जागरिको सिलसिलामा नुवाकोट आउनुपूर्व नै जसरी भए पनि गोसाइँकुण्ड पुग्ने मेरो अभिलाषा मृगतृष्णा जस्तै थियो। गोसाइँकुण्ड रसुवा जिल्लामा पर्ने, रसुवा र नुवाकोट सिमाना जोडिएको जिल्ला भएकोले दुरीको हिसाबले काठमाडौंबाट धाउँदाभन्दा नजिक पर्ने भएकोले नुवाकोट आएपछि त्यो तृष्णा अझ बढेर गएको थियो।
गत वर्ष पनि कोरोना कहरका कारण मनसुवा पूरा गर्न सकिएको थिएन। खाने मुखलाई जुँगाले छेक्दैन भने झैं डररुपी जुँगा पन्छाएर यसपालि भने कोरोनाको त्रास हुँदाहुँदै पनि जाने निधो भयो। छ जनाको टोली भएको हाम्रो समूह २०७८ वैशाखको पहिलो हप्ता गोसाइँकुण्ड यात्राको लागि साथमा लैजानुपर्ने समानहरू न्यानो ज्याकेट, थर्मल, पानीका बोत्तल, छाता, चकलेट र केही अदुवा-लसुन तथा औषधी बोकेर प्रस्थान गरियो।
बिहान आठ बजे नुवाकोटको सदरमुकाम विदुरबाट बिदा हुँदै प्रस्थान गर्ने क्रममा बिदुरबाट धुन्चे, रसुवागढी जोड्ने पासाङल्हामु राजमार्गसँगै रहेको शुभघाट भन्ने स्थानमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह र योद्धा काजी कालु पाण्डेको शालिक राखिने कुराले छेवैको त्रिशुली अटुट रुपमा बगेजस्तै यसरी नै राष्ट्रियताको भावनाले निरन्तरता पाइरहोस् भन्ने लाग्यो। मैले नुवाकोटबासीलाई यस कामको लागि अन्तरआत्मादेखि नै नमन पनि गरें।
यसरी नै अघि बढ्ने क्रममा वेत्रावती नदी पुग्नु दुई किलोमिटर अगाबैबाटै नजिक बायाँतर्फ रहेको ऐतिहासिक दुई बडे बडे ढुंगामा नजर पुग्यो। वि.सं. १८४९ मा नेपाल-चीनबीच सन्धि हुँदा यही ढुंगामा बसेर गरिएको रहेछ। स्थानीय सरकारले यसलाई त्यति महत्वका साथ हेरेको जस्तो लागेन। यसलाई प्रचार-प्रसार गर्न सके स्थानीय पर्यटनमा केही टेवा पुग्न सक्ने देखिन्थ्यो।
नुवाकोट र रसुवा जिल्लाको सिमाना वेत्रावती नदी पार गर्दै कालिकास्थानमा साढे ९ बजेतिर चिया चमेना लिई रसुवा जिल्लाको सदरमुकाम धुन्चे प्रस्थान गर्यौं। वर्षौंदेखिको अभिलाषा पूरा हुने उमंगमा वसन्तको कोकिलले अझ ऊर्जा थप्दै थियो। म माथि थपिएको उत्सुकतामा मनभरिको अभिलाषाले गाडीको कर्कस आवाज पनि वसन्तको पालुवामा रमाएको मेरो मनलाई छुन सकेन। यस्तै मनभरिको खुल्दुली र सहकर्मी साथीहरूको तिलस्मी गफले धुन्चे पुग्दा मध्यान्हको १२ बजेको पत्तै भएन।
मध्यान्हको खाना पछि केहीबेर आराम गर्ने क्रममा त्यहाँको वस्तुस्थिति पनि बुझियो। हामी समुन्द्र सतहदेखि १९५० मिटर माथि रहेछौं।
