नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई शिक्षामा पहुँचलाई मौलिक हकको सुनिश्चितता गरेको छ। शिक्षा विकासको मूल पूर्वाधार हो भने पूर्वाधारको पनि पूर्वाधार हो। शिक्षालाई आर्थिक सामाजिक रूपान्तरणको माध्यमबाट न्यायपूर्ण समाजको विकास गराउने सशक्त उपगमको रूपमा पनि लिइन्छ। शिक्षाले नै राष्ट्रको बहुमुखी रूपान्तरणका लागि आवश्यक स्वावलम्बी, प्रतिस्पर्धी, प्रवर्तनात्मक र मूल्य उन्मुख नागरिकको विकासमा योगदान पुर्याउँछ। यी सबै कुराको सुरुआत भने विद्यालयबाट हुन्छ भन्न सकिन्छ।
विद्यालय नागरिकलाई शिक्षा प्रदान गर्ने थलो हुन्। नागरिकलाई शिक्षित मात्रै होइन, सभ्य, सुसंस्कृत र मूल्य बोधी बनाउने स्थान पनि विद्यालय नै हुन। एक प्रकारले भन्दा जैविक रूपमा जन्मिएको बच्चालाई सामाजिक र वैचारिक प्राणी बनाउने कार्य पनि विद्यालयले नै गर्छन्। त्यस कारण विद्यालय शिक्षा सबल, सफल र प्रभावकारी हुन जरुरी छ। राम्रा विद्यालयहरूले मात्रै राम्रो शिक्षा प्रदान गर्न सक्छन् र भावी जीवनका लागि नागरिकहरूको तयारी गर्न सक्छन्। यस सन्दर्भमा कस्ता विद्यालयहरूलाई राम्रा विद्यालय भन्ने, विद्यालयलाई किन राम्रो बनाउने र कसरी राम्रो बनाउने भन्ने सवाल अहम् सवालको रूपमा रहन सक्छ।
राम्रा विद्यालयको अवधारणा
राम्रा विद्यालयका धेरै आयाम हुन्छन्। राम्रो हुनु र नहुनु आफैमा निरपेक्ष विषय होइन तथापि विद्यालय राम्रा हुन केही आधारभूत मानक वा आयाम हुनै पर्छ। नेपालको सन्दर्भलाई समेत जोडेर भन्दा राम्रा विद्यालयलाई देहाय बमोजिम विभिन्न रूपमा चित्रण गर्न सकिन्छ।
सर्वप्रथम विद्यालय राम्रा हुन विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार पूरा भएको हुनु पर्छ।
एउटा विद्यालयलाई विद्यालयको रूपमा सञ्चालन हुन विद्यालय भवन, कक्षा कोठा, शौचालय, खानेपानी, खेल मैदान, घेरा वार, शिक्षक, विद्यार्थी जस्ता आधारभूत आवश्यकताहरू जरुरी हुन्छन्। नेपाल सरकारले विद्यालयमा कमसेकम न्यूनतम सक्षमताका सर्त पूरा हुनु पर्ने व्यवस्था गरेको छ। न्यूनतम पूर्वाधार पूरा गर्न नसके पनि प्राथमिकता प्राप्त सक्षमताका सर्त पूरा हुनु पर्ने व्यवस्था विद्यालय क्षेत्र सुधार योजनाले अघि सारेको थियो।
विद्यालय राम्रो हुन तोकिएको पाठ्यक्रमको सही र प्रभावकारी कार्यान्वयन जरुरी हुन्छ। पाठ्यक्रमले नै विद्यार्थीको सिकाइ उपलब्धि तय गरेको हुन्छ भने तहगत सक्षमताहरू निर्धारण गरेको हुन्छ। राम्रा विद्यालयहरूले विद्यार्थीहरूको सिकाइ नतिजालाई मुख्य अवयवको रूपमा लिएका हुन्छन्। मूल्याङ्कनका परिपाटीहरूलाई तोकिए बमोजिम प्रभावकारी रूपमा प्रयोग गर्नु र उत्कृष्ट नतिजा देखाउन सक्नु राम्रा विद्यालयका सूचक हुन्।
राम्रा विद्यालयहरू बाल मैत्री हुन्छन्। यस्ता विद्यालयहरूले नेपाल सरकारले सिफारिस गरेको 'विद्यालयमा बाल मैत्री अवधारणा' कार्यान्वयन गर्छन् भने विद्यालयहरू बालिका मैत्री, किशोर किशोरी मैत्री, लैङ्गिक संवेदनशील, अपाङ्गमैत्री आदि पनि हुन्छन्।
