हरेक बाबुआमाको गुनासो छ घरघरमा, 'तिमीले भन्या-भन्या सबै हामीले तिमीलाई पुर्याउन पर्ने तर हामीले भनेको केही पनि तिमीले मान्नु नपर्ने। कस्तो जमाना आयो बा!'
सन्तानलाई हुर्काउनु बढाउनु अभिभावकको कर्तव्य हो तर सन्तानका चाहिने नचाहिने माग र चाहनालाई पूरा गर्नु अभिभावकको मूर्खता हो। केही समयअघि एक चिनजानका आफन्तीको छोराले ११ पढ्न थाल्दै गर्दा पल्सरको डिमान्ड गरेछ। तत्काल ऋण धन गरेर किनिदिनु भएछ। बाइक किनेकै दिनमा छोराले बाइक लगेर ट्रकमा ठक्कर दिएर जीवनभरका लागि अपाङ्ग बनेछ। अब यहाँनेर कसको दोष?
सन्तानको आवश्यकता र चाहना अभिभावकले बुझ्नुपर्छ र उनीहरूमा चेतना घुसाउनुपर्छ। आवश्यकता म पूरा गरिदिन्छु, चाहना पूरा गर्न कठिन मार्गमा जानुपर्छ तर पनि पूरा हुने वा नहुने ठेगान हुँदैन।
एउटा सानो फेसबुकमा आएको भिडिओ थियो जुन यस प्रसङ्गमा सान्दर्भिक छ। जसमा आमा केही समयका लागि आफ्नो छोरीको घरमा जान्छिन्। छोरी पढेर विदेशमा स्थापित भइसकेकी घर जागिर सबै गरेकी हुन्छिन्। आमा छोरीको घरमा बस्दै गर्दा एक/दुई महिना बितेपछि एक दिन आमाले आफूले छोरीलाई किनेको उपहार उसलाई दिन उसको कोठामा प्रवेश गर्छिन्। यस बेला छोरीले आमालाई हकार्छिन्, 'आमा, तिमीलाई सभ्यता छैन? अरूको कोठामा आउनु अघि ढोका ढकढकाउनु पर्दैन?'
आमालाई नराम्रो लाग्छ तर निःशब्द हुन्छिन्। आमा तत्काल आफ्नो घर फर्किने निर्णय गर्छिन्। छोरीले अचानक आमाबाट घर फर्किने निर्णय सुनेर सोध्छिन्, 'किन आमा?'
आमाले छोरीलाई सम्झाउँछिन् र भन्छिन्, 'तिम्रो फुर्सद मिल्यो भने जुनसुकै बेला घर आउन सक्छौ, त्यहाँ आउन तिमीले कसैलाई सोध्न पर्दैन। न ढोका ढकढकाएर अनुमति लिएर मात्र भित्र पस्नुपर्छ।'
यो एक दृष्टान्त हो नवपुस्तालाई जो गोपनीयताको नाउँमा एक्लिँदै छन्, समाजबाट टाढिँदै छन्।
बेलायती लेखकले भनेझैँ, 'एउटा बच्चाले सिंहलाई भनेछ कि, म तिमीलाई उनको होइन तिम्रो कथा सुनाउँछु, कसैले पनि यहाँ आफ्नो कथा सुनाउँदैनन्।'
यहाँनेर प्रसङ्ग के भने अरूको कुरा गर्न समाज उद्धत छ। यसैले पनि आजको दुनियाँमा गोपनीयता आवश्यक छ। पहिला समाज सभ्य थियो, समाजमा नैतिकता थियो, अरूको बारेमा कुरा गर्ने, चियोचर्चा गर्ने प्रवृत्ति थिएन तर आजको दुनियाँमा यहाँ समाज धूर्त बन्दै छ। तसर्थ गोपनीयता आवश्यक देखिन्छ नै।
भनिन्छ गोपनीयताले स्वतन्त्रता ल्याउँछ तर स्वतन्त्रताले जिम्मेवारी ल्याउँछ। यी दुवै आजको युवा पुस्ताको रोजाइ छ।
फ्रेन्च टाइगरको भनाइमा 'मन परेको काम गर्नु स्वतन्त्रता हो भने गरेको काम मन पराउनु खुसी हो।' हामीकहाँ सबै बालबच्चाको जिम्मा अभिभावककै छ र हुन्छ। त्यसैले पनि बच्चाको हर पाइलामा अभिभावकको हस्तक्षेप हुन्छ किनकि बच्चा बिग्रेमा, गलत बाटो लागेमा सरकारले, राज्यले, प्रदेशले, सामाजिक सुरक्षा निकाय कसैले हेर्दैन सिवाय अभिभावक। तसर्थ पनि बच्चाहरूमा स्वतन्त्रता छैन न गोपनीयता नै। बाबुआमा नै सबै कुराको डोनर भएपछि दूध दिने गाईको लात्ती त खानै पर्यो, के गर्ने?
