केही समय पहिले एउटा विद्यार्थीले सोध्यो- ‘सर, रुटिन अफ नेपाल बन्दमा एउटा पोस्ट आएको थियो। त्यसमा कुन्नि नेपालको कुन ठाउँमा हो मास्टर डिग्री गरेको दाइले चिया पसल चलाउनु भएको छ रे भन्ने खबर थियो, चिया पसल चलाउनै त किन त्यति पढ्नु पर्थ्यो र?’
त्यत्तिकैमा अर्को विद्यार्थी भाइले भन्यो, ‘हाम्रो अंकल पनि व्यवस्थापन संकायमा ब्याचलर गरेर विदेश जानुभएको छ तर उहाँले रेस्टुरेन्टमा वेटरको काम गर्नुहुन्छ, उहाँले पढेको पनि खासै काम लागेन।’
यत्तिकैमा अर्को बहिनीले पनि थपिन्- ‘हाम्रो घर छेउमा एउटा मोटरसाइकल बनाउने वर्कसप छ, त्यहाँको दाइ पनि पढ्नु भएको छैन तर पनि बिहानदेखि बेलुकासम्म बिजी हुनुहुन्छ। सायद राम्रै आम्दानी गर्नुहुन्छ।’
छलफल चलिरहँदा विद्यार्थी भाइ-बहिनीहरूले यस्तै यस्तै उदाहरण दिँदै गए। कतिले भारतका चर्चित चियावाला डलीको पनि उदाहरण दिए त कसैले हाम्रो देशका नेताले पनि खासै पढेका छैनन् तैपनि देशमा शासन गरेका छन् पनि भन्न भ्याए। अन्त्यमा बहुमत विद्यार्थीले एकै स्वरमा भने- 'जे गरे नि पैसै कमाउनु हो सर, पढेर के नै हुन्छ र?'
नपढेकाले पनि आफ्नो जीविकोपार्जन गरेकै छन्, पढेकाले भन्दा नपढेकाले झन् राम्रो आम्दानी गरेका छन्। यस्तै कुरा गर्दा गर्दै छलफल सकियो।
पछिल्लो समय विद्यार्थीहरूमा यी र यस्तै कारणहरूले गर्दा पढाइप्रति अरुचि बढ्दै गइरहेको छ। हामी शिक्षक, अभिभावकले पनि पढेन भने पछि जागिर पाइँदैन, नपढे त असफल भइन्छ, अरूभन्दा पछि परिन्छ भन्ने भाष्य बालबालिकाको मानसपटलमा भरिदिएका छौँ।
केही हदसम्म ठिकै पनि हो, पढाइले जागिर पाउन सहज बनाउँछ तर हामीले के बुझ्नु जरुरी छ भने पढ्नु भनेको जागिरको लागि मात्रै होइन, पढ्नु भनेको केही कुरा सिक्नु हो। आफ्नो ज्ञानको दायरा बढाउनु हो। नयाँ ज्ञानको संसारमा प्रवेश गर्नु हो। मानिसका भावना बुझ्न सक्नु हो। हरेक कुराहरूप्रति आफ्नो दृष्टिकोण बनाउनु हो। आफ्नो सोचाइलाई फराकिलो बनाउनलाई पनि पढ्नु पर्छ।
पढाइले हामीलाई समस्या समाधान गर्ने, समालोचक क्षमता विकास गर्ने, तार्किक क्षमतामा सुधार गर्ने जस्ता सिप पनि सिकाउँछ।
सँगसँगै पढाइले हामीलाई आत्मनिर्भर बन्ने प्रेरणा पनि दिन्छ। पढेलेखेका मानिसहरूले जीवनमा आउने कठिन परिस्थितिलाई पनि डटेर सामना गर्न सक्छन्। पढाइले महत्त्वपूर्ण क्षणमा तुरुन्तै निर्णय लिने क्षमता पनि विकास गरिरहेको हुन्छ।
हामीलाई हाम्रो अधिकार र कर्तव्यप्रति सचेत बनाउन र जिम्मेवार नागरिक बनाउन पनि पढाइले अहम् भूमिका खेल्दछ।
हामी सामाजिक प्राणी हौँ, पढाइको माध्यमबाट हामीले हाम्रो समाजमा भएका सामाजिक, सांस्कृतिक, धार्मिक परम्परागत मूल्यमान्यता, रीतिरिवाज, चालचलन आदिको बारेमा सिक्न सक्छौँ जसले हामीलाई समाजमा भएका विभिन्न विविधताहरू स्विकार्न सिकाउँछ, सहअस्तित्वको भावनाको विकास गराउँछ र हामीलाई सामाजिकीकरण हुन मद्दत पुग्दछ।
हरेक कुरा तीव्र गतिमा परिवर्तन भइरहेको छ। विज्ञान, प्रविधिको विकाससँगै विभिन्न चुनौतीहरू थपिएका छन्। पढाइले हामीलाई तीव्र गतिमा परिवर्तनशील संसारमा अनुकूल हुन सहयोग गर्दछ। साथै परिवर्तनसँगै आउने चुनौतीहरूको सामना गर्न र समाधान निकाल्न मार्गनिर्देश गर्दछ।
यति मात्रै होइन, पढाइले व्यक्तिको व्यक्तित्व विकास गर्नुका साथै हामीलाई आत्मविश्वासी र जिम्मेवार पनि बनाउँदछ। हामीमा मानव मूल्यको विकास गराई विश्वबन्धुत्वको भावनाको जागृत गराउँदछ।
पढाइले हामीलाई मिहिनेत गर्न पनि सिकाउँछ। पढेलेखेका मानिसहरूले सही र गलत छुट्टाई सही निर्णय लिन सक्छन्। पढाइले मानिसलाई विवेकशील बनाउँछ।
पछिल्लो समय विद्यार्थीमा मात्रै होइन, शिक्षक-शिक्षिका, अभिभावक, समाजलगायत हरेक क्षेत्रका मानिसहरूको बुझाइ छ कि पढेर के नै हुन्छ र?
