हरेक मानिसको जीवनमा यादका पत्रहरू खातै खात लागेर बसेका हुन्छन्। मिठा याद फूल बनेर फक्रिरहन्छ भने नमिठा याद मैन बनेर पग्लिरहन्छ। देखेको र भोगेको अनुभवहरूले कहिलेकाहीँ अचानक स्मृतिको हुण्डरी ल्याउँछन् र मस्तिष्कलाई धुम्म पार्छन्।
अतीतका काला पानाले नराम्ररी झस्काउँछन्। कहिले मन द्रवित बनाएर रुवाउन खोज्छन् त कहिले सोच्न बाध्य पार्छन्। स्मृति भन्ने चिज अचम्मको छ। कति बेला मनको दैलो उघार्छ र टुप्लुक्क आइपुग्छ पत्तै हुँदैन।
मेरो स्मृतिपटलमा पनि एउटा नमिठो घाउ छ। त्यो घाउ तीज पर्वसँग सम्बन्धित छ। तीजको स्मृति मेरो मानसपटलमा यसरी बसेको छ कि प्रत्येक वर्ष तीज टुप्लुक्क आइपुग्छ र स्मृतिको ढोका खोलेरै जान्छ। मानौँ मेरो स्मृति ‘पन्डोरा बाकस’ हो। एकपछि एक गर्दै स्मृतिको पुन्तुरो खुल्दै जान्छ।
सबैको जीवनमा बाल्यकालको विशेष महत्त्व हुन्छ। बाल्यकालका सम्झना बिर्सन सकिँदैन। ती त जीवनभर हामीसँगै रहन्छ। बाल्यकालको स्मृति कुनै सङ्गीतको धुनभन्दा फरक हुँदैन। त्यसले सधैँ हाम्रो मानसपटलमा डेरा जमाएर बसिदिन्छ र हामीलाई आफ्नै लयमा बगाएर लैजान्छ।
त्यो वर्ष वातावरण हरियो थियो। केवल हरियो मात्र होइन, साँच्चै हरियो। भाद्र महिनाको सुरुवात हरेक वर्ष यसै गरी भइरहेको हुन्छ। त्यसमा अचम्म वा अनौठो मान्नुपर्ने कारण छैन। किनभने भाद्र महिनामा सधैँ यस्तै वातावरण हुन्छ। नाङ्गै खुट्टाले भुइँमा हिँड्दा दुबो र माटोको स्पर्शले मुटुसम्म पुगेर शीतलता दिन्छ। उखरमाउलो गर्मीमा पङ्खा जसरी चल्दछ शीतल हावा। कपालका गुजुल्टाजस्ता बादल बेला बेला आकाशमा घुम्छन्। ती बादल कहिले बर्सिन्छन् धरती टेक्नलाई त कहिले आस मात्र देखाएर आकाशमै हराउँछन्।
साउन/भदौ महिनाको समयमा हरियालीको पूर्ण आनन्द धानका गराहरूमा देखिन्छन्। धानका जराले भुइँमा आफ्नो ठाउँ मजबुतसँग जमाइसकेका हुन्छन्। केही महिनापछि खेतमा झुल्न तयार भएर बसेका गरा भरीका धानको सौन्दर्य हेरेर कहिले अघाइन्छ र? यसै गरी प्रकृतिको रङ हरियो बनेर हरेक वर्ष आउने वर्षा ऋतु मेरा लागि विशेष थिए।
मेरो बाल्यकालमा वर्षा ऋतुले मलाई मोहनी लगाउँथ्यो। मलाई लाग्थ्यो, यस ऋतुमा देखिने मेरो गाउँको दृश्य एक सिङ्गो क्यानभासमा उतारिएको सुन्दर चित्र हो।
