हामीले आफ्ना अतीतहरू जति खोतल्ने प्रयास गर्छौँ उति नै ती घटना र स्मरणहरू खोतलिँदै जान्छन्। काठमाडौँ सहर देशभरका मानिसको सपनाको केन्द्रबिन्दु हो। यहाँ धेरै मानिसको सपना र भरोसा अडिएको छ। हरेक मान्छेका आआफ्नो सपनाहरू हुन्छन्। कहाँ जाने, के गर्ने भनेर बनाइएका लक्ष्य उद्देश्य नै सपना हो। र, यो सहरमा बाँच्न मैले अनेक उपाय निकालेको छु।
मैले भोगेका कतिपय घटना र कार्यहरूलाई समेट्न र सम्झन गाह्रै पर्दछ तर म आफूले भोगेका ती घटना पोख्न चाहन्नँ। किनकि ती घटनाले मलाई बरबाद बनाइदिन्छ। समय एक किसिमको छैन। कहिले बिचमै रात भइदिन्छ। कहिले घाम त कहिले हिँडिरहेको बाटो नै हराइदिन्छ। कहिले प्रतिकूल तथा अनुकूल हरेक परिस्थितिको सामना गर्दै अघि बढ्ने कोसिस चलिरहन्छ।
घटनाको सानो सुरुवाती मात्रै यहाँ पस्किन्छु। मेरी प्रेमकी खानी ममतामयी आमा बितेको पनि वर्षौँ भइसकेछ। घरमा आमाको वार्षिक पुण्य तिथि थियो। म आमाको वार्षिक पुण्य तिथि कहिले सकिएला र काठमाडौँ सहर पसौँला भन्ने मेरो मनमा थियो। आमाको वार्षिक कार्य सक्काएँ।
पुण्य तिथिको काम सकियो। भोलिपल्ट घरमा बुबालाई मैले कुरा राख्न निधो गरेँ। बा म राजधानी जान्छु भनेर बुवालाई सोधिहालेँ। बुबाले हुन्छ नभन्दासम्म भनिरहेँ। बुवाको निर्णयको पर्खाइमा बसिरहेको मैले त्यसपछि मेरो बुवाको भन्दा नि बढी ध्यान दिने मामालाई पनि सोधिरहेँ। आमाबिनाको यो मेरो पहिलो दिन नै थियो यसरी सोधेको।
एक वर्ष म कतिपल्ट आमाकै सम्झनाले भक्कानिएँ। सानै थिएँ, कुरा आधा बुझ्थेँ। आधा बुझ्दैन थिएँ। आमाको त्यो इच्छा मैले कहिल्यै पूरा गर्न सकिनँ। आमा मेरो सपना नदेखेरै मरिन्। नागरिकताका लागि खिचेको रङ्ग खुइलिइसकेको आमाको फोटोले मलाई पटक-पटक हेर्यो र सम्झायो। त्यसपछि म झन् भक्कानिएँ। हरेक कुराहरूमा मलाई लाग्छ, आमा भइदिएको भए।
बाँचुन्जेल आमालाई मेरै चिन्ता थियो। मलाई अँगालो हाल्थिन्। आँखा टिलपिल परेर भन्थिन्, 'म मरेँ भने मेरो छोरो सुकुम्वासी हुन्छ। तैँले दुःख पाउँछस् बाबु।'
जुन दिन आमाले संसार छाडिन् त्यसपछि मलाई पनि मेरो चिन्ता लाग्न छाड्यो। सानैदेखि बाबा मम्मीको काखमा आफू नहुँदा गाउँ छोड्नुको पीडा केही थिएन मलाई। म सानैदेखि जिद्दी थिएँ। मलाई जुन चिज पनि चाहियो भनेपछि त्यो हुनै पर्थ्यो। सम्झाउन त सम्झाउनु भयो, अपरिचित सहरमा आफैँले एक्लै बाँच्न गाह्रो हुन्छ तँलाई भनेर। तर ममा आफैँ कमाउँछु, आफैँ पढ्छु भन्ने जुन अठोट थियो, त्यहीँ अठोटले नै जित्यो। आफ्नो जन्मभूमि भनेर के गर्नु, मलाई घरमा बस्नै मन थिएन।
