केही घन्टाको लागि,
तपाईं वाईफाई र ईन्टरनेटको सुविधाबाट टाढा हुनुपर्नेछ।
मोबाईल हेरिरहन समय हुनेछैन, ब्याट्री पावर सिमित हुनसक्छ।
फेसवुक, युट्युव् लगायत सामाजिक सञ्जाल पनि अलि टाढा हुनेछ।
तपाईँको अगाडि टि.भी. र ल्यापटप त पक्कै हुनेछैन।
तपाईंको अगाडि चाहेको मिठो र तातो खाना हुनेछैन।
सिमित चिसो खाना र पानी जोगाई राख्नुपर्ने हुनसक्छ।
बस्नको लागि मेच, कुर्सि, टेवल र सुत्न खाट त पाईने छैन।
लगाएको एकसरो लुगा फोहोर भए वा भिजेमा विकल्प हुनेछैन।
जुत्ता फोहर भएमा, भिजेमा त्यहिँ लाउनुको विकल्प पनि छैन।
चर्को घाम, हावा-हुरी र पानी परे ओत लाग्ने कुनै घरगोठको सम्भावना न्युन हुनेछ।
जे भए पनि,
तपाईँसँग अनगिन्ती साथीका रूपमा,
ती थरि-थरिका गोरेटाहरु, अग्ला होचा-रूखहरु,
रङ्गिन फूलहरु, साना-ठुला झरनाहरुसँग सँगै हुनेछन्।
ती गोरेटोहरुले तपाईलाई एक्लो छोड्ने छैनन्।
ती अग्ला रुखहरुले छहारी दिन ईन्ची कञ्जुस्याई गर्ने छैनन्।
थरी थरीका फूलहरु लामवद्ध मुस्कान सहित बाटोमा स्वागतका लागि उभि नै रहनेछन्।
सुन्दर वुँद सहितका झरनाहरु निरन्तर शितल र मधुर भावमा तपाईसँग झुकिरहने छन्।
थकाईमा ओराली र फूर्तिमा उकालीहरु तपाईकै खुट्टामा समर्पण भईरहनेछन्।
ती निष्पट एकान्तमा तपाईँ पुग्दा नपुग्दै खुशीले झ्याँउकिरीहरु लगातार गीत गाईरहनेछन्।
कहिले शितका अनि कहिले पानीका थोपाहरु आकाशबाट वर्सिरहनेछन्।
कहिले हुस्सुका मुस्ला त कहिले शितल हावाले तपाईलाई शितलता वाँडिरहनेछन्।
पैसा-आनाको क्षेत्रमा गुम्सिएको मनले अनगिन्ती रोपनी-विघालाई आफ्नै महशुस गरिरहनेछन्।
नुवाकोट- शिवपुरी हाईकिङ, हाईक फर नेपालको साथमा गुर्जेभञ्ज्याङ्गबाट-
‘सबै फूलका एकैनासका कोपिला हुँदैनन्,
फलेका फल पनि कतिपय पोटीला हुँदैनन्।
यस्तै रैछ सन्सार नि मानव मानवमा भिन्नता,
धेरै निम्सरा हुन्छन्, सबै जोसिला हुँदैनन्।।’
मिति २०७८ भदौ ५, शनिबार नुवाकोट-शिवपुरी हाईकिङ आयोजक ‘हाईक फर नेपाल’ का सदस्यमध्येको सन्तोष पौडेलजीको जोशिलो भावना मिश्रित मुक्तक सहित टोखास्थित गुर्जे भञ्ज्याङबाट बिहान करिब ८:३० बजे शुरु भएको थियो। रूट गुर्जेभञ्ज्याङ (टोखा-झोर झरनाबाट माथि)-अल्छे-छापगाँउ-विष्णुद्वार हुँदै पानीमुहान (बुढानिलकण्ठ) रहेको थियो। नौ वर्षकी सानी आशुना घले सहित विभिन्न उमेर समूहका २२ जना महिला, ३६ जना पुरूष र चार गाईडसहित ६२ जनाको समूह त्यो करिब २२ कि.मी.,१० घन्टे जङ्गली वाटो हिँड्न तम्सिसकेका थिए।
शिवपुरी डाँडाको उत्तरी भागमा तेर्सो खनिएको कच्ची बाटोमा थरि थरिका झरनाहरू, फूलहरू र चराचुरिङ्गिको आवाज र त्यसमाथि विभिन्न कोणबाट अन्जानमा आक्रमण गर्ने थरिथरिका जुकाहरु अनुभुत गर्दै करिव १२:३० बजे अल्छे पुगेर आफूले साथै बोकेको लन्च खान थाल्यौं। त्यहाँ अवस्थित कञ्चन झरना सहितको खोल्सीको पानी कम्ति चिसो थिएन, यथापि हाईकर्सहरु त्यो खोल्सी र पानी छोड्न सजिलै तयार भएनन्।
