जुन ठाउँमा गए पनि जंगल, नदी वा मान्छेको बस्तीभन्दा पर कतै हराउनु मेरो आदत भइसक्यो।
सहरको रमझमले भन्दा जंगलको आवाजले मलाई तान्छ, त्यहाँ अनेक चराको चिरबिर मिसिएको हुन्छ। म त धेरैभन्दा धेरै प्रजातिका चराको चिरबिर सुन्दै दिन, महिना र वर्ष बिताउन सक्छु होला।
म यसरी घुम्दा देखिने चराको सूची बनाउँछु। सूचीमा नयाँ प्रजातिका चराको फोटो र जानकारी थप्नु मेरो सोख हो। तिनलाई हेर्न, तीबारे जानकारी लिन र पढ्न मलाई मजा लाग्छ।
मैले यो वर्ष पाँच सयभन्दा बढी प्रजातिका चरा देख्ने र हेर्ने लक्ष्य राखेको छु। त्यही लक्ष्य भेट्न फुर्सद मिल्यो कि जंगल चहार्न निस्किहाल्छु।
यसपालि म मेरी साथीसँग अमेरिकाको सानडियागो सहरबाट ३० माइल पर समुद्रमाथि पुगेको थिएँ। यो ठाउँ क्यालिफोर्निया राज्यको दक्षिण भेगमा पर्छ।
प्रशान्त महासागरको त्यो अनकन्टारमा हामी चरा खोज्न गएका थियौं।
यहाँ धेरै प्रजातिका चरा हुन्छन्। अमेरिकामा पाइने १२ सय प्रजातिमा ६५-७० प्रजातिका चरा यो ठाउँमा पाइन्छन्। २८०-३२० जति प्रजाति त म बस्ने सहर र वरपरका अरू ठाउँमा भेटिन्छन्। धेरै प्रजातिभन्दा चरा भेट्न 'चरायात्रा' गर्नु जरूरी हुन्छ।
सानडियागोको यात्रामा निस्किनुअघि मैले आफू बस्ने सहर फार्गो र अमेरिकाका अरू धेरै ठाउँमा ४१३ प्रजातिका चरा देखेको थिएँ।
३५० प्रजाति कटेपछि नयाँ प्रजातिका चरा खोज्न गाह्रो हुँदै गएको थियो। विशिष्ट वासस्थान हुने र एउटै मात्र क्षेत्रमा पाइने चरा खोज्न यात्रा गर्नैपर्ने हुन्छ। यसपालि समुद्र र यसको किनारमा बस्ने चरा खोज्नु थियो।
सामुद्रिक चरा 'पेलाजिक' भनेर चिनिन्छन्। पेलाजिक भनेको खुला समुद्र हो। ती चरा मैले देखेको थिइनँ। त्यसैले पनि म क्यालिफोर्नियाको सानडियागो गएको थिएँ। पेलाजिक प्रजातिका चरा खोज्न डुंगा चढेर समुद्रको बीचमै जानुपर्छ।
जानुअघि त्यो यात्रा सहजै पूरा हुन्न कि भनेर म चिन्तित पनि भएको थिएँ। मैले एक दिनका लागि डुंगा बुक गरेको थिएँ।
चिन्ता थियो – त्यो दिन पानी पो पर्छ कि! हावा धेरै चल्छ कि! यात्रा नै रद्द हुने हो कि!
