दुईतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको भोटेकोशी।
सरर हेर्दा नदी कहाँनेर छ भन्ने देख्नै गाह्रो। १६० मिटर गहिरो त्यो नदीमाथि झोलुंगे पुल। हेर्दै कहालीलाग्दो उचाइ अनि गहिराइ। पुल मान्छेको पदचापमा दायाँबायाँ हल्लिन्छ। त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो होला? विश्वकै सबभन्दा सुन्दर र साहसीमध्येको एक बञ्जी गर्ने रहर जो कोहीको हुन्छ।
मेरा लागि आजभन्दा ३/४ वर्ष अघिदेखिको त्यो रहर, सपनाजस्तै बनेको थियो। पूरा गरौंला भन्ने सोचेको थिएँ। तर समय, परिस्थिति या मौका मिलिरहेको थिएन।
जुन दिनको लागि म प्रतिक्षारत थिएँ त्यो दिन पनि आयो। यसको चाँजोपाँजो न्यू इयर इभमा ‘बञ्जी ब्ल्याक आउट’को सन्दर्भ पारेर द लास्ट रिसोर्टलेनै मिलाइदियो।
लास्ट रिसोर्टले बञ्जी ब्ल्याक आउट मुख्य गरी वर्षमा २ चोटी खेलाउँदो रहेछ। अंग्रेजीहरूको हलोइन डे र नेपाली नयाँ वर्षको इभमा। तर बञ्जीबारे सुने पनि ‘बञ्जी ब्ल्याक आउट’ बारे बिल्कुलै अनविज्ञ थिएँ।
यो गन्तव्यमात्र होइन मेरा लागि साथीहरू पनि सबै नौला थिए। सबै आ-आफ्नै धूनमा मस्त, आ- आफ्नो ग्रुपमा रमाउन व्यस्त थिए।
रिसोर्टकै गाडीले करिब १०० किमी दूरीमा रहेको गन्तव्य करिब ५ घन्टाको यात्रापछि पुर्यायो।
त्यो पौने पाँच घण्टा कसैसँग नबोली नै कट्यो।
यात्रामा एक्लै भएता पनि आफैंसँग खुसी थिएँ। किनकी मेरो तीन/ चार वर्ष अघि देखिको सपना जो पूरा हुँदै थियो। त्यही भएर म बाहिरको रमणीय वातावरण र कल्पनामा रमाइरहेको थिएँ।
करिब साँझ पौने ४ बजे पुगियो गन्तव्यस्थल।
दुई ठूला पहाडका बीचबाट नागबेली आकारमा बगेको भोटेकोशी नदी। वारी पाङलाङ बस्ती अनि पारी त्याङथली। यी बस्ती जोडेर करिब १ सय ७० मिटर लामो झोलुंगे पुल र करिब १ सय ६० मिटर उचाइबाट बञ्जी गर्नुपर्ने ठाउँ आइपुग्यो।
हामी त्यहाँ पुग्दा कतिले बञ्जी गरिरहेका थिए। जम्परलाई हौसला दिनको पारीबाट उनीहरूका साथीहरू चिच्याइरहेका थिए।
अरूले गरेको हेर्दा म थप उत्साहित र रोमाञ्चित भइरहेको थिएँ। प्रतीक्षा थियो त बेलुकाको। किनकी, हामी राति बञ्जी गर्दै थियौं। अर्थात् ‘बञ्जी ब्ल्याक आउट।’
बञ्जी जम्परहरूको व्यवहार हेरेर यस्तो लाग्थ्यो कि साँच्चै गाह्रै हुन्छ कि!
