पशुपालन क्षेत्र कृषिको अभिन्न अङ्ग हो। पशुपालन व्यवसायले कुल विश्व कृषि अर्थतन्त्रमा लगभग ४० प्रतिशत योगदान पुर्याइराखेको छ। सन् २०५० सम्ममा पशुजन्य उत्पादनको विश्वव्यापी माग लगभग ६० देखि ७० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
नेपालको कुल ग्राहस्थ उत्पादनको १३ प्रतिशत योगदान पशु सेवाबाट प्राप्त हुन्छ। यहाँ बाह्र प्रतिशत चरन क्षेत्रले ढाकेको छ। १७ लाख ६६ हजार हेक्टर चरन क्षेत्र छ। मुख्य गरी कृषिजन्य पदार्थ- पराल, हरियो घाँस, सुकेको घाँस, स्याउला, पात तथा अन्नका दानाहरू आहाराको रूपमा प्रयोग गरिन्छ। पशु आहारामा लगभग ३९ प्रतिशत घाँस, २६ प्रतिशत बाली अवशेष र ८ प्रतिशत कृषि उप-उत्पादन प्रयोग हुँदै आइरहेको छ। आहाराको सन्तुलित मात्रा उचित प्रयोगले मात्र उन्नत उत्पादन सफल व्यवसाय दिगो रूपमा सञ्चालन गर्न सकिन्छ।
नेपालमा पाइने चरन तथा घाँसे बाली (भुइँघाँसहरू) बरसिम, भेच, बोडी, जै, जुनेलो, बाजरा, टियोसेन्टी, सुडान, ज्वाइन्ट भेच, नेपियर, पारा घाँस, अमलिसो, स्टाइलो, सिराट्रो, सेन्ट्रो, भटमासे, डेस्मोडियम, मोलासेस, कुड्जु, बदामे, सेटारिया, विनक्यासिया, पासपालम, मुलाटो, टल फेस्कु, टिमथी, सेतो क्लोभर, बहुवर्षिय राई घाँस, कक्सफुट, किक्यू, लुसर्न, कोते, हरकटो, सिरु घाँस, अभिजालो, मजिटो, बुकी, गन्दे, फुले झार, रतनौलो, काली झार, तितेझार, तीतेपाती दुबो, मोथे, कुरो, खर आदि हुन्।
त्यस्तै नेपालमा पाइने डाले घाँसहरू- इपिल-इपिल, टाँकी, निमारो, तिमिलो, चिउरी, किम्बु, कोइरालो, काब्रो, दुधिलो, बकैनो, भिमल, कुटमिरो, खन्यू, गोगन, बाँझ, खस्रु, बेरुलो, जिङगट्, सिमली, बैश, दबदबे, फलेदो, डुम्री, सिरीस, बाँस, ओदाल, चिउरी, पैयुँ, कुएल, बोरी, गिदरी, खरी, दारिम पाते, अखने, बडहर, सिदुरे, सिठी, चुलेत्रो, साज, बाज आदि हुन्।
गाईभैँसी, भेडाबाख्रा, सुंगर, कुखुरालाई उमेर अनुसारको पोषकतत्त्व आवश्यकता पर्दछ। पोषकतत्त्वहरू भन्नाले कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज लवण हुन्। कृषिजन्य बालीहरू मुख्य गरी अन्नबाली मकै, धान, कोदो, फापर, जुनेलो, जौ आदी कार्बोहाइड्रेटको स्रोतको रूपमा प्रयोग हुँदै आएको छ। त्यस्तै प्रोटिनको स्रोतको रूपमा दलहन तथा तेलहन र यिनका उपपदार्थ प्रमुख रूपमा प्रयोग हुने गरेको छ। यस्ता पोषक तत्त्व पशुहरूको आहारामा कम भएमा शारीरिक वृद्धि कम हुने, राम्ररी नहुर्कने, प्रजनन क्षमता घट्ने, दूध उत्पादन घट्ने आदि लक्षणहरू देखिन्छ।
शक्तिको अभावमा अन्य पोषक तत्त्वको उपयोगमा समेत नकारात्मक असर पर्दछ। शरीरमा आवश्यक प्रोटिनको अभावमा शारीरिक वृद्धि अवरुद्ध हुने, दुब्लाउँदै जाने तथा विभिन्न रोगहरू विरुद्ध प्रतिरोधी क्षमताको विकासमा बाधा पर्दछ। त्यस्तै गरी प्रजनन क्रियामा समेत नकारात्मक असर पर्दछ।
