झिसमिसे साँझ। गैरीधाराको सानो सडकमा सधैंझैं गाडीको घुइँचो। मलाई छतमा बसेर तँछाडमछाड गर्दै कुद्ने गाडी हेर्न खुब मजा लाग्थ्यो।
त्यो साँझ पनि म बरन्डामा बसेर त्यही हेर्दै थिएँ। एकैछिनमा सेतो प्लास्टिक उडेर आएझैं लाग्यो। मैले खास ध्यान दिइनँ।
प्लास्टिक ठानेको कुरा बरन्डाको पर्खालमा टाँगिएको साइन-बोर्डमा बस्यो। त्यो प्लास्टिक होइन रहेछ।
सेतो गोलाकार अनुहारमा काला टिलिक्क टल्केका आँखा। खैरोखैरो छिरबिरे शरीर!
सुरूमा त म तर्सिएँ।
त्यही बेला आमा नजिकै आउनुभयो।
'ओहो उल्लू आएछ,' आमाले यसो भनेको सुनेर म दंग परेँ।
उल्लू भन्ने शब्द गाली खाँदा सुन्दै आएको थिएँ। बल्ल थाहा भयो, उल्लू त कति धेरै राम्रो हुने रहेछ।
मैले पहिलोपटक उल्लू देखेको त्यही साँझ हो। पहिलो नजरमा डराए पनि त्यो मलाई खुब राम्रो लागेको थियो।
काठमाडौं सहरको बीचमै घर भए पनि हामीलाई बिहान-बेलुका चरा देख्न नौलो थिएन। झ्याम्म रूखले भरिएको नारायणहिति दरबार क्षेत्र नजिकै थियो। काग र बकुल्लाका बथान आकाशै ढाकेर उडिरहेका हुन्थे। ती बथान पर क्षितिजको सुनौलो आकाशसम्म पुग्दा त चित्रकला जस्तो देखिन्थ्यो।
त्यो उल्लू हरेक दिनजसो हाम्रो घरको त्यही पर्खालमा आएर बस्न थाल्यो। हामीले केही गर्दैनौं भन्नेमा ऊ ढुक्क थियो। हामी पनि ऊ आउँछ भन्नेमा ढुक्क हुन थाल्यौं। ऊ हाम्रो घरको एउटा हिस्सा भइसकेको थियो।
त्यसपछि काठमाडौंमा मैले धेरै ठाउँमा उल्लू देखेँ। तिनले मेरो अलिअलि ध्यान तान्थे। कस्तो भावना हो म भन्न सक्दिनँ, तर मलाई ती देखेर आनन्द आउँथ्यो।
पहिलोपटक तर्सिएको मलाई धेरै वर्षपछि उल्लूको प्रेमले यसरी भुतुक्कै पार्ला, उल्लू खोज्न भोक, तिर्खा, दिनरात नभनी हिडुँला भन्ने सोचेकै थिइनँ।
अलि वर्षपछि सल्यानको कालीमाटीमा मैले काठमाडौंको भन्दा फरक उल्लू देखेँ। काठमाडौंमा देखेको 'बार्न आवल' रहेछ। सल्यानमा देखेकोलाई डुन्डुल भनिँदो रहेछ।
त्यसपछि मात्र मलाई थाहा भयो, उल्लू धेरै थरीका हुने रहेछन्।
अमेरिका आइसकेपछि भने मलाई यिनबारे जिज्ञासा बढाएको एउटा सानो उल्लूले हो। त्यो उल्लूको नाम हो 'नर्दन स ह्वेट आवल'।
यो उल्लू सातदेखि आठ इन्चको हुन्छ।
म बस्ने ठाउँ फार्गोमा सँगै बस्ने साथीले बर्डिङ गएका बेला यो उल्लू देखेर मलाई सोधेको थियो, 'यसको आमाबाउ कहाँ छन्?'
