'ए पख, पख! त्यता नजाऊ!'
हिउँदे बिदामा मामाघर नजिकै खेल्दै जाँदा मलाई रोक्न अनेक प्रयत्न गर्दै मेरो पछिपछि दौडिरह्यो मेरो साथी।
म ओरालो झर्दै थिएँ, चिच्याउँदै, 'म जता लुक्छु त्यहीँ लुकुँला भनेर आएको होला। बाठो रै'छ।'
उसले मलाई रोक्ने प्रयास गर्दै भन्यो — त्यता जानु हुन्न। तिमीलाई थाहा छ, त्यहाँ के छ?
लुकामारी खेल्दा लुक्ने ठाउँ थाहा हुनुपर्छ। कसैले नदेख्ने, कसैले नभेट्ने। लुकेर पनि नहराउन भूगोल चिन्नुपर्छ। सानो बस्ती भएको त्यस पाखोमा मेरा लागि आफ्नो मामाघरबाहेक सबै कुरा नौला थिए।
बस्तीको आडैमा एउटा गोठ र गोठपछाडि ठूलो कटहरको रूख। त्यहाँ लुके हत्तपत्त कसैले नभेट्लान् भन्ने सोचेर त्यतै हुत्तिँदै थिएँ। अकस्मात् लुकामारी खेलिरहेको साथीको प्रश्नले कुतूहल बनायो।
म टक्क रोकिएँ। पछाडि हेरेँ र प्रतिप्रश्न गरेँ, 'किन? त्यहाँ के छ?'
मसम्म आइपुग्दा ऊ झन् बढी आत्तिएको थियो। दौडिएकाले होला सासको गति असामान्य। उसले मेरो हात च्याप्प समात्यो र जुन बाटो आएको त्यतैतिर तान्यो।
'त्यो घरमा त बोक्सी छ। उसलाई छुनु हुँदैन। उसले दिएको खानु हुँदैन।'
उसको लम्बेतान बखानपछि अनेक तर्कना खेल्न थाले। मैले कार्टुनमा देखेको बोक्सीसँग उसले दाबी गरेको बोक्सीको तुलना गरेँ। उनीहरूबीच आकाश जमिनको फरक थियो।
टिभीको पर्दामा देखिने बोक्सीका आँखा राता, दाँत तीखा र बोली कर्कश हुन्थे। तर साथीले बोक्सी भनेको वृद्धा त सधैं सिन्दुर, गाजल र लाली लगाएर चिटिक्क परेको देख्थेँ। बेलाबखत भेट हुँदा मायालु आवाजमा 'खाजा खान आऊ' भन्थिन्। उनको बारीमा भर्खरै टुसाएको लसुन माडिने गरी खेल्दा पनि रूखो वचन बोलेको याद छैन।
खोइ किन हो, त्यस रात मलाई निकै डर लाग्यो। अबेरसम्म निद्रै परेन।
भोलिपल्ट सबेरै मैले आँगनको डिलबाट कटहरको बोटतिर घाँटी तन्काएर हेरेँ। राति मेरो कल्पनामा 'कुचोमा उडान भरिरहेकी' ती आमा कम्मरको पटुकोमा गाग्री अड्याएर धारातर्फ हिँडिरहेकी थिइन्।
त्यस घटनाक्रमपछि मेरो मस्तिष्कमा बोक्सीको एउटा चित्र बन्यो। हरेक पटक 'बोक्सी' शब्द सुन्दा तिनै वृद्धाको हँसिलो मुहार सम्झिन थालेँ। वर्षौंसम्म।
***
बालविवाहले लुटेको बालापन। कालले लुटेको श्रीमान अनि समाजले लुटेको चैन — यी सबैले दिएको मानसिक चोटबाट गुज्रिरहेकी एक युवती। तिनै युवती शिकार बन्छिन् ससुराको शारीरिक भोकको। न प्रतिवाद गर्ने आँट, न त आड भरोसा दिने आफन्त नै।
निरीह उनलाई परिवार र समाजले 'श्रीमान खाने बोक्सी' देख्छ अनि लेखिन्छ नाटक 'बोक्सीको घर।'
त्यस्तो घर जहाँ सामाजिक, शारीरिक अनि मानसिक प्रताडना भोगेकी एक महिला लुक्छिन्। त्यस्तो घर जहाँ उनले आफ्नो घाउसँगै समाजको सबैभन्दा भयावह चित्र लुकाउँछिन्।
करिब आठ वर्षअघि सुलक्षण भारतीकृत नाटक मञ्चन भयो। मञ्चमा जीवन्त प्रस्तुत भएकी थिइन् कलाकार सरिता गिरि। नाटक हेरेर निस्किँदा म तटस्थ रहनु थियो। समीक्षा लेख्न। तर सकिनँ। नाटकले मभित्र अनेक प्रश्न जगाएको थियो। बोक्सी हुन्छ भन्ने भ्रमबाट मुक्त भइसकेकी मलाई मामाघर नजिकैकी ती बुढी आमाको याद दिलाएको थियो।
लाग्यो — कतै ती आमाको भोगाइ यस्तै पो थियो कि? वा कुनै त्यस्तो घटनाक्रम जसले उनलाई गाउँलेको नजरमा बोक्सी स्थापित गराइदियो?
