अनुहारको भाव हेर्दा लाग्थ्यो उनी पनि धुवाँसँगै उडिरहेका छन्। नजिकै एउटा गाडी बिग्रीएर बनाउने मान्छे नपाएर रोकिएको रहेछ। नजिकै गाडी मर्मत गर्ने ठाउँ रहेछन्। गाडीको समस्या पत्ता लगाएर चिनेको मेकानिकलाई फोन गरी बोलाईदिए। अनि फेरि हुईकिए आफ्नै रफ्तारमा।
चोक चोकमा, चिनेको चिया पसलमा ट्वा ट्वा पार्दै हर्न बजाउँथे, अनि भन्थे, ‘सोल्टीहरुलाई जानकारी दिएको’ अनि लामो हाँसो छाड्थे हा.....हा......हा......हा.....। घरमा श्रीमती र छोरी रहेछन्। पारिवारीक कुरा समेत सुनाए।
कुराकानीकै क्रममा उनी म्याग्दीसमेत आएका रहेछन्, अन्नपूर्ण गा.पा.मा सञ्चालित हाईड्रोहरुमा सामान छाड्न। त्यसले पनि अझ सामिप्यता बढायो। सामान लिन चीनदेखि भुटानसम्म पुगेका रहेछन्। झण्डै ८ महिना अगाडि मात्र हामी चढेको ट्रक किनेका रहेछन्, उनको भाषामा त्यसलाई ‘डब्बा’ भन्दा रहेछन्। रातभरको अनिँदोले होला सुजन निदाए। एकछिन वातावरण शान्त भो। सुस्त सुस्त उनी गीत गाउन थाले, अनि मैले एउटा गीत गाउन अनुरोध गरेँ, अनि सुरू भयो ध्रुवको गायन।
नारायण गोपालदेखि पछिल्लो पुस्ता निशान भट्टराई, प्रताप दाससम्मको गीत गाए, पप गायक सविन राईदेखि हिन्दी गीतसम्म सुनाए। उनी नेपाल आईडल पहिलो सिजनमा टप १९ सम्म पुगेका रहेछन्। साँच्चै उनको स्वरमा मिठास थियो, दिनेश भाइ र मैले केही क्लिप भिडियोसमेत खिच्यौं। उनको गीतको तालमा कतिबेला टिस्टुङ भन्ने ठाउँमा आईएछ पत्तो भएन। त्यहाँबाट ६ किलोमिटर पर रहेछ पालुङ। त्यहीँ पारी डाँडामा रहेछ, उनको ससुराली कुन्ने के ठाउँ पो भन्दै थिए। ‘मेरो नेपाल, मेरो नेपाल’ भन्ने गीत गाउँदै ट्रक ओराले लाग्यो, उनले घाँटी फुलाउँदै गाउन थाले, स्टेरीङबाट हात छोडेरै गाउन थालेपछि फेरि सातो खाए, एक दुई ठाउँमा। हामीले गीत गाए पनि स्टेरिङ नछाड्न अनुरोध गर्यौं, उनले आफू बाईरोडको किङ भएको बताए। ‘मलाई साथीभाइले वाईरोडको किङ भन्छन्, आँखा चिम्म गरेर कुन ठाउँ आयो भन्न सक्छु, छड्के नजरले गाडी हाक्न सक्छु। त्यसैले मलाई रोडकिङ भन्छन्।’ उनको चलाई देख्दा हामीलाई पनि हो जस्तै लाग्यो।
ट्रकमा एक्लै हिँडीरहने मनको बह पोख्ने मान्छे नपाएकाले होला सायद उनी हामीसँग पोखिएको। वर्षौदेखि मनमा गुम्सीएका बहहरु खोले। आफ्ना जीवनका संघर्षका कथादेखि गायन क्षेत्रमा आफ्ना रुचि, क्षमतासमेत देखाए। सायद उनले एक्लै आफैंसँग कुरा गर्दै यात्रा गर्दा हुन् यहीँ कल्पना गरे मैले। ‘सहचालक राख्न पर्दैन?’ उनले भने, ‘जावो डब्बामा पनि के साथी राख्नु।’ हामी पनि उनीसँग प्रभावित भयौं। एक अन्जान ट्रकड्राईभर झन्डै ४० कि.मि. दुरी पार गर्दा वर्षौ पुरानो परिचित, सम्बन्ध भएजस्तो साथी ध्रुवेको रुपमा परिणत भयो। उनको कुराकानीको सरलपन, आत्मीयता साँच्चै जीवनमा यात्राको क्रममा धेरै मान्छे भेटिए तर ध्रुव पण्डित कमै भेटिए। ‘केही मिठो बात गर, रात त्यसै ढल्किदै छ, भरे फेरि एकान्तमा रूनु त छँदैछ’ भन्ने नारायण गोपाल गीत गाउँदै पालुङ ल्याईपुर्याए। साथीहरुले फोनमा सुझाए अनुसार ठ्याक्क रोकिने ठाउँमा ट्रकको ब्रेक अठ्ठाए, हामी ट्रकबाट झर्यौं।
हामी त आजको हाम्रो गन्तव्यमा आईपुग्यौं, तर ध्रुव पण्डितले स्टेरीङ घुमाउँदै कहाँ कहाँ पुग्नेछन्। हामी पाँच जना थियौं भाडा दिनुपर्ने १ हजार थियो तर लिन मानेनन् र ५ सय मात्र लिए। उनीप्रति झनै आदरभाव बढेर गयो। सहयोगी भाव, आत्मीयताले स्मृतिमा कहिल्यै पनि नमेटीने गरी छाए ध्रुव पण्डित।
उनका खातिर, उनको सम्झनामा केही शब्द व्यक्त गर्ने अठोट गरेँ। सम्भवतः अब ध्रुव पण्डितसँग भेट हुँन्छ वा हुँदैन पनि होला, कतै भेट्ने मानोकांक्षासहित छुट्यौं। विदाइका हात हल्लायौं। हामी कार्यक्रमस्थलतर्फ लाग्यौं, उनले आफ्नै धुनमा ट्रक हुईँक्याए, ट्रक केही अगाडि पुगेपछि त्यसमा लेखेको देखियो- ‘फेरि भेटौला.......’