हामी विक्रम सम्वत् असी दशकको पूर्वार्द्धमा छौं। नवीन कार्य, सफलता, आत्मविश्वास, प्रगति र समृद्धिको अपेक्षाका साथ हामी असीको दशकमा छौं। यो दशकमा समृद्धि हासिल गर्ने हाम्रो अपेक्षा पूरा गर्ने दिशामा प्रगति हुने अपेक्षा छ।
असीको दशकसम्म आइपुग्दा यस शताब्दीको प्रारम्भदेखि नै हाम्रो देशमा प्रत्येक दस वर्ष हाराहारीमा विशेष घटना, आन्दोलन, राजनीतिक परिवर्तन र नवीन अभ्यासको थालनी भएको छ।
शताब्दीको प्रारम्भमै ठूलो राजनीतिक परिवर्तनबाट १०४ वर्ष लामो राणाशासन पतन भई प्रजातन्त्र स्थापना भयो। जनअधिकार, विकास र समृद्धिको अपेक्षा बढ्यो। शिक्षा र स्वास्थ्य सेवा विस्तार भयो। अर्को एक दशकमा प्रजातन्त्र गुम्यो। अनेक आन्दोलन र जनमत संग्रहका बाबजुद निर्दलीय तीन दशक पञ्चायत चल्यो।
जनआन्दोलनबाट प्रजातन्त्र पुनर्स्थापना भयो, बहुदलीय संसदीय व्यवस्था कायम भयो। त्यतिले पनि पुगेन। एक दशकसम्म सशस्त्र द्वन्द्व चर्कियो। प्रजातन्त्रले पुगेन लोकतन्त्र भनियो। गणतन्त्र आयो, संघीयता भयो। जनताको शासन भनेर उपलब्धि मान्यौं। करिब ८० वर्षको कालखण्डमा सामाजिक रूपान्तरण भयो। राजनीतिक प्रशासनिक परिवर्तन भयो। शिक्षा र स्वास्थ्यमा पहुँच बढ्यो। आर्थिक र प्राविधिक क्षेत्रमा द्रुत प्रगति भयो।
यो सबलाई हामीले उपलब्धि मानेका छौं।
यो लामो कालखण्डमा पनि किन देशको स्वाभिमान बढेन? समृद्धिको मार्गमा किन अपेक्षित प्रगति हुन सकेन? बेरोजगारी, भ्रष्टाचार, युवा पलायन आदि समस्या किन झन् बढ्दो छ? आम नागरिकमा किन निराशा व्याप्त छ?
राष्ट्रिय दृष्टिकोण र चरित्र किन कमजोर बन्दै छ? आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक सबै क्षेत्रमा जटिलता किन बढ्दै छ? राष्ट्रजीवन किन कमजोर बन्दै छ?
सामाजिक मूल्य, परिवारिक संरचना, मानवीय व्यवहार र संवेदना किन कमजोर बन्दै छ?
यस्ता प्रश्नहरूमा बहस झन् बढ्दो छ।
सम्भवतः हामीले हाम्रो देश हाम्रो आर्थिक र सामाजिक यथार्थअनुसार अघि बढाउन सकेनौं। आफ्नो धरातल खडा गर्न सकेनौं। हामीले हाम्रो प्राथमिकता, प्रगतिको आधार, खोजेको खास परिवर्तन पहिल्याउन सकेनौं। हाम्रो आवश्यकता पहिचान गर्न सकेनौं।
हामीले यी पक्षमा कहिल्यै बहस गरेनौं। शिक्षा, राजनीति, सुरक्षा, प्रशासन, अर्थतन्त्र आदिमा आफ्नो आधार स्तम्भ बलियो बनाउन सकेनौं। कमजोर धरातलमा बनेको संरचना सानै धक्कामा पनि नष्ट हुन्छ। यति बेला हामी नेपाली यस्तै अवस्थामा छौं।
हामी गम्भीर भएर अघि बढ्नुपर्ने समयमा छौं।
देशमा ८० वर्षको कालखण्डमा राणाशासन अन्त्यदेखि गणतन्त्र र संघीय संरचनासम्मको राजनीतिक परिवर्तन भयो। सबै आन्दोलन र राजनीतिक परिवर्तनको लक्ष्य निरंकुशता अन्त्य र जनताको अधिकार स्थापना नै थियो। यस क्रममा धेरै संघर्ष भयो, धेरै बलिदानी भयो, धेरैले अनेक त्याग गरे। अनेक चरणमा अनेक आन्दोलन र संघर्षहरू भए।
संघर्ष, त्याग र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तन र शासकीय संरचना सकारात्मक परिवर्तनका लागि कति सार्थक भएको छ? परिवर्तनले देशको ऐतिहासिक, सामाजिक, आर्थिक र वैचारिक धरातल तथा भौगोलिक अवस्थिति आत्मसात् गरेर सकारात्मक दिशामा अघि बढायो कि बढाएन?
