सुत्ने बेला फेसबुक स्क्रोल गर्दै थिएँ, एउटा पोस्टले एक छिन अल्झायो।
मे २८ लाई महिनावारी स्वच्छता दिवसको रूपमा मनाइने र मे महिनाभरि नै महिनावारी स्वास्थ्य र सचेतनाको वकालत गरिने भएकाले त्यसको उपलक्ष्यमा एउटा महिनावारी स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाले दिगो महिनावारी भन्ने विषयमा कथा वाचन प्रतियोगिताको आयोजना गरेको रहेछ।
ओछ्यानमा पल्टिसकेकी मैले आँखा बन्द गरेर एक चोटि आफूलाई महिनावारी भन्ने शब्द सुन्दा नै लाज लाग्ने किशोरीको रूपमा सम्झिएँ। फेरि महिनावारी सङ्घर्षलाई चिर्दै महिनावारी स्वास्थ्य र सचेतनाको लागि वकालत गर्न पछि नसर्ने परिपक्व नारीको रूपमा सम्झिएँ।
यो दुई परिभाषामा बिचको सङ्घर्ष झलझलती आँखामा डुल्न लाग्यो। कथा वाचन प्रतियोगितामा भाग लिन हैन तर त्यो रोचक यात्राको अनुभव सुनाउन भए पनि मेरो महिनावारी सङ्घर्षको कथा लेख्नै पर्छ जस्तो लग्यो।
स्कुले जीवनमा म महिनावारीको कुरा गर्न सारै लजाउने। म मात्र होइन धेरैलाई नै त्यस्तै भयो होला। त्यसैले त सुरुका वर्षहरूमा मेरो महिनावारी यात्रा निकै सङ्घर्षपूर्ण रह्यो। महिनावारीका यस्ता किस्साहरू भए जुन मैले वर्षौँसम्म लुकाएरै राखेँ।
रजस्वला या भनौँ महिनावारी सामान्य प्राकृतिक प्रक्रिया हो। तर हाम्रो धार्मिक-सामाजिक परिबन्दले यसलाई सामान्य हुनै दिएन। त्यसैले त आज पनि धेरै किशोरीको महिनावारी सङ्घर्ष उस्तै या भनौँ अझै विकराल छ जुन मैले १३ वर्षअघि भोगेँ।
मेरो पहिलो महिनावारी त्यति नै सामान्य रूपमा सुरु भयो जुन हरेक किशोरीमा हुन्छ। तर अनुभव भने नितान्त फरक। मैले छिटो पढेको हो या महिनावारीले मलाई केही बोनस दिएको, कक्षा नौको अन्तिमतिर मात्र मेरो महिनावारी चक्र सुरु भयो।
कक्षा नौमा पुगिसकेको, त्यसमाथि समकक्षी सबैका अनुभव थाहा भइसकेकाले होला मलाई आफैले नभोगे पनि महिनावारीको बारे धेरै कुरा थाहा थियो। तैपनि त्यसका बारे कुरा गर्न भने कहिल्यै सहज लागेन।
माघको महिना, मेरो भित्री वस्त्रमा रातो निशान देखिँदा चिसो सिधा मुटुमा पुग्यो। अनायासै लाज अनि डरको तरङ्ग जिउभरि चल्न थाले। खुट्टा कामे अनि बरर आँसु खसे जुन मैले कसैलाई देखाइनँ। कसैलाई भन्ने आँट नै आएन। तर नभनी पनि त भएन।
कसैलाई नभनी बुइँगलमा थुपारेको थोत्रो लुगाको चाङबाट आमाको थोत्रो धोती च्यातेर लगाएँ। मलाई सफा कपडा लगाउनु पर्छ भन्ने थाहा नभएको होइन, तर त्यसको लागि एउटै उपाय थियो, घरमा भन्ने।
साँझपख घर बाहिर अगेनामा दूध उमाल्दै गर्दा मैले अलिकति डर, अलिकति लाज अनि अलिकति हीनताबोध मिसिएको मधुरो शब्दमा दिदीलाई सुनाएँ, 'म त मिन्स भए नि!'
यति भनिसक्दा उम्लिरहेको दूधको भन्दा मेरो शरीरको तापक्रम धेरै थियो होला।
दिदीले उत्साहित हुँदै सोधिन्, 'हो? अनि के लाइस् त?'