सबैभन्दा ठूलो चिन्ता त नयाँ चरा भेटिन्छ कि भेटिँदैन भन्ने नै थियो। अर्को डर 'मोसन सिकनेस' को थियो। म डुंगामा पहिलोपटक निकै लामो समय बस्न लागेको थिएँ। त्यसैले मोसन सिकनेसको डर भएको थियो।
हामी त्यो सहर पुग्यौं। बिहान ठ्याक्कै सात बजे समुद्र यात्रा सुरू हुने रहेछ।
हामी पुग्दा पिएर (डुंगा राख्ने ठाउँ) वरपर नै टन्नै चरा थिए। धेरै जसो त गल (सी गल भनेर चिनिने एक प्रकारको चरा) देखिन्थे।
सय-डेढ सय गलहरू रहेको ठाउँमा कुनै नयाँ प्रजाति कतै छ कि भनेर मेरा आँखा चारैतिर दौडिए।
त्यही बेला मैले कहिल्यै नदेखेको 'हेर्म्यान्स गल' देखेँ। त्यति धेरै चराका बीचमा एउटा फरक चरो भेट्न सजिलो किन थियो भने त्यसको चुच्चो सानो र रातो थियो।
डुंगायात्रा सुरू हुन नपाई एउटा नयाँ चरो भेटियो, म फुरूंग परेँ।
डुंगा बिस्तारै अगाडि जाँदै थियो। चरायात्राका लागि चार जना गाइड थिए। एक जना डुंगामा माथिपट्टि बसेका थिए। उनी आफूले यस्तो ठाउँमा चरा देखेँ है भनेर माइकबाट सुनाउँथे। तल हुने गाइडहरूले पनि आफूले देखेको चराबारे वाकीटकीबाट उनलाई सुनाउँथे।
त्यसपछि मुख्य गाइडले माइकबाट यस्तो यस्तो चरो देखियो है भनेर घोषणा गर्थे।
डुंगा हिँडेको केहीबेरमा किनारमा रहेका ढुंगामा सानो चरो देखियो भन्दै यात्रुहरूले हल्ला गरे। म पनि आफ्नो दुरबिन तेर्स्याएर हेर्न थालेँ। यो हो, त्यो हो भन्दै मान्छेहरू अनुमान लगाउँदै थिए। मैले देखेको थिइनँ। आखिरमा 'सर्फ बर्ड' रहेछ। मैले देख्न पाइनँ।
एकछिनपछि एउटा ठूलो ढुंगामा पाँचवटा सर्फ बर्ड देखिए। अघि नदेखेर थैय्या भएको मेरो मन रमायो।
यसरी मैले यात्राको १५ मिनेटमै दुइटा लाइफर बटुलेँ।
डुंगा अनवरत हिँडिरह्यो, चरा कतै देखिएन। पछाडि फर्केर हेर्दा पूर्वतिर साना हुँदै गएका अजंगका सहरी संरचनाहरू थिए। पश्चिमतिर क्षितिजमा जोडिएको पानीको धर्को देखिन्थ्यो। आँखाले भ्याएसम्म पानी मात्र थियो।
लामो समयसम्म चरा नदेखिँदा गाइड त्यो ठाउँ र त्यहाँ पाइने चराबारे रमाइला र रोचक कुराहरू सुनाउँथे।
प्रमुख गाइडले भने, 'हामीले आज देख्नेमध्ये धेरै चरा यहाँ भन्दा दुई सय माइल पर मेक्सिकोमा पर्ने ग्वाडलुपे टापुमा गुँड बनाउँछन् र यहाँ खाना खोज्न आउँछन्।'
उनी यस्तै रोचक कुरा सुनाइरहन्थे।
पछाडि फर्केर हेर्दा सहर देखिन छाडेपछि फाटफुट चरा देखिए। समुद्रको माझमा हामीले देखेको सबभन्दा पहिलो चरो 'ब्ल्याक स्टर्म पेट्रेल' थियो। त्यो मेरा लागि नयाँ थियो। फोटोमा धेरैपटक देखेको भए पनि आँखाअगाडि देखेको थिइनँ।
फोटोमा देख्दा सोच्थेँ, त्यो अलि ठूलो चरो होला। आँखाले देख्दा सोचेभन्दा निकै सानो रहेछ, लगभग सरौटे जस्तो अकारको। टाढाबाट चमेरोझैं देखिने त्यो चरो समुद्रमाथि उडेर पानीसँग जिस्किएजस्तो देखिन्थ्यो। खासमा त्यसरी खेल्दै रमाउँदै पानीमाथिको साना प्राणी खाने रहेछ।
