मेरा ग्रहदशा बिग्रिएका थिए। त्यसैले म सपार्नलाई राजधानीबाट आफ्नो सहर आउँदै थिएँ माइक्रोमा चढेर। पहिलो एकल यात्रा त थिएन मेरो र पनि राति अबेर निद्रा लाग्यो। श्रीपञ्चमीपछि पनि दिन त्यति लम्बिएका थिएनन्।
गाडी ड्राइभरले ५ बजे कोटेश्वर बोलाएका थिए। म त्यहीअनुसार कोटेश्वर पुगेँ। लामो दुरीको यात्रा भनेर मैले सजिलो पेन्ट र स्वेटर अनि त्यसमाथिबाट ज्याकेट लगाएकी थिएँ। शिशिरयाम अझै सकिएको थिएन। ५:१५ मा गाडी कोटेश्वर आइपुग्यो।
म चढेँ। मेरो छेउको सिटमा त्यस्तै २८-३२ उमेरका लक्काजवान थिए, जो निद्रादेवीको काखमा गुडुल्किएका थिए। म उनकै छेउमा टुसुक्क बसेँ। अत्यधिक चिसो बिहानी थियो त्यो। ती दाइको निद्रा हामी धुलिखेल पुग्दासम्म रहिरह्यो। त्यहाँ पुगुञ्जेल कहिले झस्किँदै त कहिले मतिर हेरेर मस्किँदै उनले निद्रा पुर्याए। तत्पश्चात् उनी निदाएनन्। म झ्यालपट्टिको सिटमा थिइनँ, उनी नै थिए। बाहिरका दृश्य हेर्न मैले घाँटी तन्काउनुपर्थ्यो। धुलिखेलबाट भकुण्डेबेसी पुग्न कति पनि समय लागेन। त्यहाँ खाजा-नास्ता गर्ने होटलमा गाडी रोकियो। एकाधबाहेक हामी सबै झर्यौं। काठमाडौंभन्दा चिसिएको त्यहाँको बतासले हामी सबैको सातो लियो।
मैले चना-आलु मगाएँ र एउटा बेञ्चमा गएर बसेँ। मैले खान थालिसकेपछि ती दाइ मलाई साथ दिन आइपुगे। उनले पनि चना-आलु र चिया अर्डर गरेका रहेछन्।
'ए, चिसै पो ल्याएछन्!' मुख बिगार्दै तिनले भने।
'लौ, मेरो त तताएको थियो त,' मैले जवाफ फर्काएँ। त्यसपछि हामी बोलेनौँ।
खाइसकेर निस्कँदा गाडी गुड्ने तरखरमा थियो। म गाडीतर्फ बढ्दै थिएँ जब तिनले पछ्याउँदै मलाई सोधे, 'झ्यालतिर बस्छौ?'
सवाल भुइँमा खस्न नपाउँदै मैले भनेँ,'बस्छु नि'
हाँस्दै उनले भने, 'हेर मख्ख परेकी।'
यात्रा जारी रह्यो, मेरो ध्यान अधिकांश समय बाहिरै रह्यो। यात्रा गर्दा मेरो नजर बाटो छेउछाउका बुट्यान या चट्टानमा हुने गर्छन्। गाडी निरन्तर अगाडि बढ्दै गर्दा फाट्टफुट्ट टुक्रे संवाद भए उनी र मबीच। उनको गाउँ खाँदबारी रहेछ, मेरो खोटाङ। उनले मलाई उनको गाउँ निम्त्याउन पनि भ्याइहाले। तर म गाउँ होइन सहर जाँदै थिएँ, विराटनगर। उनी आफ्ना आमाबुवाका साथमा गाडी चढेका रहेछन्।
कतै कतै मेरा आँखा लोलाएछन्। म ब्युँझिएको निकै समयपछि उनले कुरा झिके, 'तिमी त कस्तो मजाले निदाउँदी रहिछौ।' यतिबेरसम्ममा मैले के चाल पाइसकेकी थिएँ भने उनी मेरो बोलीचाली सुनेर मप्रति आकृष्ट छन्; त्यसैले बेलामौकामा बात मार्ने विषय उठाउँछन्, कुरा गर्ने प्रयास गर्छन्। मैले पनि कुनै प्रकारको कञ्जुस्याइँ गरिनँ।
भकुण्डेबेसीबाट केही घण्टाको यात्रापछि हामी खाना खाने ठाउँ चियाबारी आइपुग्यौं। म भोकाएकीले हतारहतार खाना अर्डर गरेर खान थालेँ। मैले खाइसक्दा गाडी फेरि गुड्ने तरखरमा थियो।
म चढेपछि उनी पनि एक पाकेट चाउचाउ बोकेर चढे। खाजा खाने ठाउँमा गाडी रोकिँदासम्म मैले केही नखाने निर्णय गरिसकेकी थिएँ। मसहित एक जना अर्की महिला यात्रु तल ओर्लिएनौ। केहीबेरपछि गाडीमा मान्छे पुनः भरिन थाले। त्यहीबेला उनले मलाई आएर सोधे,'खाजा खाने होइन?'
