वर्षातको मौसममा राराको यात्रा सहज पक्कै थिएन। यात्रा त धेरैले गरिरहेका हुन्छन् तर साहसिक हुँदा यात्रामा थप आनन्द र अविस्मरणीय हुन्छ।
हाम्रो यो रा राको वर्षात मौसमको यात्रा भने साहासिक भयो नै थप वर्षातमा फुलेको थुप्रै प्रजातीको फूलले घेरिएकी रारासँग पहिलो नजरमै मोहित हुन पुगियो। राराको त्यो मनमोहकता अदभूत थियो।
हिँड्न रहर लाग्ने भएर होला राराको बसाईको दोस्रो दिन हिँड्न र हिँडेर प्रकृतीसँगको प्रेममा रमाउन रहर हुने नै भयो। यहीँ धर्तिबाट उब्जिएका हामी अन्तत यहीँ प्रकृतीमै बिलाउनु छ एकदिन ।
यसकारण पनि जति बढी साक्षातकार प्रकृतीसँग हुन सक्यो त्यति नै हाम्रो मृत्यु पनि सहज र आनन्दमयी हुने कुरामा म विश्वास गर्छु । त्यहीँ भएर मलाई प्रकृतीसँग धेरै भन्दा धेरै सामिप्यता बढाउन मन लाग्छ।
राराले प्रकृतिसँगै आफ्नो रूप, रङ, वैंश फेर्ने गरेको कुरा सुनेको, पढेको थिए। त्यहीँ भएर पनि रारासँग लुटपिटिँदै रारालाई हरेक कोणबाट नियाल्ने, यसको शुन्दरतालाई यादगार बनाउने मेरो चाहना थियो।
राराको यो यात्रामा राराको शीर मुर्मा डाँडाँमा नपुग्नु भनेको राराको यात्रा नै अधुरो हुनु महसुस गरीरहेको थिए। साथीलाई हिड्न रूचि थिएन। आफू भने हिँड्न रमाउने। मैले राराको बसाईको दोस्रो दिन मुर्माको डाँडाको हाइकिङ जाने निर्णय गरे।
हिँड्न अति नै मनपराउने तुलजी स्वास्थ्यको कारणले जान सक्नुभएन। मैले मुर्माको डाँडा जाने निर्णय सुनाए। यात्रा ४ घन्टाको थियो स्थानीयलाई त मात्र २ घन्टा। राराको बसाईको दोस्रो दिन मुर्माको डाँडामा जाने/नजाने गलफतीमै बिहानको ८ बजिसकेको थियो।
एक स्थानीय भाइलाई गाइड गर्न अनुरोध गरेँ । केही इनर्जी बार, स्याउ, पानी र ड्राई फुड तुलजीले सानो झोलामा हालिदिनु भएको रहेछ बोकेँ। निस्कँदै थिएँ त्यसैबीच साथी अभिले भने, ‘म पनि जान्छु पर्खनुहोस्।’ अन्त्यमा हामी २ जना मुर्मा टपको यात्रामा लम्कियौं।
२५ मिनेटको हिँडाईमै मुर्मा टप जाने बाटो थाहा नभएर अल्मलियौं। हामीसँग गएको गाइड नै अलमलिए र बाटोमा गाई चराईरहेकी आमालाई सोध्न पुगे। हामी पनि अल्मलियौं- कतै यो भाइ नै नयाँ त होईन।
भाइले हामीलाई छोटो बाटो भनेर जंगल तिरको बाटो लगे। जति उक्लियो उती घना जंगल र सानोतिनो गाई बाख्रा हिँडेको जस्तो देखिने बाटेको डोब पनि देखिन छोड्यो। हामी जंगलको झाँडी पन्छाउँदै अगाडि बढ्यौं।
मैले रिसाएर गाईड भाइलाई भने, ‘तिमीले बाटो चिनेको छैन कि के हो?’ उनले भने ‘म त कहिले नि गएको छैन।’
मैले प्रतिप्रश्न गरेँ, ‘अनि किन गाइड गर्छु भनेर आएको त?’ उनले जवाफ दिए, ‘सिधै बाटो होला, बाटैबाटो जाने होला जस्तो लाग्यो अनि भन्दिएँ।’
साथी अभि र मैले हाँसो थाम्न सकेनौं र मजाले हास्यौं। हाँसो त एकछिनमा सकियो विस्तारै अब मुर्मा डाँडा जाने कुराले चिन्तित बनायो। त्यो सोझो गाइड भाइप्रति पनि दया लाग्यो। १००० रूपैयाको लागि उनले झुट बोलेका थिए।
हामी हराईसकेका रहेछौं, लगभग जंगलको बिचमा पुगिसकेछौं। झाडी पन्छाउँदै गर्दा हामीलाई रारादेखि नै पिछा गरेको कुकुरले कालिजको गन्ध भेटेछ र झाडीमै कालिजलाई आक्रमण गर्यो। अभिले कुकुरसँगै कालिज समाउन कोशिस गर्दागर्दै २ वटा भागे।
