चेरी चेरियो...चेरी चेरियो...चेरी चेरियो...।
यो गीतले आजभोलि मलाई अलार्मको काम गर्छ। झ्यालबाहिर सुरिलो आवाजमा 'चेरी चेरियो' सुनेर झिसमिसेमै बिउँझिएपछि म अर्को गीत सुन्छु — क्या...क्या...क्या...!
सवाल र जबाफझैं लाग्ने यी दुई आवाज सुन्दै दंग परेर मेरो झिसमिसे बिहानी सकिन्छ।
यस्तै गीत सुनेर त चराहरूलाई प्रकृतिका गायक भनिन्छ।
के चराहरूलाई अर्काको बिहान रमाइलो पार्न मजा लाग्ने भएकाले गाउँछन्? कि उनीहरूमा गीत गाउने सोख हुन्छ?
होइन।
उनीहरू त बाध्यताले गीत गाउँछन् र हल्ला गरिरहन्छन्।
चराहरूलाई आफ्नो अस्तित्व जोगाउन गाउनुपर्छ। आफ्नो सुरक्षाका लागि हल्ला गरिरहनुपर्छ।
चराले गाउने गीत उनीहरूले निकाल्ने आवाज जाति र प्रजातिपिच्छे फरक फरक हुन्छन्। आउनुहोस्, आज प्रकृतिका यी गायकका गीत र आवाजबारे कुरा गरौं।
चरा राम्रो आवाज निकाल्न सक्ने जीवमध्ये पर्छन्। आफूले पनि गीत गाउने भएर होला, मान्छेले चराको गीतलाई आफ्नो जिन्दगीमा धेरै ठाउँ दिएको छ कविको कवितामा होस् कि, इतिहासको पन्नामा वा फिल्मको बिम्बमा। सायदै फिल्म होलान् जसका पृष्ठभूमिमा चरा कराएको सुनिँदैन।
चराले कसरी आवाज निकाल्छन् भन्ने पनि धेरैलाई चासो हुन सक्छ।
त्यसका लागि ध्वनीको सामान्य नियम बुझ्नुपर्छ।
कुनै पनि ध्वनी वस्तुमा आएको कम्पनले सिर्जना गर्ने दबाबका कारण उत्पन्न हुने लहरले हावामा हुने कणलाई हल्लाएपछि बन्छ। मान्छेमा फोक्सोबाट निस्केको हावाले हाम्रो 'भोकल फोल्ड्स' लाई हल्लाउँदा आवाज निस्किन्छ।
तर चराहरूमा यस्तो भोकल फोल्ड्स हुँदैन। उनीहरूमा 'सिरिंक्स' नामको एउटा अंग हुन्छ, जसले आवाज निकाल्न मद्दत गर्छ। सिरिंक्समा रहेका पाँचदेखि नौ जोडी मांसपेसीलाई हावाले हल्लाउँदा चराहरूबाट आवाज निस्किन्छ।
रमाइलो कुरा, हामी मान्छेले अपवादबाहेक एक स्वरमा मात्र गीत गाउन सक्छौं। चराहरूले एकैचोटि दुईभन्दा धेरै स्वरमा गीत गाउन सक्छन्।
चरामा हुने सिरिंक्स विभिन्न प्रकारका हुन्छन्। र, त्यही प्रकार अनुसार चराहरूको आवाजमा पनि फरकपन हुन्छ।
चराहरूको सिरिंक्स मुख्यतया तीन प्रकारका हुन्छन्; ट्राकियल, ट्राकिया ब्रोंकियल र ब्रोंकियल।
ट्राकियल भनेको चराको श्वासनली हो। श्वासनली नाकदेखि फोक्सो छुट्टिने भागसम्म हुन्छ।
जहाँबाट फोक्सोको नली सुरू हुन्छ, त्यसलाई ट्राकिया ब्रोंकियल भनिन्छ।
यी दुइटाको संगमस्थल ब्रोंकियल हो।
अब कुन चरामा कुन प्रकारको सिरिंक्स हुन्छ भन्ने चर्चा गरौं।
ट्राकियल सिरिंक्स साधारण सिरिंक्समा पर्छ र यस्तो सिरिंक्स हुने चराको गीत कम आवृत्ति भएको हुन्छ। अरू चरामा जस्तो तिखो आवाज हुँदैन। गरूड/गिद्धमा यही सिरिंक्स हुन्छ। त्यसैले त यसको गीत/कल धोद्रो हुन्छ। घुरेको जस्तो सुनिन्छ।
ट्राकियल मात्र हुने चरा सारस पनि हो। तर अरू चराको ट्राकियलभन्दा सारसको ट्राकियल लामो हुन्छ। यो लामो ट्राकियल घाँटीमा घुम्रिएर बसेको हुन्छ जसले गर्दा यसले एउटा प्रतिध्वनी कक्ष बनाएको हुन्छ। यस्तो प्रकारको अनुकूलनले गर्दा सारसले चर्को र धेरै टाढासम्म पुग्न सक्ने आवाज निकाल्न सक्छ। सारसको आवाज त्यसैले पनि सजिलै चिन्न सकिन्छ।
ट्राकियलभन्दा ट्राकिया ब्रोंकियल सिरिंक्स धेरै जटिल हुन्छ। ५० प्रतिशतभन्दा धेरै चरामा यो पाइन्छ। विशेषगरी सङ बर्ड्स (मिठो स्वरमा गीत गाउने चरा) सबैमा हुन्छ। सङ बर्ड्सले एकदम जटिल, धेरै धुन र लय भएका सुरिला गीत गाउँछन्। जस्तो अचेल बिहान बिहान 'चेरि चेरियो चेरि चेरियो' गीत गाउने रबिन चरा।
