हामी हुर्के बढेको समाजमा घर गृहस्थी औपचारिक रूपमा सुरु गर्न विवाहलाई अनिवार्य मानिन्छ। हरेक समाजको आफ्नै संरचना, मानसिकता तथा रीतिरिवाज हुन्छ। नेपालमै पनि भौगोलिक हिसाबले तराई, पहाड र हिमालमा बसोबास गर्ने समाजको विवाह प्रसङ्गको मानसिकता केही हदसम्म मिले पनि कति कुरा नमिल्न सक्छ।
अब पश्चिमी समाज वा अन्य विदेशी मुलुकहरूको विवाहप्रतिको धारणा एसियाली वा दक्षिण एसियाली मुलुकभन्दा फरक छन्। विशेष गरी दक्षिण एसियाली मुलुकमा पनि समाज परिवर्तन हुने क्रममा विवाहप्रतिको धारणा केही परिवर्तन भए पनि हाम्रो समाजको मानसिकता अझै उस्तै केही हदसम्म विशिष्ट नै छ।
म मधेसमा हुर्के बढेको भएर मधेसको समाजसँग बढी भिजेको छु। तर यस्तो अर्थ यो पक्कै पनि हैन कि नेपालको अरू भेगतिर विवाहको प्रसङ्गलाई नियालेकी नै छैन। समाज, परिवार, नातेदार, साथीसंगी अनि सँगै थुप्रै परिचित अनुहारहरूको भोगाइ र विवाहप्रतिको धारणा समाजमै बस्दा, देख्दा र कुरा गर्दा बुझ्न अनि नियाल्न पाउनु अनौठो हैन। विशेष गरी आफैसँग हुर्केका दिदी बहिनी, दाजुभाइ, काका, मामा, आफ्नै नजिकको साथीसंगी अनि म स्वयम आफै पनि यही विवाहको सामाजिक मापदण्डको खोक्रो खेलबाट केही हदसम्म गुज्रिएकी छु।
विशेष गरी मागी विवाहको कुरा गर्दा पहिलो खुड्किलो केटा या केटीको खोज नै हो। केटा पक्ष या केटी पक्षले लमी वा आफ्नै चिने जानेको नाता-कुटुम्बमार्फत विवाहको निमित्त केटाकेटी खोज्ने प्रक्रिया सुरु हुन्छ। बर-बधूको चयन गर्ने क्रममा केटी पक्षबाट सोधिने पहिलो प्रश्न- 'केटो क गर्छ?' अनि केटो पक्षबाट सोधिने पहिलो प्रश्न- 'केटी कस्ती छे?'
हुन त विवाह केटाकेटीकै एकार्कासँग हुन लागे तापनि प्रश्नमा देखिने असमानताको खाडलले यो मन अनि मस्तिष्कलाई सधैँ नमिठो गरी चिमोटेको छ।
केटा के गर्छ भनेर सोधिनुको सिधा मतलब केटाको सामाजिक, बौद्धिक तथा आर्थिक पहुँच कहाँसम्म छ भनेर मापन गर्न खोजिएको देखिन्छ। जुन कुरामा म केही गलत देख्दिनँ एक हिसाबले। तर यसो भनिराख्दा यसका नि आफ्नै त्रुटिहरू नभएका पक्कै हैन। अर्को तिर केटी कस्ती छे भनेर सोधिनुको सिधा मतलब केटी काली, गोरी, होची, अग्ली, मोटी, दुब्ली, राम्री, नराम्री, खाइलाग्दी या खिनौटी कस्ती छ भनेर शारीरिक आवरण अनि रुपरंगको मापदण्डमा प्राथमिकता राखेर मापन गर्न खोजिएको देखिन्छ।
हो, यहीँबाट सुरु हुन्छ सामाजिक मानसिक कुरूपता अनि विवाहको सामाजिक मापदण्डको खोक्रो खेल। यो कुरा मलाई न म यो असमानता बुझ्न अनि भोग्न सक्ने बेला पाच्य थियो, न अहिले। फरक केवल यति छ कि त्यति बेला यी सबै एकतर्फी सङ्घर्ष तथा मस्तिष्कमा मात्र उथलपुथल भएर बसेको थियो, मेरो आवाज थिएन। तर आज म निर्धक्क आवाज उठाउन सक्छु।
हाम्रो समाजको पाखण्डी तथा कपटीपन कति धमिलो छ भने एकातर्फ हामी छोरीको हक अधिकारको भाषण गर्छौँ, छोरीको शिक्षाको लागि नारा जुलुस लगाउँछौँ र कानुन बनाउँछौँ। कानुको धारा तथा लेखा परिवर्तन गर्छौँ तर आफ्नो संकोचित मान्यता अनि मूल्य पटक्कै परिवर्तन गर्दैनौँ, आफ्नो मानसिकता परिवर्तन गर्दैनौँ।
केटी के गर्छिन् पनि त महत्त्वपूर्ण प्रश्न हो नि हैन र? यसलाई विशेष प्रश्न बन्ने अधिकार छैन र? प्रश्नमा पनि लैङ्गिक भेदभाव? हरे हाम्रो मानसिकताको हरिबिजोग। अब त हामीले यो कुरालाई साँच्चै चर्चा परिचर्चा गर्नु पर्छ। यो समाजको मानसिकताप्रति औँला उठाउनु पर्छ। केटी के गर्छिन्? जागिरे छिन् कि, पढेलेखेकी छिन् कि, घरमै बस्छिन् कि, शिक्षिका, चिकित्सक, वकिल, व्यवसायी, पत्रकार, राजनीतिज्ञ या अन्य कुनै पेसा या सीपमा संलग्न छिन् कि भनेर पहिलो प्रश्न कहिलेबाट उठाउने केटीहरूको लागि नि विवाहको प्रसङ्गमा?