हामीसँग ट्रिपमा आएकामध्ये कतिको दोस्रो, तेस्रो पल्ट थियो कतिको भने पहिलो। कोही दिनमा बञ्जी गर्दा डर लाग्छ भन्दै थिए। कोही दिन भन्दा त रात नै डर लाग्दो होला भनेर आ-आफैं अड्कल काटिरहेका थिए।
जब साँझ छिप्पिदै गयो- एक किसिमको रोमाञ्चकता र उत्साह आउन थाल्यो। ७ बजे बञ्जी गर्ने यसअघि जानकारी दिइएको थियो। त्यसको एक घन्टा अगाडि ब्रिफिङका लागि सबै एकै ठाउँमा भेला भयौं। त्यहाँ जम्प मास्टरले हामीलाई खेलको विधिबारे सबै जानकारी गराए। नाम सुनेको हो, तर खेलको अनुभव थिएन। बञ्जीका भिडिओहरू युट्युवमा हेरेको हो। बाँकी खेलमा के–के गरिन्छ, थाहा थिएन।
त्यसपछि तौल अनुसार ग्रुप छुट्याइयो। बढी तौल हुने पहिलो ग्रुपमा र कम तौल हुने दोस्रोमा। म सँगै बाँकी ६ जना केटीहरू दोस्रो ग्रुपमा पर्यौं।
‘तिम्रो पहिलो पटक हो?’, हाम्रै ग्रुपकी एक दिदीले सोध्नुभयो। मैले ‘हो’ भनेर टाउको हल्लाए।
‘मेरो त यो तेस्रो पटक हो। त्यही पनि मलाई कस्तो डर लागिरहेको छ,’ आफ्नो डर उहाँले मसँग साट्नुभयो। उहाँको मुहारमा डर प्रस्टै झल्किरहको थियो।
आफू नयाँ भए पनि उहाँलाई निर्धक्क हुँदै सम्झाएँ र हौसला बढाउँदै भने, ‘सेफ नै हुन्छ क्यारे के को डर। केही हुँदैन बेकारमा किन डराइरहनु भा’को?’
पहिलो ग्रुपले पालैपालो बञ्जी गर्दै थिए हामी पारीबाट हुटिङ गरिरहेका थियौं। तर, उनीहरूले सुने कि सुनेनन् त्यो उनीहरूलाई थाहा होला।
मौसम प्रतिकूल नै थियो। चिसो बढ्दै थियो। आकाश बादलले ढाकिएको थियो। चन्द्रमा आधीमात्र देखिएको थियो। ताराहरूको नाम निशाना थिएन।
हाम्रो पालोमा आकाश खुला भइदिओस् भनेर कामना गरिरहेको थिएँ। तर, भइदियो उल्टो। पानी पर्न थाल्यो।
खेल्न पो पाइँदैन कि! भनेर मनमा चिसो पस्न थाल्यो। अहिलेको मौसमको के भर! छिनमै आकाश कालो निलो हुन्छ छिन मै खुला। पानी परे पनि त्यो एकछिन मै रोकियो।
अब दोस्रो टिमको पालो आयो।
६ जनामध्ये मेरो पाँचौंमा नम्बरमा पालो थियो।
अघि डराइरहेकी दिदीको पालो पहिला आयो।
उहाँलाई डर लागेछ कि क्या हो भन्न थाल्नु भयो, ‘कोही जाने हो म भन्दा अघि?’