ब्रोंकियल सिरिंक्स पनि ट्राकिया ब्रोंकियलभन्दा सामान्यमै पर्छ। यो सिरिंक्स उल्लु, कोइली र चैते चरामा हुन्छ। यिनको आवाज पनि कम आवृत्तिको हुन्छ। 'हु-हु-हु' देखि मान्छे नै कराएको जस्तो कराउने उल्लु हुन्छन्। गोठे लाटोकोसेरोले मान्छे कराएजस्तो आवाज निकाल्छ। केही उल्लुले भने 'टुरूरूरू' भनेजस्तो आवाज निकाल्छन्।
चराको गीत गाउने शरीरको अंगपछि अब कुरा गरौं उनीहरूका गीतको।
गीत गाउने अंगमा हुने भिन्नता जस्तै चराका गीत पनि धेरै प्रकारका हुन्छन्।
पहिलो कुरा त उनीहरू किन गीत गाउँछन् भन्ने बुझ्नुपर्छ।
चराले तीन कामका लागि गीत गाउँछन् — सम्भोगका लागि, अरू चरासँग सञ्चार गर्न र असुरक्षासँग सतर्क गराउन।
धेरै कुरामा प्रयोग हुने यी गीतका प्रकार पनि भिन्न नै हुन्छन्।
साधारणतया चराको गीतलाई 'कल' र 'सङ' भनेर छुट्ट्याइन्छ।
कल छोटो र छरितो हुन्छ। सङ (गीत) धेरैजसो लामो, जटिल र सांगीतिक 'नोट' भएका हुन्छन्।
कल भनेको 'पीप', 'टिट', 'टुट' जस्ता आवाज हुन्। यी आवाज सञ्चार, संकटको संकेत र सतर्क गराउन प्रयोग हुन्छन्। 'नक्चर्नल फ्लाइट कल्स' अर्थात् राति उडान गर्ने बेलामा आउने कल पनि हुन्छन्।
कलमै पनि संकटको कल र सतर्क कलमा फरक हुन्छ। संकट कल धेरै जस्तो छोटो आवृत्तिको हुन्छ भने सतर्क कल अलि लामो आवृत्तिका हुन्छन्। जसले गर्दा यिनीहरू धेरै टाढासम्म जान सक्छन्। र, रमाइलो कुरा — केही चराले यो कल कतिचोटि गर्छन् भन्ने कुराले पनि कस्तो प्रकारको सतर्कता अपनाउनुपर्ने भन्ने बताउँछ।
ब्ल्याक क्याप्ड चिकडी चराको नाम उसले गाउने कलमा 'चिकडी-डी-डी-डी' भन्ने आवाजले गर्दा रहन गएको हो। र, यो चराले कति चोटि 'डी' भन्छ, त्यो अनुसार कस्तो प्रकारको सिकारी चराबाट सतर्कता अपनाउनुपर्छ भन्ने बताउँछ। आफूलाई खान सक्ने साना सिकारी चरा हुँदा चिकडीले धेरै छिटो र चारभन्दा धेरैपटक डी, डी, डी, डी आवाज निकाल्छ। ठूलो सिकरी चराबाट बच्न थोरै र बिस्तारै डी, डी भन्छ।
धेरै चरामा यस्तै प्रकारका कल हुन्छन् जस कारण उनीहरूले आफ्नो प्रजाति लगायत अरू प्रजातिका चरालाई समेत सतर्क गराउन सक्छन्।
चराले लामा र जटिल गीत भने प्रजननको समयमा निकाल्छन्।
चराका गीत अद्वितीय नै हुन्छन्। यिनले एकैपटक दुइटा नोटमा गाउन सक्छन्। केही चराले त दुइटा सिरिंक्सबाट एकैपटक दुई प्रकारका आवाज निकाल्न सक्छन्। त्यति मात्र नभएर, एउटै चराको पनि धेरै प्रकारका गीत हुन सक्छन्।
केही चराले अरू सयौं चराको गीतको नक्कल गर्न सक्छन्। यस्तैमध्ये एक हो नेपालमा पाइने जस्तै भिमराज चिबे। अस्ट्रेलियामा पाइने लायर चराले गाडीको अलार्म, घाँस काट्ने औजार र मान्छे बोलेको आवाज पनि निकाल्न सक्छ। त्यस्तै कतिपय चराले आफ्नो पुच्छर र टाउकोबाट पनि आवाज निकालेको पाइन्छ।
अमेरिकातिर पाइने हमिङ बर्डले प्रजननका लागि नाच देखाउन आफ्नो पुच्छरको पखेटाबाट पनि आवाज निकाल्ने गरेको पाइएको छ। त्यसैगरी केही जंगली कुखुराले पनि आफ्नो प्रजनन समारोहमा नाच देखाउँदा पखेटा टाउकोमाथि ठोकेर आवाज निकाल्छ।
संसारमा दस हजारभन्दा धेरै प्रजातिका चरा छन्। कतिपय एउटै परिवार वा प्रजातिका चरा उस्तै त हुन्छन् तर तिनका गीत फरक हुन्छन्। त्यसैले त चराहरू गीतले मात्र छुट्ट्याउन सकिन्छ।
विभिन्न ठाउँमा बस्ने मान्छेको भिन्न भिन्न लवज भएजस्तै चरामा पनि भिन्न लवज पाइएको छ। अर्थात् गीत एउटै तर लवज भिन्नै!
