दिनांक: श्रावण ४ गते शनिवार
समय: बिहान ९:३० बजे
स्थान: गृह परिसर
सहभागी: पत्नी र सुपुत्री
कार्यालयको लागि पुस्तकालयको जगेर्ना खातिर दश ठाउँ धाएर केही पुस्तक जुटाएको छु। हुन त साझाको एकेडेमीको पुस्तक प्रदर्शनीमा दुई रुपैयाँमा पुस्तक पाउँदा नकिन्ने हामी डलरमा नेटफ्लिक्स किन्छौँ, यस्तै छौँ हामी।
श्रीमतीजीको लामो कचकच र सिकायतपछि किताब बेच्ने निर्णय गरे पनि मनैबाट ती किताब बेच्ने मन थिएन। हुन त ती पुस्तकहरू मेरो कामका थिएन। पुस्तक भाइहरूको इन्जिनियरिङ पढ्दाका थिए। हुन त हरेक दिन जसो कार्यालयबाट पढ्न विभिन्न म्यानुअल तथा पाठ्यसामग्री ल्याउने भए पनि श्रीमतीजीलाई आफ्नै पुस्तक त सञ्चय गर्ने मन थिएन भने ती त पुरानो काम नलाग्ने पुस्तक भए नै। ती पुस्तक कवाडीमा बेच्दा मेरो मन कटक्क खायो तर श्रीमतीजीलाई भन्न सकिनँ किनकि उनको सोच पनि गलत थिएन।
ठाउँको अभावले होस या दराजको अभावले या पुरानो, थोत्रा, ढुसी लागेका, गन्हाउने भएर होला घरभित्र राख्दा किरा लाग्ने, गन्हाउने कसैलाई एलर्जी समेत हुने भएकाले यो घरको भुईँ तलाको भर्याङको खुड्किलामा राखेको थिएँ र पनि त्यो ठाउँ पनि पुस्तकले पाएन अनि कवाडीमा बेचियो।
अमेरिकी विद्धान तथा नेता अस्टिन फेल्पले भनेझैँ- 'थोत्रो कोट लगाउने र पुस्तक किन्ने' जमात हामीकहाँ छैन। त्यसैले त हामी गँवार, अनपढ, मूर्ख र अशिक्षित छौँ। पीडित, दुखी छौँ र पनि घमन्डी छौँ नै।
२०४६ ताका श्याम श्रेष्ठको मूल्याङ्कन पाक्षिक पत्रिका पढ्थेँ। त्यो बेला भरत समसेरको एउटा अन्तरवार्तामा 'नेताहरू एउटा पुस्तक पनि पूरा पढ्दैनन् अनि ज्ञान, दिमाग, बुद्धि कहाँबाट आउँछ?' भन्ने उहाँको तर्क थियो। हो जस्तो लाग्थ्यो। हुन त हात्ती पढेर ठुलो भएको हो र?