रसुवा जिल्ला, बाग्मती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा कम वडा र कम जनसंख्या तथा नगरपालिका नभएको जिल्ला हो। यसको सदरमुकाम धुन्चे हो। धुन्चेको स्थानीय पुरानो नाम ‘टुङ्लांहाङ’ हो। जसको अर्थ शंखको धुन बजेको तरंग भन्ने बुझिछ। त्यही धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे ,रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिने रहेछ।
स्थानीय तामाङ भाषामा भेडाच्याङग्रालाई ‘र’ र चरन क्षेत्रलाई ‘सोवा’ भनिँदो रहेछ। त्यही ‘र’ र ‘सोवा’ शब्द अपभ्रंश भएर ‘रसुवा’ उच्चारण बढी प्रचलनमा रहेकोले यस जिल्लाको नामाकरण रसुवा नै रहन पुगेछ।
उत्तरबाट हान्निएर आउने भोटेकोशीको त्रिशुलीसँग जम्काभेट हुने ठाउँ पनि धुन्चे नै रहेछ। पूर्वउत्तर दिशाबाट अंकमाल गर्दै त्रिशुली नदी छेवैबाट बग्दै थियो। त्यसको कलकल आवाजले स्वागत गीत गाइरहेको भान हुन्थ्यो। नियालेर हेरें। सायद पहिलोपटक भएर पनि होला मनमा कता-कता अत्यास पनि लाग्यो। मनलाई सम्हालें। युद्धमा गएको सिपाहीजस्तो मिसन जसरी पनि पूरा गर्नुपर्छ भनी मन दह्रो बनाएँ। डरलाई भोग्न आएकै हौं। डरलाई छिचोल्न सके सबैभन्दा रमाइलो यसैमा हुन्छ।
मिशन पूरा गर्ने अभिलाषामा कौतुहलताका पाइलाहरू आफैं-आफैं गतिशील भइदिँदा रहेछन। गन्तव्यतर्फ धुन्चेबाट करिब दुई किलोमिटर अगाडिसम्म हल्का गाडी जान सक्ने हुँदा ज्यानलाई थोरै भए पनि हल्का महसुस भएको पाएँ।
गन्तव्यमा त पुग्नु नै थियो। मन जति गह्रौं भए पनि पाइला दहे टेक्नु नै थियो। गाडीबाट ओर्लिएपछि प्रस्थानको शुभ साइतमा मोबाइलबाटै भए पनि एक टेक लियौं। हाम्रो समूहमा हामी एक अर्काको सहारा त छदै थियौं, प्रत्येकको साथमा अर्को सहारा पनि थपियो। त्यो थियो धुन्चेबाट प्रस्थान बिन्दुभन्दा अलि पर किनिएको लठ्ठीको सहरा। कुनै बेला एउटा परिस्थिति यस्तो पनि आउँदोरहेछ, के प्राणी के निर्जीव साथ सबैको चाहिँदो रहेछ।
त्यहाँबाट गफिँदै लाग्यौं गन्तव्यतिर। केहीबेरको हिँडाइपछि बगिरहेको त्रिशुलीमा अस्थायी पुल पार गरी पूर्वतर्फ मोडियौं। हिउँदको याम भएर होला, त्रिशुली पुलको सहाराबिना नै तर्न सकिने सानो नदीको रुपमा कलकल गरी बगिरहेको थियो। त्यहाँबाट केही पर पुगेपछि महादेवको सानो मूर्तिसहितको पोखरी रहेछ। त्यसलाई मिनी गोसाइँकुण्ड भनिँदो रहेछ। यो ठाउँ गोसाइँकुण्ड पुग्न नसक्नेका लागि त्यहीँ नुहाएर मनको सान्त्वना लिने ठाउँ रहेछ।