दिदीको प्रश्नले अलि सहज बनायो।
'आमाको थोत्रो धोती च्यातेर लाएको,' मैले डराउँदै उत्तर दिएँ।
'त्यस्तो फोहोर पनि लाउँछन् त?' दिदीले हप्काउँदै अबदेखि सफा कपडा प्रयोग गर्न अनि राम्रोसँग धोएर घाममा सुकाउन सुझाव दिइन्।
अब घरमा भन्ने बाँकीको काम पनि दिदीकै भयो।
दिदी पढ्न सहर बस्थिन्। मेरो भाग्य उनी जाडो बिदामा घर आएको बेला पर्यो।
म महिनावारी भएको पहिलो खबर दिदीले ममीलाई सुनाइन्। अगेनामा दूध उम्लिँदै थियो अनि डाडु अझै मेरै हातमा थियो। थाहा पाउने बित्तिकै ममीले मेरो हातको डाडु लिनुभयो र मलाई अगेनाबाट पर सार्नुभयो।
हो, त्यही बेला हो म पहिलो पटक पर सरेको।
भोलिपल्ट बिहान ममी पल्ला घरे ठुलीआमालाई सुनाउँदै हुनुहुन्थ्यो, 'छोरी त पर सरी नि।'
मलाई चिच्याउँदै भन्न मन थियो, 'म पर सरेको हो र! तपाईंहरूले सारेको।'
भोलिपल्टदेखि मेरो दिनचर्या बदलियो। मैले खाने भाँडा अनि सुत्ने ओछ्यान फेरियो। मेरा अरू साथीले जस्तो मैले लुकेर बस्नु परेन तर सामान्य कामबाट वञ्चित हुँदा अनि भान्छाबाट टाढा बस्दा मलाई निकै नरमाइलो लाग्यो।
पहिलो महिनावारी भएपछि दोस्रो महिनामा मेरो महिनावारी भएन जुन सबैका अनुसार सामान्य थियो। तेस्रो महिनाबाट भने मेरो हरेक महिना नियमित महिनावारी हुने प्रक्रिया सुरु भयो। मेरो महिनावारी त भयो तर मलाई पर सर्न भने फिटिक्कै मन लागेन। तर त्यसो नगर्न मलाई दिइँदैन भन्ने थाहा थियो।
त्यसैले मैले आफू महिनावारी भएको कुरा कसैलाई भनिनँ। दिदीसँगै भएको भए भन्थेँ होला या भनौँ नभनी साध्य हुँदैन थियो। यतिसम्म कि मैले आफ्नो बेस्ट फ्रेन्डलाईसम्म यो कुरा भनिनँ। अब मलाई महिनावारी भएको सुनाएर सबैसँग अलग्गिनु भन्दा नभन्न नै बानी पर्यो।
मैले लगातार दश महिनासम्म आफू महिनावारी भएको कुरा घरमा सुनाइनँ। तर त्यसको पनि सङ्घर्ष छुट्टै थियो। त्यति बेला गाउँघरमा प्याड प्रयोग गर्ने चलन त्यति थिएन। थियो नै भने पनि लुकाएको महिनावारीलाई प्याड किन्ने पैसा कहाँ पाउनु? पाए नै भने पनि कहाँबाट कसरी किन्नु? यसको एउटै जोगाड थियो- बुइँगलको थोत्रो लुगाको पोको।
अहिले सुनाउन रमाइलो कथा बन्यो तर त्यो बेला लुकाउन कम्ता गाह्रो भएन। आफू महिनावारी भएको आफैले बिर्सेर त्यो चञ्चलता अनि सामान्य दौडधुप कायम राख्नु सानो काम थिएन। महिनावारी स्वास्थ्यलाई साइड लाएर मेरो एउटै प्रयास हुन्थ्यो, पीडाको फोहोरासँगै बग्ने रगत लुकाउनु।
त्यसका लागि मैले के-के गरेँ भनेर साध्य छैन। थोत्रा कपडा त भइहाल्यो, इमर्जेन्सीमा पत्रिका र कागज समेत मेरा सहयात्री बनेका छन्। त्यति संवेदनशील ठाउँमा कटकटिएको कागजको पोकोले मलाई कति असहज बनायो त्यसको हेक्का मैले कसैलाई हुन दिइनँ।
मैले महिनावारी लुकाएको छैटौँ महिना जस्तो होला, म सामान्य दिनजस्तै विद्यालय गएँ। तर घर फर्किँदा जे देखेँ त्यो सामान्य थिएन। परैबाट मैले महिनावारी हुँदा प्रयोग गरेर थुपारेको कपडाको पोको पिँडीभरि छरपस्ट थिए। मेरो मुटुले ठाउँ छोड्यो। हत्तपत्त घर पछाडि गएर लुकेँ। कति बेर लुक्नु? मनमा प्रश्न अनि डरको पहाड थियो। आमालाई थोत्रा लुगाको पोको किन खोल्नु पर्या होला?
