प्राथमिक उपचार भनेको कुनै पनि व्यक्तिलाई सामान्य वा जटिल चोटपटक लागेमा, बिरामी भएमा अथवा मृत्यु नजिकको अवस्था आई परेमा सामान्य या तालिम प्राप्त व्यक्तिले अस्पतालसम्म पुर्याउन्जेल हेरचाह गर्नु हो।
सलाई बाल्दा सानो आगोको झिल्कोले पोल्दा चिसो पानीमा हात भिजाउनु या दनदन आगोले जलेको भागमा सफा कपडाले छोप्नु प्राथमिक उपचारभित्र पर्छ। हुन त प्राथमिक उपचार गर्ने व्यक्तिले सानोतिनो स्वास्थ्य सम्बन्धी जानकारी तथा तालिम लिएको हुनु पर्ने हो तर दुर्घटना भनेर आउने होइन न त अवस्था हेरेर आउने हो। जुनसुकै परिस्थितिमा आफ्नो र आफन्तलाई मद्दत पुर्याउन हामीले प्राथमिक उपचार बारेमा जानकारी लिइराख्नु राम्रो हो। हाम्रा हातले जुनसुकै बेला कसैको जीवन बचाउन सक्छ।
कार्डियो पल्मोनरी पुनरुत्थान अर्थात् सिपिआर रिससिटेसन
हृदय गति बन्द भएको बेला कार्डियो पल्मोनरी पुनरुत्थान अर्थात् सिपिआर रिससिटेसन नामक आकस्मिक प्रक्रियाबाट मृत्यु हुन लागेको व्यक्तिलाई बचाउन सकिन्छ। श्वास रोकिसकेको र मुटुले काम गर्न छोडिसकेको जुनसुकै व्यक्तिलाई केही समयभित्र दक्ष तरिकाले सिपिआर दिन सके उक्त व्यक्तिलाई पुनर्जीवन दिन सकिन्छ। समयमा नै यसरी सिपिआर दिन सके मान्छेको बाँच्ने औसत तीनदेखि चार गुनाले बढ्न सक्छ।
अझ राम्रो कुरा के हो भने यो सञ्जीवनी बुटी जस्तो काम गर्ने प्रक्रियाको निम्ति न त कुनै वरिष्ठ डाक्टर या अस्पताल नै चाहिन्छ। यो जीवनदायी प्रक्रिया जुनसुकै सामान्य पढेका, नपढेका, महिला, पुरुष, घरमा, छतमा, खेतमा वा घटनास्थलमा गर्न सकिन्छ।
आधुनिकताले परिपूर्ण देश अमेरिकामा २ लाख ७६ हजार मानिसको अस्पताल पुग्नु पूर्व मृत्यु हुने गर्छ भने युरोपमा ३ लाख ५० हजारको मृत्यु अस्पताल बाहिर हुने गर्छ। ती मृत्यु मध्ये ५०% बिरामीलाई सिपिआर दिएर बचाउन सकिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरिमा करिब १७० लाख मानिस वर्षौँ हृदय सम्बन्धी रोगबाट मर्ने गर्छन् जसमा हृदयाघातको दर अत्यधिक हुने गर्छ।
सिपिआर ले मुख्यतः तीन कुरालाई समेट्ने गर्छ- छाती सङ्कुचन/थिच्ने, श्वासप्रश्वास नली सफा गर्ने र कृत्रिम श्वासप्रश्वास दिने। छाती सङ्कुचनले छाती मा वक्ष गुहा/पिँजरा जसलाई थोरासिस क्याभिटी पनि भनिन्छ, नकारात्मक चाप बढाउने गर्छ। यो चापले जमेको या थिग्रेको रगत मुटु र मस्तिष्कमा पुनः सञ्चालन हुन मद्दत गर्छ। श्वास नली सफा गरेपछि अझै चोट लाग्नबाट बचाउँछ तथा कृत्रिम श्वासले अक्सिजन पुर्याउँछ तथा फेरि फोक्सोमा नकारात्मक र सकारात्मक प्रेसर सन्तुलन गरेर श्वासप्रश्वास पुनः सुचारु गर्न मद्दत गर्छ।
शङ्कास्पद व्यक्तिलाई देख्ने बित्तिकै पहिले हल्ला गर्ने, मद्दतको लागि अरूसँग गुहार माग्ने, आकस्मिक सेवा गर्दा सकेसम्म एक्लै गर्नु हुन्न मद्दत लिनु पर्ने हुन्छ। बिरामीलाई सम्बोधनले जस्तै: बाबा, दाइ आदि बोलाउने, बिस्तारै हलाउने र बिरामीको प्रतिक्रिया हेर्ने। पहिलो कुरा, बिरामी बोल्यो या टाउको हल्लायो भने सुरक्षित स्थानमा राख्ने। सरर हेर्ने, चोटपटक लागेको छ कि छैन। टाउकोभन्दा मुनि ढाडमा चोट लागेछ भने ढाड सिधा हुने गरी सुताएरै नजिकको स्वास्थ्य चौकी लाग्ने। टाउकोमा चोट लागेछ भने टाउको १५-३० डिग्रीसम्म उठाएर राख्ने अनि सके छिटो अस्पताल पुर्याउने।