त्यो चरोभन्दा बढी त डुंगामा रहेका मान्छे रमाइरहेका थिए। रमाउनेमा म पनि थिएँ।
त्यति बेलासम्म हामी समुद्रमा धेरै टाढा पुगेका थिएनौं। गाइडले त्यो ठाउँमा समुद्रको गहिराइ दुई सय फिट जति छ भनेको थियो। समुद्र धेरै गहिरो नभएको ठाउँमा ब्ल्याक स्टर्म पेट्रेल मात्र पाइने रहेछ। समुद्र धरै गहिरो भएको ठाउँमा चरा पनि धेरै प्रजातिका पाइने रहेछन्।
बेलाबेलामा गाइड अबको सात माइल पर यो यो प्रजातिका चरा देखिन्छन्, १५ माइल कटेपछि यो यो पाइन्छन्, ३० माइल पुग्दा फलानो प्रजातिका पाइन्छन् भन्थे।
कतिपय चरा विचरण गर्न, गुँड बनाउन, आहारा खोज्न विशेष ठाउँ रोज्ने गर्छन्। यस्तो विशिष्ट व्यवहार देखाउने चरालाई अंग्रेजी भाषामा 'पिक्की' भन्छन्। पिक्कीबारे मैले धेरैपटक पढेको थिएँ। यही वर्षको जुनमा म त्यस्तै पिक्की चराको खोजीमा अमेरिकाको मिसिगन राज्य पुगेको थिएँ। मैले खोजेको चरा 'कर्टल्यान्ड्स वार्ब्लर' थियो। त्यो चरा जाडो याममा जमाइकातिर जान्छ। वसन्त ऋतुको सुरूमै मिसिगन फर्किन्छ, मात्र मिसिगन।
कस्तो पिक्की रहेछ जस्तो लाग्यो होला होइन त! त्यो चराको रोजाइ अझै अनौठो छ। मिसिगन पुगेपछि ज्याकपाइनको खोजीमा लाग्छ।
ज्याकपाइन एक प्रकारको सल्लाको रूख हो। त्यसले करिब पाँचदेखि १५ वर्ष उमेरको र पाँचदेखि १५ फिट उचाइको ज्याकपाइनमा मात्र गुँड बनाउँछ। चराहरू कतिसम्म पिक्की हुन सक्छन् भन्ने यो गतिलो उदाहरण हो।
यस्ता पिकी चरा कहिलेकाहीँ संकटमा पर्छन्। यो कर्टल्यान्ड्स वार्ब्लर पनि केही समय संकटमा पर्यो। मिसिगनको जंगलमा लागेको आगो ज्याकपाइनमा सल्कियो। त्यो डढेलोले गुँडमा असर पुग्यो। कति चरा जलेर मरे। त्यो चराको संख्यामा ठूलो असर पर्यो।
म मिसिगनको सम्झनामा बरालिँदा गाइडले नौ माइलको घेरा नाघेर डुंगा अघि बढेको कुरा बताउँदै थिए। अब कुन ठाउँमा कुन चरा पाइन्छ भन्ने सूचना दिँदै थिए। हुन पनि उनले जुन ठाउँमा जे पाइन्छ भन्थे थिए, त्यो त्यहीँ पाइन्थ्यो। त्यसमध्ये एउटा थियो 'ब्ल्याक भेन्टेड सेर्वाटर'।
यो पनि मलाई एकदमै हेर्न मन लागेको चरा थियो। हुन पनि सेर्वाटर समुद्रीतटको नजिकै पाइने प्रजाति रहेछ।
नौ माइलको घेरा तरेर गएपछि भने धेरैबेर चरा देखिएनन्। हामी किनारबाट ३० माइलतिर पुग्दा समुद्रको गहिराइ लगभग चार हजार फिट थियो। बल्ल धेरै प्रकारका चरा देखिए। पर क्षितिजमा ससाना चरा उडेका देखिन्थे। गाइडले 'अब हामी त्यतै जान्छौं' भनेर जनाउ दिए। सबै उत्साहित भयौं।
एकैछिनमा अर्को घोषणा आयो – डुंगाको देब्रेपट्टिबाट उडेर आइरहेको छ है, ठूलो चरो छ, कसैले कन्फर्म गर्नुपर्यो!