तर मेरो उटपट्याङ दिमागमा जोगाड फुरिहाल्यो। मनभित्र डर भए पनि म केही नभए जस्तो गरेर आँगनमा झुल्केँ। ममी र आमा भोको सिंहले आहार कुरेजस्तो मेरो प्रतीक्षामा हुनु हुन्थ्यो। म पुग्नासाथ दुवैका आँखा अनि प्रश्नले मलाई आक्रमण गरिहाल्यो, 'के हो यो?'
मैले केही होइन जसरी जवाफ दिएँ, 'पहिलो चोटि हुँदा लाएको।'
छलफल लामै चल्यो। मैले पहिलो चोटिकै हो भन्ने कुरामा विश्वास दिलाउन सफल भएँ। त्यो दशा बल्लतल्ल टर्यो।
महिनावारी बार्न मनले मान्दैन थियो तर सधैँ लुकाउनु पनि त समस्याको समाधान थिएन। त्यसको केही महिनापछि मैले बिस्तारै घरमा त भन्न थालेँ तर पनि साथीहरू र छिमेकीले थाहा नपाए हुने जस्तो लाग्थ्यो। कहिलेकाहीँ साथीहरूले 'तिमी मिन्स भएको हो?' भनेर सोध्दा गाला रातो पार्दै होइन भनेर टारिदिन्थेँ।
अहिले सम्झिँदा पनि हाँसो लाग्ने एउटा घटना कहिल्यै बिर्सिन्नँ।
एक पटक साथीको घरमा जाँदा महिनावारी भयो जसको लागि म तयार नै थिइनँ। मलाई त्यसै त साथीलाई भन्न गाह्रो त्यसमाथि साथीको घरमा पनि आफू पर सर्नुपर्छ भन्ने कुराले भनिहाल्न मन लागेन।
मैले जसोतसो लुकाउन प्रयास गरेँ। तर बिहानीपख ब्युँझिँदा मैले लुकाएको रगत लुगा अनि तन्ना छिचोल्दै डसनासम्म पुगेछ।
अब पर्यो फसाद, तर त्यसै हार मान्ने मान्छे पनि त होइन म। बत्ती बालेर दायाँबायाँ आँखा डुलाएँ। राति पढेर भुइँभरि असरल्ल छोडेको किताब अनि नजिकैको इंकपेनमा गएर आँखा रोकियो। मेरो जोगाड फेरि फुरिहाल्यो। मैले रातो टाटोभरि इंकपेनको मसी पोखिदिएँ अनि त्यो पेनलाई खाटमै राखेर फेरि सुतेँ।
पढ्दा पढ्दै निदाउँदा धेरै पटक मेरो ओछ्यानमा मसी पोखिन्थ्यो। मानौँ त्यो दिन पनि त्यस्तै भयो।
भोलिपल्ट मैले केही भन्ने कष्ट गर्नु परेन। उसले बुझिहाली, राति पेन खाटमै छुटेछ अनि पुरै मसी पोखिएछ। यसरी मैले महिनावारीको रगतलाई के-केले छोपेँ अनि के-केले पुरेँ याद नै छैन।
मलाई मेरो महिनावारी यात्रा सारै रमाइलो लाग्छ किनभने चुप बसेर नै भए पनि मैले कुरीति र कुसंस्कृतिलाई सोझै स्वीकार त गरिनँ। तर त्यसले मेरो महिनावारी स्वास्थ्यमा भने नराम्रो असर गर्यो। त्यसैले त म चाहन्छु कोही पनि किशोरीको अवस्था त्यस्तो नहोस्।
सामाजिक परिबन्ध र रोकटोक त छँदै छन् त्यसलाई आफ्नो आफ्नो विश्वाससँग लड्दै जाने हो। त्यो बाहेक महिनावारी लाज, घृणा र हीनताबोधको विषय कहिल्यै नबनोस्।
शिक्षण पेसामा आबद्ध भएर मैले चार वटा विद्यालयमा पढाउने अवसर पाएँ- दुई सामुदायिक अनि दुई निजी। दुई गाउँका अनि दुई सहरका। विद्यालय गाउँका होस् या सहरका, सामुदायिक होस् या निजी, समस्या उस्तै थिए।
स्कुलले सित्तैमा दिने प्याड माग्न लाज मानेर टाउको दुखेको बहानामा घर जाने विद्यार्थी धेरै देखेँ। त्यसैले त मेरो विषय गणित भए पनि हरेक विद्यालयका हरेक कक्षाका हरेक विद्यार्थीसँग मैले महिनावारीको गफ गर्न भ्याएको हुन्थेँ। त्यति गर्दैमा ठुलै परिवर्तन त नआउला तर पनि महिनावारी सामान्य प्राकृतिक प्रक्रिया हो भन्ने सबैले बुझ्लान्। नबुझे पनि मैले मेरो कर्तव्य पूरा गरेँ भन्ने मात्र हो।