श्वास र नाडी छाम्दा पल्स छ, एक छिनलाई बेहोस मात्र भएको छ भने टाउको शरीरभन्दा अलि तल राख्ने खुट्टा अलि माथि उठाएर राख्ने जसले गर्दा मस्तिष्कमा राम्रोसँग रगत सञ्चालन होस्। तर घाइतेले कुनै प्रतिक्रिया दिएन भने नआत्तिईकन बिरामीलाई समतल भुइँमा उत्तानो पारेर सुताउने, लुगा खुकुलो पार्ने। बिरामीको घाँटीनिरको कारोटिड पल्स र सास चलेको नचलेको सकभर एकै पटक हेर्ने। जसको लागि आफ्नो टाउको बिरामीको छातीतिर फर्काएर हेर्ने। छाती तल माथि गरेको छ कि छैन, गालामा बिरामीले सास फेरेको हावा महसुस गर्ने र हातले पल्स छाम्ने।
यसरी १० सेकेन्डभित्र एकै पटक पत्ता लगाउनु पर्छ। केही पनि छैन भने आफ्नो घुँडा टेकी भुइँमा बस्ने, आफ्नो दुवै हात सिधा गरी पुरुष या स्त्री बिरामी दुवैमा जो भए नि उसको छातीको बिचमा स्टर्नम र वक्षको मोटो हड्डीको तलको भागमाथि आफ्नो दाहिने हातको हत्केला राख्ने। यदि तपाईं देब्रे हात प्रयोग गर्नु हुन्छ भने देब्रे हात तल र अर्को हात माथि राखेर सबै औँलाले एक अर्को हातलाई बाँध्ने र कुहिनो नमोडीकन सिधा नै थिच्ने। थिच्दा बिरामीको छाती कमसेकम २-३ इन्च भित्रसम्म थिचिनु पर्छ र थिच्ने बित्तिकै बिस्तारै हात खुकुलो गर्ने ता कि छाती फेरि बाहिर आफ्नो ठाउँमा आओस्।
यसरी थिच्दा ध्यान के दिने भन्दा १ मिनेटभित्र एक सय पटक छातीलाई थिचिसक्नु पर्ने दरले छिटो छिटो थिच्ने छोड्ने र अरूले सुन्ने गरी १, २ गिन्ती गर्दै जाने। तिस पटक छाती थिचेपछि छाती थिच्न छोड्ने र टाउको ढल्काउने र चिउँडो उठाउने, नाक बन्द गर्ने र आफ्नो मुखमा हावा भरी बिरामीको मुख पुरै आफ्नो मुखले छोपेर फुक्ने र यो फुक्ने काम २ पटक गर्ने। फेरि छाती थिच्न सुरु गर्ने। यदि मुखमा फोहोर, रगत, माटो या भाँचिएको दाँत छ भने सफा गरेपछि मुखमा मुखले कृत्रिम सास दिने। बच्चा छ भने पल्स काखीमा चेक गर्ने, छातीको एक तिहाइ भाग मात्र थिच्ने।
बाह्र वर्ष माथिको बच्चामा ठुलो मान्छेझैँ सिपिआर गरिन्छ भने १ वर्ष भित्रको बच्चामा चोर औँला र १ वर्ष माथिको बच्चामा एक हातले सिपिआर दिइन्छ। यदि हृदय गतिहीन भएको ०-४ मिनेट भित्र सिपिआर दिए मस्तिष्कमा कुनै असर पुग्दैन, ४-६ मिनेटभित्रमा उक्त व्यक्तिको मस्तिष्कमा असर पुग्ने सम्भावना बढ्छ तर १० मिनेटभन्दा बढी भए उक्त व्यक्तिको मस्तिष्क मृत्यु लगभग भइसकेको हुन्छ। सिपिआर अस्पताल पुगुन्जेल या अरू आकस्मिक मेडिकल सुविधा पुगुन्जेल दिनु पर्ने हुन्छ। यदि तपाईं थाकिसक्नु भयो या मृत्युले सो मान्छेलाई छोइसक्यो भने सिपिआर बन्द गर्न सकिन्छ।
डुब्दै गरेको अवस्थामा
कुनै पनि व्यक्तिको नाक र मुख पानी या तरल पदार्थमा भिजेपछि यदि श्वास नलीमा पानी भरियो भने त्यस्तो अवस्था नै डुबेको बुझिन्छ। नदी, ताल, पोखरीमा मात्रै होइन यदि कुनै तरल पदार्थ बाटामा या नालामै भए पनि यदि श्वास नलीभित्र पानी पसेमा दुर्घटना हुन सक्छ। मान्छे पानीमा डुबेपछि यदि पूर्ण रूपले पानी फोक्सोसम्म पुग्यो भने यसलाई वेट फोक्सो भनिन्छ भने श्वासप्रश्वास सम्बन्धी मांसपेशी स्पाम भएर पानी भरिनु पूर्व नै सास बन्द भएको छ भने ड्राई किसिमको डुबाई भनिन्छ।
