पहिलो, पहाडको राजा वेथानचोक नारायणथानमा रहेको गुप्त गुफा, जहां भक्तपुरको प्राचिन मल्ल राजारानी वास गर्न गएको र अहिले पनि वेलावेलामा उनिहरु सेतो हांसको रुपमा सो स्थानमा प्रकट हुने कथनको प्रतक्ष्यदर्शी हुने आशामा।
दोस्रो, त्यहाँका दर्जन स-साना मनमोहक चुच्चे टाकुराबाट एकसाथ, हिमाल, पहाड र तराईका फाँटहरु मात्र नभएर भारतीय समथर मैदान सम्म हेर्ने आशामा।महाभारत श्रृङ्खला कै अग्लो स्थान मध्येको काभेपलाञ्चोक जिल्ला, बेथानचोक गाँउपालिकामा अवस्थित वेथानचोक नारायणथान पुग्ने रहर पहिले देखिकै थियो।
बनेपा-चप्लेटी शुभ विहानी समूहको तयारी
करिव तीन-चार हप्ताको बनेपा-चप्लेटी शुभ विहानी समूहको तयारी पछि मिति २०७७ फागुण १ गते शनिवार विहान ५:०० वजे उन्नान्चास जना हाईकर्सहरु बनेपा, गणेशथानमा जम्मा भएको, छ वटा फोरव्हिल गाडीमा सवार भई ढुंखर्क तर्फ हुँइकिन तयार भई सकेका थिए। यात्रामा बलिया मोटरसाईकलहरु पनि घचेट्दै लगेको दृश्य, यु-ट्युब भिडियो तिर देखिएकोमा एकवटा गाडी भने फोरव्हिल नभएको सुमो गोल्ड रहेछ, त्यसले उकालो चढेन भने के गर्ने भनि खासखुस हुन थालेको थियो।यद्धपि गाडी नयाँ नै भएकोले जे पर्छ व्यहोरौंला भनि अघि बढियो।पनौती हुँदै, खोपासीको विधुतगृहको पोखरीलाई देव्रे पार्दै, दक्षिण-पश्चिम धुलाम्मे बाटो छिचोल्दै, केही उकालो उक्ले पछि करिब ७:०० वजे तिर ढुँखर्क पुगियो।
त्यहाँबाट पुन: देव्रे ओरालो बाटोमा पर्ने खोला तरेर ३ कि.मि. जति दक्षिण तर्फको उकालो उक्लेपछि सम्म परेको मैदानजस्तो स्थानमा रहेको वेथानचोक लज एण्ड रिसोर्टको साइनवोर्ड देखेपछि गाडी चालक प्रकाश दाइलाई रोकेर रिसोर्ट तर्फ मोड्न आग्रह गरेँ।पछाडि पछ्याईरहेको गाडीलाई पनि सो स्थानको जानकारी गराईयो। तर हामीभन्दा अगाडि दुईवटा गाडी हुँइकि सकेका रहेछन्, र हत्तपत्त फोन मार्फत पछाडी फर्कन अनुरोध गर्दा एउटा गाडी फर्कनै नमानेपछि तलबाट पुन: अर्को गाडी पठाएर सबैलाई चिया खाने ठाउँमा भेला गर्न सम्भव भयौँ।
विहानी चिसो सिरेटोले हान्दै गर्दा तातो चिया लिने ठाँउमा हुलमुल नै भयो।उसिनेको अण्डा, झोल तरकारी लिंदै त्यो दिनभरिको गतिविधि, नियमहरु, जिम्मेवारी सहितको कार्यक्रम खाका रिसोर्टमा भएको माईक स्पिकरबाट सबैलाई जानकारी गराईयो।त्यसपछिको ठाडो, घुमाउरो, साँघुरो, सल्लाघारी वनको बाटोमा धुलो उडाउँदै गाडीहरुले रफ्तार लिऐ।रिसोर्टबाट ३-४ कि.मि. माथि उक्लिसकेपछि फराकिलो बाटोको दायाँबायाँ धेरै मोटरसाइकलहरु रोकिराखेको स्थानमा हाम्रा गाडीहरु रोकिए।हाम्रो हाईकिङ्ग त्यहिबाट सुरु हुने भएकोले बनेपाबाट लिएर गएको स्याउ, सुन्तला, पानी २/२ बोटल लगायतका सामानहरु सबैले पछाडी भिर्ने झोलामा राखि नेपालको झण्डा अघि फहराउँदै टोली स्फुर्तिका साथ हिंड्न तम्सियो।
अनि हाईकिङ्ग सुरु