थोरै विश्रामपछि गन्तव्यतिर मोडिने क्रममा त्यहाँबाट केहीबेर ढलानयुक्त गोरेटो बाटोको केही तेर्सो हिँडेपछि उक्लँदैको मुख्य उकालोको बिसौनीमा रहेको प्रतिक्षलयमा हामीले आफ्नै प्रतिक्षाको घडी केही समय बितायौं।
उकालो लाग्ने क्रम केहीबेरको विश्रामपछि फेरि सुरू भयो। अब ती गह्रौं पाइलाहरू जति चुलिँदै गए, उति ती टेकिएका ठाउँहरू दह्रो हुँदै गएको अनुभूति हुन थाल्यो। सहपाठीहरूको खुसी मिश्रित झल्किएको भावले पनि मेरो मन केही हल्का बनाएको अनुभूति हुन्थ्यो। हाम्रा पाइला जति अघि बढ्थे, उति युद्ध जित्दै छौं जस्तो लाग्थ्यो।
जीवन भनेको फूलैफूलको बीच मात्र पनि भुल्न नहुने रहेछ। काँडैकाँडाबीच पनि फुल्न सक्नुपर्ने रहेछ। अनि दुबैको मिश्रित अन्योयाश्रित सम्बन्धबाट मात्र जीवन हुनुको छुट्टै यथार्थ अनुभूति हुने रहेछ। संघर्षपछिको विश्राम नै सबैभन्दा आनन्दिय स्वर्ग रहेछ। दिनभरि चौतारीमा सुतिरहनेलाई त्यो चौतारो पट्यारलाग्दो बन्न सक्छ तर त्यही चौतारी थकित बटुवाको लागि बरदान साबित हुँदोरहेछ। त्यसैले जीवनमा कोही निराश छन् भने उसले त्यसबाट मुक्तिको लागि आफूलाई सधैं क्रियाशील राख्नु जरुरी छ। मुक्ति, देवतालाई पूजा गरेर हैन, उसलाई साक्षी राखेर आफैंलाई क्रियाशील बनाउँदा पाइने उन्मुक्ति रहेछ।
सहयात्रीको तिलस्मी गफमा चरीको चीरवीर आवाज र उचाइ लिने क्रममा हावाले आफ्नो विषेशता थप्दाको रोमाञ्चित यात्राले दुई घण्टाबढीको उकालो चढेर देउराली पुगेको पत्तै भएन। बीचमा रहेको होमस्टे र सेनाले बनाएको प्रतिक्षालयले थकाइलाई थोरै भए पनि राहत दिएको महसुसले बेलाबेलामा आनन्दको ज्वारभाटा तरंगित हुन्थ्यो। ३०-३० मिनेटको फरकमा फोहर मलाई भन्ने डस्टविन देख्दा सेनाको यो लगायत सबै काम प्रशंसनीय नै लाग्थ्यो।
स्रोत र साधनले नै हाम्रा जनशक्तिहरूलाई दक्ष बनाउने हो भने फोहोर टिप्न आउने निहुँमा एनजिओ, आइएनजिओले देशका विभिन्न स्थानमा अनावश्यक प्रवेश गरी हाम्रो नाडी छामेर गोप्य सूचना बाहिर लैजाने अवसर पाउँदैनथे।
गोसाइँकुण्ड मेला भर्ने विषेश समय नभएर होला, होटलमा खाना बस्नको कुनै समस्या भएन। यही समय नै उपयुक्त लाग्यो। न झरी न बादल, न जाडो, न त जुका लाग्छ भन्ने नै डर। नत पहेंला फूल फुलेर लेक लाग्छ भन्ने नै चिन्ता। हामी त्यस्तै ४:३० मा देउराली पुगेका थियौं जुन समुद्र सतहबाट २६५० मिटर उचाइमा अवस्थित थियो। थकाइले लखतरान थियौं। विश्रामपछि साथमा लगेका ड्राइफुडहरू झिक्यौं, चिसो पानीका साथ भोक,तिर्खा र थकाइ सबै मेट्यौं।
