काठमाडौं उपत्यकालाई समेट्ने फूलचोकी, चन्द्रागिरि, शिवपुरी र नागार्जुनसहित चार चुचुरामध्ये फर्पिङ-चम्पादेवी-भष्मासुर-चन्द्रागिरिको रोमाञ्चक हाइकिङ केही महिनाअघि मात्र सकेर जामाचो- नागार्जुन हाइक गर्ने पर्खाइ कोभिडको वर्ष २०७७ चैत २८ गते पूरा भयो।
काठमाडौं-बालाजु बाइपासबाट करिब १.५ कि.मि. उत्तरतर्फ त्रिशूली राजमार्गको फूलबारी गेटबाट ४.३७१ कि.मी. ठाडो उकालोको यात्रापछि धार्मिक र पर्यटकीय स्थान जामाचो पुग्न सकिन्छ। जुन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको संरक्षित क्षेत्र हो।
जामाचोको बारेमा किंवदन्ती
स्वयम्भू पुराण अनुसार ९१ कल्प अघि काठमाडौं उपत्यका ठूलो ताल-नागदहको रूपमा रहँदा सप्तबुद्धमध्येको पहिलो रूप विपस्वीले जातमात्रा पर्वत वा नेवारीमा जामाचो (नागार्जुन) चुचुरोबाट कमलको बिज विशाल तालमा प्रक्षेपण गर्दा स्वयम्भू उत्पति भएको किंवदन्ती पाइन्छ।
यसर्थमा जामाचो वा नागार्जुन बौद्ध धर्मावलम्बीहरूको लागि धार्मिक आस्थाका साथै सफा मौसम अनि आकाश खुलेको बेला उत्तरतर्फ सेता लामवद्ध हिमाल र पूर्वमा ऐनाझैं काठमाडौं उपत्यकालाई नियाल्न सकिने भएकोले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य मानिन्छ। यहाँ हरेक वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्ने र दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ।
बनेपा-चप्लेटी शुभ बिहानी समूहको नवौं संस्करणको हाइकिङ तयारी
हाम्रो बनेपा-चप्लेटी शुभ बिहानी समूह करिब ३ वर्षदेखि "स्वास्थ्यको लागि बिहानी हिँडाइ" नारासहित निरन्तर सामूहिक ठूलो संख्यामा सदस्य सहभागी गराई नगरकोट, नमोबुद्ध, पाँचखाल, चम्पादेवी, भष्मासुर, चन्द्रागिरि, वेथानचोक नारायणथान लगायतका रूटमा हाइकिङ गर्दै आएकोमा यो नवौं पटकको जामाचो -नागार्जुन हाइक तय गरी बिहान ५:०० बजेको झिसमिसेमा नै ७२ जनाको हाइकरहरूलाई दुइटा ठूला बसमा राखी काठमाडौं गन्तव्यतर्फ हुइँकियो।
अगाडिका हाइकिङभन्दा फरक रूपमा यो पटक बस यात्रामा हाइकरहरूलाई बसमा सिट प्लान तयार गरिएको थियो।
बिहानै रिजर्भ बसले ट्याक्सीलाई ठक्कर दिँदाको सकस
करिब ७:०० बजे बहान गोङ्गबु बसपार्क नजिकै उत्तरतर्फ विष्णुमती किनारको होटलमा चियाखाजा लिने कार्यक्रम बमोजिम बस अघि बढ्दा सानो बाटो, साँघुरो मोडमा हाम्रो रिजर्भ लामो बसले ट्याक्सीलाई कुच्चिने गरी ठक्कर दियो।
केहीबेरको तनावपश्चात् केही समझदारी र क्षतिपूर्तिको सहमतिपछि सबैजना चियापानमा सहभागी भयौं।
काठमाडौंको भीडभाडमा ठूलो बस रिजर्भमा लिएर हिँड्दा पार्किङ, बस मोड्ने तथा आवतजावतमा राम्रै सकस खेप्नुपर्ने बिहानै अनुभूति भयो।
त्यो दिनको उत्साहपूर्ण हाइकिङको सुरूआत फूलबारी गेटबाट