असोजको २० गते बुधबारको दिन थियो। मेरो घर भने निकै दुर्गम ठाउँमा छ। कतै जानुपर्यो भने पनि गाडीसम्म पुग्न कम्तीमा दुई घण्टा लाग्छ। त्यो पनि गाउँको कच्ची सडक छ। केही दिनपछि मामाघर गएँ, गोरङ। मामाघरबाट आइसकेपछि सहर हिँड्नलाई तयार भएँ। सबैसँग सल्लाह गरेँ। बुवा, मामा, हजुरबुबा, हजुरआमा सल्लाह गरेपछि मलाई सहर नजा कसैले भनेनन्। सबैबाट राम्रै प्रतिक्रिया आयो।
म काठमाडौँ जान तयार भएँ। घरबाट निस्कने बेला हुनै लागेको थियो। बुवा, भाइ, बहिनी, हजुरआमाको मुहार हेर्दा मलिन देखिन्थे। बिहानको ८ बजिसकेको थियो। मैले सिल्लेगाडासम्म हिँडेर जानुपर्थ्यो। म घरबाट हिँडेँ।
बाटो कच्ची थियो। सिल्लेगाडा पुग्न नै मलाई ३ घण्टा लाग्यो। सिल्लेगाडाबाट काठमाडौँको गाडी दिउँसो १ बजे छुट्छ भन्ने भएपछि म त्यहीँ बसिरहेँ। तर मलाई बस्न मनै थिएन। घरी यता कोल्टो फेर्छु त घरी उता। त्यसै गर्दागर्दै मध्यान्नको १२ बजिसकेको थियो। मनमा अनेकौँ कुराहरू खेल्न थाले।
जब १ बज्यो तब काठमाडौँको गाडी दार्चुला पुग्यो। सिल्लेगाडामा बस काउन्टरमा टिकट काट्ने चिनेकै दाइ दशरथ चन्दले टिकट काटिदिनु भयो। उनले गाडीको १ नम्बरको सिट मेरा लागि काटिदिएछन्। काठमाडौँका लागि गाडी चढिएन मात्रै, हिँडियो पनि। चौबिस घण्टाको यात्रा पूरा गरेपछि मात्रै राजधानी सहर पुगिन्छ। मेरो २३ घण्टा बाटोमै बित्यो। यात्रा रमाइलो नै थियो।
एकातिर काठमाडौँ सहर हेर्नलाई मन आत्तिइरहेको थियो। अर्कोतिर अनजान सहरमा मलाई अप्ठ्यारो त पर्ने होइन भन्ने डर पनि थियो। २४ घण्टाको यात्रा, मन स्थिर नभए पनि रमाइलै लाग्यो। यताउता हेर्दैमा ठिक्क भयो।
२१ गते साँझको ७ बज्न लागेको थियो। थानकोटको जाममा परियो। कति टाढा रहेछ मेरो सपनाको सहर भन्ने पनि लागिरह्यो। ८ बजेपछि बसपार्क झरियो। एक जना गाउँकै भाइ थियो। मलाई लिन आयो। बसपार्कबाट ५ मिनेट हिँड्नुपर्ने रहेछ त्यो भाइको कोठामा पुग्न। भाइको कोठा माछापोखरीमा थियो। त्यो दिन भाइकै कोठामा बसियो।
खासमा म आफ्नो सपना पूरा गर्न घरबाट सहर हिँडेकी थिएँ। भोलिपल्ट बिहानै उठेँ। बिहान झुल्किँदै गरेको मधुर किरणसँगै म र त्यो भाइ नयाँ बानेश्वर पुग्यौँ। आहा! कति राम्रो सडक। चिल्लो, सफा। सबैतिर हरियाली। सडक छेउमा ढकमक्क फुलेको फूल। मेरो सपनाको राजधानी काठमाडौँ।
काठमाडौँको रमणीय दृश्य हेरेँ। जताततै गाडी, मान्छेको भिड र ठूला-ठूला महलमै सीमित भयो मेरो सपनाको सहर।
बिहानको खाना खाएपछि यात्रा मोडियो किनभने म सपना पूरा गर्न सँगै काम पनि गर्नुपर्छ भन्ने जुन मेरो अठोट थियो, त्यहीँअनुसार म अगाडि बढ्दै गएँ। म रेडियोमा काम गर्थेँ। रेडियोको अनुभव मलाई २ वर्षको थियो। काम पाउनेमा म ढुक्क थिएँ। दिउँसो १ बजेतिर बानेश्वर पुगेका थियौँ हामी। मलाई कामको लागि २ दिन घुम्नुपर्यो। तेस्रो दिनबाट काम पाएँ र सुरु गरेँ मैले। रेडियोमै काम गर्न सुरु गरेँ।
