बसन्त ऋतु आयो। चराको गीतले पार्कहरूमा रौनक छ अचेल। उनीहरूको फुरफुर नाच हेर्न लायक हुन्छ।
मान्छेलाई चराको चर्तिकला हेर्न त रमाइलो हुन्छ। चरा भने यही बेला धेरै व्यस्त हुन्छन्। सबभन्दा बढी व्यस्त भालेहरू हुन्छन् किनभने घर बसाउने बेला यही हो। आफ्नो वंश विस्तार गर्ने चटारोमा उनीहरू दिनरात एक गरिरहेका हुन्छन्।
यसका लागि पोथीलाई फकाउनु पर्छ। पोथीको ध्यान अरूतिर नभड्कियोस् भनेर भालेले राम्रो राम्रो गुँड बनाउँछ। पोथी भालेहरूमध्ये छानेर सबभन्दा राम्रोलाई रोज्छे। उसले भालेका एकएक कुरालाई जाँचबुझ गर्छे।
म आज तपाईंहरूलाई एउटा सानो अनुभव सुनाएर यो लेख अघि बढाउँछु। त्यो अनुभवमा मैले भालेलाई पोथी फकाउन कति धेरै मेहनत लाग्छ भन्ने कुराको सानो झलक पाएको थिएँ।
मैले आफ्नो अध्ययन घरभँगेरामा गरेको हुँ। तिनीहरूले चल्लालाई कति समयको अन्तरालमा खाना खुवाउँछन् भनेर हेर्न परेकाले मैले गुँडमा क्यामरा राखेको थिएँ। अरू खाली गुँड प्रयोगमा आएका छन् कि छैनन् भनेर जान्न भनेर तिनमा पनि क्यामरा राखेको थिएँ।
एक दिनको कुरा हो, क्यामरा रेकर्डिङ सकिएपछि अफिस आएर हेर्दा रमाइलो कुरा देखेँ।
भाले भँगेरो एउटा लामो त्यान्द्रो लिएर गुँडभित्र छिर्यो। ऊ गुँड बनाउँदै थियो।
भालेले त्यान्द्रो लिएर गएको केही समयमै पोथी गुँडबाट निस्की। उसको चुच्चोमा त्यही त्यान्द्रो थियो। उसले गुँडबाट निस्किने बित्तिकै त्यो त्यान्द्रो फुत्त फ्याँकी। मानौं त्यो उसलाई मनै परेको थिएन।
विचरो भालेले कहाँ कहाँबाट खोजेर, रोजेर त्यो त्यान्द्रो ल्याएको थियो। पोथीलाई मन नपरेपछि सक्कियो!
चराको दुनियाँमा भालेलाई पोथीको ध्यान आफूतिर तान्न निकै सकस परेको हुन्छ। पहिलो त उसले राम्रो गुँड बनाएर रिझाउनु पर्छ। अनि राम्रो गीत गाएर वा नाचेर मोहनी लगाउन सक्नु पर्छ।
त्यसैले त जाडो महिनामा न्यानो खोज्दै दक्षिणतिर गएका भाले चराहरू पनि गर्मी चढ्दै गएपछि पोथी र चल्लाभन्दा छिट्टै उत्तरतिर फर्किन्छन्। उत्तर आइपुगेपछि उनीहरूले आफ्नो प्रजनन क्षेत्र बनाउनु पर्छ।
गुँड बनाउन मान्छेलाई घर बनाउन जस्तै गाह्रो हुन्छ। राम्रो ठाउँ खोज्नु पर्यो। वरपर सजिलै खाने कुराको स्रोत हुनु पर्यो। सिकारी चरा वा वन्यजन्तुले आक्रमण गर्न नसक्ने सुरक्षित ठाउँ चाहियो।
थरीथरीका चरा थरिथरीका गुँड। उनीहरू आफ्नो गुँडका इञ्जिनियर आफै हुन्। गुँड बनाउने कलामा पारंगत भएपछि मात्र वंश विस्तार हुन्छ भन्ने कुरा उनीहरूलाई हुर्किँदै जाँदा थाहा हुन्छ।