१४ वर्षबाट सुरु भएको मेरो महिनावारी यात्राको सङ्घर्षको कथाले मलाई जीवन सिकाएको छ। हरेको पाइलासँगै आउने अवरोध अनि बन्देजका बाबजुद खुट्टा दह्रो बनाएर हिँड्न सिकाएको छ।
अहिले मेरो महिनावारी हुँदा मेरो भाइले स्यानिटरी प्याड ल्याइदिन्छ, आफ्नो लागि पानीसम्म तताउन अल्छी गर्ने मेरो बाबाले तातो चिया बनाएर ल्याइदिनु हुन्छ। म परिवारसँगै बसेर खाना खान्छु, सक्दा पकाउँछु पनि। यो गर्न हुने र यो गर्न नहुने भन्दा पनि सके गर्ने नसके नगर्ने नियम बनेको छ।
पहिले पहिले पाप लाग्छ कि लाग्दैन भनेर परीक्षण गर्न कसैले नदेख्ने गरी भान्छाका सबै कुरा छुँदै हिँड्ने मलाई अब त्यसो गर्नु आवश्यक छैन। मैले खाने थाल ढोका पछाडि कुनामा घोप्टाउनु पर्दैन। म आफ्नो सहजता अनि आवश्यकताअनुसार स्यानिटरी प्याड, कपडा या महिनावारी कप रोजेर प्रयोग गर्छु।
मेरो व्यवसायमा काम गर्ने महिला दिदी बहिनीलाई महिनावारी हुँदा बिदा बस्ने छुट छ। यो मैले आफ्ना लागि रचेको संसार हो भनौँ या मेरो धर्म हो। मेरै घरमा मेरी आमाको र मेरो नियम फरक छ। महिनावारी चक्रलाई बिदा गर्न तयार मेरी आमालाई म यही नै गर्नु पर्छ भनेर कर लाउँदिनँ। लाए पनि आमाले मान्नु हुन्न।
त्यसो भन्दैमा जीवनको सुनौला पाठहरू बल्ल बुझ्न लागेकी मैले आमाको विश्वासलाई पाली राख्न पनि सक्दिनँ।
यो ठिक या बेठिक भन्नेसँग तर्क गर्न मसँग शब्द नै छैन। छन् नै भने पनि म आफ्नो ऊर्जा त्यसमा खर्च गर्न चाहन्नँ। महिनावारीका मात्र होइन जीवनका हरेक पाइलामा मलाई पुर्खादेखि चली आएको नियम मान्नै पर्छ जस्तो लाग्दैन। त्यति बेला त्यस्ता नियम आवश्यक थिए होला तर अहिले तिनको अर्थ नहोलान्।
समयसँगै ती परिमार्जित हुनु आवश्यक छैनन् र? छन् भने कसले गर्ने?
त्रिविको पाठ्यक्रम पुरानो भयो भनेर नारा जुलुस गर्ने अनि आफ्नो पुरानो सोच र व्यवहारलाई पूजा गरेर राख्नुको के अर्थ?
यदि कुनै नियमले कसैलाई हानी गर्दैन, कसैलाई सानो बनाउँदैन, कसैको स्वतन्त्रतामा दखल पुर्याउँदैन भने तिनलाई सहर्ष स्वीकार गर्न मलाई आपत्ति छैन। तर त्यसको ठिक विपरीत, सानो-ठुलो, तल-माथि, चोखो-बिटुलो आदि-इत्यादि विशेषण मेरो सिद्धान्तको पाठबाट त्यति बेला हटे जति बेला मैले म चेतना भएको सामाजिक प्राणी हो भन्ने सत्यलाई आत्मसात् गरेँ।
अब मेरो जीवनको एउटै सिद्धान्त कसैलाई हानी नगरी सामान्य र अर्थपूर्ण जीवन बाँच्नु हो। आफ्नो विश्वास र आस्थाअनुसार आफ्ना लागि अनि आफ्ना सन्तानका लागि महिनावारीमा या भनौँ अन्य कुरामा कस्तो नियम/अनुशासन पालना गर्ने तपाईंको अधिकार हो।
खुल्ला पखेटा फिँजाएर, संसार नै जित्छु भन्ने ऊर्जा र हौसलाको जहाजमा उड्न भर्खरै सिक्दै गरेकी तपाईंकी छोरीको पखेटा काट्ने काम घरबाटै सुरु भयो भनेर उसले कुनै दिन गुनासो गर्दा तपाईंलाई सन्तुष्टि मिल्ला? सुदूरपश्चिमका छाउपडी गोठमा निसास्सिएर प्राण त्यागेका अबोध किशोरीजस्तै तपाईंकी छोरीको आत्मविश्वासको प्राण नजाओस्।