विहान ९:०० बजेको सुनौलो अनि न्यानो सूर्य प्रकाशमा लक्ष्य पछ्याउँदै अघि वढ्दै जाँदा बिस्तारै साथीहरुको समूह आ-आफ्नो मिल्ने घानमा छानिन थालेको साक्षी ती वाटामा दांयावांया उभिएका अजङ्गका सल्लाका रूखहरु, सेता मसिना, विलाई हाल्ने हुस्सुको मुस्लाहरु थिए।त्यो ठांउका हुस्सु, नामै जस्तो, कति खेर आउंछ? कति खेर जान्छ? पत्तै थिएन।सँगै हिंडेका साथीहरु पनि हुस्सु जस्तै, को कति कति खेर कहाँ पुगे, को सँग गफ्फिएका छन्? थाहै छैन।
मात्र सवै ठट्याउला गफमा व्यस्त अनि अट्टहाँस हाँसोको गुञ्जन, त्यो भिर अनि ढुङ्गे बाटोमा।ठाउँ ठाउँमा व्यवस्थित खुड्किलाहरु, थोरै खनिएका बाटाहरु र धेरै प्रकृतिमा मानिसले हिँडेर बनाएका, पहाडको ढाड ढाडमा तेर्सिएको बाटोमा एउटा हाइकरले हिँड्दाको मज्जा वर्णन नै गर्न सकिन्न।
बाटामा देखिने प्रकृतिको अदभूत दृश्य, अजङ्गका ढुङ्गाहरुको आशन, सो अनुसारै फोटो र सेल्फि लिनेहरुको फुर्सदै कहां थियो र? हाईकर्सहरु हिंड्न आएका हुन कि? फोटो खिच्न? खुट्याउनै गार्हो भएको थियो, आफूलाई त।
उकालो हुंदै तेर्सिएको डोविलो बाटाको दायाँवायाँ, कतै भिर त कतै तलसम्म उभिएका रुखहरु आफैँलाई हेरेर हाँसिरहेको भान हुन्थ्यो।विच विचमा भेटिने अप्ठ्यारा अनि चुच्चे ढुङ्गाहरुमा चढेर दृश्यावलोकन गर्दा एकमन डरले चिसो हुन्थ्यो भने अर्को मनले प्रकृतिको सुन्दरता लागि आभार हुन्थ्यो।
हिलारी स्टेपपछि नारायणथान मन्दिर
करिब १.५ घन्टाको सामान्य रमाइलो हिँडाई पछि नाङ्गो पाखोमा तेर्सो तेर्सो कोरिएको हिलारी स्टेपको बाटो छिचोलेपछि थुम्कै थुम्काको विचमा सानो खाल्डो जस्तो स्थानको विचमा नारायणथानको मन्दिरमा पुगियो।साथीहरु मन्दिर दर्शन गर्नमा र पुजारी वाजे टिका लगाईदिनमा व्यस्त देखिन्थे।
स-साना दर्जन जति थुम्कै थुम्काहरु एकै पटक देख्दा, पहिले कुन थुम्कामा उक्लने होला? भन्ने विचार गर्दा गर्दै मन्दिरको दक्षिण तर्फको टुप्पामा पुगि त्यहाँ समयवजि-खाजा खाने चाँजोपाँजो मिलाउन साथीहरुलाई आग्रह गरियो।घरबाटै पोका पोका पारि प्रत्येक साथीहरुले बोकी ल्याएका सामग्रीहरु एकै ठाँउमा जम्मा गरेर साथीहरू समयबजी बाँड्न अनि खान व्यस्त भयौँ।
वढी थकान र भोकले साथीहरु यत्रतत्र, कोही भुँइमा बसेर, कोही उठेर, हुस्सुले छोपेको डाँडाको टुप्पामा खानपिनमा लागे।दिनको ११:०० बजे जस्तो होला, "अब घाम लाग्यो" भनेर हातमा खाजा लिंदै एकजना साथी उफ्रेको मात्र के थियो, कति वेला पुरै वातावरण हुस्सुले छोप्यो पत्तै भएन।
‘गाँउछ गीत नेपाली’ को ध्वनि गुञ्जन
समयवजी सँगसँगै "गाँउछ गीत नेपाली" ध्वनि सोनी व्लुटुथ स्पिकरमा बज्दै गर्दा ६ फुटे नेपालको राष्ट्रिय झण्डा सहितको सामूहिक सदभाव नृत्य, त्यो टाकुरामा कम्तिको भावनात्मक थिएन। घामको झुल्को र हुस्सुको लुकामारी सकिने वाला थिएन। समयवजी पछि हाम्रो टोली मन्दिर परिसरको सरसफाईमा लागेको देखी त्यहाँ दुख: गरि छाप्रो चियापसल चलाउने दाईले सवै ४९ जनालाई उपहार स्वरूप तातो ब्ल्याक टी खुवाउन हौसिए।हामीले केहि पैसा दिन खोज्यौं, तर लिन मानेन।लाग्यो, त्यो चिसो ठाँउमा केही चुस्की भएपनि तातो खाने मौका पाइयो, ब्ल्याक टी उपहार दिनेलाई आत्मीय धन्यवाद।