नाटक हेरेर फर्किएको रात मम्मीसँग पहिलो पटक ती वृद्धाबारे प्रश्न गरेँ।
उहाँले सहजै भन्नुभयो, 'नचाहिँदो कुरा। पहिलापहिला गाउँघरमा जोसँग रिस उठ्छ, चित्त बुझ्दैन त्यसैलाई बोक्सी भन्दिन्थे।'
बोक्सी अन्धविश्वासको उपज र बोक्सीको आरोप विगतको तीतो यथार्थ थियो भने वर्तमानमा यसबारे बनेको नाटक कति सान्दर्भिक? त्यसमाथि काठमाडौंमा मञ्चन गर्न किन आवश्यक ठाने निर्देशकले? नाटककी पात्रलाई दिसा खुवाएको, कालो मोसो दलेको घटनाक्रम कति यथार्थपरक? मलाई नाटकबारे लेख्न बस्दा अनेक जिज्ञासा जागे।
सोचेकी थिएँ — नाटकका निर्देशकसँगको कुनै भेटमा प्रश्नहरू अघि सार्छु। तर त्यो मौका निकै पछिसम्म मिलेन।
सुखद संयोग त होइन, यद्यपि पत्रकारको रूपमा पात्रहरू भेट्ने र उनीहरूको कथा लेख्दै जाने क्रममा म पटकपटक ठोक्किएँ यस्तैखाले तीतो यथार्थसँग। उनीहरूको भोगाइ र आँसुले अनुत्तरित कैयौं प्रश्नका जबाफ दिए जसलाई मैले महिनौं अवचेतनमा दबाएर राखेकी थिएँ।
***
साल २०७३ फागुन २५ गते — मैले एउटा समाचार लेखेँ।
काठमाडौंकी एक युवतीको विवाह हुन्छ। बिहे भएको एक साता नबित्दै दाइजोको निहुँमा ती युवतीमाथि मानसिक दबाब सुरू हुन्छ। दोस्रो सातादेखि बोक्सीको आरोपमा कुटपिट। त्यस घरमा कुखुराको बलि दिएर पूजा गर्नेदेखि झरेको कपालमा झारफुकको विषयबारे छलफल हुन्छ।
जे भइरहेको थियो त्यसबारे शिक्षित, सभ्य र उच्च पदस्थ श्रीमानले समेत विरोध गर्दैनन्।
सोही घटनाकी पीडित महानगरीय प्रहरी वृत्तमा घरेलु हिंसाविरूद्ध सुरक्षा गरिपाऊँ भन्दै निवेदन दिन जान्छिन्। त्यहाँ उपस्थित प्रहरी अधिकारीले तिनको बयानकै क्रममा थप्छन् — एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार!
अन्तर्राष्ट्रिय नारी दिवसको दिन तयार पारेको समाचारकी पात्रको व्यथा काठमाडौंमा बोक्सी कुप्रथाबारे नाटक प्रदर्शनको औचित्य के भन्ने मेरा लागि गतिलो जबाफ थियो।
बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय सम्बन्धी ऐन २०७२ मा बनेको हो। आवश्यकता अनुरूप उक्त ऐन संशोधन भएको पनि छ। तर समाज त्यहीँ छ जहाँ महिलाले निहुरिनु, दबिनु, सहनु र लुक्नु सही ठहरिन्छ। जब कोही घुम्टो उठाएर निस्किन्छन्, बोल्छन्, दबाब र यातनाविरूद्ध आवाज चर्को पार्छन्, तब पाच्य हुँदैन।
आफूमाथिको हिंसाविरूद्ध बोल्ने वा आफ्नो आत्मसम्मान/अधिकारका लागि सशक्त प्रस्तुत हुने महिलालाई 'पोथी बासेको' संज्ञा दिइनु, उनको क्षमता वा चरित्रमा प्रश्न गर्नु पितृसत्तात्मक समाजको प्रवृत्ति नै हो।
मलाई लाग्थ्यो — पितृसत्ताका संरक्षकहरूले सभ्य हुनुको मखुन्डो जोगाइराख्न पनि सोझै बोक्सीको आरोप लगाउने आँट नगर्लान्।
मेरो त्यो भ्रम पनि चिरियो। २०७५ फागुन २५ गते मैले फेरि अर्को पात्रको व्यथा लेखेँ।
काठमाडौंको न्यूरोडमा बोक्सी भन्दै कुटिएकी रश्मी उपरकोटीले मसँग सुनाएकी थिइन्, 'मुखबाट रगत बगुञ्जेल पिटे, तातो पन्युँले डामिदिए। धन्न सिस्नु लगाउन र दिसा खुवाउन भ्याएनन्।'
उनलाई आफ्नै देवर लगायत आफन्तले बोक्सी भएको र मान्छे खाएको आरोप लगाएका थिए। कथित माताका अघिल्तिर आफू बोक्सी भएको स्वीकार नगरेपछि लात्ता र थुक प्रहार भयो। अनि चार वटा पन्युँ तताएर अनुहार, हात, खुट्टा, पैताला, पेट कतै बाँकी नराखी डामियो लगातार।