आखिर युवा सन्तान किन स्वतन्त्रता र गोपनीयता चाहिरहेका छन्? जसमा कि त बाबुआमाले उनीहरूको चाहना इच्छा भावना बुझेका छैनन् या बच्चाहरू गलत सङ्गतमा छन् वा सामाजिक सञ्जालको कुलतमा छन्।
सिग्मन्ड फ्रेडको विचारमा 'मानिसहरू स्वतन्त्रता चाहन्नन् किनकि त्यहाँ जिम्मेवारी जोडिएको छ। मानिसहरू जिम्मेवारीबाट डराउँछन्, भाग्छन्।'
हाम्रा युवाहरूलाई अमेरिका र युरोपमा जस्तो बुवाआमाले 'तिमी यो काम गर, यो बापत यति पैसा डलर पाउँछौ' भन्न सक्दैनौँ। हामी केबल सिकायत मात्र गर्न जानेका छौँ।
विदेश गएका युवाको दाँजोमा युवतीहरू स्वदेश फर्कन चाहन्नन् किनकि उनीहरूलाई यहाँ स्वदेशको घरपरिवार समाजमा जुन प्रकारको संस्कार, मूल्य, मान्यता र आडम्बरको बोझ छ, त्यो विदेशमा छैन। यसैले युवतीहरू फर्कन चाहन्नन् भन्ने आकलन तपाईं हामी सबैको छ। होला पनि, नहुन पनि सक्छ किनकि हरेक मानिस फरक हो र सोच्ने सोचाइ पनि फरक-फरक नै हुन्छ।
हरेक जसो घरमा आजकल समस्या छ बच्चा भनेको मान्दैनन्, ढोका लगाएर बस्छन्, मोबाइल चलाउँछन्, पढ्दैनन्, पटक्कै घरको काम गर्दैनन् आदि। यससँगै गोपनीयता र स्वतन्त्रताको विषय टड्कारो आएको छ।
कुरा २०६४ साला ताकाको हो। एक जना काकालाई सोधेँ, 'बाबुले के विषय पढ्ने भयो त नि?'
काकाको उत्तर थियो, 'खै! उसका केही मिल्ने साथीहरू छन्, उनीहरूले सल्लाह गर्छन्, उनीहरू सायद एउटै विषय, एउटै कलेजमा पढ्छन् होला।'
त्यो भाइले राम्रै गर्यो। जीवन सानदार चलाइरहेको छ। सबैको परिस्थिति यस्तो नहुन पनि सक्छ।
आखिर बच्चाहरू किन गोपनीयता र स्वतन्त्रताको लतमा छन् त? यसको जवाफमा धेरै पक्षहरू छन् जसमा हामी सचेत बन्नुपर्छ। पढ्न, जान्न, बुझ्न, सिक्न इन्टरनेट चाहिन्छ। उनीहरू स्वतन्त्र रूपमा खोज्न, जान्न, रोज्न, बुझ्न इन्टरनेटमा जान्छन्। हामी यो चाहन्नौँ कि हाम्रो बच्चा इन्टरनेटमा बसोस्। बस्यो भने गलत काम गर्छ। न त हामीकहाँ त्यो मनिटर अनुगमन गर्ने विधि नै छ।
हाम्रो सन्तान काबिल बन्न, जान्न, बुझ्न हामी अभिभावकबाट मात्र काफी छैन। उनीहरूको अर्को संसार पनि छ जहाँ उनीहरूका साथीभाइ छन्। त्यहाँको बारेमा हाम्रो नकारात्मकता बढी सकारात्मकता कम छ। साथीको सङ्गतबाट बिग्रन्छ भन्ने भ्रम छ जबकि त्यो सत्य होइन। उनीहरूमा उमेर बढ्दै गर्दा मनोवैज्ञानिक दबाब पनि बढ्दै जान्छ जुन हामी ख्याल गर्दैनौँ। उनीहरूले पढ्ने, सिक्ने, जान्ने, ज्ञान लिने विभिन्न माध्यम मध्ये साथी पनि हो।