सबै चराले राम्रा गुँड भने बनाउँदैनन्। परेवाले जहाँ पायो त्यहीँ गुँड बनाएको त हामी सबैले देखेकै छौं। अरू कतिपय जंगली चराहरू पनि त्यस्तै अल्छी हुन्छन्। ह्वाइट टर्न (सेतो फ्यालफ्याले) ले एउटा रूखको हाँगामा मात्र अण्डा पार्छ।
यो लेखमा भने राम्रो गुँड बनाउने र त्यसलाई सिँगार्ने कला भएका चराबारे चर्चा गरेको छु। तिनीहरूको गुँडको बयान गरेको छु।
पात सिउने फिस्टाको गुँड
यो चराको नामबाटै थाहा हुन्छ, यसले पात सिएर आफ्नो गुँड बनाउँछ। यो चराको गुँड एकदमै मज्जाले सिएर बुनिएको हुन्छ।
यो गुँड बनाउन सबभन्दा पहिले त उसले आफू अट्न सक्ने पात छान्छ। पात सुकेको हुनु हुँदैन। सिउनु पर्ने भएकाले बलियो र हरियो पात हुनु पर्छ। चाहिए जस्तो पात भेटेपछि यो चराले आफ्नो चुच्चोले पातमा स-साना प्वाल बनाउँछ। त्यसपछि कीराहरूको रेसमले होस् वा कपासको प्रयोगले, ती प्वाल एकआपसमा जोड्दै सिउँछ। यी पातमा एक सय पचासदेखि दुई सय वटासम्म काँटा भएको अध्ययनहरूले देखाएका छन्।
बया तोप चराको गुँड
नेपालमै पाइने र नेपाली समाजमा प्रख्यात छ बया तोप चरा। ठूलो झुण्डमा बस्ने चरा देख्नुभएको छ भने ती तोप चरा हुन सक्छन्। किनभने यी आफ्नो समूहमा बस्छन्। एउटै रूखमा ६० वटासम्म गुँड बनाएका हुन्छन्।
यसको गुँड गोलो अकारको देखिन्छ। तोप चराले आफ्नो गुँड बनाउन लामो हाँगा रोज्छ। भाले चराले सुपारी, घाँस वा धानका पात मिलाएर एउटा टेवा हाँगा बनाउँछ। अनि बिस्तारै गुँडको तल्लो भाग बनाउँदै जान्छ।
फेरि माथिल्लो हाँगालाई आधार बनाएर एउटा गोलो आकारको अर्को आधार बनाउँछ र त्यसमाथि एउटा हेलमेट आकारको गुँड बनाउँछ।
यसपछि पोथी गुँडको अवलोकन गर्न आउँछे। पोथीले गुँड राम्रो भयो भनेर जनाउ दिएपछि भालेले गुँडमा एउटा सानो कचौरा जस्तो छुट्टै ठाउँ बनाउँछ। यो पोथीलाई अण्डा पार्नका लागि बनाइदिएको हो।
बावर बर्ड
बावर बर्ड पपुवान्युगिनी र अस्ट्रेलियाको उत्तरी भेगमा पाइने चरा हो। यो चरा उत्कृष्ट गुँड बनाउने भनेर संसारभरि प्रख्यात छ। केही बावरले पोथी आकर्षित गर्न चम्किला कुराहरू ल्याएर गुँड वरिपरि सजाउँछन्।
बावरमध्ये पनि गाउने, नाच्ने र गुँड राम्रो बनाउनेमा एउटा छ, त्यो हो मेक्ग्रेगर्स बावर बर्ड। यसले धरहरा जस्तो अग्लो गुँड बनाउँछ। स-साना काठका टुक्रा थपेर बनाइने यो गुँडमा चार-पाँच वर्षसम्म पनि काठ थपिरहन्छ। र, त्यो टावरको छेउमा निस्केका छेस्काहरूमा जंगलको भुइँमा पाइने झ्याउ झुन्ड्याएर सजाउँछ।