यस्ता विद्यालयहरू बालबालिकाको सर्वाङ्गीण विकासका लागि उत्तरदायी हुन्छन्। विद्यार्थीहरूको बौद्धिक, शारीरिक, सांस्कृतिक क्षमता उजागर गर्ने र देश प्रेम एवम् सदाचार र अनुशासनका लागि संवेदनशील हुन्छन्। यसका लागि विद्यालयमा पठनपाठनका अलावा सह र अतिरिक्त क्रियाकलापहरूलाई उत्तिकै जोड दिन्छन्। जीवनोपयोगी सिप र व्यवहार कुशल सिपहरूलाई उच्च महत्त्वका साथ स्थान दिन्छन्।
राम्रा विद्यालयले शैक्षणिक प्रबन्धलाई सहज र प्रभावकारी बनाएका हुन्छन्। खास गरी विद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शैक्षिक सामग्री, पुस्तकालय, प्रयोगशाला आदिको सामयिक व्यवस्थापन गरिएको हुन्छ भने तिनको प्रभावकारी प्रयोगका लागि स्वचालित कार्य प्रक्रिया र संयन्त्र बनाइएको हुन्छ।
विद्यालयमा वार्षिक कार्य तालिकाका अतिरिक्त वार्षिक शैक्षणिक योजना, एकाइ योजना, विषयगत शिक्षकहरूबाट दैनिक पाठ योजना जस्ता शैक्षणिक योजनाहरूको प्रभावकारी कार्यान्वयन भइरहेको हुन्छ।
राम्रा विद्यालयहरूमा आइसिटीको उपलब्धता र उपयोग दुवै प्रभावकारी हुन्छ। सूचना तथा सञ्चार प्रविधिको प्रयोग शैक्षिक र प्रशासनिक व्यवस्थापनमा मात्रै होइन शिक्षण सिकाइको माध्यम र सारथिको रूपमा समेत गरिएको हुन्छ।
राम्रा विद्यालय योजनाबद्ध हुन्छन्। विद्यालय सुधार योजना, वार्षिक नीति तथा कार्यक्रमहरू, बजेटको व्यवस्थापन आदि विद्यालयको रणनीतिक मार्गदर्शकको रूपमा रहेका हुन्छन्।
राम्रा विद्यालयमा राम्रा शिक्षक हुन्छन्। राम्रा शिक्षक अर्थात् तालिम प्राप्त, सक्षम, उच्च मनोबल युक्त, उत्प्रेरित र नतिजामुखी शिक्षकहरू। शिक्षकको निरन्तर पेसागत विकासका लागि विद्यालयमा विशेष व्यवस्था हुन्छ र शिक्षकहरू आफ्ना कामका लागि आफै जिम्मेवार हुन्छन्। शिक्षकको कार्य सम्पादनलाई विद्यार्थीको नतिजा र उपलब्धिसँग जोडिएको हुन्छ।
राम्रा विद्यालयमा शिक्षकहरूको कार्य बाँडफाँड प्रभावकारी हुन्छ। विद्यालयको नेतृत्व र व्यवस्थापन प्रभावकारी हुन्छ। विद्यालयको प्रशासन सुव्यवस्थापन कार्यान्मुख र वैज्ञानिक हुन्छ। विद्यालयमा टिम भावना हुन्छ र निश्चित आचारसंहिताका आधारमा कार्य विभाजन र कार्यान्वयन भएको हुन्छ।
राम्रा विद्यालयमा विद्यार्थीको स्वास्थ्य, पोषण, बालमनोविज्ञान र स्वच्छतालाई उच्च प्राथमिकता दिइएको हुन्छ भने विद्यालय विद्यार्थीका लागि निरन्तर सिकाइ केन्द्रको रूपमा रहेको हुन्छ।
राम्रा विद्यालयमा शैक्षिक सूचकहरू उत्कृष्ट र प्रभावकारी हुन्छन् भने विद्यालयहरू पर्यावरणमैत्री हुन्छन्। विद्यालय र अभिभावको सम्बन्ध नङ र मासुको जस्तै अन्योन्याश्रित हुन्छ।
विद्यार्थीहरूको बसाइँ व्यवस्थापनमा सहजता, सहज आवागमन र शिक्षक विद्यार्थी बीचको हार्दिकता पनि राम्रा विद्यालयका मानकको रूपमा रहेका हुन्छन् भन्न सकिन्छ।
अर्को महत्त्वपूर्ण कुरा, राम्रा विद्यालयहरूले तोकिएका अनुपालन लाई प्रभावकारी रूपमा बिना कुनै बहाना पूरा गर्छन् भने नयाँ एवम् सृजनात्मक अभ्यासलाई प्रोत्साहन गर्दछन्।
विद्यालयलाई किन राम्रो बनाउने?
