श्रीधर अधिकारी गीत गाउँछन्, संगीत भर्छन् र लेख्छन्।
एक सय ५० हाराहारी गीतमा काम गरिसकेका उनले प्रमोद खरेल, मेलिना राई, बसन्त थापा, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी लगायत थुप्रै चर्चित गायकसँग सहकार्य गरेका छन्।
'मुटुमै घाउ छ', 'बाजा तालमा', 'राजारानी', 'बाडुल्की ला होला', 'तिमी पनि उस्तै रैछौ' आदि श्रीधरका युट्युबमा लाखौं भ्युज पाएका गीतहरू हुन्। अहिले त उनी फिल्ममा समेत संगीतकारका रूपमा जोडिएका छन्।
गीत तयारीको छलफल होस् वा, साथीभाइसँग भेटघाट, उनी रेस्टुरेन्ट तथा क्याफे पुगिरहन्थे। चियाको पारखी भएकाले पहिलो रोजाइ नै चिया हुन्थ्यो।
त्यहाँ गीत–संगीतबारे कुरा हुने भइहाल्यो, माहोल मिलेसम्म गीत बजाउन पनि पाइयोस् भन्ने लाग्थ्यो। तर सबै रेस्टुरेन्ट तथा क्याफेमा त्यस्तो माहोल मिल्दैन थियो।
'कलाकारिता आफैमा सधैं व्यस्त हुने क्षेत्र होइन। मेरो दिमागमा गत वर्षदेखि नै वैकल्पिक व्यवसायको सोच आएको थियो,' श्रीधरले भने, 'म यस्तो व्यवसायमा हात हाल्न चाहन्थेँ, जहाँ साथीभाइलाई भेट्न बोलाउन सकियोस्। आनन्दको वातावरणमा लामो समय गफिन मिलोस्। चिया पिउँदै निर्धक्क संगीतमा झुम्न पाइयोस्।'
अन्ततः उनले चिया र संगीतलाई नै जोडेर व्यवसाय सुरू गरे— चिया संगीत।
संगीतकार श्रीधर अधिकारी

खरले छाएको छानो। गाउँघरतिर जस्तै चौतारी। पृष्ठभूमिमा मन्दमन्द बजिरहेको संगीत। काठमाडौंको शंखमूलमा हालसालै खुलेको 'चिया संगीत' परिसरमा हिजोआज यही माहोलमा चिया पिउनेहरू बढ्दै गइरहेका छन्।
श्रीधर आफ्नो लतलाई व्यवसायमा ढाल्दै 'चिया संगीत' खोलेको बताउँछन्।
'चिया पिइरहन मन लाग्ने, संगीत सुनिरहन मन लाग्ने अवधारणाले चिया संगीत जन्मियो,' उनले भने, 'यो नाम जन्मिनुअघि धेरैसँग सल्लाह/सुझाव लियौं। चियाको बजारबारे अध्ययन गर्यौं।'
शंखमूल र थापाथलीमा गरी एकसाथ दुई ठाउँमा सञ्चालनमा आएको चिया संगीत श्रीधरले साथी सन्दीप ज्ञवालीसँग मिलेर खोलेका हुन्।
श्रीधर र सन्दीप दुवै स्याङ्जाका भए पनि उनीहरू काठमाडौं आएपछि निकट भए।
सन्दीप पर्यटन र बीमा व्यवसायी समेत हुन्। श्रीधरले एकदिन उनलाई व्यवसायको योजनाबारे कुरा राखे। सन्दीपले पनि सहर्ष स्वीकार गरे।
'मैले गरिरहेको व्यवसायमा कसैलाई बोलाऊँ, मज्जाले गफगाफ गरूँ भन्ने माहोल अलि मिल्दैन थियो,' सन्दीपले भने, 'श्रीधरजीले चियाको व्यवसायबारे कुरा गरेपछि मलाई पनि राम्रो लाग्यो। फेरि यसको बजार पनि राम्रो देखिइरहेकाले योजना अगाडि बढायौं।'
श्रीधरले बुटवलमा रहेका आफ्ना साथी सुरज बस्याललाई पनि काठमाडौं बोलाए। सुरजसँग उनले व्यवसायबारे पहिल्यैदेखि सल्लाह गर्थे। बुटवलमा सामाजिक काममा सक्रिय सुरज साथीको योजनामा साथ दिन आए। अहिले शंखमूलको चिया संगीतको व्यवस्थापन उनैले हेर्छन्।
थापाथलीको चिया संगीतको व्यवस्थापन भने सन्दीपका भिनाजू मुकेश पछावतले हेरिरहेका छन्।


