क्यामरुनको चिसो सम्झिँदा, मन शितल हुन्छ।
बाटाको घुम्तीहरू सम्झिँदा, अझै रिंगटा चल्छ।
अनि मनमोहक दृष्य सम्झिँदा,मन भत्भति पोल्छ
पर्यटकको घुइँचो देख्दा दंग लाग्छ
अलिकति मिल्ने भए उठाएर ल्याऊ जस्तो
काटीकुटी नियालेर हेर्ने हो भने नेपाल जस्तो
नेपालको पनि दोलखाको सयथुम्का शैलुङ जस्तो।
थुम्का नभएर मात्र क्यामरुन नाम भएको होला।।
टिरिङ टिरिङ अर्लामले झसंग पार्छ।
उही सदा उठ्ने समय ठीक पाँच बजे।
बिहानीको मिरमिरे हुँदैछ। शितल सररर… हावा चलेको छ। हुस्सुको च्यादरले आकाशलाई उघार्दै छ। यहाँको मौसम नै यस्तै छ एकै छिनमा पानी एक छिनमा घाम।
यही मौकामा एक झप्को निदाइ हालौं जस्तो। तर आज निन्द्राले आधा घण्टा अगाडिदेखि छाडिसकेको छ।
अरु बेला पाँच बजे दोस्रो अर्लाम (पाँच मिनेटको फरकमा लगाउने बानी छ) पनि मारेर सुतुमझै हुन्थ्यो आज विशेष छ - ड्युटी जान नभइ लामो यात्राको तयारीमा छौं हामी।
बाहिर झ्यालबाट चियाउँदा अझै आकाशमा तारा देखिन्छ।
हैन, छिट्टै उठियो कि क्या हो!
घडी हेर्छु समय ठीक छ।
सायद अरु समयमा बिहानी पख ड्युटीको पिरले सकि/नसकी उठ्न पर्ने। झिंजो लागेर झ्यालबाट नहेरेर हुनसक्छ।
पूरै सहर सुनसान छ। यतिबेला विशेष पर्व ठाउँअनुसार फरक नाम होला मुस्लिमहरूको महान पर्व (इद) हरिराय चलिरहेको छ।
झलमल्ल सहर चम्किएको छ। यो सहर कहिल्यै निदाउँदैन। मानिसहरू सिफ्ट टु सिफ्ट काम गर्छन्। कोही रातमा निदाउँछन्, कोही दिनमा तर यो सहर सधैं जागा रहन्छ।
अब, हाम्रो यात्राको कुरा गरौं ।
क्यामरुन हाइल्याण्ड पुग्न हामीले यात्रा मलका सहरबाट सुरू गर्यौं। हाइल्याण्ड भन्ने बित्तिकै नेपालका अग्ला अग्ला पहाड सम्झिए पुग्छ। तै सबैको मुखमा झुण्डिएको छ।
बिदामा कहाँ घुम्न जाने भन्दा? सबै पहिला हाइल्याण्ड नै सम्झन्छन्।
यस अघि गेन्टिङ हाइल्याण्डको चिसो पनि खेपिसकेका छौं।
पहिलो पटक हाइल्याण्डको यात्रामा चिसोसँग सामना गर्न कठिन परेको थियो। १ हजार ८ सय ६५ मिटर उचाइको गेन्टिङ हाइल्यान्डमा केबलकारबाट चढ्दै गर्दा उखरमाउलो गर्मीलाई जितेको महशुस हुन्थ्यो । तर, कारबाट उत्रिएपछि भने चिसोले हातखुट्टा त्यसै कठ्यांग्रिएको चिसोले टाउको दुखेर पट्ट फुट्लाझै भएको याद अझै ताजा छ।
गेन्टिङ हाइल्याण्डको चौगुणा जाडो हुने ठाउँ क्यामरुन हाइल्याण्ड हो। क्यामरून हाइल्यान्ड मलेसियाको सबभन्दा ठूलो पहाडी स्टेसनमध्ये एक हो।
समुद्री सतहदेखि २६०० मिटरभन्दा बढी उचाइमा अवस्थित छ। क्यामरुनमा यो भन्दा अग्ला अग्ला हाइल्याण्ड पनि छन् हामी ‘ब’स्टेट भ्यू पोइन्टमा छौं।
हामीले सुनेका थियौं असाध्यै चिसो हुन्छ। भयो त्यही। विशेषत मलेसियाका विशेष घुम्न लायक ठाउँमध्ये अधिकांश ठाउँ घुमिसकेका छौं।
गेन्टिङ हाइल्याण्ड, बातुकेभ प्रोडिक्सन( पिडी) केएलसिसी, साजिल झरनालगायतझै क्यामरुन हाइल्याण्ड सधैं सुनिने नाम हो।
छ न त अन्य धेरै पर्यटकस्थल घुम्न लायक ठाउँहरू छन्।