यदि कुनै व्यक्ति डुबिरहेको छ भने मद्दतका लागि गुहार माग्ने, आफू सुरक्षित भई कुनै हलुको डोरी वा प्लास्टिक या सुक्खा लट्ठीले तान्न मद्दत गर्ने। बाहिर निकालेपश्चात् भुइँमा सुताउने र सास तथा पल्स हेर्ने, पानी फोक्सोले खाको नखाएको थाहा पाउने। यदि पानीले फोक्सो भरेको छ भने देब्रेतिर फर्काएर टाउको देब्रे फर्काएर एउटा हात टाउको तल राख्ने मुखको पानी निकाल्न छाती र पेट बिच हातले समातेर हल्का प्रेसर दिँदै अलि अलि उठाए जस्तो गर्ने। यदि बच्चा छ भने टाउकोलाई तल राख्ने, खुट्टालाई माथि तिर उठाएर राख्ने। यदि सास र पल्स नै छैन भने सक्दो छिटो सिपिआर सुरु गर्ने। लुगा खुकुलो पार्ने, बिरामी होसमा आएपश्चात् तातो कम्बल या लुगा ओढाउने, राम्रोसँग होसमा भएको बेला तातो झोल खुवाउने। सके छिटो नजिकको अस्पताल लग्ने। बिरामीलाई अस्पताल पुर्याउन्जेल बसाउनु या उभाउनु हुन्न, सकेसम्म सुताएरै लग्नु पर्छ।
पोलेको वा जलेको अवस्थामा
हाम्रो छाला वा त्यस सँगसँगै शरीरका अन्य कुनै भाग आगो, घस्रन, चाप, विद्युत्, किरण या रसायन कुनै पनि कुराले घाउ बनाएको अवस्था पोल्नु या जल्नु हो। पहिलो चरणको पोलाइमा रातो छाला हल्का दुख्ने हुन्छ भने दोस्रो चरणमा फोका उठ्ने, घाउ हुने हो। तेस्रो चरणमा छाला, मांसपेशी, हड्डीसम्म पोलाइले छोएको हुन सक्छ। पोले बापत घाउ जुन चरणको भए नि त्यसमा बेसार, घिउ, टमाटर जस्ता कुनै बस्तु लगाउनु हुन्न। बरु सफा धाराको पानीले (बरफ पानी या चिसो पानी होइन) सफा गर्ने, सकेसम्म नफुटाउने।
धेरै नै पोलेको या आगो लागेको छ भने घटनास्थलबाट सुरक्षित ठाउँमा ल्याउने। बिरामीलाई सान्त्वना दिने, कसिएको या डढेको कपडा हटाउने, सुतीको कपडा लगाउने या ओढाउने। हात सुनिन सक्छ। त्यही भएर शरीरको सम्पूर्ण गहना, माला, औँठी, चुरा या धागा खोल्न लगाउने। पाकेको भागलाई नखुम्च्याई तन्काएर राख्ने। थोरै थोरै पानी तथा झोलिलो खाने कुरा खादै गर्ने, पिसाब कस्तो रङ्ग को कति जति हुँदै छ ध्यान दिने। तौल बढेको घटेको ख्याल गर्ने र सम्पूर्ण जानकारी नर्स या डाक्टरलाई जानकारी दिनु पर्छ।
सर्पको टोकाइ
विश्वमा पाइने तीन हजार सर्पमध्ये २०% मात्रमा विष हुन्छ जसमा ७% सर्पले मात्र मान्छे मार्न सक्छ। तर यदि विषालु सर्पले टोक्यो भने फेरि आपत् आउन सक्छ। सर्पले टोक्दै रुने, आत्तिने, कुद्ने गर्नाले मुटुको गति र रक्तसञ्चार दुवै बढ्छ र विष शरीरमा छिट्टै फैलिन्छ। नआत्तिईकन शान्तिले गुहार माग्न सकिन्छ, पल्टेर नचलीकन बस्ने तर ननिदाउने। सर्पले टोकेको भाग साबुन पानी या सफा पानीले धुने र सिरानी वा कुनै अग्लो बस्तुमाथि राख्ने। सर्प टोकेको भाग न त बाँध्ने, न काट्ने, न चुस्ने न त बजारमा पाउने विष निकाल्ने यन्त्रको प्रयोग गर्ने। यी सबैले विष छिटो छिटो फैलिने जोखिम बढ्छ। बिरामीलाई सके छिटो नजिकको अस्पताल लग्ने, लाग्दा सकेसम्म स्ट्रेचरमा राखेर लग्ने।
हरेक परिस्थिति सधैँ एकनासे हुँदैन। हामीले हिम्मत तथा बहादुरीताका साथ काम गर्नु पर्छ। हुन सक्छ हाम्रो सानो प्रयासले हामीलाई नायक नबनाउला, सबैको जीवन नबचाउला तर यदि सही समयमा काम लागेछ भने कसैको जीवन, परिवार बच्न सक्छ, अङ्गभङ्ग हुनबाट बच्न सक्छ।