करिब ८:०० बजे बसले हामीलाई फूलबारी गेटमा पुर्याइदिएपछि बसका चालक दल तथा सँगै आएका खाना तयार पार्ने टिमलाई नजिकको पुरानो गुह्येश्वरी जान अनुरोध गर्दै हामी गेटतर्फ बढ्यौं।
समूह भ्रमणको आधिकारिक निवेदन पत्र पेश गर्दा प्रतिव्यक्ति रू १००।- प्रवेश शुल्क लाग्नेमा केही छुट पायौं।
प्रत्येक हाइकरहरूलाई लाइनमा राखी साथै बोकेको झोलाको चेकजाँच गरी केही निर्देशनसहित निकुञ्ज प्रवेशद्वारमा खटिएका सुरक्षाकर्मीहरूले हामीलाई पालैपालो प्रवेश गर्ने अनुमति दियो।
प्रवेशद्वारसँगै सन्देश अनि सूचनामूलक साइनबोर्डहरू
‘बाहिर जाँदा आफूले खिचेको फोटोभन्दा केही नलग्नु होला,
र निकुञ्जभित्र पाइलाभन्दा अरू केहि नछोड्नु होला।’
यस्तै सन्देशमूलक सूचनाहरूसहितको साइनबोर्डहरूले हाइकर्सहरूलाई निर्देशित यात्राको लागि अनुरोध गरिरहेको थियो।
सो निकुञ्ज क्षेत्रमा ध्वासे, चितुवा, सालक, चरी बाघ, आसामी बाँदरसहित २२ भन्दा बढी स्तनधारी, ३११ पंक्षीहरू र १०२ प्रजातिका पुतलीहरू पाइने जानकारी पनि पाइयो।
खुड्किलासहितको ठाडो उकालो
हाइकिङको सुरूआत नै अग्ला अग्ला रूखहरूको बीच तेर्सिएका ठाडो उकालोमा बनेका खुड्किलाहरूबाट भयो, जुन प्रथमत: चुनौतीको रूपमा रह्यो।
सामूहिक फोटो अनि गफिँदै सुरू भएको हिँडाइ साविकमा भन्दा केही मन्द गतिको रह्यो।
करिब ४५ मिनेट जतिको उकालोपश्चात् पहिलो चेकप्वाइन्टमा पुग्दा त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले सहज यात्राको लागि निर्देशन दिए। सोपश्चात अघि बढ्दा केही सहज तेर्सो बाटो फेला पार्यौं। त्यहीँ सँगै एउटा बोर्डमा अंग्रेजीमा लेखिएको थियो-
‘नेचर डजनट निड पिपुल,
पिपुल निड नेचर’
जामाचो बेसक्याम्प र सामूहिक नाचगान
करिब २ घन्टाको जङ्गल बीचोबीच उकालो हिँडाइपश्चात एउटा खुला चौरजस्तो स्थान आइपुग्यो, त्यसलाई हामीले जामाचो बेसक्याम्पको रूपमा चिन्यौं।
जहाँबाट दक्षिण-पूर्वतर्फ काठमाडौं उपत्यकालाई चियाउन र नियाल्न सकिने रहेछ, भने पश्चिम टुप्पोमा जामाचो गुम्बालाई हेरेर आकलन गर्न सकिने रहेछ।
झण्डै यात्राको मध्यान्तर बिन्दु हो कि? भन्ने सो स्थानमा केही व्यक्तिहरू आराम गर्न मिल्ने गरी काठ र जस्ताको विश्रामस्थल बनाइएको रहेछ। त्यहाँ भेटिएका भिन्न समूहका केही युवाहरूसँग सामूहिक भलाकुसारीपछि नाचगान पनि गरियो।
रमाइलो सो स्थानको वरपर विविध आकृतिका ढुंगासँगै सामूहिक फोटोहरू पनि लिइयो।
जामाचो गुम्बा र भ्यु-टावरबाट दृष्यावलोकन
करिब ११:३० बजेतिर जामाचो टुप्पामा पुग्दा छुट्टै आनन्द आउने रहेछ। त्यहाँ चुचुरोको बीचमा गुम्बाहरू, पाटीहरू र पूर्वतर्फ कलात्मक गोल भर्याङ्गसहितको आकर्षक भ्यु-टावर रहेछ, भ्यु-टावरमा त्यतिबेला घुइँचो नै थियो। त्यहाँ स्वदेशीहरूसहित केही विदेशी पर्यटकहरू पनि देखियो।