राम्रा विद्यालयमा पढ्न पाउनु विद्यार्थीहरूको नैसर्गिक अधिकार हो। संविधान, नीति, ऐन- कानुन, मार्गदर्शन, प्रारूप र योजनाहरूले तय गरेका विषयहरूको कार्यान्वयनका लागि राम्रा विद्यालय आवश्यक हुन्छन्। अर्थात् राम्रा विद्यालयहरूमा मात्रै यी यावत विषयहरूको कार्यान्वयन सम्भव हुन्छ।
राम्रा विद्यालयमा मात्रै पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ। पाठ्यक्रमका सक्षमता र सिकाइ उपलब्धिहरू हासिल गर्न विद्यालयहरू राम्रा हुन जरुरी हुन्छ। पाठ्यक्रमसँगै जीवनोपयोगी सिप र व्यवहार कुशल कौशलहरूलाई जोडेर कार्यान्वयन गर्न राम्रा विद्यालय आवश्यक पर्छन्। वास्तवमा राम्रा विद्यालयले मात्रै भावी जीवनका लागि असल नागरिकको तयारी गर्न सक्छन्।
विद्यार्थीहरूको पलायन रोक्न, ब्रेन ड्रेनको समस्या समाधान गर्न, शिक्षामा व्यापारीकरण र निजीकरण रोक्न र सरकारप्रतिको विश्वास बढाउन पनि विद्यालयहरू राम्रा हुन जरुरी छ।
राम्रा विद्यालयहरूले मात्रै अभिभावकको अपनत्वलाई विद्यालयसँग जोड्न सक्छन्। वास्तवमा अभिभावको सहभागिता र अपनत्व लोकतन्त्रको सबलीकरणसँग पनि जोडिएको हुन्छ।
राम्रा विद्यालयले मात्रै स्थानीय ज्ञानलाई विश्वव्यापी ज्ञानसँग आबद्ध गर्न सक्छन्।
शिक्षकको मान सम्मान र आत्म सन्तुष्टि बढाउन, सभ्यता र संस्कृतिको हस्तान्तरण गर्न, सिप विकास र सामयिक क्षमता विकास गर्न पनि राम्रा विद्यालय आवश्यक पर्छन्।
विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्न, लगानीको सही सदुपयोग गर्न र प्रतिफलको दर बढाउन राम्रा विद्यालय हुन जरुरी हुन्छ।
शिक्षकहरूको निरन्तर विकास सुनिश्चित गर्न, समुदायको आत्म सन्तुष्टि बढाउन, समाजमा हुने विभिन्न विकृति र विसङ्गति रोक्न, विद्यार्थीलाई गलत अभ्यास र हानिकारक आनीबानीबाट जोगाउन समेत राम्रा विद्यालय हुनु पर्दछ।
राम्रा विद्यालयबाट मात्रै राष्ट्रिय उद्देश्य परिपूर्ति गर्ने, सक्षम जनशक्ति उत्पादन गर्ने, देश विकास गर्ने र गरिबी निवारण गर्ने गराउने काममा योगदान पुग्दछ।
अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न, तोकिएका अनुपालन पूरा गर्न, ग्लोबल नागरिक तयार पार्न, नागरिकमा देश प्रेमको भावना उजागर गर्न, प्रतिभाहरूको प्रस्फुटन र विकास गर्न, गराउन, आइसिटीको पूर्ण उपयोग र प्रतिफल प्राप्त गर्न, समाज रूपान्तरण गर्न र समग्रमा राष्ट्र निर्माणमा योगदान गर्न राम्रा विद्यालयबाट मात्रै सम्भव हुन्छ। त्यस कारण जुनसुकै मूल्यमा पनि हाम्रा विद्यालयहरू राम्रा बनाइनु पर्छ। हाम्रा प्रयास त्यसैतर्फ केन्द्रित हुन जरुरी छ।
कसरी बनाउने राम्रा विद्यालय?
विद्यालय राम्रो बनाउने कुरा यसको स्थापनासँगै गाँसिएको हुन्छ। वास्तवमा विद्यालय राम्रो बनाउन नक्साङ्कनको आधारमा मात्रै स्थापना गर्ने पद्धतिलाई कडाइका साथ कार्यान्वयन गरिनु पर्छ। विद्यालय खोल्दा तोकिएका मापदण्ड पूरा गरेर, समुदायको माग र आवश्यकताका आधारमा खोल्नु बुद्धिमानी हुन्छ। सैद्धान्तिक रूपमा विद्यालय सेवा क्षेत्रको अवधारण प्रस्ट हुनुपर्छ। जथाभाबी राजनीतिक आड र पक्षधरताका आधारमा खोलिएका विद्यालयहरू राम्रा बन्न सक्दैनन्।
विद्यालय राम्रा हुन तिनमा न्यूनतम पूर्वाधार पूरा भएको हुन पर्छ। कमसेकम विक्षेसुयोले मार्गदर्शन गरे जस्तै प्राथमिकता प्राप्त न्यूनतम सर्तहरू पूरा भएको सुनिश्चित गरिनु पर्छ। विद्यालय भवन, पर्याप्त कक्षा कोठा, शौचालय, खेल मैदान, घेरा बार, खानेपानी, खेल सामग्री आदिको सुनिश्चितताले विद्यालय राम्रा बन्छन्। न्यूनतम रूपमा भए पनि विषयगत शिक्षकको उपलब्धता राम्रा विद्यालयको पूर्वावश्यकता हो भन्न सकिन्छ।