झाडीमा अरू कालिज खोज्दै गर्दा २ वटा कालिजको बच्चा भने अभिले समाउनुभयो। हामी त्यहीँ बच्चा समाएर रमाउन पुग्यौं। हामी हराएको झण्डै १ घन्टा भईसकेको थियो।
यतिकैमा हामीसँग गएको कुकुर अगाडि बढ्यो हामी पनि उसकै पछि लाग्यौं । एकछिनमा माथि एक झुपडी जस्तो घर देखियो र हामी ढुक्क भएर त्यहीँ घर तिर लाग्यौं।
घरमा एक जना आमालाई देख्यौं र मुर्मा डाँडा जाने बाटोको बारेमा सोध्यौं। उहाँले उल्टो बाटो आएको भन्दै हामीलाई गाली गरेर सही बाटो देखाइदिनुभयो। हामी आमाले भने अनुसार अघि बढ्यौं। तर ५ मिनेट मै फेरि हरायौं। फेरि फर्केर आमा भएतिरै आयौं र बाटो देखाईदिन आग्रह गर्यौं।
उहाँ करिब ६५ वर्षको जस्तो देखिनुहुन्थ्यो। उहाँले दमको रोगी छु धेरै हिँड्न सक्दिनँ स्याँ स्याँ हुन्छ’ भन्नुभयो। त्यसपछि साथी अभिले रारानै फर्कन जोड गर्न थाले।
मैले आमालाई यो जंगलबाट मुख्य बाटोसम्म पुर्याउन आग्रह गरेँ। केही खर्च दिने बाचा गरेपश्चात आमा तयार हुनुभयो र हामीलाई बाटो देखाउन थाल्नुभयो।
आमाले हामीलाई आधा घन्टाको बीचमा मुर्मा डाँडा जाने मुर्मागाँउको मुख्य बाटोमा पुर्याउनुभयो र उक्त मुख्य बाटो नछोडी अगाडि बढ्न अनुरोध गर्नुभयो। मैले ३०० रूपैयाँ आमालाई दिएँ। उहाँ खुशी हुँदै घर फर्कनुभयो।
बाटोको बीचमा आमाले बँदेल, भालुलगायत जंगली जनावर हिँडेको खुट्टाको डोभ देखाउँदै भन्दैहुनुहुन्थ्यो- ‘जंगलमा कहिलेकाँ भालुले आक्रमण पनि गर्छ, यसरी जंगलको बीचमा नजानू, बाटो बाटो मात्र हिँड्नू।’
साथी अभि र मैले मुखामुख गर्यौं र आमालाई धन्यवाद दियौं।
अभिको यो पहिलो लामो हाईकिङ रहेछ। मुर्मा डाँडाको यो उकालो र लेकको कारण उहाँलाई गाह्रो भईरहेको थियो। तर मैले उहाँलाई तानिरहेको थिएँ। अन्ततः दिउँसो १ बजे मुर्मा डाँडामा पुग्यौं।
जति अभिलाई त्यो उकालो गाह्रो भएको थियो त्यतिनै डाँडामा पुगेर राराको त्यो सुन्दरता नियाल्न थालेपछि आनन्दित हुनुभयो। हामी दुबै त्यो राराको सौन्दर्यको आनन्द लिँदै क्यामेरामा उर्तान लाग्यौं।
चारै तिर बादलले धेरिएको त्यो मुर्मा डाँडामा हामी ३० मिनेट बितायौं । घाम त लागेन तर रारालाई झण्डै ५/५ मिनेटमा बादलले दुई तिरबाट छेक्ने अनि फेरि बादल फाट्ने गर्दथ्यो। लाग्थ्यो त्यहाँ दुई तिरको बादलको लडाईँ चलिरहेछ।
बादलको ढोका खुलेपछि हामी फोटो खिच्दथ्यौं। फेरि ४/५ मिनेटलाई बादलको ढोका बन्द हुन्थ्यो। हामी आरम गर्थ्यौं अनि फेरि ढोका खुल्थ्यो तब फोटो खिच्न शुरू भइहाल्थ्यो।
यो क्षणको आनन्द सायद मैले यहाँ शब्दमा व्यख्या गर्न सक्दिनँ। जीवनभरलाई यो सम्झना मन मस्तिकमा कैद गरेर हामी छिट्टै साथीसँग खाना खान पुग्ने गरि मुर्मा डाँडाबाट फर्कियौं। केही क्षणमै पानी पर्न थाल्यो। बादले पुरै घेर्यो।
प्रकृति कति दयालु छिन भन्ने मैले धेरै चोटि महसुस गरेको छु। हामीले मुर्मा डाँडाबाट हिमाल र कर्णालीको थुप्रै जिल्लाको अद्भूत दृश्य त हेर्न सकेनौं तर राराको त्यो मनमोहकतालाई नियाल्न पाएकोमा प्रकृतिलाई धन्यवाद दिँदै रारामा हामीलाई कुरिरहेका साथीलाई भेट्न मुर्मा गाँउको मुलबाटोबाट अगाडि बढ्यौं।
हेर्नुहोस् केही थप तस्बिरहरू