सन् २०१६ मा धादिङको कटुन्जे भन्ने गाउँमा एउटा अनौठो सर्प जस्तै देखिने जीव सयौँको रूपमा पानीको स्रोत नजिक मृत अवस्थामा फेला परेको थियो। यसरी सयौँ रूपमा मरेको त्यस्तो जीव देख्दा सबै गाउँलेहरूको ध्यान आकर्षित गरिरहेको थियो।
एक जना त्यहीका स्थानीयले यो जीव बेच्दा धेरै पैसा आउने र यसलाई बेच्ने मनसायले आफ्नो घरमा त्यो जीवलाई सङ्कलन गरेर पनि लगे। तर यो जीवबारे पत्ता लाग्न सकेन। पत्रपत्रिकाले नै यो जीवबारे छाप्न थाले। तबसम्म पनि यो जीव के हो भन्ने विषय अनुत्तरित नै थियो। यो जीवको वास्तविकता बुझ्न यो कुरा हर्पेटोलोजिस्ट प्रोफेसर करनबहादुर शाहकोमा पनि पुग्यो।
त्यसपछि प्रोफेसर शाहको टोली काठमाडौँबाट त्यस ठाउँमा पुगे र त्यस ठाउँको अनुगमन गर्न थाले। उनीहरूले स्थानीयहरूसँग पनि अन्तरक्रिया गरे। उहाँहरूको टोलीलाई हेर्न पूरै गाउँ जम्मा भएको थियो। त्यसपछि प्रोफेसर शाहले त्यो सर्प जस्तो देखिने जीव सर्प नभई गनौले सर्प यानिकि एक प्रजातिको उभयचर हो भनेर भन्नुभयो। त्यो जीव त्यहाँ आई पुग्नुको कारण चाहिँ भूकम्प गएर पानीको विभिन्न मुहान सुक्नु र उनीहरू घामको प्रकाश सम्पर्कमा आएर गर्मीको कारण सुखपनले गर्दा भएको हो भन्ने निष्कर्ष निस्कियो। त्यसपछि बल्ल त्यस विषयको टुङ्गो लाग्यो। यसरी प्रोफेसरले मानिसहरूले गरेको प्रश्नको खोजी यो जीव गनौले सर्प हो भनेर मानिसको कौतुहलता मेटाएका थिए।
गनौले सर्प नेपालमा पाइने एक प्रजातिको उभयचर हो। मानिसहरूले यसलाई अन्धा सर्प भनेर पनि चिन्ने गर्छन्। यसलाई झट्ट हेर्दा गँड्यौला र सर्प जस्तो देखिन्छ। तर गँड्यौला र सर्पभन्दा यो जीव फरक छ। यस जीवको नाक र आँखाको बिचमा जुँगा (टेन्टाकल्स) हुन्छ जुन सर्प र गँड्यौलामा हुँदैन। यसलाई अङ्ग्रेजी भाषामा सिसिलियन भनिन्छ।
सिसिलियन शब्द ल्याटिन शब्दबाट आएको जसमा 'सियस' भनेको 'अन्धो' हो। यसको वैज्ञानिक नाम इथियोपिस सिक्किमेन्सिस हो। यस प्रजातिलाई आइयुसिएनको लिस्ट कन्सन प्रजातिको रूपमा सूचीकृत गरेको छ। यस जीवको औसत लम्बाइ २८ सेन्टिमिटर हुन्छ। यसको शरीर बेलन आकार हुन्छ र रङ्ग निलो खैरो खालको हुन्छ। यसको शरीर अलिकति नरम ओसिलो र खण्ड खण्ड परेको हुन्छ। यस जीव माटोभित्र सुरुङ खनेर बस्छन् र उनीहरूको शरीर त्यसरी नै सुरुङभित्र हिँड्नको लागि आवतजावत गर्न विकसित भएको हुन्छ।
यस जीव रातको समयमा सक्रिय हुने गर्छ तर बाँकी समय भने यसले जमिनमुनि नै बिताउने गर्छ त्यस कारण नै यस जीवलाई देख्न निकै कठिन छ।
