आइतबारको बिदा खासमा बिदाजस्तो हुन्न। न घरमा खेल्ने केटाकेटी हुन्छन् न घुम्न जाने साथीसंगी भेटिन्छन्।
बिदाको बार ‘अल्टर’ भए पनि यसलाई ‘बेटर’ भने बनाउन सकिन्छ।
केही महिनादेखि म पनि आइतबारको बिदालाई शनिबारको जस्तै ‘बेटर’ बनाउन खोजिरहेकी छु।
गत आइतबार बिहानदेखि नै घामले लुकामारी खेलिरहेको थियो। हप्तैपिच्छेजसो आइरहने पश्चिमी वायु कमजोर भएको थियो। दुई-तीन दिनपछि लागेको घाम यति प्यारो थियो कि सुकुल बिच्छ्याएर आँगनमा आरामले सुतिदिऊँ!
एकछिनमा मुड फेरियो - हप्तामा एक दिन बिदा हुन्छ त्यो पनि घरमै बसेर के कटाउनू। अघिल्लो आइतबार पनि त घरबाट बाहिर निस्केकी थिइनँ क्यारे!
शनिबार अफिसबाट फर्किंदा भोलि दिदीसँग घुम्न जान्छु नभए फिल्म हेर्नुपर्ला सोचेकी थिएँ।
पुसका दिन कत्ति नै लामा हुन्छन् र नुवाइधुवाइ गर्दा साढे १ बजिसकेको थियो। फेरि यो बिदाको दिन बित्छ कति चाँडो!
लुगा लगाएर रेडी भएपछि थाहा भयो, दिदी त काम परेर निस्किसक्नुभएछ। घुम्न जाने प्लान क्यान्सिल।
निस्कन रेडी भइसकेको मान्छे फेरि घरमै के बस्नू! फिल्म हेर्न जाने सोचें- ४ बजेको शो। बाहिर हेरें-आकाश घरि धुम्म हुन्थ्यो घरि छ्याङ्ङ। मलाई यो साताको बिदा यतिकै बिताउनु थिएन।
आ… जे सुकै होस् भनेर हान्निएँ फिल्म हेर्न भनेर। साथीसंगीसँग जाने इच्छा नभएको होइन तर के गर्नू आफ्नो बिदाको दिन नै अल्टर छ।
सिभिल मल पुग्दा सवा तीन बजिसकेको थियो।
४ बज्न अझै ४५ मिनेट बाँकी नै छ भनेर दंग परें। स्कुटी पार्किङ गरेर टिकट काउन्टरमा पुगें।
काउन्टरमा बस्नेले माइकबाट बोलेर मेरो खुसीमा ब्रेक लगाइदिइन्। फिल्म सुरू भएको १५ मिनेट भइसकेछ। मन खिन्न भयो।
एकछिन के गर्नु के गर्नु भयो। छेऊको सिटिसी मलमा फिल्म हेर्ने आइडिया नफुरेको होइन तर सिभिल मलबाट झन्डै ५० मिटर टाढाको सिटिसी मल पुग्न टुँडिखेल एक राउन्ड लाउनुपर्थ्यो। पछिल्लो समय ट्राफिकले नयाँ नियम ल्याएको छ सिभिल मलको मान्छे त्रिपुरेश्वर आउन पनि रत्नपार्क पुग्नुपर्छ। नियम हो मान्नै पर्यो।
एकछिन सुन्धारामै अल्मलिएँ। साथीलाई कल गरें- अरू ठाउँमा ४ बजेको शो कहीँ छ?
उसले ग्रिन सिग्नल दिएन।
‘अब गर्ने के?’
‘भेटघाट गरौं न त नभेटेको पनि धेरै भयो,’ उसले भन्यो।
‘नट ब्याड आइडिया। आखिर नभेटेको पनि त धेरै भयो।’
भेटेर उसलाई रामकहानी सुनाएँ।
‘घुम्न जाऊँ न त कतै,’ मैले प्रस्ताव गरें, ‘तर धेरै टाढा नजाने।’
समयले नेटो काट्न थालिसकेको थियो। उसै त जाडो महिना ५ बजेनै झमक्क साँझ पर्न थाल्छ।
‘कहाँ जाने त?’ उसले भन्यो।
‘यतैकतै नजिकै...पशुपति?’ मैले भनें।
‘सुन्दरीजल,’उसले भन्यो।
‘त्यत्रो टाढा हुँदैन।’
कहाँ जाने दिमागमा फुरिरहेको थिएन।
अरूबेला कति ठाउँको याद आउँछ। चाहिएको बेला दिमाग शून्य हुन्छ।
‘शिवपुरी जाने त?’ उसले फेरि सोध्यो।
‘त्यो नि टाढै होला नि?’