ढकमक्क फुलेका प्राय सेता गुराँसले वसन्तको आगमनको झल्कोमा पूरै वन सजाएर दुलही झैं सिंगारेको थियो। हामी पनि क्यामराको पर्दाभित्र उस्तै सिंगारिएका थियौं। त्यहाँबाट देखिने बेलुकीपखका उत्तरतिरका हिमालले सुनका दाँतजस्तै खिस्स हाँसेर हाम्रो स्वागतमा उभिएको भान हुन्थ्यो। दिनभरिको ताप र रापले थकित सूर्य देवता पश्चिम डाँडाबाट त्यही सुनौलौ रंगसँगै बिदाइ हुँदै थिए।
भोक तिर्खा र थकाइपछिको क्षणिक मुक्तिपछि ऊर्जाको सञ्जीवनीमा हामी र हामीजस्तै अभिलाषा बोकेर आएका अरू सहयात्री साथीहरूबीच पनि गफिँदै गोधुली साँझ रोमाञ्चित बनाउँदै लग्यौं। रमाइलो खानपानपछि दिनभरिको थकाइलाई आराम दिन हामी निद्रादेवीको शरणमा लाग्यौं।
भोलिपल्ट बिहान साबिक समयभन्दा अलि चाँडै नै उठियो। मनमा एउटा लक्ष्य बोकेर हिँडेपछि सधैं झैं पिरोल्ने निद्राले पनि कहिलेकाहीँ झकझकाउँदो रहेछ। सधैंजसो घामको किरणमा मात्र ऊर्जा पाउने ती हाम्रा दैनिकी आज भने समुद्रमा उठेको बेजोड मनरुपी छालले प्रहार गरेजस्तो लाग्यो। गन्तव्यविहीन भएपछि नै मानिसलाई रोग, शोक, चिन्ता र आलस्य सबैले एकैसाथ गाँज्दो रहेछ।
संघर्षले पाठ सिकाउने रहेछ भन्ने शिक्षाले पनि हिजोका थकाई बिर्संदै गएँ र अब हुने कठिनाइलाई पनि बरदानको रुपमा लिन्छु भन्ने दरिलो मन बनाएँ। बिहान ७ बजे नै हिँड्ने तर्खर भयो। यात्रामा अरू यात्रीले पनि साथ दिने कुराले थप रोमाञ्चित बनाउने नै भयो। मेरो सामुन्ने अघिल्तिर जीवनमा मैले नचढेको पहिलो उकालो थियो। हामी सबै गफिँदै जाने क्रममा हिजोको अप्ठ्यारा दोहोरिएजस्तो लागेन मलाई।
उकालो चढ्ने क्रममा दायाँ-बायाँ चन्द्रमुहारजस्ता देखिने सेतागुँरासका फूलले उत्तिकै स्वागत गरिरहेका थिए र हामी हाम्रो क्यामराले त्यसलाई चुम्बन गरिरहेका हुन्थ्यौं। यिनै गुराँसहरू आयुर्वेदीय हिसाबले पनि उत्तिकै महत्वका हुँदा रहेछन्। विशेषगरी रातो गुराँसको जुसको सेवनले कलेजो, मिर्गौला, हृदय रोग, हड्डीको दुखाई, उच्च रक्तचाप नियन्त्रणको साथै घाँटीमा कुनै खाने कुरा अड्किएको बेला सेवन गर्दा समेत ठिक हुने जनविश्वास रहेछ।
प्राकृतिक र आयुर्वेदिक दुबै हिसाबले महत्वपूर्ण मानिएको लालीगुराँसले सर्वप्रथम २०१९ साल पुस १ गते जारी तत्कालीन संविधानमा नेपालको राष्ट्रिय फूल हुने सौभाग्य पाएछ। ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस फूलेको देख्न पाइने अवसर पनि हामी नेपालीमा रहेछ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मिटर अग्लो सो लालीगुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको रहेछ। नेपालमा सबैभन्दा धेरै २८ प्रजातिका गुराँस भने पूर्वी जिल्लाका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको तीनजुरे, मिल्के भन्ने स्थानमै देख्न पाइँदो रहेछ।