सबैले आआफ्नो दुरबिन तेर्स्याए। अलि लामो पखेटा भएको एउटा चरो हवाइजहाज अवतरण हुन लागेको बेलामा ग्लाइड गरेझैं गर्दै थियो। त्यस क्षेत्रमा पाइने चरासँग म धेरै परिचित त थिइनँ, तर त्यो कुन चरो हो भन्ने उसको पखेटा देखेर चिनिहालेँ। म त झन्डै चिच्याएँ।
त्यो थियो – अल्बाट्रस।
सधैं सुनेको र पढेको चरो तर मैले आँखाअगाडि कहिल्यै देखेको थिइनँ।
गाइडले पनि भनिहाले– त्यो ब्ल्याक फुटेड अल्बाट्रस हो।
अल्बाट्रस प्रजाति संसारमा सबभन्दा लामा पखेटा भएका चराका रूपमा प्रख्यात छन्।
यिनको पखेटाको मांसपेसीमा भएको एउटा परिमार्जनले पखेटा फैलिएका बेला फैलिएकै अवस्थामा 'लक' गरिदिन्छ। लक भएपछि यिनीहरू निकै लामो दुरी सहजै उड्न सक्छन्। यो प्रजाति ६० वर्षसम्म बाँच्न सक्छ। अझ विस्डम नामको लेसियन अल्बाट्रस त ७० वर्षभन्दा धेरै बाँचेको पाइएको छ।
अल्बाट्रसले समुद्रमा कावा खाएको हेरेर सबै 'वाउ' भन्दै त्यतैतिर दुरबिन र क्यामरा सोझ्याउँदै थिए। त्यो हेर्दाहेर्दै क्षितिजमा हरायो।
बिस्तारै डुंगाले गति लियो र केहीबेर अगाडि क्षितिजमा देखिएका ससाना चरातिर मोडियो।
त्यहाँ त पेट्रेल्सको 'बुफे' चलेको रहेछ। लिचेज्स स्टर्म पेट्रेल, टाउन्सेन्ड्स स्टर्म पेट्रेल, पिन्क फुटेड सेर्वाटर, सुटी सेर्वाटर!
डुंगा रोकियो। सबै जना ती चरा हेर्न डुंगाको अगाडि आए।
गाइड कुन चरा कसरी चिन्ने भनेर सिकाउँदै थिए – टाउन्सेन्ड्स स्टर्म पेट्रेल चिन्न पुच्छरमा हेर्नुहोस्, पुच्छरको माथिल्लो भाग सेतो हुन्छ, तल्लो भाग खैरो र दुवै उस्तै आकारका हुन्छन्। लेचेज्स स्टर्म पेट्रेलको माथिल्लो सेतो भाग तल्लो खैरोभन्दा सानो हुन्छ।
चरा चिन्ने उपाय सुन्दै मैले पनि केही फोटा खिचेँ।
गाइडले ती चरा उड्दाको भिन्नता लगायत अरू फिल्ड मार्क्स (चरा चिन्न सजिलो हुने चिह्नहरू) बारे बताए।
समुद्री तट छाडेर त्यहाँसम्म पुग्दा मैले दस वटा नयाँ चरा देखिसकेको थिएँ। त्यहाँ देखेका सबै चरा मेरा लागि नयाँ थिए। समुद्री तटबाट ३० माइल परको त्यो ठाउँमा केही बेर बसेर डुंगा फर्किन थाल्यो। गाइडले अर्कै बाटो फर्किने सूचना दिए।
अर्को बाटोमा नयाँ चरा देखिन्छन् भन्ने उनको कुरा थियो। फर्किंदा त सबैलाई थकाइ लागेजस्तो थियो। चरा पनि नदेखिएकाले मान्छेहरू चुपचाप थिए। सायद सबैजना समुद्रको आवाजमा हराएका थिए।
धेरै बेरपछि एकाएक हल्ला भयो – देब्रेतिर 'ह्वेल' छ है।
म डुंगाको अगाडिपट्टि थिएँ। जुरूक्क उठेर हेर्न थालेँ। पोखरीमा ढुंगा फाल्दा छुप्लुङ गरेर पानीका छिटा उछिट्टिएझैं बाहेक केही देखिएन। म दुरबिनले नै हेर्दै थिएँ, केही बेरमा ह्वेल देखिहालेँ।
ब्लु ह्वेल – गाइडले कराएर घोषणा गरे।
मैले भनेँ – ओहो! सुनिरहेको तर नदेखेको जनावर आज देख्न पनि पाइयो।
त्यो ह्वेल एकपटक मात्र देखापर्यो।
ब्लु ह्वेलले लगभग ३० मिनेट सास रोक्न सक्छ रे! अर्को ३० मिनेटमा त धेरै टाढासम्म पुगेर जहाँबाट पनि निस्किन सक्छ। त्यो ह्वेल एकैछिनलाई सास फेर्न बाहिर आएको थियो होला!