राम्रा विद्यालयको लागि अब विद्यालय सुधार योजनामा मात्रै भर नपरी पालिका तहबाट गाउँ शिक्षा वा नगर शिक्षा योजना निर्माण गरी एकीकृत रूपमा लागु गर्नु जरुरी देखिन्छ। सङ्घीय सरकारबाट सशर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरण हुने वर्तमान परिपाटिको सट्टा एकमुस्ट अण्डा बजेट पालिकामा पठाउने र पालिका तहमा निश्चित मापदण्डको आधारमा आवश्यकता बमोजिम खर्च गर्ने प्रणाली विकास गर्न सके अझ राम्रो हुने देखिन्छ।
विद्यालय राम्रो बनाउन शिक्षक कर्मचारीको ठूलो योगदान रहन्छ। त्यस कारण शिक्षक कर्मचारी व्यवस्थापनमा वैज्ञानिक तौरतरिका अपनाउन जरुरी हुन्छ। शिक्षकको कार्य विभाजन, पदस्थापन एवम् निरन्तर पेसागत विकासका लागि विद्यालयले अनवरत प्रयास गर्नु पर्छ। प्रअको भूमिका यसका लागि अरूभन्दा महत्त्वपूर्ण हुने भएकोले प्रअको नियुक्ति र परिचालनलाई बढी अधिकार सम्पन्न र वैज्ञानिक बनाइनु पर्छ।
प्रअ र शिक्षकलाई अनुसन्धानका अवसरमा जोड्ने, निरन्तर विकासका लागि सहायता प्रणाली उपलब्ध गराउने, माथिल्लो योग्यता प्राप्तिका लागि अवसर प्रदान गर्ने, उनीहरूको कार्यक्षमता र कार्यसम्पादनलाई विद्यार्थी सिकाइसँग अनुबन्धित गरी उपयोग गर्ने र जिम्मेवारी शृङ्खला कार्यान्वयन गर्ने जस्ता कार्य गर्नु पर्छ।
विद्यालयमा पुरस्कार र दण्ड प्रणालीलाई कडाइका साथ लागु गरिनु पर्छ। यसका लागि निश्चित मापदण्ड उपयोग गर्न सकिन्छ। विद्यालय व्यवस्थापन समिति, साथी समूह लगायतका मेक्यानिजम तथा प्रशासनिक संयन्त्रको प्रयोगबाट पुरस्कार दण्डको पद्धतिलाई प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ।
विद्यालयलाई राम्रा बनाउन विद्यालयलाई सूचना तथा सञ्चार प्रविधि मैत्री बनाउन जरुरी छ। आइसिटीको प्रयोगबाट विद्यालयको शिक्षण सिकाइ प्रणालीलाई सहज, विविध, जीवन्त र प्रभावकारी बनाउन सकिन्छ। यसकालागि विद्यालयमा स्मार्ट बोर्ड, इन्टरनेट, भर्चुअल सिकाइ आदिको व्यवस्थापन गर्न जरुरी हुन्छ।
राम्रो नतिजा राम्रो योजनामा भर पर्छ। त्यस कारण शिक्षकहरूले शैक्षणिक योजना कार्यान्वयनको सुनिश्चितता गर्नु राम्रो विद्यालय बनाउने मानक हो। यसका लागि शिक्षकहरूलाई सामान्य डायरी प्रयोग गर्न लगाउने र वर्षान्तमा त्यसको सुपरिवेक्षकद्वारा मूल्याङ्कन गरी पृष्ठपोषण उपलब्ध गराउने प्रणालीको विकास गर्न सकिन्छ। यसका साथै शिक्षक तथा विद्यालयको नियमित सुपरिवेक्षण गर्ने र प्राविधिक सहायता उपलब्ध गराउने शिक्षक सहायता प्रणाली विकास गरी लागु गरिनु पर्छ। शिक्षकहरूलाई मेन्टरिङ, कोचिङजस्ता प्राविधिक सहायता उपलब्ध गराउन पुराना र अनुभवी शिक्षकहरूलाई उपयोग गर्न सकिन्छ।
विद्यालय राम्रो बनाउन सरोकारवालाको आचारसंहिता महत्त्वपूर्ण हुन्छ। विद्यार्थीका लागि आचारसंहिता, शिक्षक आचारसंहिता, अभिभावक आचारसंहिता आदि निर्माण गरी कार्यान्वयन गरिनु पर्छ। आचारसंहिता निर्माण गर्दा सहभागितामूलक रूपमा सरोकारवालाको सहमतिमा गर्न सके यो बढी रचनात्मक र प्रभावकारी बन्दछ।
राम्रो विद्यालयका लागि विद्यालयको नेतृत्व पनि राम्रो हुन जरुरी हुन्छ। नेतृत्व बहु आयामिक, दूरदृष्टियुक्त, खुला र समावेशी हुन पर्छ। नेतृत्वका लागि समूह भावनाको विकास र नेतृत्व विकासका लागि अवसरको उपलब्धता पनि आवश्यक हुन्छ।
विद्यालयलाई राम्रो बनाउन विद्यार्थीको नतिजा सर्वोपरि हुन्छ। यसका लागि पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धि र सक्षमता प्राप्तिको सुनिश्चितताका लागि योजनाबद्ध प्रयास जरुरी हुन्छ र सोका लागि उत्प्रेरित र उच्च मनोबल युक्त शिक्षकको परिचालन आवश्यक हुन्छ भने विद्यालयमा नवप्रवर्तन र सृजनात्मक अभ्यासको खाँचो पर्दछ।
पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धिका अलावा विद्यार्थीको सर्वाङ्गीण विकास गर्नु राम्रा विद्यालयका परिचायक हुन भन्न सकिन्छ। यसका लागि विद्यार्थीहरूको बहुमुखी उपयोग र परिचालन जरुरी हुन्छ। विद्यालयमा विद्यार्थीका विभिन्न समूह, क्लब निर्माण गरी उपयोग गर्ने, योजनाबद्ध रूपमा विद्यार्थीको प्रतिभा पहिचानका लागि विभिन्न सह तथा अतिरिक्त क्रियाकलापका कार्यक्रम जोड्ने, विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराउने, कक्षा बाहिर व्यवहारिक कृयाकलापमा परिचालन गराउने, उत्कृष्ट प्रतिभाको रूपमा घोषणा र पुरस्कृत गर्ने लगायतका क्रियाकलाप गर्नुपर्छ। अन्तरपालिका र अन्तर विद्यालय खेलकुद र अन्य प्रतियोगिताहरूको सही र प्रभावकारी उपयोग गरिनु पर्छ। राम्रा विद्यालयले यसका लागि छुट्टै योजना बनाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सक्नु पर्छ।
विद्यालयमा विद्यार्थीको उत्कृष्ट नतिजा सुनिश्चितताका लागि परीक्षा प्रणालीको सुदृढीकरण गरिनु पर्छ। मोक टेस्टहरू सञ्चालन गर्ने, अन्य विद्यालयहरूसँग मिलेर प्रतिस्पर्धात्मक परीक्षाहरू आयोजना गर्ने, स्तरीय परीक्षाका अवसरहरू बढाउने लगायतका कार्यहरू जरुरी हुन्छन्। राम्रा विद्यालयहरूले उदार कक्षान्नतिको उत्कृष्ट उपयोग गर्छन्।
राम्रा विद्यालयका लागि विद्यालयको कार्य सम्पादन परीक्षण जरुरी हुन्छ। यसका लागि पालिका तहबाट यो कार्य गर्न सकिन्छ। राष्ट्रिय तहमा शैक्षिक गुणस्तर मापन केन्द्रले गर्ने गरेको छ।
विद्यालय राम्रो बनाउन विद्यालयले विद्यालय शिक्षाका सूचकहरूलाई सकारात्मक रूपमा बढाउनु पर्छ। खास गरी विद्यार्थीहरूको खुद भर्ना दर शत प्रतिशत पुर्याउने, विद्यालय छोड्ने दर शून्य बनाउने, कक्षा दोहोर्याउने लगायतका दर शून्य बनाउने, सिकाइ उपलब्धि दर बढाउने जस्ता कार्य योजनाबद्ध रूपमा गर्नुपर्छ। यसका लागि विद्यालय सुधार योजना, शिक्षकहरूको शिक्षण सुधार योजना सहायक बन्न सक्छन्।
विद्यालयलाई राम्रो बनाउने सन्दर्भमा विद्यालयहरूले आफ्नो मूल्याङ्कन आफै गर्ने, विद्यालय वर्गीकरणका लागि स्वघोषणा गर्ने जस्ता कार्य पनि गर्न सक्छन्। निरन्तर रूपमा आफ्नो मूल्याङ्कन गर्ने र त्यसका आधारमा योजना निर्माण गरी कार्यान्वयन गर्न सके विद्यालय सुधार गर्न सकिन्छ।
विद्यालयहरूमा यति बेला प्रतिवेदन प्रणाली छैन भन्दा पनि हुन्छ। पहिलो कुरा विद्यालयमा वाञ्छित रूपमा अभिलेखीकरण प्रणाली छैन। आइइएमआइएस प्रणाली कार्यान्वयन भए पनि यो विद्यार्थी सङ्ख्या अपडेट गर्ने पद्धतिको रूपमा मात्र उपयोग भएको देखिन्छ। यसलाई आवश्यकता बमोजिम सबै खाले अभिलेखीकरणको माध्यम बनाउन सकिएको छैन। त्यस कारण विद्यालयले गर्ने सबै गतिविधिहरूको लिखित रूपमा अभिलेखीकरण गर्नु र तिनको सामयिक रूपमा सम्बन्धित निकायहरूमा प्रतिवेदन गर्ने प्रचलन बनाउनु पर्छ।
विद्यालय राम्रो हुन स्थानीय पाठ्यक्रमको रचनात्मक कार्यान्वयन जरुरी हुन्छ। स्थान विशेषको पहिचान र विशिष्टतालाई विद्यार्थीसम्म जोड्ने माध्यमको रूपमा यसलाई लिइनु पर्छ। स्थानीय तहमा उपलब्ध विज्ञहरूको सदुपयोगले समाजलाई जीवन्त रूपमा विद्यार्थीसम्म पुर्याउन सहयोग गर्दछ।
विद्यालयलाई राम्रो बनाउन अन्तर विद्यालय सिकाइ आदानप्रदान कार्यक्रम गर्न सकिन्छ। खास गरी एउटा विद्यालयले अर्को विद्यालयबाट सिक्ने परिपाटीलाई कार्यक्रमकै रूपमा उपयोग गर्न सकिन्छ। शैक्षिक भ्रमण, घुम्ती बैठक, अन्तर विद्यालय अन्तरक्रिया कार्यक्रम जस्ता क्रियाकलापहरू यसअन्तर्गत गर्न सकिन्छ।
विद्यालयमा विद्यार्थी सहायता कोष हुनु राम्रा विद्यालयको अर्को परिचायक हो। कतिपय विद्यार्थी सामान्य खर्च धान्न नसक्ने, कापी कलम किताब किन्न नसक्ने, वा मुस्किलले जीवन यापन गर्नु पर्ने हुन सक्छन्। तिनलाई आवश्यकताका आधारमा ऐन मौकामा सहयोग गर्न सक्ने गरी एउटा लचिलो कोष निर्माण र कार्यान्वयन गर्नु सबै विद्यालयका लागि वाञ्छित कुरा हो। कतिपय स्वतन्त्र दाताहरूको सहयोगमा यस्ता कोषहरू निर्माण गर्न सकिन्छ।