नारायणथानमा प्रणय प्रस्ताव
त्यसपछिको विशेष कार्यक्रमको वारेमा सायद कसैलाई भान थियो।हामी मध्येका १२ विवाहित जोडीहरुलाई सबैको विचमा भर्खरै कोरिएको लाइनमा आमुने सामन्ने उभिन इन्द्रनारायण दाईले चीन भ्रमणको क्रममा किनेर ल्याउनु भएको पोर्टेवल माईक्रोफोनबाट जानकारी गराउँदा सवै कानेखुसी गर्दै थिए।गोलवद्ध समूहको बिचमा परेका जोडीहरु मध्येका प्रत्येक पुरुष सदस्यको हातमा एक एक ओटा रातो गुलाबको थुङ्गा दिइयो।त्यसपछि हिरो स्टाईलमा त्यहाँ सँगैको अलि अग्लो स्थानमा युगल जोडी उक्लिएर पुरुष साथीले गुलाबसहित आफ्नो सहयात्रीलाई प्रणय प्रस्ताव गर्नुपर्ने, प्रणयदिवसको पूर्व संघारमा अनि पहाडको राजा नारायणथानको सामिप्यमा।प्रत्येक जोडीको आ-आफ्नो मौलिकतामा प्रणय प्रस्ताव हुँदै गर्दा त्यस स्थानमा घुम्न आएका हरेक यात्रीहरुको ध्यान त्यो रातो गुलाब, गुलाब समर्पण गर्नेको भाव र फूलको हकदारको मुस्कानमा तानिएको थियो।लाग्थ्यो, त्यो क्षण पहाडको टाकुरामा होइन, कुनै ठूलो सिनेमाघर भित्रको दृश्य थियो। वाह! बधाईका आवाजहरु संगै हांसो उमङ्गको आवाजहरु, पहाडको टुप्पाहरुमा, ढुङ्गाहरुमा गुञ्जिरहेको आभास हुन्थ्यो।
गुफा भ्रमणको कौतुहलता
मन्दिरबाट पूर्वउत्तर ओरालोमा रहेको गुफाको भ्रमण गराउने जिम्मा लिएका रहदेव दाइ कुनै समयमा आफ्नो पेटबाट जिपको चक्का गुडाएर प्रशंसित व्यक्ति हुन्, त्यो दिन हातमा एक बण्डल नाईलन डोरी, टर्चलाईट, औषधीहरु सहित पूर्ण जिम्मेवारीका साथ समूह-समूहलाई गुफा प्रवेश गराउन तल्लीन थिए।केही पर्खाई पछि हाम्रो टिमलाई गुफा भित्र प्रवेश हुने निर्देशन भएपछि हामी कौतुहल्ताका साथ भित्र प्रवेश गर्यौँ।एक एकजना गरि लामबद्ध भई सहज रूपमा भित्र पस्दा गुफाको बाटो ओरालो हुँदै तेर्सियो।३०-४० मिटर अगाडि पुग्दा दुईतर्फ भित्ता झैँ चट्टान रहेको स्थानबाट माथि आकाश पनि देखिन्थ्यो।केही अगाडि छिचोल्दा गुफाको बाटोमा ठुलो ढुङ्गा झरेर द्वार बन्द भएको देखेपछि त्यंहिँबाट पछाडि फर्कियौं।साथी यसकुमारले त्यो अंध्यारोमा सेतोहाँस देखिन्छ कि? भनेर टर्च वालेर पनि हेरे तर केही मेसो पाएनन्।
नारायणथान बाट करिव १२:०० बजे तिर फर्कने क्रममा हामी नै सवैभन्दा पछाडि रहेका थियौं।त्यो ३००० मिटरको उचाईमा केहि घन्टा रमाउंदा थाहा नपाई केहि सदस्यहरुलाई लेक लागेर श्वासप्रश्वासमा सामान्य समस्या हुन थालेको पछि मात्र थाहा भयो।पानी पिउन र लसुन खान उत्प्रेरित गर्दै आराम गर्दै टाकुराबाट फर्कदै गर्दा विच बाटोमा विहान आउंदा याद नभएको, पछि फर्कंदा देखिएको दुईवटा बाटाहरुमा अगाडि जांदै गरेकी वहिनी सिर्जनालाई “त्यो दाहिने तिरको खुडकिलो बाटो होईन है, हामी जाने देव्रेतिरको तेर्सो हो नि” भनेर फर्कंदै थियौं।