ह्वेल हेरेर रमाएपछि गाइडले फेरि अर्को सूचना दिए – दाहिनेपट्टि हेर्नुहोस्, 'पोमरिन एगर' उडेर यतै आउँदै छ।
'एगर' शब्द जर्मन भाषाबाट आएको हो जसको अर्थ 'सिकारी' भन्ने हुन्छ। त्यसले अरूको आहारा खोसेर खाने भएकोले नाम एगर हुन गएको हो। पोमरिन एगर पनि मेरालागि लाइफर नै थियो।
त्यसपछिको यात्रामा चरा देखिएनन्। मलाई फर्किँका 'एल्सिड' प्रकारका चरा देखिन्छ कि भन्ने आशा थियो। यी चरा पूर्ण रूपमा समुद्री हुन्, समुद्रबाहेक अन्त देखिन्नन्।
क्यालिफोर्नियासम्म पुगेर १२ घन्टासम्म डुंगामा बसेर चरा हेर्ने मौका हम्मेसी मिल्दैन। यस्तै सोच्दै मैले आफ्नो नजर समुद्रभरि फिजाएको थिएँ। तट आइपुग्यो, मैले एल्सिड देखिनँ। डुंगामा १२ घन्टा यात्रा गर्दा मैले ११ वटा नयाँ चरा भेटेँ। यो पेलजिक यात्रामा २५ वटा नयाँ चरा भेट्छु कि भन्ने मेरो आशा थियो तर मान्छेले आशा गरेअनुसार चरा नभेटिँदा रहेछन्। चराको संसार मान्छेले सोचेको जस्तो मात्र हुँदैन रहेछ।
भोलिपल्ट हामी अमेरिकाकै अर्को राज्य एरिजोनातिर लाग्यौं। चरा भेटिन सक्ने राम्रा पार्क खोज्दै र ससानो हाइक गर्दै हामी आफ्नो बाटोमा थियौं। एक ठाउँमा रोकिएर चरा हेर्दै गर्दा रमाइलो घटना भयो।
समुद्री तटबाट पानीको किनारतिर म 'शोरबर्ड' भेटिन्छ कि भनेर हेर्दै थिएँ। शोरबर्डलाई नेपालीमा 'किनार चरा' भने पनि हुन्छ। पानीमा बस्न रूचाउने तर धेरैजसो तटतिर बस्ने हुटिट्याउँ जस्ता चरा हुन् शोरबर्ड।
त्यसकै खोजीमा आँखा डुलाउँदै गर्दा ढुंगामा चारवटा साना चरा देखेँ। तिनको शारीरिक बनावट देखेर मैले 'स्पटेड स्यान्डपाइपर' (सुडसुडिया) भन्दै कराएँ। सँगै रहेकी साथीले पत्याइनन्। मैले स्पटेड स्यान्डपाइपर धेरै पटक देखेको छु। आज पनि त्यही हो भन्नेमा ढुक्क थिएँ। नजिक जाँदै गर्दा एउटा चाहिँ अलि ठूलो आकारको जस्तो लाग्न थाल्यो। हामी अलिक वरै थियौं। तीनवटा उडिहाले। ती चरा 'युनिक' पारामा उड्छन्।
हामीले परबाट हेर्दा अझै बसिरहेको चौथो चराले पछाडिको भाग हल्लाइरहेको थियो जसरी स्यान्डपाइपरले हल्लाउँछ।
यो त ठूलो आकारको थियो।
केही बेरमा हामी त्यो चरो भएको डाँडामाथि नै पुग्यौं। कुन चरो हो भने चिन्न सकेनौं। हरेकपटक नयाँ ठाउँमा जाँदा त्यहाँ पाइन सक्ने चराको सूची बनाएर जान्छु तर त्यो चरो त मेरो सूचीमा पनि थिएन।
मैले भनेँ, 'सूचीमा भएको भए त चिनिहाल्थेँ नि।'
हामी चरा नचिनेर ट्वाल्ल परिरहेका बेला दुई व्यक्ति आए, सोधे – के गरिरहेका छौ?