गोसाइँकुण्डमा निस्केका यसै समयका सबै यात्रीहरूलाई यसरी नै स्वागत गरिरहँदो हो, यहाँका चराचर जगतले।
एकाधबाहेक सधैंजसो कंक्रिटमा नजर परिरहने यी हाम्रा नयनहरू ढकमक्क फुलेका गुराँस लगायतको प्राकृतिक छ वटाभित्र विचरण गर्ने क्रममा खुबै लालायित थियो। तिनै प्राकृतिक छ वटाभित्रको सहेलीसँग रम्दै चन्दनवारी आइपुगेको पत्तै भएन। त्यतिखेरको समय बिहानको १०:३० बजेको हुँदो हो। चन्दनवारीलाई स्थानीय भाषामा सिङ्गोम्पा पनि भनिँदो रहेछ। यहाँको चिज धेरै प्रसिद्ध रहेछ। त्यहाँ त्यस्तै पाँच सात वटा राम्रा होटलहरू पनि देखें।
वातावरण मन छुने खालको थियो। केही पर डाँडामाथि निकुञ्ज सुरक्षार्थ आर्मी पोष्ट पनि रहेछ। चन्दनवारी समुद्र सतहबाट ३३३० मिटर उचाइमा अवस्थित रहेछ। सफा टकटकाउँदो सेता कपडाजस्ता बादलका स-साना टुक्रा कतै पर चुलिँदो पहाडसँगै अंकमाल गरिरहेका जस्ता देखिन्थे। घामको रंग उस्तै प्राकृतिक थियो। खाना खानुअघि रमणीय वातारणमा खुला आकाशमुनि सुर्य किरणले दिएको न्यानो तापमा आनन्दको अनुभूति भइरहेको थियो। करिब एक घण्टाको बसाइमा खाना तयार भयो। भोक र उमंग दुबैले होला खाना सधैभन्दा मीठो लाग्यो। भोलि फर्कंदा यही ठाउँमा बस्ने बस्ने निश्चय गर्दे त्यहाँबाट उकालो लागियो।
खाना खानेवित्तिकै विलम्ब नगरी हिँडियो। दिन मध्यान्हको थियो। घामले आतंक फिजाउँदै थियो। त्यो उकालो पहिलेको जस्तो कठिन त थिएन। तैपनि बढ्दो उचाइ लिने क्रममा त्यो आतंकले आगोमा घिउ थप्ने कामले अलि अफ्ठ्यारो महसुस भने गरायो।
हामी हाम्रो यात्रा जारी गरिरहेका थियौं। वरिपरिका वन जंगल र त्यसमा साथ दिने प्राकृतिक मनोरम दृश्यले यात्रा अरु रोमाञ्चकारी बनाउने कामलाई पहिले झैं निरन्तरता दिइरहेको थियो। कोइलीका कूहुकूहू आवाज त्यतिकै कर्णप्रिय थिए। मन्दमन्द चलेको चिसो हावाले जीवनका तीता अनुभूतिलाई पनि पानीमा घुलिएको चिनीजस्तै मीठो मन मष्तिकमा घुलायो। हामीलाई छहारी दिने ती रुखका पातहरू हवाका इसारामा हात हल्लाउँदै हाम्रो सफल यात्राको कामना गरिरहेका थिए।