ऊ यतिमै रोकिँदैन। जब पोथी उसको गुँड हेर्न आउँछे, तब उसले आफ्नो गाउन सक्ने क्षमता पनि देखाउँछ।
पोथी आकर्षित गर्न गीत मात्रै गाउने होइन, जंगल वा गाउँ/ सहरमा आफूले सुनेका विभिन्न आवाज निकाल्छ। गाडी वा एम्बुलेन्सका साइरन, घाँस काट्न प्रयोग गर्ने आधुनिक औजार वा कुकुरले भुकेको आवाज निकालेर पोथीलाई सुनाउँछ।
अझै रमाइलो त मानिसको बच्चाले गरेका हल्लाखल्ला पनि जस्ताको त्यस्तै उतार्न सक्छ। आफूभित्र रहेको गीत र आवाजहरूको जादु देखाएपछि पोथी चरालाई मोहनी लगाउन उसले आफ्नो नाच देखाउँछ।
ग्रिब चराको गुँड
यो चराले पानीमा तैरिरहने गुँड बनाउँछ। धेरै प्रजातिका ग्रिबमध्ये नेपालमा 'लिटल ग्रिब' पाइन्छ। यसको नेपाली नाम डुबुल्की चरा हो।
नाम अनुसार नै यो चराले पानीमा डुबुल्की लगाएर आफ्नो आहारा खोज्छ। पानीमै बगेका, मरेका घाँसपात झिकेर आफ्नो गुँड पानीमै बनाउँछ। पानीमुनि हुने घाँसपातको सहाराले गुँड अड्याउँछ। र, पानी पसिरहने भएकाले गुँडमा घाँसपात थपी रहन्छ।
पानीमा तैरिरहने यसको गुँड हेर्दा गोलो आकारको देखिन्छ र पातको डल्लो जस्तो देखिन्छ। रमाइलो कुरा त, धेरै जसो पहिलो केही अण्डा त पानीमै डुबेका हुन्छन्। ओथारो बस्ने बेलामा पातजन्य कुराहरू थपेर माथि सार्ने अध्ययनहरूले देखाएका छन्।
यस्तो कष्ट गरेर गुँड बनाउनुको कारण यसले आफ्नो अण्डा र चल्लाको सुरक्षा गर्न नै हो।
बार्नकल गुजको गुँड
बार्नकल गुजले जस्तो आफ्नो गुँडको सुरक्षा त कसैले पनि गर्दैन। यो एक प्रकारको हाँस हो।
पश्चिम उत्तरी युरोपमा पाइने यो हाँसले सिकारीबाट बच्न र आफ्ना अण्डा जोगाउन ठूलाठूला डाँडामाथि अण्डा पार्छ। यसले आफ्नो गुँड ठूला चट्टानमा भएका साना खाल्डामा घाँस, झ्याउ र आफ्नै डाउन फेदर (प्वाँख) भरेर बनाएको हुन्छ। गुँडको वरपर उसकै दिसा/पिसाब र ढुंगाले बेरिएको जस्तो देखिन्छ।
जब चल्ला निस्किन्छन् तब तिनीहरूलाई तल झार्नु पर्ने हुन्छ। हाँसले आफ्ना चल्लालाई खुवाउँदैन। अण्डाबाट निस्केपछि आफ्ना लागि खाना खोज्ने जिम्मा चल्लाकै हुन्छ। यस्ता चरालाई 'प्रेकोसियल' भनिन्छ।
यी हाँसका चल्ला निस्केपछि एक-दुई दिन यतिकै पनि बाँचिहाल्छन्। त्यसपछि खाना चाहिन्छ। हजारौं फिट माथिको ढुंगाबाट तल खोलासम्म झर्न त भर्खरै जन्मेकालाई निकै गाह्रो हुने भइहाल्यो। तिनीहरू हुरूरू उड्न सक्ने पनि हुँदैनन्। माउले पनि चल्ला बोकेर उड्न सक्दैन।