त्यहाँबाट करिब १:०० बजे हामी कच्ची बाटो छोडेर दक्षिण तर्फको खुड्कीलो ठाडो बाटोबाट शिवपुरीको उकालो चढ्न थाल्यौं। चिसो र हुस्सु सहितको करिव अंध्यारो वातावरणमा ठूला, पुराना भिन्न वृक्षबीच उकालो लाग्दा ती नै झ्याँउकीरीको कर्कश गीत र खोल्सी, झरनामा पानी रमाईरहेको ध्वनी एकतमास गुञ्जिरहेको थियो। बाहिरी चिसोलाई शरीरको तातोले जित्दै पसिना फ्याँक्न बाध्य पारिरहेको आभास हुन्थ्यो, आफैंलाई। करिब ३:०० बजे तिर चन्द्रागिरि पास (भञ्ज्याङ) मा पुगेपछि बाक्लो हुस्सुकै बीच केही चिसोलाई छेक्न थप ज्याकेट, लुगा थपेर पश्चिम-दक्षिण तेर्सिएको एकोहोरो ओरालो झर्न थालियो।
हामी मनुष्य ‘जे अगाडि छ, त्यही गाह्रो, उही साह्रो’ भने झैं, अघिसम्म उकालोमा सकस, ओरालो आएपछि झनै खुट्टा-घुँडामा सकस। जे होस ४:०० बजे तिर विष्णुद्वार पुग्दा त्यहाँको विष्णुमतिको मुहानमा कल्कलाएको स्वच्छ पानीको वहाव, सँगै गुफामा रहेको शिवलिङ र वुद्ध प्रतिमा एकसाथ देख्दा श्रद्धाले भाव विह्वल हुन पुग्दोरहेछ। त्यहाँको प्राकृतिक रस्वासदन पश्चात ओरालिँदै करिब ६:०० बजेतिर वुढानिलकण्ठस्थित पानीमुहान व्यारेकद्वारमा आईपुगि रिजर्भ बसबाट आ-आफ्नो घर फर्कन थाल्यौं।
शारीरिक, मानसिक र सामाजिक सन्तुलनको लागि नियमित हाईकिङ
वास्तवमै, सम्पूर्ण शारीरिक चुस्तता तथा र तौल नियन्त्रणका लागि,
ब्लड प्रेसर र मुटुको चाललाई सन्तुलन गर्नको लागि,
स्वयमलाई सृजनात्मक र कलात्मक बनाउन को लागि,
सम्पूर्ण शरीरलाई उर्जाशिल चुस्त बनाउनको लागि,
मानसिक स्वास्थ्य चुस्त बनाई खुशी सहित अनुहारमा मुस्कान ल्याउनको लागि,
सामाजिक जीवनमा सन्तुलनको लागि र प्रकृतिसँगको साक्षात्कार अनूभुत गर्नको लागि हाईकिङ महत्वपूर्ण पाटोको रुपमा लिन सकिन्छ।
र, अन्त्यमा,
सँधै घर, परिवार, व्यवसाय, कार्यालय, उहि दैनिकी, अनि उस्तै समस्याहरु बीच खुम्चिएको आजको अनावश्यक अस्तव्यस्ततालाई केही घन्टाको लागि भए पनि विर्सेर प्रकृतिसँग हराउन पुग्दा आफ्नो शारीरिक, मानसिक र सामाजिक स्थितिलाई मन भित्रैबाट नियाल्न सकिन्छ। आफूले आफूलाई चिन्ने मौका पाईन्छ। परिवर्तनको आवश्यकता महशुस गर्न सकिन्छ। स्वास्थ्यको लागि, मानसिक चुस्तताको लागि सामाजिक सदभावका लागि पनि महत्वपूर्ण रहने सामूहिक हाईकले नजिकबाट आफू सँगै, प्रकृतिलाई नियाल्ने प्रयास गरौं। आउनुहोस्, नियमित हाईकिङ गरौं।
धन्यवाद, हाईक फर नेपाललाई, निरन्तर १३९ औं नुवाकोट-शिवपुरी हाईकिङको लागि।
(फोटो संकलन- हाईक फर नेपाल र हाईकर्सबाट)
हेर्नुहोस् तस्बिरहरू