यही ऋतुमा हरियो रङलाई साथ दिन आइपुग्छ रातो रङ। हरेक वर्ष रातोपनलाई अँगालोमा लिएर आउने तीज पर्वको सौन्दर्य अवर्णनीय छ। आमा र काकीहरूका लागि आएको तीज हामी बालबालिकाका लागि पनि आउँथ्यो मिठा खानेकुरा र राम्रा लाउने कुरा लिएर। तीजको किनमेल होस् या मिठो दर खाने लालसा।
भर्खर किशोरावस्थामा टेकेका हामी उत्साहले भरिन्थ्यौँ। त्यो खुसी कहिले हाम्रा नङमा नङ पालिसको रङले पोतिन्थ्यो त कहिले लच्छा डोरीले कपालको शोभालाई चलायमान बनाउँथ्यो। मनको चञ्चलतालाई ती निर्जीव शृङ्गारका वस्तुहरूले लालमोहर लगाइरहेका हुन्थे।
स्मृति पनि अचम्मकै कुरा रहेछ। सम्झन चाहेका कुरा बिर्साइदिन्छ र बिर्सनुपर्ने कुरा आँखाका डिलमा चलचित्रझैँ घुमाइरहन्छ।
कान्छा दाइको सम्झना मेरो स्मृतिमा विशेष छ। हामी सबैले माया गर्ने कान्छा दाइ। सानैमा टुहुरो भएका दाइलाई बुवाले पहाडबाट आफूसँगै ल्याउनु भएको थियो। जति पढ्न सके त्यति बुवाले पढाइदिनु भयो। काम गर्न सिकाइदिनु भयो र काममा पनि लगाइदिनु भयो। विवाहपछि छुट्टै घरमा बस्न थाले पनि कान्छा दाइ र भाउजू कहिल्यै हाम्रो मनको घडेरीबाट अलग भएनन्। हामी ससाना खुसी र दुःखका पलहरू सँगै बाँड्थ्यौँ हरेक चाडपर्वमा एउटै आँगनमा भेला भएर रमाउँथ्यौँ।
तीजको उत्सवमा हाम्रो आँगनले आफ्नो छातीलाई झनै ठुलो र चौडा बनाउँथ्यो। हरेक वर्ष आँगन टेक्ने यो पर्व उस्तै गरी आउँथ्यो, जसरी अघिल्ला वर्ष आउँथ्यो। चाडपर्व सँगै मनाउँदा मन आह्लादित हुन्थ्यो। त्यो बेलाको उत्साह, उमङ्ग आज दुर्लभ बनेको छ। तीजले हाम्रो आँगनमा तीज गीतका भाका लिएर आउँथ्यो। ती भाकामा कम्मर मर्काइ नाच्न लालायित हुन्थे आमा र छिमेकी काकीहरू। कतिपयको माइतीको बाटो बन्द भइसकेको हुन्थ्यो त कतिपयलाई दाइभाउजू, भाइ-बुहारीको व्यवहारले माइती जान मन लाग्दैनथ्यो। त्यो पीडा उनीहरूका गीतका शब्दमा सजीव बनेर उत्रिन्थे।
कान्छी भाउजू पनि तीजको व्रत लिने गर्थिन्। दुई/तीन दिनअगाडि देखिनै घाँसपात काटेर तीन/चार दिनसम्म पुग्ने गरी तयारी गर्थिन्। आमाले नभ्याउने भएकाले हाम्रो गोठका लागि पनि जोहो मिलाइ दिन्थिन्। आमाकी मन मिल्ने बुहारी, सङ्गिनी र हाम्री प्रिय भाउजू थिइन् उनी। कान्छा दाइप्रति भाउजूको स्नेह र सहकार्य प्रशंसनीय थियो। कुखुराका अण्डा र दूधको व्यापार गरेर आर्थिक मामलामा दाइलाई सक्दो सहयोग स्वतःस्फूर्त रूपमा गरिरहेकी हुन्थिन्। दाइ-भाउजूको अनुहारमा एकअर्काप्रतिको सहयोग र सद्भावको सुन्दरता मज्जाले झल्किन्थ्यो। लाग्थ्यो, यी दुई जनाको जोडी भगवानले बनाएका हुन्।