विद्यालय राम्रो हुन विद्यालयका गतिविधि र काम कारबाहीमा लोकतान्त्रिक परिपाटीको उपयोग गरिनु पर्छ। यसका लागि नेतृत्वको प्रजातान्त्रिक शैली उपयोग गर्ने, साझा र सामूहिक निर्णय प्रणालीलाई कार्यान्वयन गर्ने, सहभागितात्मक व्यवस्थापन प्रणाली सञ्चालन गर्ने लगायतका कार्य पर्दछन्। अरूको विचारको कदर गर्नु, व्यवहारमा खुलापन र पारदर्शिता अख्तियार गर्नु पनि लोकतान्त्रिक व्यवहारका उदाहरण हुन।
दिगो विकास लक्ष्य २०१६-०३० को लक्ष्य ४ गुणस्तरीय शिक्षासँग सम्बन्धित छ। यी र यस्ता अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्ने प्रथम थलो भनेकै विद्यालयहरू हुन। यस्ता प्रतिबद्धता, मार्गदर्शन, नीति र कानुनी प्रावधानको बारेमा विद्यालय जानकार हुनु पर्छ र तिनको कार्यान्वयनलाई विद्यालयका गतिविधिमा जोड्न सक्नु पर्छ।
कुनै पनि राम्रा विद्यालयलाई आर्थिक व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। खास गरी आर्थिक व्यवस्थापनको दिगोपना र त्यसको प्रभावकारिता विद्यालयका लागि समस्याको रूपमा हुन्छन्। आर्थिक स्रोतको सही पहिचान र परिचालन र त्यसको दिगोपनाका लागि विद्यालयले योजनाबद्ध रूपमा काम गर्नु पर्छ। यसका लागि सरकारी अनुदानमा मात्र भर नपरी दाताहरूको उपयोग र आत्मनिर्भर तरकिबहरूको प्रयोग गर्न सके यसलाई दीर्घकालीन बनाउन सकिन्छ। विद्यालयमा धेरै खालका सङ्घ संस्थाहरू विभिन्न रुचि र चाहनाका साथ प्रवेश गरिरहेका हुन्छन्। तिनलाई विद्यालयको हित र आवश्यकताका आधारमा परिचालन गर्न सक्नु पर्छ। विद्यालयको माग, पालिकाको आवश्यकता र बजेट, नीति, कार्यक्रम भित्रबाट त्यस्ता सङ्घ संस्थाहरूलाई प्रणालीबद्ध बनाउन सकिन्छ र तिनको प्रभावकारी परिचालन हुन्छ।
राम्रा विद्यालय हेर्दा राम्रा देखिनु पर्छ। विद्यालयको अवस्थिति, रङ्ग रोगन, सामग्रीको व्यवस्थापन, अलाइनमन्ट, तथा वातावरणीय व्यवस्थापन राम्रो हुनु पर्छ। खास गरी विद्यालयको स्वच्छता र सरसफाइलाई विशेष ध्यान दिनु जरुरी हुन्छ। राम्रा विद्यालयले 'ग्रीन स्कुल' अवधारणा कार्यान्वयन गर्नुपर्छ र विद्यालय उद्यानमा लगानी गर्नु पर्छ। स्वच्छ, सफा, सुन्दर र वातावरणमैत्री स्थानमा मात्रै विद्यार्थीहरू रमाउँछन् र शिक्षण सिकाइ प्रभावकारी बन्न सक्छ। योसँगै विद्यालय शान्ति क्षेत्रको अवधारणा पनि कडाइका साथ कार्यान्वयन गरिनु पर्छ। विद्यालयमा राजनीतिक कार्यक्रमहरू गरिनु हुन्न। राजनैतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विशुद्ध प्राज्ञिक क्रियाकलाप गर्ने थलोको रूपमा विद्यालयलाई लिइनु पर्छ। विद्यालयको आचारसंहिता र वैयक्तिक व्यवहारबाट यस प्रकारको मान्यतालाई कार्यान्वयन गर्न सकिन्छ।
विद्यालय राम्रा हुन पाठ्यक्रम बाहिरका क्रियाकलापमा पनि उत्तिकै अब्बल हुन जरुरी छ। विद्यार्थी र शिक्षक दुवैमा नियमित पठनपाठनका अलावा अन्य सान्दर्भिक विषयको चेत र ज्ञान हुनु पर्छ। यसका लागि विद्यार्थी केन्द्रित विभिन्न अतिरिक्त क्रियाकलापका अलावा विद्यालयले विभिन्न राष्ट्रिय दिवसहरूको उपयोग गर्न सक्नु पर्छ। राष्ट्रिय दिवसहरूमा सान्दर्भिक कार्यक्रमहरू आयोजना गरी शिक्षक विद्यार्थीको ज्ञान र चेत बढाउन सकिन्छ। विद्यार्थीका लागि स्काउट, रेडक्रस, किशोर किशोरी मैत्री सूचना केन्द्र, राष्ट्रिय सेवा दल जस्ता फोरमहरूको प्रभावकारी उपयोग गर्नु पर्छ। यस्ता फोरमहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अन्तर वैयक्तिक सिप, अनुशासन, मानवीय सेवा जस्ता सीप क्षमता बढाउन सहयोग गर्छन्।
विद्यालय विद्यार्थीका लागि सुरक्षित र विश्वासिलो हुन जरुरी छ। विद्यालयले बालमैत्री विद्यालयको अवधारणालाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सक्नु पर्छ। विद्यार्थीहरूको मनोवैज्ञानिक सुरक्षा र संरक्षण विद्यालयका लागि महत्त्वपूर्ण कडीको रूपमा रहेको हुन्छ। विद्यार्थीहरूमा हुने विभेद, शोषण, बुलिङ जस्ता कुराहरूबाट उनीहरूलाई जोगाउन विद्यालयले सुझबुझका साथ काम गर्नु पर्छ। यसका साथै विद्यालयले गुणस्तरीय शिक्षाका मापदण्डलाई कार्यान्वयन गर्नु पर्छ।