यो नेपालको निकै नै कम अध्ययन र मानिसबिच परिचित उभयचर हो। यो जीवलाई पहिलोपल्ट दबुगाउँ, इलाम जिल्लामा १५५० मिटरको उचाइमा नेपालमा पहिलो रेकर्ड गरिएको थियो। यस जीवको एक जोडी जुँगा टेन्टाकल्स हुन्छ जुन निकै नै संवेदनशील हुन्छ। यही टेन्टाकल्स प्रयोग गरेर यस उभयचरले आफ्नो पर्यावरण वासस्थान, खाना र आफ्नो दुस्मनको अनुभूति गर्छ। यस जीवको दाँत एकदमै राम्रोसँग विकसित भएको हुन्छ। यही दाँतले नै उनीहरू सानो छँदा उसको आमाले आफ्नो छालाबाट बोसोको तन्तु पैदा गर्छिन् जसलाई प्रयोग गरेर उनीहरूले च्यातेर खाने गर्छन् र आफ्नो भोक मेटाउने गर्छन्। यस जीवले अण्डा पार्छ र यस जीवको पोथीले आफ्नो अण्डा बचाउन त्यही अण्डा वरिपरि कुण्डली पार्ने गर्छिन्।
यो जीव भने विषालु भन्ने हुँदैन। या भनौँ नेपालमा रेकर्ड भएका कुनै पनि उभयचरहरू विषालु छैनन्। कहिले कहिले मानिस यो सर्प जस्तो देखिने भएको कारण झुकिन्छन् र देख्नासाथ मारिहाल्छन्।
हर्पेटोलोजिस्ट विवेक गौतमको अनुसार यो जीव निशाचर जीव भएका कारण देख्न निकै मुस्किल छ र यस्ता साना जीवमा राज्यको आँखा पनि पुग्न सकेको छैन। त्यस कारण यस जीवमा जति पनि अध्ययन भएको छ र यो जीवलाई जति ठाउँबाट रेकर्ड गरिएको छ यो सिर्फ संयोगले भएको छ। त्यस कारण यो जीवलाई अझै बुझ्न थप अनुसन्धानको पाटो फराकिलो पार्नुपर्दछ।
सन् २०२० मा प्रकाशित एक अनुसन्धान पत्रको अनुसार यो जीव नेपालको पूर्व इलामदेखि पश्चिम पाल्पासम्म छ वटा जिल्ला- इलाम, चितवन, धादिङ, नुवाकोट, रुपन्देही र पाल्पा रेकर्ड भएको उल्लेख गरेको छ। यो अध्ययन हर्पेटोलोजिस्टहरू कुलबहादुर थापा र प्रोफेसर करनबहादुर शाहले गर्नु भएको थियो।
त्यसै गरी हर्पेटोलोजिस्ट सन्तोष भट्टराईको अनुसार यी साना जीवहरूले संरक्षणको हिसाबले बाघ, भालु, गैँडा जस्ता जीवहरू जसरी संरक्षणको प्राथमिकता पाउँदैनन्। यसले गर्दा यी जीवहरूमा अनुसन्धान निकै कम हुन्छ। यसो हुनाले यी जीवहरू लोप हुने खतरामा पनि पर्न सक्छन्। त्यस कारण जलवायु परिवर्तन, जल प्रदूषणले पनि यस जीवलाई असर पारेको छ।
पानीको साना मुहान, साना खोला खोल्साहरू सुक्दै जानु, समयमा पानी नपर्नु, लामो समय खडेरी हुनुको असर यो जीवले खेपिरहेको छ तर कतिको असर यस जीवले यी चिजहरूबाट खेपेको छ भन्ने कुरा चाहिँ अनुसन्धान भन्ने भएको छैन। त्यस कारणले यस्ता जीवहरूलाई सरकारले चासो राखेर अध्ययन अनुसन्धान अगाडि बढाउनु पर्दछ। यसो गर्यौँ भने बल्ल गनौले सर्पको नेपालभरि अध्ययन खोजी गर्न सक्छौँ। तपाईं पनि आजैबाट वैज्ञानिक नागरिक भएर गनौले सर्पको खोजी गर्ने कि?
(मृत अवस्थामा धादिङको कटुन्जेमा फेला परेको गनौले। तस्बिर: कुलबहादुर थापा)
(तस्बिर: देवेन खरेल)
(तस्बिर: देवेन खरेल)
(लेखक जीवविज्ञानका विद्यार्थी हुन् र विगत ४ वर्षदेखि नेपालका उभयचर र सरीसृपबारे अध्ययन गर्दै आएका छन्।)