पोखरा उपत्यकाको दक्षिणी डाँडो निर्मल पोखरी क्षेत्रको चिलाउनेखर्कलाई होमस्टे सुविधासहित ग्रामीण पर्यटन गन्तव्य बनाउने अभियान सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका–२१ मा अबस्थित मगर गाउँको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) पोखरा शाखाले भर्खरै पर्यटन संभाव्यता अध्ययन गरेको छ ।
पोखरा नजिकैको वस्तीमा मगरका ६३ घर छन् । ती मध्ये दुई दर्जन घर होमस्टे सुविधा दिलाउन गाउँले तम्तयार छन् । उनीहरु पाहुनालाई लोकल परिकारका साथमा कौरा, कृष्ण चरित्र, ठाडो भाका लगायत साँस्कृतिक कार्यक्रममा भुलाउने योजनामा छन् ।
भिटोफ पोखराका संस्थापक अध्यक्ष तारानाथ पहारीका अनुसार चिलाउनेखर्कको पर्यटन विकासमा भिटोफले हातेमालो गर्नेछ । चाँडै त्यहाँ होमस्टे तालिम चलाइने छ । तालिमका लागि बजेट व्यवस्था गरिने वडाध्यक्ष खगराज आचार्यले प्रतिबद्धता जनाएका छन् ।
चिलाउनेखर्क पुग्न पोखराबाट १२ किमि दक्षिण निर्मल पोखरीसम्म बस सेवा छ । त्यहाँबाट दश मिनेट ओरालो हिँडे गाउँमा पुगिन्छ ।