काठमाडौँ गएपछि अनेक गर्न सकिन्छ भन्ने सपनाले त्यहाँ ठाउँ पाएन। मलाई रेडियोमा रिपोर्टदेखि समाचार पढ्ने, बनाउने जिम्मा दिइयो। रिपोर्ट पनि थरी थरी बनाउनु पर्ने, समाचार पढ्न पनि शुद्ध नेपाली हुनै पर्ने। मलाई त्यहीँ कामले कतै घुम्ने, कतै डुल्ने फुर्सद नै दिएन।
बिहान १० देखि बेलुकी ५ बजेसम्म काममै व्यस्त हुन्थेँ। कोठामा जाने, खाना बनाउने, पढ्ने र खाने गर्दागर्दै रातिको ११ बजेको पत्तै हुँदैन थियो।
काठमाडौँ छिरेको लगभग दुई महिना बित्यो। सहरभरि घर थिए। मेरो केही थिएन। सहरभरि हुलका हुल मान्छे थिए, मेरो कोही थिएनन्। सहरमा म कहिले झरीले निथ्रुक्क भिजेँ, कहिले पसिनाले। मलाई लाग्थ्यो, यति ठूलो सहर छ कतै न कतै त कसो नअटाइएला! हिम्मतिलो हुँदा हुँदै पनि कतिपल्ट म डराएँ। बेलाबेला छाती गह्रौँ भयो। मन गाँठो परेर किलकिले अँठ्यायो। रोएँ तर जीवनमा मैले कसैलाई आँसु देखाइनँ। मलाई लाग्थ्यो र अहिले पनि लाग्छ- आँसु कमजोरी हो, रुनु हुन्न, आँसुले आफैँलाई बगाउन सक्छ।
जताततै महँगी नै महँगी। तर मेरो जिम्मेवारी र मेरो सपना मुस्किलै थियो। उम्किनै पाएनन्। मलाई कहाँ जाने के पढ्ने रुचि छ भन्ने समेत यकिन नै भएन। म नयाँ बानेश्वरमा बस्थेँ। त्यहीँ नजिकै मेरो काम गर्ने अफिस थियो। मैले गाउँबाट सबै सर्टिफिकेट बोकेर आएको थिएँ। म केही न केही गर्छु भन्ने अठोटले आएको म हाल मिडियामा आबद्ध छु। अहिले राम्रो छ भन्छन् भन्नेहरूले। तर मैले भने अझै पनि कुन राम्रो कुन नराम्रो भन्ने छुट्टाउन सकिरहेको छैन।
घरले मलाई दिइएको जिम्मेवारीसँगै मेरो सपना सबै त्यसमै थपियो। कसरी पढ्ने, कति बेला पढ्ने भन्ने चिन्ता हुन लाग्यो र हिम्मत भने पटक्कै हारिएन। बिहानको खाना म कहिले पनि खाँदिन थिएँ। बिहान साढे १० बजे कक्षाबाट फर्किन्थेँ अनि काममा जान्थेँ। पढाइलाई खासै समय दिन सकिनँ। म १,२ घण्टा मोबाइल नै चलाउँथेँ। रातिको १२ बजेपछि सुत्ने गर्थेँ।
सायदै मेरो उमेरका अन्य साथीले त्यत्ति सङ्घर्ष गरेर पढेको थिए। अन्य समयमा पनि म मिडियाकै काममा व्यस्त हुन्थेँ। एक छिन मैले ल पढ्नुपर्छ है भन्थेँ। पैसाले सम्पन्न नभएको मसँग मायामा भने निकै सम्पन्न थिएँ। मलाई सबैले रुचाउँथेँ। राम्रो छ भन्थे। म गाउँबाट सहर छिरेको भएर पनि सज्जन नै भन्थे।
यो अज्ञान सहरमा सुरुसुरुमा न मेरो भाषा मिल्थ्यो न रहनसहन। किनकि म डोटेली मान्छे भएर हुन सक्छ भन्ने लाग्थ्यो। यो सहरमा न कोही साथी थिए, न कोही चिनेका आफन्त। अफिसमा काम गर्ने क्रममा समाचार पढ्दा समेत मलाई भाषा मिलेन, शुद्ध नेपाली भएन भन्ने गर्थे। मलाई सुदूरपश्चिमको भाषा नै बढी आउँथ्यो। टोन उतैको आयो भन्ने गर्थे। म सबैको हेपाइमा पुग्न गएँ। मैले सोच्न थालेँ, मलाई केही आउँदैन रहेछ। बेकारमा सहर छिरियो। यस्ता यस्तै कुराहरू मेरो मनमा राज गर्न थाले।
