संखुवासभामा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले ५ वटा स्थानीय तहमा जितेको थियो। यसपटकको निर्वाचनमा चार वटा मात्र स्थानीय तहमा जित निकाल्न सक्यो।
एमाले यसपटक अघिल्लोपटक जितेका चैनपुर र मादी नगरपालिकामा आफ्नो विरासत जोगाउन सफल भएको छ। अन्य दुइटा स्थानीय तह भने कांग्रेसबाट खोसेको हो। २०७४ मा कांग्रेसले जितेका धर्मदेवी नगरपालिका र भोटखोला गाउँपालिकामा यसपटक एमालेले जितेको हो।
नेपाली कांग्रेसले पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकामा आफ्नो विरासत जोगाएको छ। साथै कांग्रेसले एमालेबाट खाँदबारी नगरपालिका, मकालु गाउँपालिका र सभापोखरी गाउँपालिका खोसेर जित हात पारेको छ। यी तीनै स्थानमा अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो।
संखुवासभामा यी तीनटै स्थानीय तह हात पार्न कांग्रेसलाई गठबन्धन सहयोगी बनेको छ।
मकालु गाउँपालिकामा कांग्रेसले अध्यक्ष जित्दा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा जित हात पारेको छ।
त्यस्तै खाँदबारीमा कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो। कांग्रेसले खाँदबारीको मेयर जिते पनि उपमेयरमा नेकपा एमालेकी उम्मेदवार विजयी भएकी छिन्।
त्यस्तै सभापोखरी गाउँपालिकामा कांग्रेसले गठबन्धनको सहायताले जित हात पारेको हो। त्यहाँ उपाध्यक्षमा एकीकृत समाजवादी विजयी भएको छ।