नि:स्वार्थ भावमा लीन भएपछि उकाली र ओरालीका अप्ठ्याराहरू पनि हवाइजहाजका यात्राभन्दा सरल र सहज लाग्दो रहेछ। मानसिक थकाई मात्र जीवनको सबैभन्दा ठूलो थकाइ रहेछ भन्ने लाग्यो। केही उकालो उक्लिएपछि अलि सजिलो बाटोले मोड लियो। करिब आधा घण्टाको हिँडाइ तेर्सो भएकोले थकाइमा केही राहत मिल्यो। तेर्सो बाटो सकिएलगत्तै चोलांगपाटी (३६५४ मि उचाइ) स्थित एउटा होटल अगाडिको खुला चउरमा राखिएको काठका खटियाहरूमा ढसमस्स पल्टियौं र बादलले पाइला सार्दै गरेको आकाशमुनि अट्टहासको थकाइ मार्यो। त्यहाँ आफैंले तयार गरेको चटपटे खाएर आधा घण्टाको विश्रामपछि २:३० बजेतिर लौरीविनायकतर्फ उकालो लागियो।
लौरीविनायकको त्यो उकालो सोचेजति त्यति कठिन नभए पनि उचाइ बढ्दै जाने क्रममा अक्सिजनको कमीले पहिलेको ऊर्जामा केही शिथिलताको अनुभव हुन थाल्यो। हिँडाइलाई केही सुस्त बनायौं। २-४ पाइलाअघि सर्दै बस्दै जाने क्रममा हामी ५ बजे मात्र ३९१० मिटर उचाइमा अवस्थित लौरी विनायक पुग्यौं। त्यहाँ हामीसँग जाने सहयात्रीमध्येका केही साथीहरूले होटलमा रुमको व्यवस्था गरिसकेका रहेछन्। आ-आफ्नो कोठामा सामान थन्क्याई हात मुख धोएर आगो ताप्दै तातोपानी पिउन थाल्यौं।
प्रकृतिले पनि आफ्नो दिनचर्या बदल्दै थियो। आकाशमण्डलको वरिपरि कालीनाग जस्ती भएर। ६ बज्दा नबज्दै असिना बर्सन थाल्यो र त्यसको १०-१५ मिनेट नबित्दै बाक्लो हिउँ झर्न थाल्यो। साथीहरू सबै क्यामरामा आफूलाई हिउँमा हराउन थाले। हिउँ अझ बाक्लिएर हाम्रो आगमनमा झन् झन् स्वागत गरिरहेजस्तो लाग्यो।
भोलिपल्ट पनि हिजो अस्तिजस्तै आँखा छिट्टै खुले। र पनि हिउँको चिसो हावाको अगाडि तातो ओछ्यान छोड्न मनले मानेन। राति अबेरसम्म परेको हिउँमा मिसिएको ओसिलो हावा झ्यालको सिसा समेत चिरेर भित्र बाक्लै राज जमाएको थियो। डबल सिरक खापेर सुत्दासमेत रात त चिसोमै बितेको अनुभूति भयो। तर के गर्नु यात्रा टुंगाउनु नै थियो। लक्ष्यले मान्छेलाई कहाँ स्थिर रहन दिँदो रहेछ र? मलाई पनि त्यसले धकेल्न थाल्यो। नित्य कर्मपछि तातोपानी पिएर साढे छ बजे म पनि यात्रामा सामेल भएँ।
हाम्रो यात्रा सुनौलो झुल्के घामसँगै प्रारम्भ भयो। तीन तिरबाट उचालिएका चुचुराहरू हिउँले ढाकिँदा सधैंजसो चन्द्रमामा देखिने गरेको चाँदीको चमक आज आफ्नै धरातलमा छरपस्ट थियो। हामी यिनै दृश्यसहितको क्यामराभित्र कैद हुन थाल्यौं। हामीले माटो टेक्ने अवस्था थिएन। लाग्थ्यो, चाँदीको धरातलमा धर्तीले आत्मीयताको हात फिँजाइरहेको थियो।
महामहमिहरूलाई रातो कार्पेट ओछ्याएर स्वागत गरेको त थाहा थियो। तर किन हो, हाम्रो लागि आज यहाँ प्रक्रृतिले नै चहकिलो नीलो आकाशमुनि सेतो कार्पेट बिछ्याइदिएको छ लमतन्न गरी गोसाईंकुण्डको पोखरीसम्मै। प्रकृतिले हामीलाई जस्तै अरू पैदलयात्रीलाई पनि यसरी नै सत्कार गरिरहुन्।