अर्की साथी जान तयार भइन्।
अघिका साथीहरूलाई जसरी हुटिङ गरेर हौसला दिइरहेका थियौं। उनलाई पनि त्यसरी नै दियौं। फाइनल्ली ४ जनाले राम्ररी खेले। राम्ररी नै त के भनौं जे होस् खेलबाट पछि हटेनन्। खेली छाडे।
यहाँ अन्तिमसम्ममा पनि पछि हट्ने गर्छन्। आफू हर किसिमले सुरक्षित छु भन्ने जान्दाजान्दै पनि त्यहाँ पुगेपछि होसहवास उड्छ र ब्याक हुन्छन्, कोही भने गरिछाड्ने अठोट लिन्छन् र गर्छन् पनि।
अब कसको पालो? जम्प मास्टरले भन्नुभयो।
‘मेरो’ मैले झट्टै उत्तर दिएँ।
जब अगाडि बढ्न थालेँ। त्यसपछि मनमा कस्तो कस्तो महशुस हुन थाल्यो। डर र उत्साहको मिश्रण। डर लुकाउन मज्जाले हाँसिरहेको थिएँ। आफैंले आफूलाई भुलाउने कोशिस गरिरहेको थिएँ।
जब प्ल्याटफर्ममा पुगें। जम्प मास्टरले एंकल हार्नेस् र फूलबडी हार्नेस् अनि लाइटजडित ज्याकेट लगाइदिनुभयो। त्यतिबेला पनि फेरि खेलको विधिबारे जम्प मास्टरले सम्झाउनुभयो।
तर, मलाई त्यति थाहा भएन। किनकि डरले जन्म लिइसकेको थियो। मैले उहाँले भनेको केही मेसो नै पाइनँ।
तर पनि उहाँलाई आफू तयार रहेको जनाउ दिए। त्यसपछि उहाँले मैले लगाएको हार्नेसलाई लामो तन्किने डोरीमा जोड्नुभयो र मलाई प्ल्याटफर्मको किनारामा लानुभयो।
मैले लगाएको मटरियल्स(सामग्री)ले गर्दा मलाई अगाडि बढ्न गाह्रो भइरहेको थियो।
‘यो त धेरै ह्याबी हुँदो रहेछ नि! पहिला भन्नु भएन?’ मैले जम्प मास्टरमा प्रश्न गरे।
‘यो तपाईंको सेफ्टीको लागि हो। नआत्तिनुस्’ उहाँले सम्झाउनुभयो।
बल्ल थाहा भयो अघि हाम्रो तौलमा २ किलो बढाएर किन लेखेको भनेर।
त्यो २ केजी त्यही सामग्रीको रहेछ।
उहाँले मेरो मनस्थिति बुझ्न खोजिरहनु भएको थियो।
म भने जतिसक्दो आफूलाई हल्का रूपमा प्रस्तुत गर्न खोजिरहेको थिएँ।
जब प्ल्याटफर्मको किनारामा पुगें।
आकाशमाथि हेरेँ। बादलले ढाकेको थियो। चन्द्रमा र तारालाई हेर्दै हाम फाल्छु भन्ने सोचेको थिएँ। तर भिलेन बन्दियो बादल। त्यसपछि लामो सास लिएँ।
मेरो आधा पैतालाले प्ल्याटफर्मलाई छोडेको थियो भने आधा प्ल्याटफर्ममै थियो र साथ थियो जम्प मास्टरको।
तल एकपटक पनि हेरिनँ। हुन त हेरे पनि देखिने केही थिएन। अन्धकार रात थियो।
‘आर यु रेडी?‘ जम्प मास्टरले सोध्नुभयो।
कानले सुन्यो। तर, मुखले जवाफ फर्काउन सकिनँ। किनारामा पुगेपछि मनमा जो हलचल भइरहेको थियो। सबैले भन्थे त्यहाँ पुगेपछि होसहवास नै उड्छ। अघिदेखिको उत्साहमा डरले डेरा जमाउँदै थियो। अनि होसहवास नउड्ने कुरै भएन।
१६० मिटरबाट जो हाम फाल्दै थिएँ। ‘एड्भेञ्चरस् सुसाइड‘ भन्दा फरक नपर्ला!