अनि बिस्तारै माउले चल्लालाई हिँड्न र उड्न सिकाउँछ। माउ भालेपोथी ढिस्कोमा बनाएको गुँडबाट उड्छन्। चल्लाहरू पछिपछि लाग्छन्। त्यति माथिबाट तल झर्दासम्म केही चल्ला मात्र बाँच्छन्।
पछि अण्डा पार्ने बेलामा फेरि त्यस्तै डाँडामा पुग्छन्। यसबारे 'बार्नकल गुज नेस्टिङ' भनेर युट्युबमा भिडिओ हेर्न सकिन्छ।
म्यालेफल
यो चरा अस्ट्रेलियातिर पाइन्छ। यसले भुइँमा ठूलो भ्वाङ बनाउँछ र माथिबाट माटो वा बालुवाको तह बनाएर छोड्छ।
धमिराको गुँडजस्तै देखिने यो चराको गुँड पातका टुक्रा, स-साना रूखका बोक्रा जम्मा गरेर बनाइएको हुन्छ। भाले चराले नै गुँड बनाउने हुनाले यसको रेखदेख गर्ने जिम्मा पनि उसैको हुन्छ।
धेरै जसो चरामा अण्डाको तापक्रम ३२ देखि ३८ डिग्री सेन्टिग्रेडका बीचमा हुनु पर्छ। त्यो तापक्रम पोथीहरूले ओथारो बसेर कायम राख्छन्। यो म्यालेफलले भने अण्डा गुँडभित्र पुरिदिने भएकाले आफै त्यो तापक्रम स्थिर भइराख्छ। गुँड नै यसरी बनाएको हुन्छ।
अध्ययनहरूले म्याफेलको गुँडको तापक्रम २९-३८ डिग्रीबीच हुने देखाएका छन्। यसको गुँडको परिधि १५० सेन्टिमिटरसम्म हुन्छ। र, यसले पटक पटक एउटै गुँड प्रयोग गर्न सक्छ।
हामीले चरा भन्नेबित्तिकै आकाशमा उड्ने वा रूखमा बस्ने सोच्छौं। म्याफेल जस्तै भुइँ र ढुंगामुनि गुँड बनाउने अरू चरा पनि हुन्छन्। त्यस्तै चरा हो 'मर' चरा। यसले समुद्री तटको वरपर पाइने ढुंगाहरूमा गुँड बनाउँछ।
यस्तै भुइँमुनि गुँड बनाउने एउटा उल्लु हो उत्तर अमेरिकामा पाइने 'बरोइङ आवल'। त्यसै गरी 'माटीकोरे' चरा जसलाई अंग्रेजीमा 'किङफिसर' भनिन्छ, यसले पनि खोलानालाको किनारमा प्वाल बनाएर गुँड बनाउँछ।
काष्ठकुट वा काठफोर चराले झन् रूखको प्वालमै गुँड बनाउँछ। त्यस्तै गौंथलीले घर/गोठमा रहेका कुना-काप्चामा बनाउँछ।
चराहरूले सायद गुँड बनाउन प्रयोग नगरेको ठाउँ नै छैन होला।
धनेशले पनि रूखको प्वालमै गुँड बनाउँछ। तर यो चराको रोचक कुरा के छ भने, पोथी गुँडभित्र बसेपछि भालेले बाहिरबाट माटोले टालिदिन्छ। चल्ला नहुर्किँदासम्म पोथी बाहिर निस्किन्न।
धेरैजसो चरामा आफ्नो पोथी र चल्लालाई खुवाउने जिम्मा भालेको हुन्छ। भालेले पोथी र चल्लाको सुरक्षाका लागि हजारौं वर्षको अभ्यास र गल्तीहरूबाट सिक्दै, सच्याउँदै आजको दिनसम्म अचम्म अचम्मका गुँड विकास गरिरहेका छन्।
यो बसन्त ऋतु चराहरूको प्रजनन समय हो। अहिले धेरैजसो चरा आफ्नो आफ्नो गुँड बनाउन र चल्ला हुर्काउन व्यस्त छन्।
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)