विभिन्न भिटामिनको कमीले बाख्राहरूमा विभिन्न किसिमका समस्या उत्पन्न हुन्छन्। भिटामिन ‘ए’ को कमीबाट शरीरमा रोग विरुद्ध प्रतिरोधी क्षमतामा कमी आउने, प्रजनन प्रक्रियामा कमी आउने, दुब्लाउँदै जाने आदि समस्या उत्पन्न हुन्छन्। भिटामिन ‘डी’ को कमी भए शरीरमा क्याल्सियम तथा फस्फोरसको उपयोगमा बाधा पुग्छ तथा पाठापाठीका खुट्टाका हाड बाङ्गिन्छन्। भिटामिन ‘ई’ को कमीले प्रजनन क्षमतामा कमी आउँछ। त्यस्तै भिटामिन ‘बी’ को कमीले पाचन क्षमतामा ह्रास, शारीरिक विकासमा अवरुद्ध हुने तथा रक्तअल्पता जस्ता समस्याहरू उत्पन्न हुन्छ। खनिज लवणहरूको कमीले मुख्य रूपमा भोक कम लाग्ने वा नलाग्ने, शारीरिक वृद्धिका कमी हुने तथा हड्डीको विकासमा बाधा पर्ने, पशुमा नियमित रूपमा बाली नजाने, दूध उत्पादनमा कमी हुने, मरेका बाच्छा बाच्छी पाठापाठी जन्माउने, रक्तअल्पता हुन सक्छ। आयोडिनको कमी भएका पशुमा गाँड भएका बाच्छा बाच्छी पाठापाठी तुहाउने र जिउँदो जन्मे पनि पछि मर्ने गर्दछन्।
राष्ट्रिय पशु आहारा तथा लाइभ स्टक गुण व्यवस्थापन प्रयोगशालाको तथ्याङ्कअनुसार पशुलाई चाहिने कुल पाच्य तत्त्व वनजगंलबाट २०.५ प्रतिशत, झाडी जग्गाबाट १.८ प्रतिशत, घाँसे मैदानबाट २.५ प्रतिशत, बाली अवशेष र मिलिङ उत्पादनहरूबाट ४४ प्रतिशत, खेतबारीमा पाइने झारपातहरूबाट १५.१ प्रतिशत, सुधारिएको चरन क्षेत्रबाट ६.९ प्रतिशत. अनाजबाट ४.८ प्रतिशत, भान्साबाट निस्किएको फोहरबाट ३.६ प्रतिशत र अन्य क्षेत्रबाट ०.८ प्रतिशत प्राप्त हुने गरेको छ।
नेपालको आहारा सन्तुलन हेर्नुपर्दा कुल पाच्य तत्त्वको माग १ करोड २२ लाख ५६ हजार ८ सय ८२ मेट्रिक टन छ भने जम्मा पूर्ति १ करोड १ लाख ४ हजार ७ सय ३ मेट्रिक टन रहेको छ जो १७.५६ प्रतिशतले कम हो। त्यस्तै हिमाली क्षेत्रमा आहारा सन्तुलन २६ प्रतिशतले अधिक हुँदा पहाडी र तराई क्षेत्रमा ४२ प्रतिशत र ५६ प्रतिशतले कमी छ।
पशुपालन गर्दा गाउँघरमा पाइने लोकल घाँस, खुदो, दाना, खोले, सुकेको परालमा मात्र भर पर्नु पर्ने बाध्यात्मक अवस्थाले गर्दा पशुलाई चाहिने पर्याप्त पोषण तत्त्व अपुग हुने भएकाले उन्नत जातका घाँसे बालीहरू पनि नेपालका विकास गरिएको छ। जस्तै- इपिल (पेरु, के-६३६, ल्यकिना ट्राइकेन्डा, ल्युकिना कोलीन्स), किम्बु (केएम) टियोसिन्टे (टियोसिन्टे-१, टियोसिन्टे-२, राहुरी, सिर्सा, आर्य जिएफ, आरआई) नेपियर (गजराज, पुजा जाइन्ट, सिओ-४ आदी)।
त्यस्तै पशु पोषणको क्षेत्रमा विभिन्न पशु आहारा जस्तै युरिया मोलासेस मिनिरल ब्लक, युरियाबाट उपचार गरिएको पराल, कुल मिश्रित रासन, परालमा आधारित पिलेट, हे, साइलेज विकसित गरिएको छ। नेपालमा पशु पोषणको क्षेत्रमा नानो प्रविधि भने विकसित हुन सकेको छैन। आव ०६९/७० बाट फोरेज मिसन कार्यक्रम सञ्चालन गरी ४५ हजार हेक्टर थप भूमिमा घाँस विकास गर्ने लक्ष्यको साथ देश अगाडि बढेको अवस्था छ। आव ०७०/०७१ मा मिसन कार्यक्रम २५ जिल्लामा लागु हुँदा, आव ०७१/७२ देखि १० जिल्लामा मिसन कार्यक्रम लागु भएको थियो जसले पशु आहारा विकासका निम्ति सकारात्मक योगदान पुर्याएको देखिन्छ।
