शुक्रबार भएकाले अफिसबाट छिटै निस्किएँ। शुक्रबारको खाजा सकेसम्म कोठा पुगेर, नभए अफिसबाहिर खाने चलन छ। आज श्रीमानसँग महाराजगन्जको टिपटप गएर जेरी र समोसा खाने योजना बन्यो।
बालापनमा समोसा थियो। यो बाहेक समोसासँग जोडिएका खासै ठुला कथा व्यथा मलाई याद छैन। जेरी पनि कहाँ जेरी थियो र? ऊ जुलापी थियो।
टिपटपको टोकन लिएर टेबलमा बसिरहँदा जुलापीसँग जोडिएको एउटा मिठो स्मृतिले मन डोराएर बालापनमा पुर्यायो।
छ कक्षा पढ्न बजारको स्कुल जानुपर्थ्यो। बजारको स्कुलमा केही थिएन। जे थियो, बजारमा थियो। बजारमा मंगलबार हाट लाग्थ्यो। हाट बजारमा बेच्न सोमबार मिठाई पसलमा ताजा जुलापी बन्थ्यो। त्यस बेला एक पावा जुलापीलाई पच्चीस रुपैयाँ पर्थ्यो।
मैले पाँच कक्षाका अधिकांश दिनहरू एक पावा जुलापी किनेर एकै पटक खाने सपना देखेर बिताएँ। तर त्यो सपना सजिलै पूरा भएन। खाजा खानलाई मुस्किलले पाँच रुपैयाँ दिएर पठाउनु हुन्थ्यो घरबाट। हरेक दिनको पाँच रुपैयाँबाट खाजा खाएर, बचाएर पच्चीस रुपैयाँ पुर्याएर एक पावा जेरी एकै पटक खानु ठुलो सङ्घर्षको कथा थियो।
केही दिन कोसिस गरी हेरेँ। एक दिन दुई रुपैयाँको चटपटे खाएर तीन रुपैयाँ बचाउँथेँ। भोलिपल्ट दुई पटक चटपटे खाएर उब्रिएको पैसाको चुइगम खान मन लाग्थ्यो।
ह्या होस्, आज एक दिन खाइदिन्छु, बजार कतै भाग्दैन। जुलापी बेच्ने मान्छेहरू पनि कहाँ भाग्लान् र! जुलापी खाने पैसा फेरि बचाउँदै गरौँला। यही सोचेर धेरै पटक चुइगम खाइदिएँ।
मेरो सपना निकै महँगो रहेछ। बचाएर पच्चीस पुर्याउने सपना त्यति सजिलै पूरा भएन। न बाटोमा पैसा भेटिएला कि भनेर आँखा दायाँबायाँ कतै नलगाई बाटैमा गाडेर हिँड्दा पनि एक सुको नै भेटियो।
एक पटक बल्लतल्ल बचाएर दश रुपैयाँ त पुर्याएकी थिएँ, फेरि एक दिन मन थाम्न नसकेर फटाफट चाउचाउ किनेर खाइदिएँ। सपनाहरू सजिलै पूरा गर्न नसकिने नै रहेछ। सङ्घर्षका बाटाहरू निकै लामा हुने रहेछन्। तर मैले त्यति लामो बाटो हिँडिनँ।
बाबा पनि आफ्नै, बाबाको कोट पनि आफ्नै। जुलापी खाने सपनाले मलाई एक दिन चोर बनायो। बाबाको कोटको खल्तीबाट बिस रुपैयाँ चोरेँ। भनेको भए पक्कै दिनु हुन्थ्यो। अझ जुलापी खान मन लागेको, एक वर्ष अगाडिदेखि नै हो भन्ने थाहा पाएको भए एक सय रुपैयाँ लगेर आफै एक केजी जुलापी पक्कै किन्दिनु हुन्थ्यो। तर त्यो हिम्मत कहाँ! त्यो बेला बाबासँग जति डर कसैसँग लाग्दैन थियो।
बाबा डर होइन, भरोसा हुनुहुन्छ भन्ने बुझ्न सायद अरू धेरै वर्ष लाग्यो मलाई। बाबालाई माग्नुभन्दा चोरी गर्नु उत्तम ठानेपछि, चोरी गरेको थाहा पाए के हुन्छ भन्ने तिर खासै ध्यान गएन। चोरीको बिस रुपैयाँ, खाजा खान भनेर दिनहुँ दिइने पाँच रुपैयाँ। जम्मा पच्चीस रुपैयाँ।
त्यस दिन म जति खुसी संसारमा कोही थिएन। पच्चीस रुपैयाँ रकमले मेरो झोला असाध्यै गह्रौँ भएको थियो।
त्यस बेला स्कुलमा दुई वटा टिफिन हुन्थे। पिसाब फेर्न, पानी खान जाने सानो टिफिन। खाजा खान जाने ठुलो टिफिन।
मलाई सानो टिफिनमा पिसाब लागेन। पानी पिउने मन पनि भएन। के थाहा ट्वाइलेट गएका बेला मेरो ब्यागबाट पच्चीस रुपैयाँ चोरी भयो भने?