मलका सहरको सेन्टर, ओसियन पार्क एरियामा रहेको म्युजियम, मेट्रोरेल पनि महत्त्वपूर्ण पर्यटकीय स्थानको रूपमा लिइन्छ। तर नजिकको तीर्थ हेला भनेझै यो हाम्रो जुठ्याँनमा भएजस्तो भएर त्यति मतलब लाग्दैन।
तर आज भने यी सहर छिचोल्दै हामी बस्ने मलका सहरभन्दा निकै टाढाको यात्रामा छौं।
सम्भवत:सिङ्गापुर पछिको लामो यात्रा यही हो।
क्यामरुन हाइल्याण्ड मलका सहरबाट करिब चार पाँच सय किलोमिटर दूरीमा पर्छ।
निशानको फ्यामेली कार समात्यौं र अघि बढ्यौं।
बिहानीको यात्रा, सुनसान रोड, गाडीको डिम लाइट, मिटरमा आँखा पुग्छ।
मिटर घुमेर १५० प्रतिघण्टा स्पिडमा छ। स्पिड तोकिएबमोजिम एक्सिलेटर दबाउनु पर्छ। जति मन लाग्यो त्यति दबाउन पाइँदैन। ठाउँ ठाउँमा स्पिड ब्रेकर अनि स्पिड क्यामरा राखिएका हुन्छन्।
जसले मापदण्डविपरीत गाडी चलायो स्पिड क्यामरा आएर क्लिक गर्छ। अनि जसले गल्ती गर्यो उसले जरिवाना तिर्छ। चालकहरू सजग छन्। ड्राइभरले भन्दै थियो हाइड क्यामराहरू हुन्छन्। त्यसैले यहाँ नियम मिच्न सबै डराउँछन्।सिस्टममा चलेको देश यसलाई भन्छन्।
यी सहरमा दिनमा लाखौं करोडौं गाडीहरू कुद्छन्। तर पनि सडक अस्तब्यस्त हुन्न। यहाँ नियममात्र बनेका छैनन्। पूर्ण कार्यान्वयन भएका छन्।
झ्यालबाट आखाँ बाहिर डोर्याउँछु। लोभलाग्दो सहर, सहरका सफा बाटो।
चिल्ला सडक छिचोल्दै निरन्तर अगाडि बढ्यौं। सधैं सहरका सिधा बाटोमा यात्रा गर्ने हामीलाई उकाली ओरालीको यात्रा अझ भनु पहाडको यात्रा गर्दा आफ्नै गाउँ घर सम्झना आयो।
सडकको दुई किनारामा बलेको बत्ती सडकको बीचमा फूलहरूले हाम्रा यात्रालाई अझ थप रोमाञ्चित बनायो। सडकमा लगाएको एरियल पेन्टिङ ट्राफिक लाइटको सिंगल धपक्क बलेको देखिन्छ। झलक्क हेर्दा तिरिमिरी रमझम दिपावली जस्तै।
आकाश खुल्दै गयो। गाडीका हेडलाइटहरू बन्द भए। पर-परका दृष्यहरू, गगनचुम्नी भवनहरू छर्लंग देखियो।
विस्तारै यो सहर छाड्दै अगाडि बढ्यौं।
विभिन्न रमणीय दृष्य कैद गर्दै ठाउँ-ठाउँमा कफिको चुस्की लिँदै यात्रा निरन्तर अघि बढ्यो।
जीवनमा यति धेरै घुम्तीहरू भएको बाटो कहिल्यै यात्रा गरेको थिइनँ। बाफ रे बाफ! कति हो घुम्ती पनि! सम्झिँदा पनि रिंगटा चल्ने, फनफनी घुमाउने।
मैले दोलखा घर जाँदा खाडीचौर कटेपछि उकालो चड्दा मुडेको २५/३० वटा घुम्तीहरू! गिन्ती गरेको थिएँ। अनि सधैं यात्रा गर्ने खुर्कोटको बाटा याद गरें।
त्यो त केही छिनमा सकिने घुम्तीहरू थिए। तर क्यामरुनको घुम्ती! गिन्ति गरेर साध्य हुन्थेन। कैयौं घुम्तीको बाटो यात्रा गरेपछि लखतरन परेर हामी क्यामरुन पुग्यौं।
सहर भन्दा धेरै परको क्षितिजमा रहेको यो हाइल्यान्ड आउन धेरैले सोच्छन् मात्र पूरा हुँदैन। तर त्यो सोच हामीले पूरा गर्यौं।
हुन त केएलसिसी (पेट्रोनाश) टावर चढ्न दिँदैन भन्थे। तर आफ्नो देशको धरहरा चढ्ने धोको थियो। भूकम्पले तहसनहस पारेपछि धरहराको सम्झनामा केएसिसी पेट्रोनाश टावर चढेको थिएँ।
जब क्यामरुन पुग्यौं मन प्रफुल्ल भयो। त्यहाँको दृष्य देख्ने बित्तिकै थकान कता हरायो कता!