घटनाले भयभीत उनी दुई दिनसम्म डेरामा रोएरै बसिन्। पछि दिदीको सहायतामा पीडकविरूद्ध उजुरी दिइन्। उनीहरू पक्राउ पनि परे। एक्लै काखे बच्चा हुर्काइरहेकी उनलाई त्यसपछि काठमाडौंमा बस्न भने सुरक्षित लागेन।
कानुनले तोकिदिएको अधिक दुई वर्षसम्मको कैद सजाय र बीस हजार रूपैयाँसम्मको जरिवानाले आफ्नो शरीरदेखि स्वाभिमानमा लागेको चोट ठीक हुन्छ भन्ने विश्वास थिएन उनलाई। उनी सहरको कोलाहलबाट अलप भइन् जसरी 'बोक्सीको घर' नाटककी पात्र मान्छेहरूसँग डराएर अँध्यारोमा अलप हुन्छिन्। जो आफ्नो बह निर्जीव ढुंगाहरूसँग पोख्छिन्।
***
कोभिड कहरकैबीच एक दिन मलाई बोक्सीको घर नाटकका निर्देशक सुलक्षण भारतीको फोन आयो। नाटक घरहरू ठप्प रहँदा उनले सम्पर्क गर्नु अप्रत्याशित थियो। लामो भूमिका नबाँधी आफूले फिल्म बनाउन लागेको जानकारी दिए र त्यसमा एउटा पात्रको भूमिका निर्वाह गर्ने प्रस्ताव गरे।
कहिल्यै नहिँडेको बाटो, सोच्दै नसोचेको गन्तव्य।
मेरा लागि फिल्म क्षेत्र समाचारको विषयभन्दा बढी केही थिएन।
सोझै भनेँ, 'मलाई त अभिनय आउँदैन। कहिल्यै गर्छु भन्ने सोचेकी पनि छैन।'
'अभिनय नगर्ने मान्छे चाहिएको हो। समय मिलाएर भेटौं न,' उनको यो जबाफ झनै अस्पष्ट थियो।
म असामञ्जस्यताबीच एक दिन 'पुरानो घर' रंगमञ्च पुगे। त्यहीँ पुगेपछि थाहा भयो बोक्सीको घरमाथि फिल्म बनाउने तयारी हुँदै रहेछ।
देखेँ — ममा अनेक प्रश्न जगाउने त्यो नाटकलाई फिल्ममा रूपान्तरण गर्न अभिनेत्री केकी अधिकारीले लगानी गरिरहेको ऊर्जा।
पात्रको तयारी अन्तर्गत एकोहोरो बर्बराइरहेकी उनलाई म हेरिरहेकी थिएँ।
निर्देशक भारती नजिकै आए र भने, 'मैले तिमीले लेखेका पात्रहरूको कथा पढेको छु। मसँग पनि त्यस्तै एउटा पात्र छ। बश्, ऊसँग तिम्रा पात्रहरूसँग जस्तै नजिक भइदिनुपर्यो। उसले आफ्नो कथा सुनाउन सक्ने बनिदिनुपर्यो।'
मेरो आनाकानी र अन्योलता देखेर होला उनले थप भने, 'अहँ, अभिनय गर्नु पर्दैन। पत्रकारकै भूमिका निर्वाह गर्ने हो।'
मैले तत्काल निर्णय दिनसक्ने कुरै भएन। तर एउटा प्रस्तावले मलाई खुब लोभ्यायो — केही दिन नाटक घरका प्रशिक्षार्थीसँगै वर्कसपमा सहभागी भएर हेर्ने। अनि मात्र निर्णय लिने।
धेरै रंगकर्मीको धैर्य, लगनशीलता र कामप्रतिको सम्मान देख्दा सधैं लाग्थ्यो — आफूमा त्यस्तै अनुशासन विकास गर्न भए पनि कुनै दिन रंगमञ्चको प्रशिक्षण लिन्छु।
तर काम र पढाइको चापका कारण समय अनुकूल बनेको थिएन।
सिकाइ र सम्भावनाको त्यही भोकले मलाई रिहर्सल हुँदै छायांकनस्थलसम्मै पुर्यायो। अनि कथाहरू खोज्दै, पात्रहरू भेट्दै हिँड्ने म आफैं एउटा कथाको पात्र बनेँ। लेख्थेँ, लेखिएँ। पढिन्थेँ, हेरिनेछु।
'बोक्सीको घर' को कथा भन्नेहरूसँग म पनि जोडिएँ। किनकि यो कुप्रथा, परिवार अनि समाजका कारण एउटी महिलाले भोग्ने मनोसामाजिक र शारीरिक यातनाको दृश्य बृहत् समुदायले थाहा पाउन आवश्यक छ। समाजमा भएर पनि नदेखिने यस्ता कुरीतिहरूको लुकामारी अन्त्य हुन आवश्यक छ।
ट्विटरः @Swechhyaraut