चोरेर ल्याएको पैसा दोस्रो पल्ट चोरी भएको उजुरी गर्न म कहाँ जाने? त्यसैले ठुलो टिफिनमा बजार गएर जुलापीको खाजा खाने सोचेँ। तर यसो गर्दा दुई रुपैयाँ सोलीमा आउने चटपटे खाएर खाजा टार्ने मेरा सधैँका खाजा खान जाने साथीहरू सबै लिएर जानुपर्थ्यो।
त्यस दिन मैले मेरा सारा साथीहरूलाई गरिब देखेँ। कहाँ म पच्चीस रुपैयाँ बोकेर एक पावा जुलापी एकै पटक खान हिँडेकी धनी मान्छे, कहाँ यिनीहरू दुई रुपैयाँको चटपटेमा खाजा टार्ने गरिबहरू! सारा गरिबहरूको उद्धार गर्ने जति उदार मन कहाँ थियो र मेरो!
एउटी साथीसँग साँझमा ट्युसन पढ्न सुरु गरेकी थिएँ। ट्युसनमा अरू केटाकेटीहरू भए पनि मसँग मिल्ने अरू साथीहरू थिएनन्। त्यो साथी मेरै घरतिरकी थिई।
मनमनै सोचे, ठुलो टिफिनमा म खाजा खान जान्नँ। बेलुका ट्युसन पढ्न जाने बेलामा त्यो एउटी साथी मात्र हुन्छे, त्यही बेला ऊसँग मिलेर जुलापी खान जानुपर्ला।
आफ्नो योजना उसलाई सुटुक्क सुनाएँ। हामी दुवै पेट दुखेको बहाना बनाएर ठुलो टिफिनभरि कक्षामै बसिरह्यौँ। बेलुका स्कुल छुट्टी भएपछि ट्युसन पढ्ने अर्को स्कुलमा जानुअघि जुलापी किन्न गयौँ।
पहिला त जुलापी बेच्ने मान्छेले पत्याएनन्। हातमा पैसा देखाएपछि मात्रै जुलापी तौलिदिए।
हामी ट्युसन पढ्ने कक्षामा पुग्यौँ। संयोगले त्यस दिन ट्युसन पढाउने सर केही ढिला आउनुभयो। अरू सबै केटाकेटी बाहिर खेल्नमा व्यस्त थिए।
एक वर्षदेखि देखेको सपना पूरा भएको क्षण। मेरो मन खुसीले बुरुक्क उफ्रिएको थियो। सित्तैमा जुलापी खान पाएकी साथी खुसी नहुने कुरै थिएन।
प्लास्टिकभित्रै हात हालेर सुटुक्क गनेँ। ठुला-ठुला जुलापी जम्मा पाँच वटा रहेछन्। भाग लगाएको भए दुई वटा र आधा पर्थ्यो। तर पैसा आफूले ल्याएको घमन्ड देखाउँदै उसलाई भनेँ, तिमी दुई वटा खाऊ, मेरो पैसा हो म तीन वटा खान्छु।
उसले नाइँ भनिन। हुन त मेरो सपना एक पावा जुलापी एकै पटक खाने थियो। साथीलाई भाग लगाउनु परेपछि मन केही खिन्न भयो। तर जब जुलापी खान सुरु गरेँ, अर्थशास्त्रको उपयोगिता ह्रास नियम त्यसै बेला महसुस गरेँ।
पहिलो जुलापी असाध्यै मिठो भयो। दश/बाह्र वर्षको बच्चाको पेट न हो। एउटा खाई नसक्दै अघाएको महसुस भयो। दोस्रो जुलापी आधा खाएपछि त खानै नसकिएला झैँ भयो।
पेट अघाए पनि मन अघाएको थिएन। दोस्रो जुलापी जसरी पनि खाइसकेँ। तेस्रो जुलापी प्लास्टिकमै थियो। सर कक्षामा आउनु भयो। ट्युसन सकिँदा अघि जुलापी खाएर अघाएको पेट केही घटेको थियो। फेरि बाँकी रहेको जुलापी आधा खाइदिएँ। बाँकी आधा जुलापी बाटोमा बिस्तारै टुक्रा गरेर खाँदै घर फर्किएँ।
दिनभरको भोको पेटमा खाएको गुलियो, त्यसमाथि मंगलबार हाट लाग्छ भनेर सोमबार बनाएर राखेको जुलापी। त्यस दिन बिहीबार थियो। घर नपुग्दै पेट दुख्न सुरु भयो। घरमा भन्ने कुरै भएन। जसोतसो सहेँ।
तीन वटा जुलापी खाँदा पूरै शरीरभरि रगतको साटो चिनीको पाग बगिरहेको छ जस्तै महसुस भएको थियो। त्यसपछि यस्तो लाग्यो, म फेरि कहिल्यै जुलापी खाने छैन।
स्मृतिको जुलापी सम्झिँदै गर्दा, टेबलमा वर्तमानको जेरी आइपुग्यो। अँ, त्यो कहिल्यै जुलापी खाने छैन भन्ने गरी अघाएको मन फेरि कुन बेला जेरी खाने रहर गर्ने गरी भोकायो त्यो मैले पत्तै पाइनँ।
त्यो जुलापीभन्दा कत्ति गुणा महँगो यो जेरी। त्यो बासी जुलापी, यो ताजा जेरी। त्यसमा त्यस बेला गुणस्तरको मापन सायद कुनै निकायले गर्दैन थियो, यो गुणस्तरको न्यूनतम मापदण्ड पूरा गरिएको भनिएको जेरी।
त्यो जुलापीभन्दा मिठो यो जेरी हुनुपर्ने हो। तर योजनाले जुराएको जेरीभन्दा सपनाले दिलाएको जुलापी कैयौँ गुणा मिठो। वास्तवमा मिठो त सपना रहेछ।