विसं २०५६ सालको तीज अघिल्ला वर्षभन्दा फरक भएर आयो हाम्रा लागि। भनिन्छ, तुफान आउनु अघिको सन्नाटा डरलाग्दो हुन्छ। त्यो दिन बिहानैदेखि वातावरण खुलेको थिएन। हामीमध्ये कोही प्रसन्न थिएनौँ। बाटाहरू पनि सुनसान थिए। बेलुका हाम्रो घरमा दर खाने कार्यक्रम थियो। दिनभरि नाचगान गरेर रमाइरहेका गाउँभरिका आमा, काकी, दिदीबहिनीहरू सबै आआफ्ना घर फर्किसकेका थिए।
मैले देखेको त्यो तीज आजका सहर बजारमा आउने तीजभन्दा भिन्न थियो। आफ्नो निर्जला व्रत भए पनि परिवारका अरू सदस्यका लागि खाना बनाउन महिलाले भान्साका सम्पूर्ण काम गर्नुपर्थ्यो। भोलिपल्ट दिउँसो तीजको दिन पनि सबै जना हाम्रो आँगनमा जम्मा भए। हाम्रो घर हाम्रो मात्र ‘घर’ थिएन। सबैलाई स्वागत गर्ने ठाउँ थियो। यस्तो लाग्थ्यो, मानौँ घरका ढोका पनि सबैलाई स्वागत गर्ने भावले उभिएका थिए। आमाले भन्थिन्, ‘आफ्नो आहारा त पशुले पनि खोज्न सक्छ। मानिस भएर जन्मेपछि अरूका निम्ति पनि सोच्नुपर्छ। अरूका लागि आफ्नो हृदय सधैँ उदार र खुला राख्नुपर्छ।’’
हाम्रो आँगनमा भरिभराउ मानिस देख्दा सबैले आनन्दको अनुभूति गर्थे। सायद त्यसैले होला, छिमेकीहरूले हाम्रो आँगनलाई ‘हँसिलो आँगन’ भनेर नै नामकरण गरेका थिए। त्यतिखेरको अपनत्व र मित्रताको भाव आजकल गाउँमा कमै भेटिन्छ। त्यही आफ्नोपन जसलाई शब्दले बयान गर्नु आवश्यक छैन। जसलाई केवल आत्मीय भावले बुझ्छ। बेला बेला गाउँ जान्छु, अझै पनि त्यो आत्मीयता खोज्छु तर भेट्न सक्दिनँ।
पच्चीस वर्ष बितिसकेको छ। मेरो स्मृतिमा अझै पनि त्यो तीजको रात मेटिँदै नमेटिने गरी बसेको छ। कान्छा दाइको अनुहार मेरा यादको सन्दुकमा लालमोहर लगाएर बसेको छ। बुवाले भन्नुहुन्थ्यो, ‘कान्छालाई हेर तिमीहरू, के उसलाई चिन्ता हुँदैन होला? तर उसले जिउने कला क्या मज्जाले जानेको छ! मुस्कानको पछेउरा अनुहारमा ओढेरै हिँड्छ।’
त्यो दिन सूर्यास्त भइसकेको थियो। पण्डित हाम्रो घरमा आएर सबैलाई छिटो पूजामा बस्न भने। मलाई लाग्थ्यो सबैभन्दा व्यस्त र दामले गोजी भरिएका भनेकै पण्डितहरू हुन्। साइकलको ह्यान्डलमा दुई वटा ठुलो झोला अड्काएका थिए पण्डित बाजेले। चामल र फलफूलले भरिएको झोला देखेर मेरो लोभी मनले सोच्यो, ‘हाम्रा बुवाले पनि कहिलेकाहीँ जजमानी गरे पनि हुन्थ्यो नि!’