कोही धार्मिक उद्धेश्यले गुम्बाको दर्शन, आस्थासहित दीप प्रज्वलन गर्दै गरेको पाइयो भने कोही त्यहाँबाट चारैतिरको दृश्य हेर्दै, क्यामेरामा कैद गर्दै प्रकृतिको रस्वासदन गरिरहेको पाइयो।
काठमाडौं उपत्यका त्यहाँबाट सुन्दर देखिने रहेछ। केही तुवाँलोको कारणले हिमाल र टाढाका पहाडहरूलाई मधुरो बनाइरहेको थियो।
केही समूह मिनिबस रिजर्भ गरेर, कोही सानो गाडीमा र कोही मोटरसाइकलबाट करिब १८ कि.मि. को कच्ची मोटरबाटो हुँदै जामाचो चुचुरोमा आइपुगेको पनि त्यहाँ भेट्यौं।
हाइकरबीच सामूहिक परिचय
खाजा खाएपश्चात केहीबेर गुम्बा, टावरको भ्रमण गरियो। सोपश्चात् हाइकिङमा बनेपा, काठमाडौं तथा पोखरादेखि सहभागिता जनाएका सदस्यबीच परिचयको कार्यक्रम दुर्गा रंजितकारले गर्नुभयो।
नाम, ठेगाना र पेशा विवरण सहितको परिचयात्मक कार्यक्रमले सहभागीबीच आत्मीयता र नजिकपन बढाउन मद्दत गर्यो। सोपछि टावरसँगैको खुड्किलामा सबै जनाको सामूहिक फोटो पनि लिइयो। करिब १:३० बजेतिर त्यहाँबाट हामी तल ओर्लन सुरू गर्यौं।
पुरानो गुह्वेश्वरीमा सामूहिक रमाइलो कार्यक्रम
करिब ३:०० बजेतिर खुट्टामा विशेष दबाब महसुस गर्दै निरन्तर ओरालो झर्दै पुन: फूलबारी गेट आइपुग्यौं। त्यहाँबाट केही मिनेट पर रहेको पुरानो गुहेश्वरी मन्दिरमा पैदल नै पुग्यौं। त्यहाँ हाम्रो गाडी सहितको टोलीले खाना तयार पारेर बसेको थियो। केही समय औपचारिक रूपमा कार्यक्रम संचालन गर्ने जिम्मा सरस्वती नकर्मीले पाउनु भएको थियो।
सो कार्यक्रमको दौरान विशेष सहयोगीहरूलाई धन्यवाद ज्ञापन, प्रमाणपत्र वितरण, भाग्यशाली हाइकरहरूलाई बधाई तथा “वर्ष २०७७ का नियमित र अनुशासित बिहानी हिँडाइ सदस्य” बाट सदस्यद्वय सरस्वती नकर्मी र सुमना शाक्यलाई सम्मानित गरिएको थियो।
सो कार्यक्रमपश्चात खाना खाएर, थकित, हर्षित र रोमाञ्चित सम्झनासहित साँझ ५:३० बजे बनेपातर्फ फर्कियौं।
र अन्त्यमा,
अन्य हाइकिङभन्दा तुलनात्मक छोटो दूरीको भएता पनि शारीरिक रूपमा बढी थलाएको, ओरालो हिँडाइले खुट्टा र पिँडुला दुखाएको आभास भए पनि भिन्न स्थान, परिवेश र हाइकर्सहरूको घुलमिलले नौलोपनको आभास दिलायो।
वास्तवमा नै प्रकृतिप्रेमी, हाइकिङमा रुचि राख्ने व्यक्तिहरूको लागि सहज, सजिलो रूटको रूपमा जामाचो नागार्जुन हाइकिङ रूट महत्त्वपूर्ण हुनेछ। जहाँ हामी सम्झन लायकको प्रकृतिको विविधता, उतारचढाव, रमणीय दृश्य नजिकबाट महसुस गर्न सक्छौं। अनि मनलाई प्रफुल्लित र शान्त पार्न भावी सोचसहित आगामी कार्यक्रम उपत्यकाका बाँकी चुचुराहरू फूलचोकी, शिवपुरी र सो अन्तर्गतका तारकेश्वर, बाघद्वार हुने सम्भावनासहित पुन: भेट हुनेछ। धन्यवाद।
(फोटो संकलन: नारायण जोशी, नरेन/कल्पना तौजले, हरिगोपाल वैध, विश्व मानन्धर लगायतका साथीहरू)