पुस्तक सङ्ग्रह गर्ने मेरो सोच अझै छ तर पूरा हुँदैन मलाई यो थाहा छ। गुनासो कसैलाई गर्दिनँ। त्रिविको पुस्तकालयमा पुस्तक माग गर्न जाँदा त्यहाँका इन्चार्ज सँगको कुराकानीमा दैनिक हजारको सङ्ख्यामा विद्यार्थी पढ्न आउने सुनेँ। हुन त सबै जना शोधपत्र लेख्न त्यहाँ पुग्छन् किनकि सन्दर्भ सामग्री पर्याप्त, निःशुल्क पढ्ने स्थान, शान्त वातावरण भेटिन्छ।
मलाई लाग्थ्यो म शासक भएको भए हालको स्वास्थ्य मन्त्रालय हटाएर त्यहाँ राजधानी पुस्तकालय बनाउँथेँ र सिंहदरबारका सबै कर्मचारीलाई पढ्ने मौका दिन्थेँ ताकी उनीहरूको कार्यक्षमता बढोस्। कीर्तिपुरको केन्द्रीय अपायक तथा सहरबाट टाढा पुस्तकालय राख्दा पढ्ने पाठक नै छैनन्। हुन त पोखरामा पनि त्यही हालत छ पश्चिमाञ्चल पुस्तकालयको। मलाई अझै आशा छ हाम्रा अध्ययनशील प्रमज्यूले विचार पुर्याउनुहुन्छ कि भन्ने।
काठमाडौँमा भएका सबैजसो पुस्तकालय चहारेको छु। सबैमा पुराना काम नलाग्ने पुस्तक छन्। पढ्ने पाठक नभएर होला त्यहाँ नयाँ पुस्तक ल्याउने राख्ने लगाव लेखिएन।
पढ्ने संस्कृतिको विकास गर्न वातावरण सहज पार्नु पर्छ। हामीकहाँ खाली जग्गा घर भवन भेट्यो कि लिज र भाडा लगाउने सरकारी कोष तथा अन्य कोष बढाउने सोच छ। त्यसलाई पठनपाठनमा लगाउने सोच बिरलै छ।
जागिर नपाउँदा केही महिना काठमाडौँ आउँदाका सुरुआती दिनमा भारतीय पुस्तकालयमा धेरै दिन गएको छु। हुन त त्यहाँ पनि काम लाग्ने पुस्तक कमै छन्।
कुनै बेला टाइम्स अफ इन्डिया किनेर पढ्न न्युरोडको सन्देश गृहमा जान्थेँ। धेरै पृष्ठ हुन्थ्यो। अङ्ग्रेजी नजाने पनि पढ्ने प्रयास गरिन्थ्यो। आइतबार त झनै ५२ पेज आउने ग्लसी पेपरसहित अनि म्याट्रिमोनियल पनि।
युएईमा काम गर्दा त्यहाँको सहकर्मीहरू सेयर सम्बन्धी पत्रिका किनेर हेर्थे। आफूलाई कुहिराको काग जस्तो उनीहरू छलफल गर्थेँ। आफू वित्त शास्त्रमा स्नातकोत्तर गरेको तर सेयरको 'एस' थाहा छैन। यसर्थ पनि पढ्ने र कुरा सिक्ने कुरा ठुलो लाग्छ जुन विश्वविद्यालयमा होइन, पुस्तकालयबाट लिन सकिन्छ।
कुन तहमा हो थाहा भएन, एउटा निबन्ध थियो, 'बरोड बुक नेभर रिटर्न।' यसैले होला एक निकट परिवारको सदस्यले 'अरू कुरा माग बाबु तर किताब नमाग, आफैले किनेर पढ्ने बानी बसाल्नुपर्छ' भन्नुहुन्थ्यो। हुन त वहाँ पढाइमा धुरन्धर हुनुहुन्छ र त विदेशी पब्लिकेसन्सबाट पुस्तक आउँछ उहाँको।
आमाले 'बाबु यी किताब बेच भो फोहर मात्र, ढसमस्स ठाउँ खाने, काम नलाग्ने, पढ्न पनि तिमी भ्याउन्नौ, बेच्दिऊ है भन्नुभयो' तर बेच्न मन थिएन। मैले कहिलेकाहीँ भन्छु, 'आमा, यिनै किताबले खान दिएको छ किन बेच्ने?'