‘खासै छैन।’
हामी हानियौं शिवपुरीतिर।
बुढानिलकण्ठ पुगेर बायाँतिर लाग्यौं। त्यसपछि साथी मेरो गाइड बन्यो। उसले जताजता भन्यो मैले स्कुटरको ह्यान्डिल त्यतैत्यतै घुमाएँ।
घना जंगल। बाटो कतै पिच, कतै खाल्डाखुल्डी। घुम्ती नै घुम्ती। ठाडै उकालो। स्कुटीले नतान्ला भन्ने कत्रो पिर। धन्न धोका दिएन।
सोचेजति टाढा रहेनछ।
बाटो केही अप्ठ्यारो भए नि मन लोभ्याउने रै’छ शिवपुरीले।
ठाउँठाउँमा आर्मीको चेक प्वाइन्ट, इन्ट्री गरेर अगाडि बढ्नु पर्ने।
घना जंगल। भित्रैसम्म छुने चिसो हावा। चराचुरुंगीको चिरबिर आवाजले त्यहाँको शान्तिलाई खल्बल्याएको थिएन बरू वातावरण रोमान्चक बनाइरहेको थियो।
झन्डै १५९ वर्ग किलोमिटरमा फैलिएको शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्ज पुगेपछि फिल्म हेर्न नपाएको तनावले थिचिएको मेरो मन हलुंगो भयो।
मनमा डर र रोमाञ्चकता दुवै थियो। डर यस कारण कि घना अनि सुनसान जंगल। जंगली जनावरको सिकार पो भइने हो कि। अनि खुसी यस कारण कि साँच्चै प्रकृतिको काखमा आएको जस्तो भान भइरहेको थियो। हौसला दिने साथी साथमा थियो। डरलाई जितेर अगाडि बढियो।
निकुञ्जभित्र टिकट नकाटी र अनुमतिबिना फोटो खिच्न भने नपाइने रहेछ। गाउँ पुगेपछि भने फोटो जति खिचे नि भयो।
हामी त्यहाँ पुग्दा टाढा क्षितिजमा सूर्य डाँडामुनि लुक्न लागेको थियो। मलाई एकातिर भोक लागिरहेको थियो भने अर्कातिर भ्यू हेर्ने हुटहुटी। होमस्टेको पनि सुविधा रहेछ। हामी भने रिसोर्टतिर लाग्यौं।
ग्रिन भ्याली रिसोर्टको सजावट कलात्मक र मौलिकता झल्कने शान्त अनि सुन्दर छ। अन्य दिनको तुलनामा रिसोर्ट खाली थियो। अड डे भएर होला। शुक्रबार र शनिबार त यहाँ खचाखच हुन्छ रे। खानेकुरा अर्डर गरेर भ्यू हेर्न थाल्यौं।
भ्यू यस्तो थियो कि आनन्द कार्कीले गाएको ‘लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई’ गीत गुन्गुनाउँजस्तो। कार्कीको गीतले सायद कोही मान्छेलाई इंगित गरेको होला मलाई भने साँच्चै त्यहाँ वरिपरिको सजावट र त्यहाँबाट देखिने दृश्यलाई एकटकले हेरिरहुँझैं भइरहेको थियो।
२०७२ सालको भूकम्पले ढलाएको धरहरा पनि छेउमै ठडिएको थियो, प्रतीकको रूपमा।
दिन छिप्पियो, साँझ गाढा हुन थाल्यो। ठाउँ त बसिरहुँजस्तो थियो नि तर के गर्नु फर्किहाल्नु पर्ने बाध्यता!
अर्को पटक फेरि आउने वाचासँगै हामी फर्कियौं- मोबाइलमा भन्दा बढी रिजोलुसन भएका तस्बिर मनमा कैद गरेर।
यहीँ जन्मेर हुर्किएकी म काठमाडौंनजिकै यति राम्रो ठाउँ पहिलो पटक पुगें। अहिलेसम्म किन आइनछुँ जस्तो पनि लाग्यो।
मान्छेहरू खाली समय हुनेबित्तिकै कि फिल्म हेर्न जान्छन् कि फन पार्क या यस्तै मनोरन्जनमा व्यस्त हुन्छन्। सहरी अनि व्यस्त जीवनलाई एकछिन ब्रेक दिएर रिफ्रेस हुन मन छ भने काठमाडौं नजिकैको शिवपुरी आकर्षक गन्तव्य बन्न सक्छ।
अँ, साँच्ची सरकारले ‘भ्रमण वर्ष २०२०’ मनाइरहेको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरूआत गरिएको भ्रमण वर्ष २०२०मा आउने पर्यटकलाई पनि शिवपुरीबारे जानकारी दिऔं। हाइकिङमा रमाउने आन्तरिक र बाह्य पर्यटकका लागि शिवपुरी उत्कृष्ट गन्तव्य हुन सक्छ।
भ्रमण वर्ष २०२० को शुभकामना!