हामी ४३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्डमा पुग्यौं। हिन्दुहरूका आफ्ना आराध्यदेव शिव, विषले निश्लोट भएपछि जमिनमा गाडेको त्रिशुलबाट गोसाँकुण्ड सिर्जना गरेको विश्वास गर्दा रहेछन्। त्रिशुली नदीको श्रोत पनि यही कुण्ड रहेछ। राष्ट्रिय विभूति काजी अमरसिंह थापाले अंग्रेजसँग भएको सुगौली सन्धपको चोट सहन नसकी प्रायश्चितका लागि यही ठाउँमा तपस्या गर्दागर्दै आफूलाई ब्रह्मलिन गराएका रहेछन्।
गोसाइँकुण्डमा जम्मा १०८ कुण्ड रहेछन्। तीमध्ये हामीले अवलोकन गरेको गोसाइँकुण्डसहित भैरब कुण्ड र सरस्वती कुण्ड हुन्। ती कुण्ड गोसाइँकुण्डको अलि वर बाटैमा पर्ने भएकोले मात्र देख्न सकिएको थियो। गोसाइँकुण्डमा जेठ-असार महिनामा दसहरा मेला र साउनमा जनैपूर्णे मेला भर्न आउनुको साथै बौद्ध धर्मावलम्बीहरू पनि यसलाई पवित्र तीर्थस्थल मान्दा रहेछन्।
गोसाइँकुण्ड पदमार्गबाट मनास्लु, गणेश हिमाल, लाङटाङग हिमाल लगायतका थुप्रै हिउँ चुचुराहरू देख्न सकिने रहेछ। कतिपय पैदल यात्रीहरू सुन्दरीजल, हेलम्बुबाट पनि गोसाइकुण्ड दर्शन गर्न आउँदा रहेछन्। फर्कंदा भने ट्रेकिङका यात्रीहरू हेलम्बु भएर जान रुचाउँदा रहेछन्। हेलम्बु प्राकृतिक सौन्दर्य, सांस्कृतिक अध्ययन र जैविक विविधताको अर्को क्षेत्र हो, जहाँबाट हिमाल र हिमाली जनजीवन नियाल्न सकिने भएकोले पनि पैदलयात्रीको लागि रोजाइको विषय हुन सक्छ। गोसाइँकुण्ड धार्मिक र पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण रहेछ।
अक्सिजनको कमीले हामीमा यात्रा तय गर्ने मार्गमा समस्या त छँदै थियो तर पनि प्रकृति हाम्रो साथमा रहिरहेकोले हामी ऊर्जाशील थियौं। निलो ब्रह्माण्डरुपी छहारीमा तातो किरणले हामीमा ऊर्जा थपिरहेकै थियो। प्रकृतिले हामीमाथि गरेको करुणमा अझ घनिभूत हुँदै कठ्यांग्रिदो चिसो कुण्डमा पनि तीन-तीन पटक डुबुल्की मारी टुंगिन नपाएको अभिलाषाको साथै जीवनमा यस ठाउँको पहिलो चरणको यात्रा सफलताका साथ मनोकांक्षा पूरा गरेकोमा गर्व लाग्यो। यो क्षण युद्ध जितेको योद्धाकोजस्तै अनुभूति भयो। कहिल्यै नगरेको जोखिमपूर्ण काम गर्न सके मात्र जीवनमा साँचो सुख पाइने रहेछ। यसको मुग्धताप्रति मोहित हुँदै फेरि पनि दर्शन गर्ने अवसर मिलोस् भन्दै सफल यात्राको लागि आत्मा र परमात्मा सबैप्रति आभारी भयौं।