साथीहरुले जङ्गलमा बाटो विराउँदा
त्यो एकलास, घना अनि अनकन्टार जंगलको विचमा परबाट आत्तिंदै फोनमा वोल्दै टिम सदस्य सुरेन्द दाइ हामीतिर आएको देखेर “के भो? भनेर सोध्दा भाउजू सहितको ७/८ जना सदस्यहरु पछाडि रहेको बताए। तर हामी भन्दा पछाडि कोहि नभएको जानकारी मैले दिएपछि “त्यसो भए म हेरेर आउँछु” भनि सुरेन्द्र दाई पुन: नारायणथानकै उल्टो बाटोमा कुद्नुभयो।अब पर्यो वित्यास, सबै साथीहरु अघि नै गाडी भएको ठाँउमा पुगिसकेका थिए।तर हामी त्यहि रोकिएर ति हराएका साथीहरु पर्खन वाध्य भयौँ।कहिँ कहिँ, त्यो पनि कमजोर मोबाईल नेटवर्क उपलब्ध रहेको त्यो पहाडी क्षेत्रमा केहि समयपछि ती साथीहरु अघिकै झुक्किने बाटोबाट ओर्लेर जंगलको धेरै तलसम्म पुगेको भनि सुरेन्द्रदाइको कल आयो।अलि अगाडि हिँडेर अलि समथर ठाँउमा पुगि चिसो दाउरा, कागज र बाटोमा जथाभावी फालिएका प्लाष्टिकहरु संकलन गरेर हुस्सुको अँध्यारोविच आगो बालि फिल्मी स्टाईलमा धुनिलाई घुमि घुमि नाच्न थालेको झण्डै एक घन्टापछि विजय, निरु भाउजू अनि सुमना सेता अनुहार राता राता पार्दै थाक्दै आइपुगेपछि केहि राहत भयो।
करिव ३:०० बजे तिर अघि बिहान गाडी छाडेको ठाँउमा पुगेर त्यहाँबाट रिसोर्ट तर्फ ओर्लंदै गर्दा बाटो भुलेर खाएको सकसको वारेमा तितामिठा भाव गाडी भरि हांसो सहित गुञ्जियो।रिसोर्टमा लोकल कुखुराको मासु सहितको खानामा गुन्द्रुकको मिसाईले हो कि? भोकले हो? सामान्य भन्दा धेरै थपि थपि स्वादभाव सहित खाना खाईयो।
र, अन्त्यमा
हामी भन्दा अगाडि आइपुगेका साथीहरु वाहिर चिसो सिरेटोमा आँगनमा राखिएको अनि आधा काटिएको ड्रममा आगो बलेको रापको भन्दा बढी धुँवा खेपेर बसेको भान हुन्थ्यो।सवैले खाना लिइसकेपछि सामूहिक नाचगान कार्यक्रम गरियो।सो कार्यक्रमकै विच जुरि टोलिको सकससहितको प्रयासबाट वेस्ट हाईकर्समा विजय र निरु भाउजू, बेस्ट कपलको रुपमा नरेन र कल्पना पुरस्कृत भए।हाईकिङ्ग प्रमाणपत्रको वितरण र सामूहिक नाचगान पश्चात करिव ५:३० बजे त्यहांबाट ओर्लेर ढुंखर्कबाट खुवा किनेर बनेपा फर्कंदा झण्डै सांझको ७:०० बजि सकेको थियो।
र, वेथानचोक नारायणथान हाईकका दुई आशाहरु मध्ये पहिलो, गुफाको राम्रो अनुभव र भ्रमण गरियो।यद्धपि सेतोहांस किंवदन्ती मै सिमित रह्यो।बाक्लो हुस्सुको नियमित ओहोरो दोहोरो भ्रमणले टाढाको दृश्यलाई पनि सिमित बनाइदियो।केही नयाँ सिकाईका साथ सवैले वहन गरेको जिम्मेवारी र साथले तोकिए बमोजिमको कार्यक्रमहरु सफल भएकोले समग्रमा सामूहिक हाईकिङ्गको मज्जा र आनन्द अतुलनीय रह्यो।
(फोटो संकलन: नारायण जोशी, हरिगोपाल वैध, विश्व मानन्धर, नरेन/कल्पना तौजले, साजन वैदार लगायतका साथीहरु)
हेर्नुहोस् फोटोहरू