रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे विजयी भएका छन्।
घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई ९ हजार ७०२ मतान्तरले पराजित गरेका हुन्।
एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा कांग्रेसका शाहले २७ हजार १२० मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ।
घिमिरे तिलोत्तमा नगरपालिकाको पूर्व नगर प्रमुख हुन्। पाँच वर्ष नगर प्रमुख भएर काम गरेका उनले नगरलाई मुलुककै नमुना नगरका रुपमा स्थापित गरेका थिए।
घिमिरेकाे जितसँगै पटकपटक यही क्षेत्रबाट निर्वाचित हुँदै आएका पूर्वमन्त्री समेत रहेका शाहकाे संसदीय यात्रामा ब्रेक लागेकाे छ भने घिमिरेले पहिलाेपटक संसदीय यात्रा तय गरेका छन्। २०२४ सालमा गुल्मीको बडागाउँमा जन्मिएका उनी हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ का स्थायी बासिन्दा हुन्।
रूपन्देही ५(१) काे प्रदेशसभा सदस्यमा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् भने ५(२)मा जनमत पार्टीका चन्द्रकेश (सीके) गुप्ता विजयी भएकाे निर्वाचन आयाेगले जनाएको छ।