भ्यू टावर जहाँबाट क्यामरुनको सबै दृष्य सजिलै देखिन्छ। हाम्रो गाडी भ्यू टावरभन्दा सिधा ७०० मिटर जति तल पार्किङमा थियो।
सिधै टोपी खस्ने उकालो हामीलाई त्यो दृष्य कैद गर्न हतार थियो। तछाडमछाड उकालोमा स्वाँ.. स्वाँ.. गर्दै चढ्यौं।
अलि पर पुगेपछि बाटो तेर्सो रहेछ बाटो गलत पर्यो।
चिया बगानमा काम गरिरहेका एक जनालाई सोध्यौं।
नेपाली रहेछन्। जुम्लाका। नाम मोहन।
उनले हामीलाई बाटो पहिल्याउन सघाए।
हामीबीच केहीबेर भलाकुसारी भयो।
‘काम कस्तो छ चियाबगानमा ? काम गर्ने नेपालीको कमाइ कस्तो छ?’ हामीले जिज्ञासा राख्यौं।
‘तलब त मलेसियाको ११०० हो बाँकी ओभर टाइम फ्याक्ट्रीमा काम गर्नेको हुन्छ। बाहिर काम गर्नेको चिया कति टिपेको छ केजीको आधारमा कमिसन दिन्छ औषत २५ सयदेखि ३० हजार रिंगेटसम्म कमाइ हुन्छ।’ उनले हाम्रो जिज्ञासा मेटाउने प्रयास गरे।
उनी यतिमा रोकिएनन्।
‘तर काम चाहिँ घाम पानी भन्न पाइँदैन। पानी परे पनि पानीमा रुझेर काम गर्न पर्छ। घाम लागे पनि घामसँग जुधेर काम गर्नुपर्छ।बिरामी नभएसम्म विकल्प छैन। फ्याक्ट्रीमा काम गर्नेभन्दा फिल्डमा काम गर्नेलाई सुविधा छ कमाइ पनि। भित्र तलब र ओभर टाइम मात्र हुन्छ।’
चिया बगानमा काम गर्दा बिरामी परे भित्रकालाई भन्दा बाहिरकालाई सुविधा हुँदो रहेछ।
उनले भने- चिया बगानमा काम गर्दा बिरामी परे सबै मालिकले ब्यहोर्छ। तर हामीभित्र काम गर्नेलाई गाह्रो छ। यो बाहिर फिल्डकोलाई मात्र सुविधा हो।
यति भन्दै उनी कामतिर लागे।
हामी भ्यू टावरतिर लम्कियौं। आहा! कति रमणीय दृष्य! देखे जस्तो कहाँ व्यक्त गर्न सकिन्छ र! क्यामरुन विशेषत: चिया त्यसपछि फलफूल तरकारीको लागि उपयुक्त ठाउँ हो।
पहाड नै पहाड। भिर छ तै कही खाली ठाउँ छैन। जताततै तरकारी, फलफूल, सागपात। हाम्रा तराईको खेत बाझै छाडिन्छ। क्यामरुनमा कुनै भिर त्यस्तो देखिएन जहाँ केही न केही फलफूल तरकारी नभएको होस्।
चिया बगानमा मात्र कतिलाई रोजगारी दिएको छ यकिन छैन। तरकारी बारीमा कति होला पहाडै पहाड जता फर्के पनि आम्दानी वाह!
यो सब दृष्य देखेपछि कृषिमा पनि बुद्धि पुर्याएर गर्ने हो भने देशमा आम्दानीको मूल फुट्ने रहेछ भन्ने लाग्यो। सबभन्दा महत्त्वपूर्ण कुरा क्यामरुनका नेपाली स्वदेश फर्काइ तरकारी फलफूल क्षेत्रमा स्थान दिने हो भने पनि कायपलट हुने रहेछ।
सुन्नमा आए अनुसार सबभन्दा काम बढी गर्ने मेहेनती नेपालीहरू त्यही छन्।
उत्पादन क्षेत्रको मनग्य आम्दानी त छँदैछ। पर्यटकहरूको घुइँचो देख्दा हामी दंग पर्यौं।
हुन त म ईलाम गएको छुइनँ। तस्वीरमा हेरेको ईलाम भन्दा क्यामरुन फरक देखिनँ। ईलाम चियाले प्रख्यात छ तर क्यामरुन चियासँगसँगै कृषि तरकारी र प्राकृतिक रूपमा उच्च पहाडी भेग भएकोले पर्यटकीय स्थानको रूपमा प्रख्यात छ।
दैनिक पानी पर्ने, चिसो हावाको स्पर्श।
सहरबाट सबभन्दा टाढा रहेको स्वर्गको क्यानभास जस्तो क्यामरुन हाइल्याण्ड जो कसैले सहजै देख्न पाउँदैनन्। देख्नेले कहिल्यै बिर्संदैनन्।