विद्यालय राम्रो हुन अभिभावकको योगदान अपरिहार्य हुन्छ। विद्यालयले विद्यालय सुधार योजनामै अभिभावको भूमिका र सहयोगलाई प्रस्ट रूपमा उल्लेख गरी कार्यान्वयन गर्न सक्छ। अभिभावकको सही परिचालन राम्रा विद्यालयहरूको सम्पत्ति जस्तै हो। विद्यालयमा विभिन्न भौतिक आवश्यकताको ग्याप पूर्ति गर्न तथा विद्यालयमा शैक्षिक वातावरण बरकरार राख्न र विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउन अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ। यसका लागि विद्यालयको योजनाका साथै अभिभावक शिक्षालाई पनि कार्यान्वयन गरिनु आवश्यक हुन्छ।
विद्यालयलाई राम्रो बनाउने अर्को एक उपाय विद्यालयमा वार्षिक बजेट बनाउनु र कार्यान्वयन गर्नु पनि हो। सामान्यतया विद्यालयहरूले वार्षिक बजेट नै बनाउँदैनन्। सामान्य विद्यालय सुधार योजना बनाउने र अभिभावक भेलामा आय व्यय प्रस्तुत गर्ने बाहेक विद्यालयले अन्य कार्य गर्न सकेको देखिँदैन। सरकार र पालिकाले बनाएजस्तै वास्तविक बजेट निर्माण गरी कार्यान्वयन गर्न सके विद्यालयलाई धेरै सहयोग पुग्दछ। यसले विद्यालयमा गर्नु पर्ने हार्डवेयर र सफ्टवेयरका काम के के हुन्, अनुपालनको रूपमा गर्नै पर्ने बाध्यात्मक कार्यहरू कुन कुन हुन जस्ता कुरामा स्पष्टता हुन्छ। त्यसै गरी विद्यालयले साझेदारहरूको ट्र्याकिङ गर्न, विद्यालयमा नवप्रवर्तन र सृजनात्मक कार्य गर्न, कार्य सम्पादनका लागि कार्य योजना निर्माण गर्न, विद्यालयको आवश्यकता र मागलाई प्राथमिकीकरण गर्न तथा पठनपाठनमा केन्द्रित गर्न बजेट निर्माण र कार्यान्वयन कार्य प्रभावकारी हुन्छ।
विद्यार्थीका लागि दिवा खाजा, स्यानिटरी प्याड र पाठ्यपुस्तकको उपलब्धता सरकारको तर्फबाट उच्च प्राथमिकता प्राप्त अवयव हुन। यिनको प्रभावकारी व्यवस्थापन विद्यालयको अहम् दायित्वको विषय हो। यसका लागि विद्यालयले समयमै प्रभावकारी कदम चाल्न आवश्यक हुन्छ। यिनको व्यवस्थापन प्रभावकारीताका लागि विद्यालयले निजी क्षेत्रसँग कनट्याक्ट गरी काम गर्न सक्छ वा विद्यालय भित्र कार्य जिम्मेवारी विभाजन गरी, विभिन्न समिति निर्माण गरी यस्ता कार्यलाई व्यवस्थित गर्न सकिन्छ।
राम्रा विद्यालयले अन्तर सम्बन्धित विषयहरूको उत्तिकै व्यवस्थापन गर्न सक्नु पर्छ। खास गरी विद्यालय व्यवस्थापनमा व्यवस्थापनका समसामयिक आयामहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्नु पर्छ। यसअन्तर्गत विद्यालयमा विविधता व्यवस्थापन, विपद् व्यवस्थापन, द्वन्द्व, तनाव तथा सङ्कट व्यवस्थापन, समय व्यवस्थापन, गुनासो व्यवस्थापन जस्ता समसामयिक विषय वस्तु पर्दछन्। विद्यालयमा भाषिक, लैङ्गिक, धार्मिक सांस्कृतिक, जातजातिगत लगायतका विविधताहरूको उचित सम्बोधन र व्यवस्थापन अपरिहार्य विषयको रूपमा रहन्छन्।
राम्रा विद्यालय सुशासनको केन्द्र बन्नु पर्छ। यसका लागि विद्यालयका गतिविधि, कामकारबाहीहरू खुला, पारदर्शी र स्वाभाविक हुनु पर्छ। विद्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्थापनबाट विद्यालय सुशासनको प्रवर्धन गर्न सकिन्छ।
उद्यमशीलता र उत्थानशीलता विद्यालयका लागि आधुनिक मूल मन्त्रजस्तै हुनु पर्छ। विद्यार्थीहरूमा श्रमको मूल्य स्थापित गर्न, न्यूनतम श्रम सिप सिकाउन विद्यालयमा पढ्दै कमाउँदै जस्ता व्यवहारिक कार्यलाई जोड्न सकिन्छ। हिजोआज विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गरी यस्ता गतिविधिबाट मनग्य आम्दानी गरेको देख्न सकिन्छ।