पढाइलाई व्यवसाय र आम्दानीसँग मात्रै जोडेर हेर्नु हुँदैन। पढाइ भनेको त परिवर्तनको संवाहक हो।
यो विषयमा शिक्षक शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुन्छ। शिक्षक शिक्षिकाले पढाइलाई कोर्स बुक रटाउनु, तथ्य घोकाउनु, परम्परागत तवरले मैले जे भन्छु त्यो मात्रै सुन भन्नुको साटो पढाइलाई दैनिक जीवनसँग जोड्न सिकाउने, प्रविधिलाई पढाइमा सामेल गर्ने र विद्यार्थी केन्द्रित पठनपाठनमा जोड दिने हो भने विद्यार्थी भाइ-बहिनीहरूलाई पढाइप्रति जागरूक गराउन सकिन्छ।
अभिभावकले पनि पढाइ केवल राम्रो जागिर पाउन र पैसा कमाउनलाई मात्रै होइन, पढाइ त असल जीवनयापनको गर्नको लागि, संसारलाई हेर्ने नजर परिवर्तनको लागि, सकारात्मक परिवर्तन ल्याउनको लागि हो भनेर बुझाउन आवश्यक देखिन्छ।
अनि अभिभावकले पनि बालबालिकासँग बसेर पढ्ने गरियो भने उनीहरूलाई नि पढ्नुपर्ने रहिछ है भन्ने बानीको विकास हुन्छ, पढाइको महत्त्व बुझ्दै जान्छन्।
समाजका सदस्यहरूले पनि दुई नम्बरी गरी पैसा कमाएर धनी बनेका व्यक्तिहरूलाई भन्दा पढेलेखेका, विद्वान वर्गलाई उच्च तहमा राखेर व्यवहार गर्नुपर्दछ, नत्र मानिसहरूमा अहिले जस्तो जसरी भए पनि पैसा कमाउनु पर्छ भन्ने भावनाले प्रश्रय पाउँछ जसले भ्रष्टाचार, तस्करी, लुटपाट, ठगी जस्ता तुच्छ गतिविधिहरू बढ्छन्।
साथै राज्यले पनि पाठ्यक्रम समयानुकूल बनाउन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। अहिलेको पाठ्यक्रमले व्यवहारिक ज्ञानभन्दा पनि सैद्धान्तिक ज्ञानमा जोड दिन्छ जसले विद्यार्थीलाई सर्टिफिकेट त दिन्छ तर जीवनोपयोगी सिप दिँदैन। त्यसैले विद्यार्थीमा पढ्नु बेकार हो भन्ने भावना पैदा हुँदै गइरहेको देखिन्छ।
अब राज्यले खोज, अनुसन्धानमा लगानी बढाई समय सान्दर्भिक पाठ्यक्रम निर्माण गर्नुपर्दछ। अबको पाठ्यक्रम यस्तो हुनुपर्दछ कि जसले विद्यार्थीहरूमा पढाइप्रति रुचि जगाउन सकोस्, बदलिँदो विश्व परिवेशमा विद्यार्थीहरूलाई अनुकूलन गराउन सकोस्, नैतिकता सिकाओस्, मानवीय गुण विकास गराउन सकोस्, समयसापेक्ष तथा सृजनशील सिपहरू सिकाओस्, प्रविधिमैत्री होस् अनि मात्रै विद्यार्थीहरूमा पढाइप्रति रुचि जगाउन सकिन्छ।
समग्रमा विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, समाजका सदस्य लगायत सम्पूर्ण पक्षले बुझ्नु जरुरी छ कि पढाइ केवल जागिरको लागि अथवा व्यावसायिक र आर्थिक सफलताको लागि मात्रै होइन, पढाइ त जीवन बुझ्ने ऐना हो।
नाम, पैसा कमाउन सकिन्छ तर जीवनलाई सार्थक बनाउन, संसारलाई हेर्ने नजरिया परिवर्तन गर्न, विवेकी बन्न, नयाँ कुरा सिर्जना गर्न सक्ने हुन र सबैभन्दा महत्त्वपूर्ण आफू र समाजमा परिवर्तन ल्याउन पढाइ चाहिन्छ।
नपढेकाहरू पनि सफल भएका छन्, यदि तिनीहरूले पढेका भए अझै धेरै सफल हुने थिए होला। त्यसैले पढेर धेरै कुरा हुन्छ, जुन नपढेर कहिल्यै नहुन सक्छ। आफू पनि पढौँ र अरूलाई पनि पढ्नलाई प्रेरित गरौँ।