पण्डितलाई सधैँ चटारो हुन्छ भन्ने थाहा पाएर आमाले पूजा स्थान र सामग्री सधैँ तयार राख्थिन्। त्यो दिन पूजाका लागि भनेर हामी मिलेर लामो चटाइमा बसेका थियौँ। मैले रातो फ्रक लगाएकी थिएँ। आफू राम्री भएकी महसुस भएर होला खुट्टाले भुइँ छोडेको थियो।
कान्छी भाउजूले कर्के नजरले जिस्क्याउँदै भनिन्, ‘नानी व्रत बस्न सुरु गर, राम्रा श्रीमान् अनि श्रीमान्को लामो आयु प्राप्त हुन्छ।’
मेरो अनुहार लाजको लालीले राताम्मे भयो। तर मनभित्र मिठो काउकुती पनि लागिरहेको थियो। किशोरावस्थाको उतारचढावले भरिएको मेरो शरीर र मनमा भाउजूको ती शब्दहरूले गहिरो प्रभाव पार्दै थिए। मैले मुस्कुराउँदै टाउको निहुराएँ।
पूजा सकिँदै थियो। जसो जसो पण्डितको निर्देशन हुन्थ्यो पूजामा बसेका व्रतालुले त्यसै त्यसै गरिरहेका थिए। अचानक अखण्ड दीप निभ्यो। आमाहरू एकअर्काको अनुहार हेर्दै अचम्मित भए। पण्डित बाजेले केही हुन्नको सङ्केत गर्नुभएको केही पलमै ठुलो बम पड्किएको आवाज कानको जाली फुट्ने गरी आयो।
हामीले केही बुझ्नै सकेनौँ। सबैको अनुहार डरले रातो भएको थियो। त्यो आर्मी र माओवादीबिच भिडन्त थियो, बुझ्न गाह्रो भएन। हाम्रो मनमा डरको कालो बादल मडारियो। यस्तो लाग्यो, आज कसको रातो सिन्दूर मेटियो। कसको व्रतको आह्वान भगवान्ले सुनेन।
चराहरूको चिर्बिराहट रोकिएको थिएन। कुकुरको भुकाइले मस्तिष्कमा त्रासको हुन्डरी चलिरहेको थियो। पूजा छिटो सकाएर हामी घरभित्र बस्यौँ। बाहिर निस्कन उपयुक्त थिएन। केही बेरपछि मानिसको समूह हाम्रो घरनजिक आयो जस्तो लाग्यो।
कान्छी भाउजू ढोका खोलेर हिम्मतका साथ बाहिर निस्किइन्। हामीले उनलाई रोक्न खोज्यौँ तर उनी बल लाएर बाहिर गइन्।
तीन चार जना पुरुष आएर भनिरहेका थिए, ‘आर्मी र माओवादीबिच मुठभेड भयो। कान्छो त्यहीँ ठहरै भयो।’
कान्छी भाउजू भावशून्य भएर ढल्नुभयो। त्यो पल त सायद स्वयम् यमराजले पनि देख्न सक्दैनन् होला। हामी बिस्तारै बाहिर निस्क्यौँ। केही क्षणअघिको भाउजूको चम्किलो अनुहारमा दुःखको पहाड खसेको थियो।
मलाई ताजै सम्झना छ, सबै सुनसान थियो। आवाज थिएन घरमा। अघिल्लो दिन जे भयो, त्यो सम्झनासँगै भुइँ चिसो लाग्थ्यो। कान्छी भाउजूको निधारको रातो सिन्दूर एकाएक हराएको थियो। त्यो एक रातमै संसार उल्टिएको थियो।
आज ती सबै घटना भएको पच्चीस वर्ष बितिसकेको छ। तर अझै पनि तीज आउँदा मनमा एउटा पुरानो अन्धकार फर्किन्छ। त्यो रात घटेको घटनाका कारण तीजको रौनकले मलाई कहिल्यै छोएन। दुःख, रित्तोपन र चिरस्थायी वियोगको दिन कान्छी भाउजूको सिन्दूरे रङको सारी एक निमेषमै रङ्गहीन भएर परिणत भई जीवनका भित्ताहरूलाई रित्ता बनाएर गए।
हरेक तीजमा नारीहरू रातो सारीमा सजिन्छन्। नाचगान हुन्छ, मिठा परिकारहरू पकाइन्छन्। तर मेरा लागि तीज भनेको स्मृतिपटलमा रहेको नमिठो गरी च्यातिएको त्यो पत्र हो जसले एक निमेषमै कान्छी भाउजूको कान्छा दाइसँग जीवन बिताउने, सन्तान जन्माउने र हरेक तीजमा कान्छा दाइका लागि व्रत बसेर लामो आयु माग्ने सपना उडाएर लगेको थियो।
मेरो स्मृतिमा कहिल्यै नमेटिने गरी खत बनेर बसेको त्यो पलले आज पनि मलाई तीजको दिन रङ्गिन भएर नाच्ने, गाउने र मन्दिर धाउने गोडालाई कुँजो बनाएर एउटा कुनामा थन्क्याउँछ। कान्छा दाइ र भाउजूको यादले आँखा भरिन्छ।