मैले दायाँबायाँ टाउको हल्लाएँ।
'खानुपर्छ नि, भरेसम्म भोक लाग्ला!'
उनले त्यति भनेपछि मलाई के सुर चढ्यो म हस्याङ्फस्याङ् गर्दै ओर्लिएँ। समोसा तरकारी मगाएँ। म झरेको देखेसँगै उनी मेरो पछिपछि आए र गाडी मलाई छोडी जानेछैन भनेर विश्वास दिलाउनतर्फ लागे।
यात्रा चलिरह्यो, गाडीमा गीतहरू फेरिइरहे। काठमाडौंबाट तराई झर्दै गर्दा यात्रीको आङबाट ज्याकेट र स्वेटरहरू झर्दै गए, तापक्रम बढ्दै गयो। उराठलाग्दो शिशिरयामको उत्तरार्धमा अलि अलि तातो हावा चल्न सुरू भइसकेको थियो। घामले रापिएको गाडीभित्र उकुसमुकुस हुँदै हामी गुडिरह्यौँ, गन्तव्य नजिकिँदै गयो। गाडी सहर पसेपछि यात्री ठाउँ/ठाउँमा उत्रिन थाले। हामी आउँदै गरेको माइक्रोबस पनि रित्तिँदै जान थाल्यो। उनी ओर्लिने ठाउँ पनि आइपुग्यो। मेरो मोबाइल नम्बर त उनीसँग छँदै थियो, ओर्लिने बेलामा उनले मतिर हेरेर हात हल्लाउँदै, 'ल त बाई-बाई' भने।
'बाई-बाई, राम्ररी जानुहोला,' मैले बिदा दिएँ।
त्यसपछि नानी तिमी कहाँ झर्छौ? भन्दै एक अधबैँसे महिला मेरो बगलको सिटमा आएर बस्नुभयो।
'बिजुली अफिस, अनि तपाईं नि?,' मैले उही प्रश्न फर्काएँ।
'म वरगाछी।'
यसपछि नातागोता र रिस्तेदारका कुरा भए। उहाँले नै बढी सोधीखोजी गर्नुभयो। मैले भने बढी चासो राखिनँ। उहाँले टाढैको भए पनि मसँगको नाता पहिल्याउनु भयो। अन्तिममा एउटा प्रश्न तेर्स्याउनु भयो, 'अनि अघि झर्ने भाइ चाहिँ को नि?'
एकक्षण नसोची मैले भनेँ, 'कोही न कोही, यहीँ गाडीमा चिनेको!'
'ए, अघि सँगै खाजा खान जानुभयो अनि सोधेकी नि।' उहाँले स्पष्टीकरण दिनुभयो।
ती महिला पनि उत्रिएपछि म एक्लिएँ। अनि मेरो मगजमा के ख्याल आयो भन्दा, 'म पनि यही सङ्कीर्ण समाजको सङ्कीर्ण विचारधारा बोकेकी महिला रहेछु। जुनरूपमा म आफूलाई आधुनिक सोच भएकी ठान्थेँ, त्यो त पटक्कै रहेनछ किनभने एउटी मजस्ती फुच्चीलाई त्यति लामो दुरीको यात्रामा साथ दिने मानिस अन्त्यमा नोबडी बन्न पुग्यो। उनले मित्रको दर्जासमेत पाएनन्। निमेषभरमा तिनी 'कोही न कोही' बन्न पुगे, त्यत्रो आड दिएको मानिस।'
त्यसदिन म आफ्नै नजरमा अलिकति गिरेँ, मेरो स्तर खस्कियो। मैले यत्रो गन्थन लेख्नुको अर्थ यही हो कि हामी जति आफूलाई आधुनिक खयालातका भन्ठान्छौं, त्यति बिल्कुलै छैनौं। हाम्रा मथिङ्गलमा उही पुरातन विचारधाराले जरो गाडेको छ र यसबाट उन्मुक्त भइसकेका छैनौं हामी। कम्तीमा म चाहिँ भएकी रहिनछु! (ती सम्पूर्ण हमसफरहरूलाई जसले हाम्रो यात्रा सहज बनाइदिएर छुटेर गए।)