कतिपय घरमा भएका किताब मध्ये कभर हेरेर राम्रो लागेर किनेर ल्याएको नयाँ छन्। एक पेज नपल्टाएको अवस्था पनि छ। कुनैमा कभरमा लेखे जस्तो भित्र भेटिन्न। कुनैमा गाह्रा जार्गन शब्द र पट्ट्यारलाग्दो प्रस्तुति छ। बरु अरूको घरमा जाँदा बैठक कोठामा चिया पिउँदै गर्दा भलाकुसारी गर्दा किताब पढेको, मोबाइलमा केही मन पर्ने पृष्ठ खिचेको पनि याद छ।
खुर्माने भन्ने सानो युनिसेफको भिडियो सन्देशमा खुर्मानेकी छोरीले बाटोमा भेटेको पत्रिका पढ्दै बाबुसँग साहुको ऋण लिन गएको मिठो भिडियो छ। जसमा हामी पनि बाटो भेटेको पर्चा होस या पत्रिका या कागजको काम नलाग्ने टुक्रामा लेखेको अझै पढ्छौँ। अहिले त के गर्नु कि निजी सवारीमा या सार्वजनिक सवारीमा सवार, कता हिँड्नु कहाँ भेट्नु, कहाँ पढ्नु? बरु चिया, कफी सपतिर या अस्पतालतिर लाइन कुर्दा, मान्छे पर्खँदा मौका मिले पढिन्छ। त्यही पनि यो मोबाइलले बाटो छेक्छ। नभए पनि नहुने भए पनि समय खाइदिने।
जाबो प्रतिशत शिक्षित देशमा पढाइ लेखाइ, पुस्तकालयको कुरा गर्दा मन्त्री सचिवको रोजाइमा नपर्दा धिक्कार लाग्छ। हुन त वहाँहरू मध्ये कोही कोही त वरिष्ठ विद्धान हुनुहुन्छ र पनि उहाँको सोचमा पुस्तक पुस्तकालय कहिले परेन। संसदमा पनि पढ्ने, पढाउने, सिकाउने, जनता जान्ने बुझ्ने बनाउने कुराले महत्त्व पाएन। सायद अरूले जान्लान् बुझ्लान् भन्ने सोच पनि हुन सक्छ, भगवान् जानुन्। हुन त इतिहासमा राणाहरूले जनता शिक्षित बनाउन चाहँदैन थिए भन्ने पढियो। तर दरबार स्कुल, त्रिचन्द्र कलेज, अङ्ग्रेजी शिक्षाको सुरुआत राणाले नै गरे भन्ने इतिहासकारहरूको मत छ।
गोराहरू ट्रेक आउँदासम्म पनि किताब बोकेर आउँछन्। हामीकहाँ पढ्ने संस्कृति छैन। यसैले पनि होला मानिसहरू चाहिने नचाहिने कुरामा घोत्लिइरहन्छन्।
सबैजसो पढ्ने लेख्ने मान्छे भएका घरमा अहिले किताब घाँडो बनेको छ। नयाँ पुस्ताले किताब छुँदैनन्। अनलाइन पुस्तक ट्याबमा पढ्छन् तर किताब पढ्दैनन्। पढ बाबु भन्छु 'बाबा किताबमा त लिमिटेड ज्ञान हुन्छ' भन्छ।
गुगल गलत छ त म भन्दिनँ तर श्रोत का शुद्धता तथा सच्चाइको बारेमा मलाई शङ्का लाग्छ। तर लेखनमा यो प्रयोग गर्ने मेरो पनि बानी छ। पृथ्वी नारायण क्याम्पस पढ्दा किताब जति मूल्य लेखेको छ त्यसैमा किन्नु पर्दथ्यो, छुट हुन्न थ्यो। नेपाली लेखक थिएनन्, विदेशी पढ्नु पर्दथ्यो। अहिले सबै कुरा पाइन्छ तर पाठक पाइन्न।
एक जना मित्रले भन्नु हुन्थ्यो, 'अरूले लेखेको पढेर मज्जा लिने हो, आफूले लेख्नभन्दा अरूको पढ्न रमाइलो हुन्छ।' तर वहाँले एक पुस्तक निकाल्नु भयो, बजारमा चर्चा पायो।