बिस्तारै आफूलाई एक्लै बाँच्न र बस्न सक्ने बनाउँदै केही नयाँ पनि सिक्नुपर्छ है भन्नेमा आफूलाई लगेँ। ममा आफैँ बाँच्न सक्छु भन्ने आत्मविश्वास कहिल्यै हटेन। सबै कुरा मिल्दै गएपछि आफै घुमेँ आफ्नै तरिकाले, मेरो सपनाको सहर काठमाडौँ। बिस्तारै बिस्तारै सबै कुरा हुँदै गयो। सबैसँग चिनजान भयो। सबै थाहा कुरा थाहा भयो। अझै पनि कैयौँ होलान् मैले देखेको सपना जस्तै दिनरात काम गरेर पढ्नेहरू होलान्। मैले पनि अनुभव गर्न पाएँ।
हुन् त डिग्री, मास्टर्स गरेका मान्छेहरू आफ्नो प्रमाणपत्रहरू बाकसमा राखेर विदेश पलायन भएका पनि उत्तिकै देखेको छु। हाम्रो देशमा कुनै कुनै ठाउँमा नहोला तर प्रायः क्षेत्रहरूमा नातावाद चल्छ, राजनीति चल्छ, पुँजीवाद तथा कृपावाद चल्छ अनि टेबुल मुनिबाट कुरा चल्छ।
त्यो गाउँ जहाँ अझैसम्म पनि निमावि स्तरको अध्ययन सकेपश्चात् गाउँदेखि टाढा अन्य क्षेत्रमा गएर शिक्षा लिनुपर्ने बाध्यता छ। गाउँमा माथिल्ला स्तरका कक्षाहरू नै छैनन्। केही वर्ष अगाडिसम्म जम्मा १९५ प्रावि तहसम्म थिए। भर्खरै हाम्रो पालादेखि निमावि सुरुआत भई सञ्चालनमा आएका छन्। हो, म त्यहीँ गाउँको निमावि गरेर अध्ययन गर्न सहर छिरेको एउटा विद्यार्थी हुँ।
गाउँमा सहर जसरी व्यवस्थित तरिकाले पठनपाठन नै हुँदैन। गाउँमा हरेक कुराहरूको समस्या छ। यातायातको सुविधा छैन। शैक्षिक सामाग्रीहरू तथा उचित भवनहरूको कमी छ। गाउँमा सबैका बुवा आमा पढेलेखेका हुँदैनन्। सहरमा प्रायका बाबुआमा पढेलेखेका हुन्छन्। जहाँ स्कुलबाट घर फर्कँदा खाजा तयार गरिदिनेदेखि बिहान स्कुलसम्म पुर्याइदिने गाउँतिर कहाँ हुन् सक्छ र र?
गाउँमा सबैलाई थाहा छँदै छ। गाईबस्तुदेखि मेलापातसम्म घाँस काटेर बुवा आमालाई सघाउनुपर्छ। यस कारण सहरका मान्छेहरूसँग प्रतिस्पर्धाको मैदानमा उत्रिनलाई धेरै संघर्ष र मेहनत गर्नुपर्ने अवस्था आइदिन्छ। जब उत्तीर्ण गरेको प्रमाणपत्र प्राप्त राखिन्छ नि प्रायः विद्यार्थीहरू जागिरको खोजीमा लागिरहेका देखिन्छन्।
यहाँ कुनै क्षेत्रमा दक्ष बनेका व्यक्तिहरूलाई कतै अवसर नमिल्दा उनीहरू हार मान्ने गरेका छन्। बिदेसिन बाध्य छन्। देशमै अवसर नपाउँदा आफ्नो कुनै पनि सपना प्राप्तिको आशामा बसेका कतिपय साथीहरू त्यसकै पछि पछि दौडिरहेको र सपनाहरू विलीन भएको देखेको छु भने कतै सपनाहरू पूरा गर्ने आशै आसमा निरन्तर दौडधुप गरिरहेका पनि देखेको छु। जे जस्तो भए पनि आखिर सपना सपनामै सीमित हुने रहेछ। यो गर्छु, त्यो गर्छु भन्नु भ्रम मात्रै हो।