आजको नेतृत्वले बडो उदारतापूर्वक यी प्रश्नको जबाफ खोज्ने र समीक्षा गर्ने समय आएको छ। त्यो समय यही दशक हो।
हामी नेपाली सधैं तत्कालीन समस्या र परिस्थितिमा रूमलियौं। फलस्वरूप समृद्धिको दीर्घकालीन र चिरस्थायी मार्गबारे विचारहरूको बहस भएन, हाम्रो राजनीतिक इतिहासको कुनै पनि कालखण्डमा भएन।
नागरिकको चेतना तथा नागरिकको कर्तव्य र जिम्मेवारीका बारेमा पनि बहस भएन। अधिकारको कुरा भयो तर कर्तव्य ओझेलमा पर्यो। नैतिकताबोध ह्रासोन्मुख भयो।
आज चौतर्फी अनेक प्रश्न सुनिन्छन्– हामीले प्राप्त गरेका परिवर्तनको दिशा र गन्तव्य के हो? अहिलेको राजनीतिक उपलब्धिको अर्थ के हो? राष्ट्रिय दृष्टिकोणमा नेपालको जीवनआदर्श र मूल्य के हो? नेपालको वास्तविक पहिचान र समृद्धिको आधार के हो? हाम्रो आदर्श व्यक्ति को हो? हाम्रो राष्ट्रिय विचार र दृष्टिकोण के हो?
हाम्रो इतिहास, संस्कृति, सभ्यता र जीवनचरित्र के हो? शिक्षाको संकल्पना के हो? राजनीतिक विचार, दर्शन र व्यवहार अझै परिवर्तनको दिशामा छ कि सुदृढीकरणको दिशामा?
नेपाली राजनीतिमा विरोध, गाली र दोषारोपण बढ्ने क्रममा छ। परिणामस्वरूप समाजको प्रत्येक क्षेत्रमा जिम्मेवारीबोध भन्दा बढी दोषारोषणको विकृति मौलाउँदै गएको छ।
दोषारोपण र गालीको वर्षाबाट अलिकति माथि उठेर देशको समृद्धिको बहस हुन सकेको छैन। यो दशकमा उपर्युक्त प्रश्नहरूको जबाफ खोज्दै उच्च समझदारी र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढनुपर्ने भएको छ।
सायद हामी परिवर्तनको प्रवाहसँगै अनुचित अनुकरण र बाह्य प्रभावमा पर्दै गयौं। हाम्रो शिक्षा प्रणालीमा विदेशी विचार र पद्धति आत्मसात् गर्न खोज्दा अनेकौं चुनौती खडा भएका छन्। देशको राजनीतिमा अनुचित अनुकरण भएको छ।
कतै समृद्धिको आधार समाजवाद भन्यौं त कतै भौतिकवाद, साम्यवाद इत्यादि भन्यौं। आखिर न समाजवादी भयौं न भौतिकवादी वा साम्यवादी, केही पनि हुन सकेका छैनौं। हाम्रो आफ्नो दर्शन र पृष्ठभूमिभन्दा बढी बाह्य दर्शन र अनुकरणमा अघि बढ्न चाह्यौं।
हाम्रो पारिवारिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा बाह्य प्रभावको जरो बलियो बन्दै गएको छ। आर्थिक क्षेत्रमा पनि परनिर्भरता बढ्दो छ।
हाम्रो कुनै प्राचीन ज्ञानपरम्परा, मूल्यमान्यता, दर्शन, जीवन पद्धति, इतिहास, सभ्यता केही पनि थिएन जस्तो गरी बाह्य विचार र प्रभाव अगाडि आएको छ। प्रभाव बढ्दो क्रममा छ।
अब स्वस्थ बहसबाट शान्ति, स्थायित्व र समृद्धिको मार्गचित्र कोर्नु आवश्यक भएको छ। बिराइएको बाटो बदल्नु जरुरी भएको छ। हाम्रो गौरवमय इतिहास, ज्ञान, मूल्यमान्यता, जीवनपद्धति र सभ्यताले देखाएको बाटो समाउन आवश्यक भएको छ।
राजनीतिक परिवर्तन नागरिक खुसी अभिवृद्धिका लागि हुनुपर्छ।