अवस्था त यति धेरै गम्भीर भइसक्यो कि सबै घरमा किताब कहाँ फाल्ने भन्ने पीडा छ। किताबलाई औधी माया लाग्छ। हुन त घाम-पानीबाट जोगाएर छाता वर्षौँसम्म टिक्छ भनेजस्तो किताबको औधी माया गरे पनि किताब त तब काम हुन्छ जब पढिन्छ। कसै कसैलाई किताब सङ्ग्रह गरेर दराजमा सजाएर राख्न शौक हुन्छ।
अहिले पनि किताबको बारेमा सोच आउँछ। किताब किन्छु तर पढ्न समय मिल्दैन। हुन त म सामान्य मान्छेले यस्तो भन्न सुहाउँदैन किनकि अमेरिकी राष्ट्रपति त २४ घण्टाको समयमा सबै गर्न भ्याइरहेका छन्। कहिलेकाहीँ त लाग्छ जाम पनि समयको नाशक हो जहाँ कुनै ठाउँमा समयमा पुग्न २ घण्टा अगाडि घरबाट हिँड्नुपर्छ।
पठन संस्कृति घटेको छ एकातिर, अर्कोतर्फ सार्वजनिक पुस्तकालयको भवन तथा जग्गा अब व्यापारिक प्रयोजनका लागि ठेक्का लगाउने जस्तो भइसक्यो। काठमाडौँमा जाने मानेका कीर्तिपुर, मदन केसर डिलर्स, रमण पुस्तकालय छन् तर पढ्ने मानिस छैनन्। अब त आजको दिनमा दैनिक छापामा समेत पाठक घटिसके, किनेर पढ्ने त धेरै कम छन्।
पुरानो किताब बेच्नु अन्यथा होइन तर किताबप्रतिको लगाव, स्नेह, भावना घट्दो छ। हुन त किताब भौतिक बस्तु नै हो। मानव शरीर त क्षाण्भंगुर भएपछि सन्तानले घाट लैजान ढिलो भयो भन्दै हतार गर्छन्। तर किताब पढ्ने, विषयवस्तु घोत्लिएर खोज्ने, धेरै पुस्तकमा रहेका एउटै विषयका फरक मत हेर्ने, तुलना, विश्लेषण गर्ने वर्ग कम छ। मानौँ समग्रमा अध्ययन नै कम छ।
फेरि पुस्तक घरमा सङ्ग्रह गर्दैमा विद्वान हुने भए पुस्तकालयमा काम गर्ने सबैभन्दा बढी धुरन्धर हुन्थे होलान्। यस कारण सही पुस्तक किन्ने पनि कला हो। पुस्तकको भरपुर उपयोग गर्न एक अर्कोमा साटासाट गर्ने बानीले पनि किताब पूरै मेरो जस्तै कवाडीमा बेच्ने स्थिति नआउँला। हुन त पुस्तक पसलेहरूलाई मेरो कुरा अन्यथा लाग्ला तर किताब मागेर पनि पढ्ने, एक अर्कोमा साटासाट गर्ने बानी उत्तम हुन्छ।
केही वर्ष पहिले एक जना राजदूतले किताब चोरको खबर आएको थियो। लाग्छ उहाँलाई पढ्न तीव्र मन भयो, किताब महँगो थियो। त्यसैले तलमाथि गर्नुभयो।
हुन त हामी अधिकांशको जीवन भद्रगोल बेनियममा चलेको छ भन्ने मलाई लाग्छ। होला नहोला आफै सोचौँ। त्यस कारण पनि के किन्ने, कति किन्ने, कहिले किन्ने, कहिले के विषय जान्ने, सिक्ने पनि व्यवस्थापन छैन भन्न त धेरै विद्वानले सिकाई आमाको पेटदेखि चिहानसम्म पनि निरन्तर हुनुपर्छ भन्छन्। यो सबैमा लागु नहोला।
किताब किनेर मात्र होइन, मागेर पनि पढौँ। आखिर मागेर पढेको किताबको ज्ञान पनि ज्ञान नै हो, किनेर पढेको किताबको ज्ञान पनि ज्ञान नै हो। आखिर पढ्नु मूल कुरा हो। यदि मैले आवश्यक भएको मानिसहरूलाई पुस्तक पढ्न दिएको भए तिनीहरूको पनि कल्याण हुन्थ्यो, मेलै पनि कवाडीमा बेच्न पर्दैन थियो।