उसलाई त्यो सानो चरा बच्चो चराझैं लागेछ।
उल्लू वा हुचिल भन्नेबित्तिकै ठूला चिलहरू जस्तो चरा सोच्ने भएकाले त्यति सानो उल्लू देख्दा जो पनि अचम्म पर्नु स्वाभाविक हो।
त्यो स ह्वेटको एउटा व्यवहारले मलाई धेरै जिज्ञासु बनाएको थियो। जाडो महिनामा अरू रूखका पात झरेर रूखा भएका हुन्छन्। तर कनिफर नामक सल्लाको प्रजाति हरियै हुन्छ। यो सानो उल्लू जाडो महिनामा त्यो हरियो कनिफरको फाइदा उठाएर त्यहाँ लुक्दो रहेछ। उसको यो व्यवहार र एकदमै सानो आकारले गर्दा यसलाई खोज्न गाह्रो हुन्छ।
तरिका जान्यो भने चाहिँ सजिलो पनि छ। यो उल्लू लुकेर बस्ने भए पनि अरूजस्तो मान्छे देख्दा भागी हाल्दैन। त्यसैले दुई-चार वटा पार्कमा खोज्दै हिँड्ने हो भने स ह्वेट पक्कै भेटिन्छ। धेरैजसो उल्लू लजालु स्वभावका हुन्छन् भनिन्छ। यो भने लजाए जस्तो पनि देखिँदैन। त्यसैले पनि यसले मलाई आकर्षित गरेको थियो।
त्यसपछि उल्लूबारे मैले धेरै किताब पढेँ। आफै पनि यिनको अवलोकन गरेँ। यो लेखमा मैले देखेको र पढेको आधारमा उल्लूबारे केही जानकारीमूलक कुराहरू लेखेको छु।
उल्लू वास्तवमै एकदमै रोचक चरा हुन्।
६७ लाख वर्ष अगाडिदेखि संसारमा उडिरहेका उल्लूले मान्छेको जीवन, संस्कृति र मिथकहरूमा समेत आफ्नो ठाउँ बनाएका छन्। संसारमा उल्लूबारे केही राम्रा, केही नराम्रा कथा छन्।
धेरैले उल्लूले दिउँसो आँखा देख्दैन, राति मात्र देख्छ भन्ने ठान्छन्। हामी सानो छँदा पनि त्यस्तै सुन्थ्यौं। वास्तवमा त्यस्तो होइन। उल्लूले दिउँसो पनि आँखा देख्छ। तर यो सक्रिय हुँदैन। निशाचर बानी-बेहोरा भएकाले दिउँसो विश्राम गरेर बस्छ। त्यसैले मान्छेले पनि यसलाई धेरै देख्दैनन्। साँझ परेपछि बल्ल उल्लू आहारा खोज्न सक्रिय हुन्छ। त्यसैले साँझतिर उल्लू कराएको आवाज सुन्न सकिन्छ।
हिन्दु धर्म ग्रन्थहरूमा उल्लूलाई देवी लक्ष्मीको बहान भनिएको छ। अचम्म के भने, नेपालकै धेरै ठाउँमा उल्लूले घरमा गुँड बनाउनु वा घरमा आएर कराउनुलाई अशुभ मानिने रहेछ।
उल्लूलाई लिएर मान्छेले बनाएका विश्वास र अविश्वास संसारभरि छन्।
अमेरिकाको आदिवासीहरूमा उल्लूले मृत्युको सन्देश ल्याउँछ भन्ने विश्वास छ। उनीहरू मृत्युशय्यामा रहेको मान्छेले सास छोड्नुअघि उल्लू लिन आउँछ भन्ने विश्वास गर्छन्।
दक्षिण अफ्रिकामा पनि उल्लूले मृत्यु र नराम्रो सन्देश ल्याउँछ भन्ने मान्यता छ। कजाकिस्तानको एउटा हिमाली क्षेत्रमा महिला झाँक्रीहरू 'उल्लूको आत्मासँग जोडिन जाने' चलन रहेछ।
अस्ट्रेलियाका आदिवासी वडामानहरूले चाहिँ आफूहरूको उत्पत्ति नै गोर्दोल भन्ने उल्लूले गरेको विश्वास गर्छन्। संसारको सृष्टि नै उल्लूबाट भएको हो भन्ने उनीहरूको विश्वास छ।
यसरी संसारभर उल्लूप्रति सकारात्मक र नकारात्मक धारणा भेटिन्छन्।
अब उल्लूको ज्यान, अनुहार, उडान र आनीबानीको कुरा गरौं।