पशुपालन क्षेत्रमा आधुनिक प्रविधिको विस्तार, सघन पशु पालन, पशु बिमा, ऋण प्रवाह, नस्ल सुधार कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, मूल्य शृङ्खलामा बजारीकरण, चरन तथा पशु आहारा विकास समुचित ढङ्गमा गराउन चुनौती छ। विश्वमा पशु आहारा क्षेत्रले विभिन्न किसिमका चुनौतीहरूको सामना गर्नु परेको छ। जलवायु परिवर्तनको असर, सीमित प्राकृतिक स्रोत साधनबिच प्रतिस्पर्धा, पिउने पानी तथा सिचाइको अभाव, बढ्दो जनसङ्ख्या वृद्धि दर, मानव खाद्य सुरक्षा र पशु पोषण सुरक्षाबिच प्रतिस्पर्धा, घट्दो/बिग्रँदो खेतीयोग्य जमिन, आधुनिक जीवनशैली, फिड एडिट्टिप्स उपलब्धता र प्रयोगमा कमी, व्यावसायिक दानाको उच्च मूल्य, आहाराको क्षति, वैकल्पिक आहाराको पहिचान परीक्षण र प्रयोगमा कमी, कच्चा पदार्थहरूको गुणस्तर परीक्षण र दानामा एकरूपता नहुनु, भण्डारण क्षमताको कमी, सन्तुलित आहारा व्यवस्थापनको कमी, उन्नत घाँस खेती तथा घाँस संरक्षण प्रविधिको कम प्रयोग, बालीजन्य उपपदार्थमा पौष्टिक तत्त्वको कमी, दाना कच्चा पदार्थको गुणस्तर र परनिर्भरता, पशु पोषण एवं पशु आहाराका क्षेत्रमा खास चुनौतीहरू हुन्।
पशुपालन क्षेत्रको विकासको लागि पशु स्वास्थ्य, पशु प्रजनन, पशु आहारा र बजार व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रगत सम्भावनाको रूपमा रहेका छन्। पशुपालनका लाग्ने कुल लागतको करिब ७० प्रतिशत खर्च लाग्ने गरेको पशु आहारा व्यवस्थापन हाल नेपालमा मुख्य चुनौतीको रूपमा रहँदै आइरहेको छ।
व्यावसायिक तथा आधुनिक पशुपालनको विकास गरी पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरीय पशु आहाराको उपलब्धता सुनिश्चित गर्न अपरिहार्य छ। हाल नेपालमा सुख्खा पदार्थमा ३३ प्रतिशत तथा टिडिएनमा ५० प्रतिशत कमी रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालनको मुख्य आधारको रूपमा रहेका करिब ३७ प्रतिशत चरन क्षेत्र तथा खर्कहरू पशुहरूको पहुँचको कमी तथा उच्च स्टकिङ डेन्सिटीका कारण हाल उच्च जोखिममा रहेका छन्।
पशुपालन व्यवसायलाई दिगो तथा प्रतिस्पर्धी बनाई त्यसबाट उच्चतम प्रतिफल हासिल गर्न सन्तुलित तथा गुणस्तरीय पशु आहाराको उपलब्धता सुनिश्चितता हुन, पशुपालन क्षेत्रको बढ्दो व्यवसायीकरणसँगै ठुलो परिमाणमा तयारी दाना, दानाका लागि कच्चा पदार्थ तथा फिड सप्लिमेन्टहरूको आयातबाट सिर्जित व्यापार घाटामा कमी ल्याउन, आत्मनिर्भर पशु आहारा प्रणालीको आवश्यकता महसुस गरिएको छ।
साथै घाँसमा आधारित पशुपालन पद्धति विकास तथा विस्तार गरी कम लागतमा पशुजन्य पदार्थको उत्पादन गर्न पशु बस्तुहरूको उत्पादकत्वमा वृद्धि ल्याई पशुजन्य पदार्थमा राष्ट्रलाई आत्मनिर्भर बनाउनु पर्छ। आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा जोड दिन पशुपालन व्यवसायलाई नाफामुखी र मर्यादित पेसाको रूपमा विकास गरी युवाहरूलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न पशु आहारा व्यवस्थापनमा नवीनतम प्रविधिहरूको अनुसन्धान र विस्तार गर्दै घाँसखेतीलाई मुख्य पेसाको रूपमा विकास गर्न घाँसको बिउबिजन स्लिप तथा चरन क्षेत्रहरूको संरक्षण, सम्वर्द्धन र उपभोगमा वैज्ञानिक विधिहरूको अवलम्बन लगायताका कार्यहरू गर्न आवश्यक रहेको छ।
(लेखक इलाम सामुदायिक कृषि क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालयका उप-प्राध्यापक हुन्।)