विद्यालयलाई सिकाइ सङ्गठनको रूपमा विकास गर्नु सबैभन्दा ठूलो चुनौती हो। यसका लागि समता, गुणस्तर, सक्षमता, सुशासन तथा उत्थानशीलता सहित आदर्श शैक्षिक वातावरण निर्माण गरिनु पर्छ। खास गरी विद्यालयमा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने, बालबालिकालाई सपना देख्न सिकाउने र निरन्तर सिकाइ कार्यको अभ्यास गर्न सक्ने वातावरण र पूर्वाधार विद्यालयमा उपलब्ध हुनु पर्छ। शैक्षिक सामग्रीको उपलब्धता र शिक्षकको सहजीकरण यसका लागि सहायक हुन्छन्। विद्यालयमा विद्यार्थी परामर्श पद्धतिको कार्यान्वयन समेत उत्तिकै आवश्यक हुन्छ। यसका लागि विद्यार्थी माझ डिजिटल डिभाइड कम गर्ने, एसटिइएमलाई अन्तर सम्बन्धित गर्ने, विद्यालयको कार्य सम्पादन र विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण गर्ने, मातृ भाषाको प्रयोगलाई प्रवर्धन गर्ने, सम्पूर्ण पूर्वाधारसहितको विद्यालयको अवधारणा कार्यान्वयन गर्ने, आइसिटीमा आधारित लेखा व्यवस्थापन प्रणाली अनुसरण गर्ने जस्ता कार्यहरूलाई अवलम्बन गर्न सकिन्छ र गर्नुपर्दछ।
राम्रा विद्यालयले छुटाउनै नहुने अर्को कार्य भनेको गुरु योजनाको निर्माण र सोको कार्यान्वयन हो। हिजोआज नमुना विद्यालयको नाममा कतिपय विद्यालयहरूले गुरुयोजना निर्माण गरी कार्यान्वयन गरेको देखिन्छ। तर त्यसमा पनि नमुना विद्यालय कार्यान्वयनको बजेटको परिधिभित्र रही योजना निर्माण गरिने भएकोले यो पूर्ण हुँदैन। गुरु योजनाले अन्य विषयका अलावा परिस्थिति उत्थानशीलता, शिक्षाको सामाजिक प्रभाव र सङ्कटासन्नता वा जोखिम विश्लेषण सहितका विषयहरूलाई यसमा समेट्नु राम्रो हुन्छ। राम्रा विद्यालयले विद्यार्थी सहायता सेवालाई योजनाकै रूपमा स्वचालित प्रणालीको रूपमा विकास गरी कार्यान्वयन गर्न सक्नु पर्छ जसमा दिवा खाजा, स्वास्थ्य तथा पोषण सेवा, विभिन्न खाले छात्रवृत्ति, विद्यार्थी परामर्श, विद्यार्थीको पोर्टफोलियो निर्माण जस्ता कुराहरू पर्छन्।
यसै गरी विद्यालय राम्रो बनाउन विद्यालयले शैक्षिक क्यालेन्डरको कडाइकासाथ कार्यान्वयन गर्न जरुरी हुन्छ। विद्यालयको बिदा व्यवस्थापन, शिक्षकहरूको बिदा व्यवस्थापन, प्रयोगात्मक कार्य, समयमै कार्य जस्ता कार्यहरू पनि राम्रा विद्यालयका सूचक हुन्। विद्यालयले पृष्ठपोषण संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नु पर्छ। यसका लागि शिक्षकहरूको विषयगत समिति निर्माण गर्ने, पूर्व विद्यार्थी समाज निर्माण गरी विभिन्न रूपमा उपयोग र परिचालन गर्ने गर्न सकिन्छ।
विद्यालय मूल रूपमा पठनपाठनको थलो हो। त्यस कारण आधुनिक विद्यालयले शिक्षक विद्यार्थीका लागि पुस्तकालय सेवा उपलब्ध गराउनु अपरिहार्य छ। प्रत्येक कक्षा कोठामा बुक कर्नर, बाल सन्दर्भ सामग्रीको व्यवस्था, ठूलो र पर्याप्त पुस्तकालय, इमेल इन्टरनेटको सुविधा, डिजिटल सामग्रीको व्यवस्था आदि विद्यालयमा नभै नहुने कुरा हुन। विद्यालयमा विद्युतीय र वैकल्पिक ऊर्जाको उपलब्धताले यस्ता कुरालाई अझ मजबुत बनाउँछन्।
अन्तमा, शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति तयार गर्ने र आर्थिक सामाजिक रूपान्तरणको माध्यमबाट न्याय पूर्ण समाजको विकास गराउने महत्त्वपूर्ण माध्यमको रूपमा विद्यालय रहने भएकोले तिनको विकास र सुसञ्चालनमा विशेष ध्यान दिन जरुरी छ। पाठ्यक्रमले तोकेका सक्षमताहरू हासिल गरी सिकाइ उपलब्धि सुनिश्चित गर्न र विविधतायुक्त समाजमा सामाजिक सद्भाव, सहअस्तित्व, ऐक्यबद्धता, सम्मान, विश्वास र सुसङ्गत जस्ता मूल्यहरू प्रवर्धन गर्न राम्रा विद्यालयबाट मात्रै सम्भव छ। त्यस कारण हाम्रा सबै विद्यालय राम्रा विद्यालय बन्नु पर्छ। सरोकारवालाका सुझबुझपूर्ण प्रयत्नबाट मात्रै सबै विद्यालयलाई राम्रा विद्यालय बनाउन सकिन्छ। यसका लागि सम्बन्धित सबै जिम्मेवार बन्न जरुरी छ।
(लेखक शिक्षा विकास तथा समन्वय इकाइ, रुकुम पूर्वका इकाइ प्रमुख हुन्।)