मान्छेलाई सबभन्दा धेरै उल्लूको अनुहारले नै आकर्षित गर्छ भन्ने मलाई लाग्छ। उल्लू चिन्न सजिलो पनि उसको अनुहारले नै हुन्छ।
ठूलो, गोलो र एकसमान अनुहार, गोलै र ठूला आँखा। गोला देखिए पनि आँखा ट्युब अकारका हुन्छन्। आँखाको पछाडिको भाग टाउकोको धेरै पछाडिसम्म जान्छ। रोचक कुरा त उल्लूको आँखाको पछाडिको भाग यसको कानबाट देखिन सकिन्छ। अरू चराको टाउकोको छेउमा कान हुने ठाउँनिर उल्लूको पनि कान हुन्छ। कानको त्यो प्वालबाट चियाउने हो भने उल्लूको आँखा नै देखिन्छ।
आँखाले उल्लूको शरीरको ५ प्रतिशत भाग ओगटेको हुन्छ। त्यसैले यसको रात्रिदृष्टि एकदम राम्रो हुन्छ। ठूला आँखा भएकाले धेरै प्रकाश रेटिनासम्म पुग्न सक्ने भएकाले दृष्टि राम्रो हुने हो।
ट्युब जस्तो आकार भएकाले उल्लूले हामीले जस्तो आँखा घुमाउन भने सक्दैन। उल्लूको आँखा एउटै ठाउँमा स्थिर हुन्छ। यो असुविधाको क्षतिपूर्ति नै हो, उल्लूले आफ्नो टाउको धेरै घुमाउन सक्नु।
मान्छेको घाँटीमा सातवटा सर्भिकल भर्टिब्रे हुन्छन् भने उल्लूको घाँटीमा १४ वटा हुन्छन्। यही कारण उल्लूलाई फनक्क टाउको घुमाउन सजिलो हुन्छ। उल्लूले २७० डिग्रीमा टाउको घुमाउन सक्छ।
यसरी टाउको घुमाउँदा दिमागमा रगत पुर्याउने नशाहरू रोकिन सक्ने समस्या हुन्छ। तर यो समस्या नहोस् भनेरै उल्लूको रक्तवाहिनीमा धेरै परिमार्जन भएको हुन्छ। उल्लूमा यस्ता रक्तनली हुन्छन् जसले रगत जम्मा गरेर राख्न सक्छन्। जब घाँटी घुमाउँदा रक्तसञ्चार रोकिन्छ, त्यो जम्मा भएको रगत दिमागमा पुग्छ र केही समस्या हुँदैन। त्यस्तै उल्लूका रक्तनली धेरै लचिला हुन्छन्। ढाडको हड्डीको बीचबाट रगत सञ्चार हुन हड्डीमै प्वाल हुन्छ।
उल्लूको अनुहारमा धेरै रमाइला कुरा हुन्छन्।
समतल देखिने उल्लूको अनुहार एउटा डिस्क जस्तो हुन्छ। यसलाई 'फेसिअल डिस्क' भनिन्छ। त्यो 'कन्केभ' (भित्रतिर भासिएको जस्तो) आकारको हुन्छ। उल्लूको अनुहारमा विशेष प्रकारका प्वाँख हुन्छन्। यी प्वाँखले ध्वनि वा आवाज जम्मा पारेर कानसम्म पुर्याउन मद्दत गर्छन्।
उल्लूले आफ्नो सिकार कानकै सहायताले गर्छ। उल्लू राति सक्रिय हुने र यसको रात्रिदृष्टि राम्रो भए पनि सिकारका लागि आवाज सुन्न जरूरी हुन्छ। केही प्रजातिका उल्लूको कानमा पनि परिमार्जन भएको हुन्छ।
अमेरिकामा पाइने ठूला उल्लूमध्ये ग्रेट ग्रे आवल एक हो। यसको कान एउटा तल र अर्को माथि हुन्छ। उत्तरी भेगमा बस्ने यो उल्लूले हिउँमुनि लुकेका मुसा खान्छ। हिउँमुनि लुकेर कुद्ने मुसा समाउन यसले कानको मात्र प्रयोग गर्छ। तल र माथि भएकाले एउटा कानमा भन्दा अर्कोमा आवाज चाँडै पुग्छ र यसले आफ्नो सिकार ठ्याक्कै पत्ता लगाउँछ।
उल्लूको अर्को रोचक कुरा हो उडान।
यसको उडान एकदमै शान्त हुन्छ। अरू चरा उड्दा अलिअलि भए पनि आवाज सुनिन्छ। उल्लूको भने सुनिँदैन।