छोरीको स्वाधीनताको कुरा आउँदा केटाको सामाजिक, बौद्धिक तथा आर्थिक पहुँच कहाँसम्म छ भनेर मापन गर्न खोजिएझैँ केटीकोको आवरण अनि रूपको मात्र हैन बौद्धिक तथा आर्थिक पहुँचको पनि मापन गर्ने परिपाटी र मानसिकता बसाल्ने अभ्यासमा समाज लम्किनु जरुरी छैन र?
यो परिपाटी गाउँघर तिर मात्र देखिएको हैन, पढेलेखेको बस्ती अनि सहर बजारतिर नि जकडिएर बसेको छ। शिक्षामा अबल, नारीवादीको नारा अनि हकाधिकारको कुरा गर्ने समाजमा नि यो समस्या पाइन्छ। पुरुष मित्रहरू मात्र हैन, महिलामा नि यही मानसिकता जकडिएको छन्।
अब कुरा गरौँ, केटा के गर्छ भनेर सोध्नु के गलत नै हो त? म भन्छु गलत नहोला तर यसले हाम्रो मानसिकतालाई व्याख्या अवश्य गर्छ। ज्वाइँ चौतर्फी रूपले सबल भए छोरीले सुख पाउने अधिकांश बाउआमाको धारणाको उपज विवाहको कुरा चल्दा केटालाई यो प्रश्न सोधिएको हो।
यो प्रश्नलाई प्राथमिक प्रश्न बन्न नदिन हरेक गाउँघर, कुना कन्दरा, पहाड, हिमाल अनि तराई सबै तिरको छोरीलाई सबल बनाउन नि जरुरी छ। उनीहरूलाई शैक्षिक तथा आर्थिक रूपमा सबल बनाउने वातावरण परिवारका साथै सरकारले बनाउन जरुरी छ ताकि विवाहको प्रसङ्ग उठ्दा केटीको बुवा आमाले निर्धक्क भएर केटो के गर्छ हैन कि केटो कस्तो छ भनेर पहिलो प्रश्न सोध्न सकून्। प्रसंगलाइ प्रस्ट्याउन खोज्दा केटोको बानी ब्यहोरा, असल, भलाद्मी गुण हेर्ने प्रयत्न गर्दै गर्दा उता केटा पक्षले नि सोही किसिमको प्रश्न गर्ने मानसिकता बनोस्।
केटा सरह केटी नि चौतर्फी रूपमा सबल हुँदा केटा के गर्छ भन्ने प्रश्नपछि केटाकेटीले एकअर्कालाई जान्दै गर्दा गफगाफको विषय बन्न सक्ला तर प्राथमिक प्रश्न नहोला कि? यसै गरी आफ्नी छोरी आफैमा सबल हुँदा केटीका तर्फबाट पनि ज्वाइँले मेरो छोरी पाल्नु पर्छ भन्ने मानसिकता बिस्तारै मेटिँदै जान्छ कि। अनि केटोको घर आर्थिक रूपले सबल, केटो आफैमा आर्थिक रूपले सबलभन्दा नि केटाकेटी दुवै आर्थिक, शैक्षिक रूपले सबल भए विवाहको प्रसङ्गमा उठाइने पहिलो प्रश्न बिस्तारै परिवर्तन हुँदै जाने थियो।
छोरीको आवरण, रुपरंगमा मात्र सीमित नरहेर एक सबल छोरीको विवाहको कुरा चल्दा पाउनु पर्ने प्रश्नले नै प्राथमिकता पाउँथ्यो अनि छोरी सबल हुँदै जाँदा समाज नि सबल हुँदै जान्थ्यो। यसरी परिवर्तन हुँदै जाँदा हामीपछिका छोरीहरूले सुन्दर हुनु पर्ने प्राथमिक विवाहको सामाजिक मापदण्डलाई अगण्य मानेर आफू सबल हुने र समाजको मानसिकता सबल बनाउने विचारधारा प्रस्तुत गर्दै लानु पर्छ।
भनिन्छ नि 'बिउटी लाइज इन द आइज अफ बिहोल्डर।' सुन्दरता सबैको आँखामा फरक हुन सक्छ। यस कारण शारीरिक आवरणलाई मान्यता दिने अनि अपशब्द तथा कुवचनहरूले कैयौँ छोरीको कलिलो मनमा समाजले ठूलो आघात पुराइराखेको छ। यसलाई परिवर्तन गर्न छोरीलाई सबल बनाउन अत्यन्त आवश्यक छ।