दोस्रो पटक पनि उहाँले सोध्नुभयो मैले ‘एस‘ भनेर जवाफ त फर्काएँ। तर, त्यो मेरो ओठे जवाफ थियो। दिमाग तयार थिएन अनि मन पनि ।
थ्री, टू, वान, गो… जम्प मास्टरले यति मात्र के भनेका थिए।
म कतिखेर जम्प भए पत्तै भएन। अन्धकार रातमा १६० मिटरको उचाइबाट हाम फाल्दा १५० प्रतिकिलोमिटर हावाको त्यो वेगलाई मेरो जाबो ५० किलो शरीरले सामना गर्दा कस्तो भयो होला! पूरै ब्ल्याक आउट नै भएँ। नजान्ने मान्छेले पौडी खेल्दा कस्तो हुन्छ। मलाई त्यो क्षणमा त्यस्तै अनुभव भयो।
त्यो ३ सेकेण्डको फ्रि फलमा आफूभित्रको डर नाप्न भ्याएँ। जुन म शब्दमा वर्णन गर्न सक्दिनँ।
अघिपछि जोडजोडले उर्लिने त्यो भोटेकोशी शान्त भएर बगिरहेको जस्तो लाग्यो। माथिबाट लाइटले फोकस गरिरहेको थियो। त्यो लचकदार डोरीले मलाई जताजता लान्थ्यो। फोकस लाइट उतै पछाउँथ्यो। अघिसम्म टाउको तल र खुट्टामाथि भएको मेरो पोज अहिले बसेर पिङ खेल्ने पोजिसन आइसकेको थियो। हेर्छु चारैतिर अन्धकार। तर, जब त्यो फोकस लाइट मेरो शरीरमा पर्यो। मैले भोटेकोशीतर्फ आखाँ बढाए। अनि फोकस लाइटले कैद गरेको मेरो स्वरूपलाई हेरें। साँच्चै अद्भूत लाग्यो। यस्तो लाग्यो म चन्द्रमामा बसिरहेकी छु। बादलले ढाकेको चन्द्रमा यहाँ पो आयो कि! यस्तो भान भो। जे भए पनि अन्तत: मैले पूरा गरिछाडें। मेरो त्यो सपना जुन अधूरै रहेको थियो।
रातमा त बन्जी ब्ल्याक आउट गरेर डरको सामना गरियो र डरलाई जितें। डे बञ्जी गर्न सकिएला? त्यतिबेला आफैंले आफैंलाई जाँच्न सकिएला वा चुनौती दिन? पक्कै पनि आफूमा विश्वास, हौसला र आँट हुनुपर्छ। डरलाई जित्न केही गाह्रो छैन।
चराले पखेटा फिँजाएजस्तै हात फैलाएर, छाती अगाडि धकेलेर उभिएर जब तपाईं हाम फाल्नुहुन्छ, ३ सेकेन्ड डरको चरम बिन्दुमा पुग्नुहुन्छ । र, लगत्तै जब तपाईं महशुस गर्नुहुन्छ, ‘म त डोरीसहित पो हाम फालेको छु,’ । तब बञ्जीको असली मजा लिनुहुन्छ। त्यो छङछङ भोटेकोशी, त्यो अग्लो पहाड, त्यो खोँच र त्यो हरियाली। अनि डरको चरमोत्कर्ष पार गरेपछि सन्तुष्ट जिन्दगी। ‘वाह’ यस्तो पो जीन्दगी!’
४० केजीदेखि १ सय केजीसम्मका व्यक्ति सामान्यतः बञ्जीका लागि योग्य मानिन्छन् । उच्च रक्तचाप, मधुमेह, दमलगायत निश्चित रोगका पीडित भने यसका लागि अयोग्य मानिन्छन् । आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनाउने सोचसहित सन् १९९९ बाट साविक लिस्ती र मार्मिङ गाविस (अहिले भोटेकोसी गाउँपालिका) जोड्ने भोटेकोशीमा नेपालका विष्णु न्यौपाने र न्युजिल्याण्डका डेविट, एलाई र डाइस मिलेर सुरू गरेको १ सय ६० मिटर अग्लो साहसिक खेल बञ्जी यात्रा अहिले २१ वर्षमा पुगेको छ। स्थापनाका बेला विश्वको दोस्रो अग्लो बञ्जी स्थल अहिले आठौं नम्बरमा पर्छ । |