हामी ज्ञानभूमि, वीरभूमि, शान्तिभूमि र तपोभूमिका विचारसमृद्ध मानिस हौं भन्ने प्रमाणित गर्ने बाटोमा अघि बढ्नु छ। देश सबैको हो, सबै बासिन्दाको हो।
साझा सहभागितामा मात्र हाम्रो ज्ञान समृद्ध हुँदै अघि बढ्छ, प्रत्येक व्यक्तिले आत्मसम्मान र गौरव अनुभूति गर्छ। अहिलेको राजनीतिक संरचनाले प्रत्येक व्यक्तिको आत्मसम्मान र गौरव बढाउनुपर्छ।
हाम्रो सभ्यता र परम्परामा पुनर्जागरण आवश्यक भएको छ। युगले असान्दर्भिक मानेका र विसंगत ठहर्याएका प्रचलनहरू हराउँदै जान्छन्, यस्तै भएको छ। हाम्रो स्वाभिमान, मौलिकता र राष्ट्रिय पहिचान हराउनु हुँदैन।
राष्ट्रिय पहिचान भन्नु हाम्रो इतिहास हो, हाम्रो जीवन पद्धति हो, हाम्रो भाषा र संस्कृति हो। कुनै एक मात्र होइन, सबै हो, सबै सबैको हो। देशको भूगोल, भाषा, संस्कृति, इतिहास, सभ्यता, जीवनदर्शन, मूल्यमान्यता, न्यायप्रणाली, आदर्श व्यक्ति आदि हाम्रो स्वाभिमानका मानबिन्दु हुन्।
केवल सत्ता परिवर्तनले खुसी र समृद्धि ल्याउने होइन रहेछ भन्ने त हामीले बितेको करिब ८० वर्षमा देख्यौं। देखेर मात्र भएन त्यसबाट पाठ सिकेर जिम्मेवारीबोधका साथ अघि बढ्नु आजको आवश्यकता हो।
भ्रष्टाचार न्यूनीकरण वा यसको अन्त्यका लागि कानुन मात्र पर्याप्त हुँदैन भन्ने पनि हामीले देखिसक्यौं। मुख्य पक्ष सुसंस्कार र नैतिक आचरण हो। सुसंस्कार र नैतिकता बोध पारिवारिक र सामाजिक मूल्यमान्यतामा भर पर्छ। नेताको नीतिमा भर पर्छ। नेताको नीतिले राष्ट्रिय संस्कार विकास गर्छ।
समाजमा बढ्दो दुर्व्यसन, महिलामाथिको हिंसा, प्रतिभा पलायन, बरोजगारी समृद्धिका अवरोध हुन्। देखिने पेसा वा श्रमबेगरका नवधनाढ्यहरूको बढ्दो प्रभाव नयाँ संकटको संकेत हो; आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा। जानी–नजानी हाम्रो देश नेपाल संकटको त्यही दिशामा अग्रसर देखिन्छ।
यो सबैको जिम्मेवारी लिनुपर्ने राजनीतिले नै हो। संविधान, कानुन, राज्यप्रणाली आदिको सफलता नेताको नीतिमा भर पर्छ। देशलाई खुसी र समृद्धिको बाटोमा अघि बढाउन सक्ने नेता देशको नेता हुन्छ, आफ्नो समयको राष्ट्रनायक हुन्छ। भविष्यका लागि आदर्शपात्र हुन्छ। अन्यथा पार्टीको नेता हुन्छ, पार्टीभित्र पनि गुटको नेता हुन्छ। शासन गर्छ, सुशासन गर्दैन।
यो असीको दशकमा हामी नवीन ऊर्जा, नवीन विचार र राष्ट्रिय दृष्टिका अघि बढ्न सकौं। हाम्रा नेता, विद्वत वर्ग र सबै नागरिक जागरूक रहून्। राष्ट्रिय जीवनका सबै अवयवहरू उच्च नैतिक मूल्यमान्यताका साथ आआफ्नो कर्तव्यमा संकल्पित रहून्। प्रविधिको पहुँच बढोस्। विश्वव्यापीकरणले हाम्रो सभ्यतामा हानि नगरोस्।
समग्रमा हाम्रो देश नेपाल उच्च नैतिक मूल्यमान्यताका साथ खुसी र समृद्धिको मार्गमा अघि बढेस्।
(लेखक प्राज्ञिक विद्यार्थी परिषद, नेपालका राष्ट्रिय सहसंगठन सचिव हुन्)