मेरी साथीले भनिन् – चरा हेरिरहेका।
ती मान्छेले प्रश्नको वर्षा गरे – चरा किन हेर्ने? कहाँबाट आएका हौ? चरामा नहेरी नहुने त्यस्तो के हुन्छ?'
मलाई तिनका प्रश्नको जबाफ दिन रूचि थिएन। मेरो ध्यान चरामै थियो। त्यो चराको फोटो खिचेँ। झोलाबाट चरासम्बन्धी किताब निकालेँ। किताबमा त्यो चराको नाम भेटेर मन फुरूंग भयो। 'वान्डरिङ ट्याट्लर' रहेछ।
मलाई ट्याट्लर भन्ने चरा हुन्छ भन्ने थाहा थियो तर त्यहाँ पाइन्छ भन्ने सोचेको थिइनँ। मेरी साथी ती मान्छेसँग अझै बोल्दै थिइन्। मैले उनको हात कोट्याएर बिस्तारै भनेँ – यो त वान्डरिङ ट्याट्लर पो रहेछ!
उनले पत्याइनन् क्यार! गफमा लागिरहिन्।
ती मान्छे गए। अनि मैले उनलाई किताब देखाएँ।
अनि भनिन् – लौ साँच्चै पो भनेको!
एरिजोना जानुको मुख्य कारण त्यहाँ मात्र पाइने केही चरा खोज्नु थियो। त्यहाँ पुगेको बिहान हामीले टन्नै चरा हेर्यौं। दिउँसो साथी बिरामी परिन्। उनलाई छोडेर एक्लै चरा खोज्न जान सकिनँ।
एरिजोना पुग्दा मेरो नयाँ चराको सूचीमा ४४ वटाको नाम थप भयो।
मैले त अमेरिकामा पाँच सय प्रजातिका नयाँ चरा हेर्नु छ। संसारमा देखेका नयाँ चराको सूचीमा आठ सय प्रजाति कटाउनु छ। हालसम्ममा अमेरिकामा ४५८ प्रजाति र विश्वमा ७७५ प्रजाति देखेको छु।
पेलाजिक यात्रा सकिएपछि एउटा रमाइलो भयो।
त्यही सहरमा बस्ने सुशीलजीको घर गएका थियौं। उहाँ खुसी हुँदै 'लौ चरा हेर्न जाऔं' भनेर पोखरी भएको नजिकैको एउटा पार्कमा पुर्याउनुभयो। पार्क छिर्दै गर्दा सानो झुन्डमा चरा देखेँ तर ठम्याउन सकिनँ।
म अलमलमा परेको देखेर मेरी साथीले सोधिन् – त्यो के हो थाहा छ तिमीलाई?
त्यो 'स्केली ब्रेस्टेड मुनियाँ' रहेछ, नेपालीमा 'कोटेरो मुनियाँ' भनिन्छ (आवरण तस्बिरमा भएको चरा)।
नेपालमा टन्नै देखेको त्यो चरा क्यालिफोर्नियाको पोखरीमा पनि देखिन्छ भन्ने त मैले चिताएकै थिइनँ। हुन पनि हाम्रै भेगबाट यता ल्याइएको रहेछ।
त्यो चरो मेरो लाइफर लिस्टमा नयाँ थिएन तर अमेरिकी सूचीमा नयाँ थियो।
यस्तै केही चरा र केही याद बटुलेर हामीले क्यालिफोर्निया हुँदै एरिजोनामा पेलाजिक चरायात्रा पूरा गर्यौं।
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)