धेरै चराको गीत मिठो र सुरिलो हुन्छ। ती गीत सुन्दा कहिलेकाहीँ त हाम्रै भाषामा केही भनिरहेका छन् कि जस्तो लाग्छ। कल्चौंडे (ब्लु ह्विस्लिङ थ्रस) हाम्रा खोलानालातिर प्रशस्त पाइने चरा हो। यसको गीत धेरै राम्रो हुन्छ। नुवाकोटको केही ठाउँतिर यो चराले 'काली छु, कल्चौंडे हुँ, तेरो बाउको के खाइदिएको छ' भन्छ भन्ने चलन रहेछ। कोइलीको 'काफल पाक्यो' र 'को हो को हो' त प्रचलित छँदैछ। यसरी चराको गीतलाई मान्छेले आफ्नै बोलीचालीमा सुन्ने चलन विश्वभरि नै छ।
अमेरिकामा पाइने एउटा राजपुत्रिका चराको नाम नै 'किल्डियर' छ। त्यसको आवाजले 'किल डियर, किल डियर' भनेको जस्तो सुनिने भएर नाम नै किल्डियर राखिएको हो।
अमेरिकामै पाइने 'अलिभ साइडेड फ्लाई क्याचर' ले त 'क्विक थ्री बियर' भन्ने रहेछ। सायद बियरको तिर्खा लागेर होला भनेर हामी हाँसो गर्छौं।
हामी मान्छेले धेरै समय अघिदेखि चराको गीत सुन्दै आएका हौं। चराले किन/कसरी गाउँछन् भनेर वैज्ञानिकले धेरै अध्ययन गरेका छन्।
यो सिलसिलामा भएको एउटा अचम्म लाग्ने घटना उल्लेख गर्छु।
केही दशक अगाडिसम्म वैज्ञानिक समाजमा भाले चराले मात्र गीत गाउँछ भन्ने अनुमान थियो।
कारण — पहिले पहिले धेरै वैज्ञानिक पुरूष मात्र हुन्थे। त्यो बेला पुरूष वैज्ञानिकले पूर्वाग्रहका साथ भाले चरामा मात्र अध्ययन गरेका थिए।
जब महिला वैज्ञानिकको संख्या बढ्दै गयो, उनीहरूले पोथी चरामा ध्यान दिन थाले। अनि पोथी चराले पनि गाउन सक्छ भन्ने पत्ता लागेको हो।
सन् २०२० मा भएको एउटा अध्ययनले पोथी घर-गौंथलीले पनि गीत गाउने देखाएको थियो। जबकि त्यही प्रजातिको भालेको गीतमा हजारभन्दा धेरै शोधपत्र प्रकाशित भएका थिए। ती अध्ययनले पोथीमा उक्त गुण नभएको उल्लेख गरेका थिए।
धेरै जस्तो गीत भाले चराले पोथीलाई फकाउन गाउने हो भन्ने त स्थापित नै छ। तर पोथीले पनि गीत गाउँछन् भन्ने देखिएको छ।
चराको आवाजमा अध्ययन हुँदै जाला, नयाँ नयाँ नतिजा निस्किँदै जाला, अहिलेलाई भने चराको गीत सुनेर हामी मजा लिँदै गरौं। प्रकृतिका यी गायकको संरक्षणबारे पनि आआफ्नै ठाउँबाट सोचौं। यिनीहरू जोगिए हाम्रो प्रकृति गुलजार भइरहला!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)