श्रीधर र सन्दीपका अनुसार चिया संगीतमा उनीहरूले ५० लाख रूपैयाँभन्दा बढी लगानी गरेका छन्। आठ जना युवालाई रोजगारी दिएका छन्।
दुवै ठाउँका चिया संगीतको वातावरण शान्त छ। सजावटको काम जारी छ।
चिया संगीतको विशेषता भनेको चियासँगै चुकाउनी, बारा (बटुक) र पकौडा हो। मेनुमा 'संगीत चिया' सहित विभिन्न १० स्वादका चिया छ जसको मूल्य ३५ देखि ८० रूपैयाँसम्म तोकिएको छ।
केही वर्ष अघिसम्म श्रीधर बुटवलमा बसेर संगीत क्षेत्रमा लागिरहेका थिए। त्यस बेला स्याङ्जा जाँदा बाटो पर्ने पाल्पामा चुकाउनी, बटुक, पकौडा खान छुटाउँदैनथे। कति पटक त यी खानेकुरा खानकै लागि पाल्पासम्म पुगे।
'काठमाडौंमा रहेका विभिन्न जिल्लावासीलाई पनि हाम्रो भेगको विशेष परिकार चुकाउनी र बटुकको स्वाद चखाउने उद्देश्य हो,' श्रीधरले भने।
थापाथलीको चिया संगीतमा भने चिया, बटुक, पकौडासँगै खाजाका अन्य परिकार पनि पाइन्छ। यो रेस्टुरेन्टका रूपमा सञ्चालनमा ल्याइएको सन्दीपले बताए।
'मेहनत गर्न सकियो र ग्राहकलाई मीठो स्वाद चखाउन सकियो भने सम्भावना राम्रो छ,' उनले भने।

शंखमूलको चिया संगीतमा साताका विभिन्न बार अनुसार कार्यक्रमहरू तय गरिएका छन्। हरेक शुक्रबार सारंगी साँझ गर्ने तयारी छ जहाँ सारंगी वादकले आएर प्रस्तुति दिनेछन्। बुधबार कविता वाचन हुनेछ। शनिबार र मंगलबार आरती गर्ने तयारी छ।
चिया संगीत खुलेको छोटो समयमै यहाँ संगीतकर्मीहरूको जमघट बाक्लै हुन थालेको छ। श्रीधरलाई बधाइ र शुभकामना दिन संगीतकर्मीहरू यहाँ पुगिरहेका छन्। श्रीधरसँग जोडिएका, नजोडिएका संगीतकर्मीहरूले छलफल वा भेटघाटका निम्ति यही ठाउँ रोज्न थालेका छन्।
'अब गीत–संगीतबारे छलफल गर्नुपर्यो भने कहाँ जाने होला भन्ने मेरो झन्झट पनि हटेको छ,' श्रीधरले भने, 'प्रायःलाई चिया संगीतमै बोलाउँछु।'
चिया संगीत काठमाडौंका अन्य स्थानमा पनि खोल्ने योजना उनीहरूले बनाएका छन्। जसमध्ये सुकेधारामा छिट्टै खोल्न लागेको उनले बताए।
'हामीले चिया संगीतको बोर्डमा लेखेका छौं — लत चिया र संगीतको। म चाहन्छु यो चिया र संगीतको लत मेट्ने ठाउँ बनोस्,' श्रीधरले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
श्रीधर अधिकार र सन्दीप ज्ञवाली