उल्लूले भुइँमा डुलिरहेको सिकार समाउन सक्छ। यसको पखेटाको आवाज आउने भएको भए सिकार भागिहाल्थ्यो। त्यसो नहोस् भनेरै उल्लूको उडान एकदम शान्त हुन्छ।
यसको कारण उल्लूको परिमार्जित प्वाँख हो। यो प्वाँखको बाहिरी भागमा करौंती जस्तो आकारको अर्को प्वाँख हुन्छ जसलाई 'फ्लुटिङ्स्' वा 'फिम्ब्रेइ' भनिन्छ। उड्दा आउने आवाज शान्त पार्ने काम यिनै फ्लुटिङ्स वा फिम्ब्रेइको धारले गर्छ।
उल्लूको उडान कति शान्त हुन्छ भनेर जान्ने यो भिडिओ हेर्न सकिन्छः
शान्त रूपमा उडेर सिकारलाई आफ्नो पन्जामा समाउने उल्लूको नंग्रा पनि धेरै चुच्चो हुन्छ।
चराहरूको नंग्राको मात्रा र विशेषता फरक फरक हुन्छ। त्यस्तै गरी उल्लूको दुइटा नंग्रा अगाडि र दुइटा पछाडि फर्किएको हुन्छ। सिकार गर्ने क्रममा यसले ३ वटा नंग्रा अगाडि र एउटा पछाडि राख्न सक्छ।
प्रजातिअनुसार उल्लूको सिकार ठूलो खरायोदेखि हाँससम्म हुन्छ। स-साना चरा र कीरा-फट्यांग्रा पनि हुन्छन्।
संसारको सबभन्दा ठूलो उल्लू पूर्वी रसिया, कोरिया र जापानमा पाइने ब्ल्यान्किन्स्टन फिस आवल हो। सबभन्दा सानो अमेरिकामा पाइने एल्फ आवल हो।
ब्ल्यान्किन्स्टन फिस आवलको पोथी लगभग ४.६ किलोको हुन्छ भने भाले ३.६ किलोको। यो ६० देखि ७२ सेन्टिमिटरसम्मको हुन सक्छ। एल्फ आवल भने जम्मा ४० ग्रामको हुन्छ र १२.५ देखि १४.५ सेन्टिमिटरको हुन्छ।
दोस्रो ठूलो उल्लू नेपालमा पनि पाइने युरेसियन इगल आवल हो। नेपालीमा यो उल्लूलाई हुचिल भनिन्छ।
आकारसँगै उल्लूहरूको रङ र प्वाँखको संरचना पनि फरक फरक हुन्छ। धेरैजसो चरा रङरूपले भाले र पोथी छुट्ट्याउन सकिन्छ। उल्लूको भने सकिँदैन।
उत्तरी अमेरिका र उत्तर युरेसियामा पाइने स्नोइ आवल अपवाद हो जसको भाले र पोथीको रङ फरक हुन्छ। भाले पूरै सेतो हुन्छ भने पोथीको प्वाँखमा कालो कालो थोप्लो देखिन्छ।
नामअनुसारै स्नोइ उल्लू हिँउमा बस्छ। सेतो हिँउको पृष्ठभूमिमा यो यति घुलेर बसेको हुन्छ, हत्तपत्त देख्न सकिँदैन। स्नोइ आवल हिउँमा मिलेझैं ग्रेट ग्रे आवल रूखको बोक्रासँग मिल्छ। त्यस्तै धेरैजसो उल्लू आफ्नो वासस्थान वरपरको रङसँग मिल्ने हुन्छन्।
पृष्ठभूमिसँगै घुलिएर यसरी हत्तपत्त नदेखिने हुनुलाई अंग्रेजीमा 'क्यामोफ्लाज' भनिन्छ। उल्लूहरू क्यामोफ्लाजको राजा हुन् भन्दा फरक पर्दैन। प्वाँखको रङ र संरचनाले यसलाई क्यामोफ्लाज हुन सहयोग गर्छ।
धेरै ठाउँमा उल्लूबारे गलत धारणा र बुझाइ पाइन्छ। तर उल्लू घर, खेत वरपर हुनु धेरै राम्रो कुरा हो। यसले बालीनाली नष्ट गर्ने र रोग सार्ने मुसा नियन्त्रण गर्न मद्दत गर्छ।
पछिल्लो समय उल्लूको वासस्थान मेटिँदै गएको छ। यिनको अवैध व्यापार पनि बढ्दो छ। हाम्रो वातावरण र पर्यावरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लू संरक्षणमा हामी सबै लागौं है!
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)