कोही अभिभावकमा मेरो छोरा या छोरीले साथी बनाए, घरमा ल्याए, साथीसँग घुलमिल भए हुन्थ्यो भन्ने पनि छ। साथीभाइ बनाउने, सहयोग आदानप्रदान गर्ने पनि एउटा कला हो। यो कला सबैमा हुँदैन। समाज सिङ्गो विश्वविद्यालय हो जहाँ बिना पुस्तक, बिना शिक्षक, बिना शुल्क सिक्न सकिन्छ। यस खण्डलाई पनि नछाडौँ।
हामी हाम्रो समय बेलाको मात्र याद गर्छौँ। बेला बदलिएको हेक्का हामीमा छैन। हामी त्यो बेला किताबमा संसार भेट्थ्यौँ। अब त्यो सम्भव छैन।
अर्को पक्ष रोजाइ, चाहना फरक हुन्छ। हामी सोच्छौँ, हाम्रो बच्चा पनि हामी जस्तै होस् र बनोस्। तर बच्चा के बन्ने, कस्तो हुने, के बन्ने उस्कोमा सोचमा भर पर्छ। तर हामी उसलाई 'तिमीलाई यो यस्तो मान्छे बनाउँछौँ, चाहन्छौँ' भन्छौँ। यो गलत पक्ष हो। सरकारी जागिरेले मेरो सन्तान लोक सेवा जाँच दियोस् भन्ने सोच राख्ला। डाक्टरले मेरो सन्तानले मेडिकल एक्जाम दियोस् भन्ला, तर सन्तानमा कस्तो पीडा छ, सोच छ, कसैले बुझ्दैनन्।
घरमै पनि आमाको र बुबाको रोजाइ फरक हुन्छ सन्तानप्रति। तसर्थ पनि सन्तानको स्वतन्त्रतामा प्रतिरोध र अवरोध नगरौँ। बरु सकारात्मक सञ्चार गरौँ। उनीहरूको कुरा सुनौँ। उनीहरूलाई उनीहरूको सोच, विचार र धारणालाई सम्मान गरौँ। उचित स्थान दिऊँ। नवीनतम सोच विचार गलत होइन बरु नेपालमा कार्यान्वयन गर्न पेचिलो छ।
अब रह्यो गोपनीयताको कुरा, हामी सन्तानको गोपनीयता किन बुझ्न र थाहा पाउन चाहन्छौँ? ऊ गलत सङ्गतमा नलागोस् भनेर। बाटो नबिराओस्, गलत काम नगरोस् भन्ने चाहना हो। यसका लागि सन्तानको गोपनीयतामा दक्खल दिएर उसको इच्छा विपरीत कुनै कदम चाल्नु पूर्व सन्तानसँग समय लिएर, बिस्तारै नजिक बनेर, विश्वास जितेर उसका यावत नालीबेली पाउन सकिन्छ। त्यसको लागि जासुसी गरिरहन पर्दैन। जासुसी गर्दा परिस्थिति अझै बिग्रन सक्छ।
कुनै बेला उसका हितैषी साथीभाइसँग, उनीहरूका अभिभावकसँग भेटेर पनि कुरा सपार्न सकिन्छ। यस कारण सन्तानको गोपनीयता र स्वतन्त्रतामा भन्दा उनीहरूको दैनिकी सङ्गत, आवतजावत, बसाइँ, लवाइ, खुवाइ, हिँडाइ, कुरा गराइ, सुताइ, उठाइलाई सूक्ष्म अनुगमन गरौँ। स–साना विषयवस्तुमा शङ्काभन्दा बढी सकारात्मक बनौँ। समय परिवर्तन, काल चक्र, समाजको गतिलाई हेक्का राखौँ।